दसैं र दोस्रो किस्ता

दसैं र दोस्रो किस्ता

छिमेक वरपर र कार्यालयमा दिदीबहिनीले सुनाउँछन्– दसैं पनि कति चाँडो आएको है ? अर्थात् दसैंले बजार लिन थालिसकेको छ । दसैं मेला र किनमेल सुरु भइसकेको छ । सबैलाई महँगीको अनुभव भइसकेको छ र पनि पर्व र संस्कारको नाममा जसरी भए पनि खर्च गर्ने र देखाउने बानी छुटेको छैन नेपालीलाई । त्यही दसैं कसैको लागि दशाजस्तो लाग्छ । वर्षभरि बिर्सेको घाउ चाडपर्व आउँदा अरू नुन छर्के झैं हुने होला ।

शक्तिशाली भूकम्पपछि सायद दोस्रो दसैं मनाइँदै छ । भूकम्पपीडितले बल्ल दोस्रो किस्ता पाउँदैछन् । यसअगाडि ५० हजारको पहिलो किस्ता पाएर घरको जग हालेका पीडितले मात्र दोस्रो किस्तामा डेढ लाख पाउनेछन् । केपी ओली नेतृत्वको सरकारले तत्कालीन प्रतिपक्ष कांग्रेससँग पहिलो किस्तामै डेढ लाख रुपैयाँ दिने सम्झौता प्रयोगविहीन भएको छ ।

यसअघि सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न तीन किस्तामा दुई लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएपछि व्यवस्थापिका–संसद्मा सम्बोधन गर्दै उनले थप एक लाख रुपैयाँ बढाउने घोषणा गरेका भए पनि निर्देशक समितिको निर्णयपछि पुनर्निर्माणलाई थप बजेटको आवश्यकता पर्ने बुझिन्छ ।

बजेट तथा कार्यक्रमका बारेमा अझै बैठक बस्दै छन् । डेढ वर्ष बित्दासम्म भूकम्पपीडित प्राथमिकतामा पर्न सकेका छैनन् । एकताका पीडित कोषमा भएको रकम कसरी, कहिले खर्च गर्ने भन्ने प्रसंगले मात्र स्थान पाउने समाचार पढ्न पाइन्थ्यो भने अझै पनि दोस्रो, तेस्रो किस्ता र बजेट जुटाउने बैठक बस्दै छन् । यही समाजमा दसैंको रौनक छ, यही हो पीडितको दर्दनाक व्यथा पनि । खरले छाएको टहरा र वर्षा पनि नथेगेको गुनासो गर्नेहरू यहीं छन् । पक्की घरको मीठो सपनामा जिउनेको पनि कमी छैन ।

सरकार परिवर्तन हुँदै जाँदा उनीहरूलाई दिइने बजेट र आश्वासन पनि परिवर्तन हुँदै जान्छन् । शक्तिशाली भूकम्पपछि तीनवटा सरकार फेरिए । भूकम्पपीडितलाई दिने अनुदानको किस्ता पनि फेरियो तर पीडितका दर्द फेरिएनन् । वर्तमान प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्पपीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे तर घोषणाको अवधि सकियो । सबैले त्यही पहिलो किस्ता पनि पाएका छैनन् ।

पालमा जीवन गुजार्न कठिन भएको कुरा बुझ्न हृदय चाहिन्छ । सत्ताको मोह र राज्यको ढुकुटीमा मस्ती मार्नेलाई यो बोध कहिल्यै आउने कुरै भएन । भूकम्पपछि विभिन्न देशबाट नेपाललाई राहत तथा उद्धारको लागि सहयोग प्राप्त भए तापनि वास्तविक पीडितसम्म राहत सामग्री पुग्न धेरै समय लाग्यो । राहत तथा उद्धारमा राजनीतिक खिचातानी देखियो ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका करिब सात लाखभन्दा बढी परिवार घरवारविहीन भएको सरकारी तथ्यांक छ । पुनर्निर्माणका लागि अहिलेसम्म दुईपटक सर्भे भइसक्यो फेरि तेस्रोपटक सर्भे गर्ने भनिएको छ । भूकम्पपीडितको आधिकारिक तथ्यांक अझै टुंगो छैन । यति संवेदनशील कुरामा यति लामो समय बितिसक्दा पनि पुनर्निर्माण कार्य प्रभावकारी हुन सकेन । धेरै संघसंस्था, एनजीओ, आईएनजीओ र नामै नसुनेका र नदेखेका संस्थाले भूकम्पताका सहयोगको नाममा आफ्नो परिचय दिने र विज्ञापन दिने काम पाए ।

समाचारमा सुन्न पाइन्छ प्रधानमन्त्रीको मासिक खाना खर्च १५ लाख, मन्त्रालयको खाजा खर्च १० लाख, आदि आदि । किन भूकम्पपीडित त्यसभित्र अटाउँदैनन् ?

कतिपय संघसंस्थामा अहिले प्रसंग उठ्ने गरेको समाचार सुन्न पाइन्छ (भूकम्पपीडितको नाममा संकलित रकम हिनामिना, जसले संकलन गर्‌यो उसैले व्यक्तिगत रूपमा प्रयोग गर्‌यो आदि–आदि । पीडित आफैंले सुनाउने गर्छन्– आए, कति आए आए, फोटो खिचे लगे, हाम्रा पाल फाटिसके, हाम्रा मन फाटिसके कसैले हाम्रो वासको व्यवस्था गर्न सकेन । सरकारले त गरेन अरू कसले गर्छ ? हाम्रै नाममा देशविदेशबाट रकम संकलन भएको छ रे, को सँग छ, कति छ हामीलाई के थाहा ? यही पालमुनि वर्षा, हिउँद बिते, बाढीपहिरो सह्यौं— दर्दनाक र हृदयविदारक यथार्थ सुनाउँछन् पीडित ।

अवश्यमेव, काठमाडौँमा बस्ने सहरियाको दसैं, एउटा व्यापारीको दसैं, जागिरेको दसैं, मध्यमवर्गीय र सामान्य मानिसको दसैं मनाउने तरिका र खर्च हुनेमा बजेट फरक होला । तर मानव भएर मानव चाहना, आवश्यकता र इच्छाको तुलना गर्ने हो भने त्यही दरमा सबैका आवश्यकता पर्छन् होला । कुनै परिवारमा डेढ लाख महिनाको खर्च लाग्छ होला, तिनै पीडित नेपालीलाई राहतस्वरूप डेढ लाख सहयोग गर्न सरकारले धेरै स्तरका बैठक गरेर पारित गर्नुपर्छ । समाचारमा सुन्न पाइन्छ प्रधानमन्त्रीको मासिक खाना खर्च १५ लाख, मन्त्रालयको खाजा खर्च १० लाख, आदि आदि । किन भूकम्पपीडित त्यसभित्र अटाउँदैनन् ?

दसैंको रौनकतालाई एकछिन पर छोडेर सोच्ने हो कि ? दुइटा दसैं बित्नै लाग्दा पनि पुनर्निर्माण किन व्यवस्थित रूपमा हुन सकेन ? इन्जिनियर खटाउन नसकेर ? सरकार परिवर्तनले ? आर्थिक अभावले ? जनस्तरको सहयोगको अभाव ? वा मन्त्रालयदेखि कर्मचारीबीचको समन्वयको अभावले ? दसैंको मुखमा पीडितको वेदना अझै कायम रहँदा हामी सबैको मन दुख्नुपर्ने हो । चाडपर्व र आफ्नो मौलिकता अनि जीवनशैली कायम राख्दै नेपालीले नेपालीकै पहिचानमा र सरकारले आफ्ना नेपालीको लागि काम गरोस् तबमात्र दसैंमा दिइने शुभकामनाको उचित अर्थ लाग्ला ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.