आधुनिक किनमेल संस्कृति

आधुनिक किनमेल संस्कृति

काठमाडौं: सानो किराना पसलबाट व्यापार सुरु गरेका मीनबहादुर गुरुङ अहिले त्यस्ता पसल विस्थापित गराउने अभियानमा छन् भन्दा फरक पर्दैन । भाटभटेनी स्टोरका रूपमा डिपार्टमेन्टल स्टोर सुरु गरेयता गुरुङले १२ वटा ठूला स्टोर खोलिसकेका छन् । पोखरा, नारायणगढ र धरानमा पनि भाटभटेनी स्टोर विस्तार भइसकेको छ । काठमाडौं र मोफसलमा थप स्टोर विस्तारको योजना बनिरहेको छ ।

सन् २००९ मा सिटी सेन्टरबाट सुरु भएको बिग मार्टका तीन वर्षसम्म दुईवटा स्टोर थिए । अहिले २० वटा स्टोर खुलिसकेका छन् । डेढ वर्षभित्र संख्या दोब्बर बनाउने बिगमार्टको योजना छ । बिग मार्टका प्रमुख कार्यकारी (सीईओ) शाश्वत ढकालका अनुसार उपत्यकाको अहिलेको मागअनुसार ५० वटा जति बिगमार्ट स्टोर पर्याप्त हुनेछ । तर, बढ्दो जनसंख्याका कारण नयाँनयाँ बजार बन्ने क्रम जारी छ । यस्ता बजारमा आधुनिक सपिङ स्टोर खोजी हुन थालेको छ । महिनाभरिका लागि आवश्यक वस्तु एकैचोटि एउटै छातामुनि किन्ने (आधुनिक किनमेल) संस्कृति नेपालमा बढ्दैछ । यसैले डेढ वर्षपछि पनि बिग मार्टको विस्तार जारी रहने र संख्या ७० पुर्‌याउन सकिने अनुमान छ ।

ढकालका अनुसार पश्चिमा देशमा आधुनिक किनमेल संस्कृति दो श्रो विश्व युद्धपछि नै विकसित भयो । एसियामा पनि विकसित मुलुकमा यस्तो संस्कृति छिटछिटो विकास हुँदैछ । श्रीलंकामै ग्रोसरीको चेन फुड सिटीका तीन सयभन्दा बढी स्टोर छन् । नेपालमा पनि सहरी क्षेत्रका बासिन्दामा विस्तारै आधुनिक किनमेल संस्कृति बढ्दैछ । खासगरी विदेश गएर फर्किने नेपाली आधुनिक किनमेल संस्कृति विकास गरिरहेका छन् । ढकालको अनुमानमा काठमाडौंमा अहिले पनि आधुनिक स्टोरमा किनमेल गर्ने करिब १५ प्रतिशतलमात्र छन्, बाँकीले नजिकको ग्रोसरी पसलमै किनमेल गर्छन् ।

परम्परागत किनमेल नछाड्नुका कारण उपभोक्तालाई सुपरमार्केट महँगो हुन्छ भन्ने लाग्नु हो । अर्को कुरा, सुपर मार्केटमा छिरेपछि नकिनी नहुने बाहेकका सामानमा पनि आँखा लाग्छ र गोजी रित्तिन्छ भन्ने डर हो । तर, पनि केही वर्षमै पराम्परागत किनमेलबाट ६० प्रतिशत आधुनिक किनमेलमा सिफ्ट हुनेवाला छन् । किनकी, सहरमा पढे लेखेका मध्यमवर्गको उदय हुने क्रम जारी छ । वित्तीय संस्था, विकासे क्षेत्र यस्तो ठाउँ हो, जहाँ अधिकृत तहमा जागिर पाउनासाथ उसको क्रयशक्ती ह्वात्तै बढ्छ, साथमा गाडी हुन्छ, व्यस्तता बढ्छ । अनि महिनाभरिका लागि एकै पटक किनमेल गर्ने अवस्था आउँछ । झम्सिखेल क्षेत्रमै चारवटा स्टोर खुल्दा पनि बिग मार्टको व्यापार सन्तोषजनक छ ।

गुरुङका अनुसार आधुनिक किनमेल महँगो ठान्ने उपभोक्ता भ्रममा छन्, वास्तवमा डिपार्टमेन्टल स्टोर सस्ता छन् । ठूलो परिमाणमा किन्ने भएकाले जुनसुकै सामान सप्लायरले साना व्यापारीलाई दिने कमिसनभन्दा भाटभटेनीलाई दिने कमिसन बढी हुन्छ । आपूर्ति र गोदाम व्यवस्थापन चुस्त भए साना पसलभन्दा सस्तोमा दिन सकिन्छ । 'अबको १० वर्षभित्र काठमाडौंलगायत ठूला बजारको किनमेल संस्कृति अर्कै हुनेछ,' उनी थप्छन्, 'साना ग्रोसरी व्यवसायी अरु व्यापारमा लाग्नेछन् ।'

बिग मार्टका सीईओ ढकालका अनुसार महिनाभरिलाई चाहिने सबैखाले सामान एकैचोटि किन्ने ठाउँ भाटभटेनी स्टोर हो । यस्तो स्टोरलाई बिग बक्स स्टोर पनि भनिन्छ । बिगमार्ट चाहिँ फूल सर्विस सुपरमार्केट हो । भाटभटेनीसँग बिगमार्टको सोझो प्रतिस्पर्धा छैन, किनकी ग्रोसरीमा सीमित छ । तैपनि अप्रत्यक्ष प्रतिस्पर्धा छ, भाटभटेनीको व्यापारको उल्लेख्य हिस्सा ग्रोसरी हो । ग्रोसरीमा प्रतिस्पर्धा सुरु भएको छ । बिग मार्टमा मुलुककै ठूलो औद्योगिक घरानामा गनिने विशाल गु्रप र त्रिवेणी ग्रुपको लगानी छ ।

'ग्रोसरीका लागि बिगमार्ट भाटभटेनीको स्टोरको विकल्प भएको छ', भाटभटेनीको टंगाल स्टोरमा आइतबार भेटिएकी सोसल वर्कर पुष्पा बस्नेत भन्दै थिइन् । प्रतिस्पर्धाका कारण भाटभटेनी सस्तो पनि हुँदै गएको छ । 'बिगमार्टमा सेल्स पर्सन एकदम हँसिला/फरासिला छन्,' उनले सुनाइन 'अब भाटभटेनीले पनि सर्विस गुणस्तरीय बनाउनु पर्छ ।' भाटभटेनीमा पैसा पाउन लामो समय कुर्नपर्ने सप्लायरको गुनासो छ । भाटभटेनीमा सामान नराखी व्यापार प्रवद्र्धन गर्न झन गाह्रो हुने, दिँदा समयमा पैसा नपाइने गुनासो छ । तर, बिग मार्टको कारण सप्लायरले विकल्प पाएका छन ।

गुरुङका अनुसार भाटभटेनीको प्रतिस्पर्धा अहिले भाटभटेनीसँगै छ, प्रतिस्पर्धा गर्न सक्ने कोही देखिएको छैन । भाटभटेनीको कुल व्यापारमा टंगालको स्टोरको हिस्सा अहिले पनि १७ प्रतिशत छ । सबै स्टोरको प्रतिस्पर्धा टंगालको स्टोरसँग गराइन्छ । अनामनगरमा बिग मार्टको स्टोर खुलेपछि पनि भाटभटेनीको अनामनगर स्टोरको व्यापार २०/२२ प्रतिशतले वृद्धि भयो । बिग मार्ट पनि चलेको छ, भाटभटेनीको व्यापार पनि बढेको छ । 'यसले सहरवासीमा आधुनिक किनमेलको संस्कृति बढ्दै गएको देखाउँछ,' उनी थप्छन, 'नयाँ प्लेयरका लागि बजार बन्दै गएको छ ।'

भाटभटेनी र विग मार्टमात्र होइन, अरु आधुनिक स्टोर पनि धमाधम खुलिरहेका छन् । सेलवेज, सेल्सबेरी पनि आधुनिक स्टोरमा पर्छन् । तर, यी स्टोले एकाध बाहेक चेन विस्तार गर्न भने सकेका छैनन् । किनमेल संस्कृति बढेपछि आधुनिक स्टोर बढ्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.