आन्तरिक स्वतन्त्रता अभय र साधना

आन्तरिक स्वतन्त्रता अभय र साधना

अध्यात्म तथा धर्मका नाममा विभिन्न धर्म-सम्प्रदायका तथा कथित गुरुहरूले समाजमा भय, त्रास र परनिर्भरता नै सिर्जना गरिरहेका छन् । धर्मको आवरणमा मानिसको मनोदशालाई सुधार्नेभन्दा बिगार्ने काम गरिरहेका छन् । समाज र राष्ट्र राजनीतिक र आर्थिक रूपमा भन्दा धार्मिक रूपमा बढी विभाजित र द्वेषमा छ ।

यो द्वेष गहिरो छ, अन्य सन्दर्भका द्वेषहरूभन्दा । धर्मगुरुहरूले यो गर, त्यो गर, यो बनाऊ, त्यो बनाऊ, यति देऊ भन्दै ईश्वर र देवताको दुहाई दिँदै त्रास नै सिर्जना गरेका छन्, समाजमा । अध्यात्म तथा धर्मको वास्तविक ध्येय समभाव सिर्जना गर्नु हो, शान्ति र अपनत्व बढाउनु हो । तर के यसो भइरहेको छ त ?

मानिस भय र त्रासमा बस्न सक्तैन । आनन्दको कुरा त धेरै टाढाको भयो । मोक्ष त्यसपछिको विषय हो । अध्यात्मको अन्तिम ध्येय मोक्ष प्राप्तिलाई मानिन्छ । यो भनेको पूर्णरूपमा आन्तरिक स्वतन्त्रता र भयरहित अवस्थाको प्रत्यक्ष अनुभूति हो, गहिरो र स्थायी अनुभूति ।

सामान्य र अस्थायी अनुभूति त धेरै हुन्छन्, पटक-पटक भइरहन्छन् तर स्थायी अनुभूति महत्त्वपूर्ण छ । त्यसैले भयबाट मुक्त हुन आन्तरिक स्वतन्त्रताको प्रत्यक्ष र स्थायी अनुभूति भइरहनुपर्छ । मानिस पलपलमा भयभीत छ । यो भयभीत हुनुमा बहुकारण हुन सक्छन् । जीवन सुरक्षाको भय, रोगको भय, धन हरणको भय आदि । सबैभन्दा डरलाग्दो भय तृष्णाको छ । तृष्णाले हरदम भय नै सिर्जना गर्छ ।

कृष्ण, बुद्ध, जिसस, मोहम्मद, जैन तिर्थंकर, नानक, कविर आदि महापुरुषहरूले आन्तरिक स्वतन्त्रताको स्थायी र प्रत्यक्ष अनुभूति गरेका हुन् र त्यस अवस्थामा उनीहरू भगवान् कहलाइए, अर्थात् अस्तित्वसँग एकाकार भए । अस्तित्व भयभीत छैन । अस्तित्व आनन्दित छ । त्यसैले अस्तित्व तथा परमात्मालाई सत्चितानन्द भनिन्छ ।

वास्तवमा एउटा मानवमै भगवान् हुने सामथ्र्य र गुण छ । मानव जीवन प्राप्तिको विशिष्ट विशेषता पनि यही हो भन्छ अध्यात्मले । तर यसको लागि निश्चित रूपमा दैवी सम्पदाको संग्रह हुँदै जानुपर्छ भनिएको छ । गीताको सोह्रौं अध्यायको प्रथम तीन श्लोकमा केही दैवी सम्पदाहरूको उल्लेख छ । यसमा भयको सर्वथा अभावलाई दैवी सम्पदाको सुरुमै उल्लेख गरिएको छ । वास्तवमा दैवी सम्पदा बढ्दै जाँदा भयरहित अवस्था पनि बढ्दै जाने हो ।

यो गुणभन्दा पनि परिणाम हो भन्नु बढी उपयुक्त होला । गीतामा स्थितप्रज्ञ अवस्थाबारे पनि उल्लेख छ । समभाव, द्रष्टा भाव, साक्षी भावको अवस्था पनि भयरहित अवस्थाको प्राप्तिका साधन हुन् । त्यसैले समत्वलाई योग भनिएको छ, यो पनि भयरहित अवस्थाको उपज हो । दुःख-सुख, सम्पन्नता-विपन्नता आदिमा सबै भावमा रहने अवस्था हो समत्व ।

तर मूल प्रश्न छ- यो अवस्था, गुण तथा प्रवृत्ति कहाँबाट कसरी प्राप्त हुन्छ ? यसैको उत्तरको लागि सारा योगसाधना, गीतामा कृष्णको वाणी, बुद्ध वाणी र उपनिषद्हरूमा ऋषिहरूका वाणी होस् या सन्तका वाणी महत्त्वपूर्ण छन् । यसमा अभ्यासको ठूलो महत्त्व छ । त्यसैले गीतामा पनि श्रीकृष्णले अर्जुनलाई बारम्बारको अभ्यास र वैराग्यमा जानुपर्ने बताउनुभएको छ ।

मानव जीवनको प्राप्ति दुर्लभ छ । मानन जीवन जिउने ध्येय, लक्ष्य र कर्म पनि विचित्र छन् । कोही सांसारिक सुखलाई नै प्रमुख ध्येय मान्छन् र संग्रह भोगमा लाग्छन् । यस्ता प्रवृत्ति प्रायः मुर्छामा नै बाँच्छन् र प्रकृतिका दास बनेर जिउँछन् । वास्तवमा मानिसले भोग भोगेको होइन, प्रकृतिले आफ्नो कार्य गराएको मात्र हो ।

मानिसको जीवन त एउटा निश्चित समयको लागि छ । त्यो समयभित्र प्रकृतिले सकेसम्म मानिसलाई दास बनाउने हो । इन्द्रियहरू र मनको खेल चंगुलमा प्रकृतिले देहलाई फसाएर जड्तातर्फ उन्मुख गराउँछ र त्यो नै भोग हो र यसका विभिन्न रूप र प्रकृति छन् ।

अर्को प्रकारको जीवन पनि मानिसले जिउन सक्छ र त्यो होसपूर्ण जीवन हो, साधनाको जीवनको धर्म र अध्यात्मको जीवन । यस प्रकारको जीवनमा मानिस सकेसम्म प्रकृतिको बर्बाद तथा दासताबाट मुक्ति चाहन्छ । विभिन्न साधना अपनाउँछ र आन्तरिक, स्थायी र गहिरो शान्ति खोज्छ मान्छेले ।

मानिस अपार प्रकृतिको चंगुलबाट निस्कने उपाय खोज्छ र पराप्रकृति तथा परमात्मा भनौं वा अस्तित्व भनौं, त्यसमा एकाकार हुन चाहन्छ । यी अवस्थातर्फ उन्मुख हुँदै जाँदा भय, त्रास, भोगवासनाको चाहना हराउँदै जान्छ । यही नै आन्तरिक स्वतन्त्रतातर्फ उन्मुख हुँदै जाने अवस्था हो ।

मोक्ष निर्वाणतर्फ उन्मुख हुँदै जाने मार्ग हो । तर यो सुगम पनि छैन र सबैलाई पर्याप्त पनि छैन । प्रकृतिको घनीभूत फैलावट, हस्तक्षेप र लीलाबाट मानिसलई उम्कन कठिन छ । त्यसैले साधनाको महत्त्व छ । प्रकृतिले आफ्नो सर्वोपरि ध्येय पूरा गर्न मनसहितको सर्वोत्तम प्राणीको सृष्टि गरेको छ । शरीर र मनको अशुद्ध अवस्थामा भय बढेर जान्छ ।

शुद्धता बढ्दै गएपछि भय, त्रास घट्दै जान्छ र भोग तथा संग्रह बुद्धि पनि घट्दै जान्छ । त्यसैले समत्व तथा समभावको अवस्था भनेको शुद्धताको अवस्था हो । सारा ब्रह्माण्डको अस्तित्व शुद्धताबाट सञ्चालित छ । आगो शुद्ध हुन्छ, सूर्यको किरण शुद्ध हुन्छ, चन्द्रमाको शीतलता शुद्ध हुन्छ ।

हरेक शुद्धताको परम महत्त्व छ । पञ्चमहाभूत पनि शुद्धतातर्फ उन्मुख छन् । माटो, जल, वायु र अग्निले दुषितलाई शुद्ध बनाउँछन् । आकाश तत्त्व त आफैँमा परम शुद्ध छ, किनकि त्यो शून्य छ । शून्य शुद्ध र पूर्ण हुन्छ । त्यसैले शून्यलाई जोड्दा, घटाउँदा, भाग गर्दा र गुणन गर्दा पनि शून्य नै प्रतिफल हुन्छ । सबै अंकहरू अपूर्ण र परिवर्तित छन्, तर शून्य पूर्ण छ । त्यसैले 'ओमकार' शून्यको शब्द हो, शून्यको ध्वनि हो । त्यसैबाट सबैको उत्पत्ति भएको छ ।

अब देशको कुरा गरौं । देशको उन्नति पनि त्यहाँका बहुसंख्यक मानिसको शुद्धतामा भर पर्छ । त्यो शुद्धता बाहिरीभन्दा आन्तरिक विषय हो । त्यसैले प्रकृतिका तीन गुण धर्मको कुरा आउँछ अध्यात्ममा । सत्व बढ्दै जाँदा अमनचैन, शान्ति र आनन्द बढ्छ र तमो बढ्दा द्वन्द्व, झगडा, अशान्ति र अप्रियता बढ्दै जान्छ । स्वामी विवेकानन्दले विवाद, द्वन्द्व र अस्थिरताका बेलामा तत्कालीन भारतमा भन्नुभएको थियो- सत्वलाई बढाऊ, रजलाई सन्तुलनमा राख र तमोलाई दबाऊ । यो गुणधर्म जनतामा भन्दा नेतामा बढी सन्तुलित र परिष्कृत हुनु जरुरी छ, राष्ट्रहितको लागि ।

कुनै मानिसमा राम्रो चरित्र, व्यवहार, कर्म त्यसै आउने होइन । यसमा प्रकृतिको गुण धर्मको पनि ठूलो हात वा असर छ । तमो गुणी व्यक्ति अशुद्ध हुन्छ । तमो गुणीको भोजन, संगत, सोच र व्यवहार नै फरक हुन्छ । अशुद्ध व्यक्ति अन्धकारमा हुन्छ र भयमा हुन्छ । आफू भयमा हुँदा अरूलाई पनि भयभीत बनाउँछ ।

अधिकांश द्वन्द्व, झगडा, युद्ध, अपराध तमोगुणी वृत्तिका फल हुन् । तमोगुणी सोचका फल हुन् । शुद्ध व्यक्ति प्रज्ञामा हुन्छ । आफू पनि अभयको अवस्थामा हुन्छ र अरूलाई पनि अभय तुल्याउने कोसिस गर्छ । त्यस्ता व्यक्तिहरूको संख्या बढ्दै जाँदा र त्यस्ता व्यक्ति समाज र राष्ट्रको नेतृत्वमा पुग्दा, रहँदा समाज र राष्ट्रमा शान्ति र उन्नति बढ्दै जान्छ ।

अध्यात्ममा होस् वा भौतिक लौकिक व्यवहारमा होस्, साधना अभ्यासको सर्वाधिक महत्त्व छ । अध्यात्ममा मात्र होइन, भौतिक उन्नतिको पक्षमा पनि साधना चाहिन्छ ।

अब विचार गरौं दुरवस्थाको कारणबारे । आन्तरिक रूपमा स्वतन्त्र हुने, बलवान् र भयरहित हुन सक्ने सामथ्र्यलाई पहिचान गर्न नसक्दा मानिस भड्किएका छन् । अधिकांश धर्म सम्प्रदायले बाहिर-बाहिर मन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरमा भगवान् खोज्छन्, इष्टदेव खोज्छन् । तिनले आआफ्ना सम्प्रदायका नाम, रूप, गुण र संस्कार मात्र स्विकार्छन्, अरूलाई स्विकार्दैनन् । सत्य एकै भए पनि खण्डीकृत र विकृति गरिएको छ यसरी । कपितय अवस्थामा एक धर्म सम्प्रदायले अर्कोलाई घृणा र अवेहलना गर्ने गर्छन् । युद्धसम्म गर्छन् र भन्छन् धर्म युद्ध हो भनेर ।

वास्तवमा त्यो धर्म युद्ध नभएर द्वन्द्व युद्ध हो । घृणा युद्ध हो र प्रकृतिको विकार हो । अध्यात्मको चुरो तथा मूलतत्त्वको प्राप्तिको मार्ग अपनाउनेभन्दा बाहिरी स्वार्थ, विकृत संस्कृति र मान्यताले बाहिरी आवरणमा लेप मात्र लगाउँदै जाँदा मूलतत्त्व छोपिएर धर्मको नाममा समाजले बोझ मात्र बोक्न पुग्छ । त्यसैले सत्य एउटै हुँदा पनि समाजमा द्वन्द्व र कलह छ । एउटै सूर्य सर्वत्र उदयमान हुँदा पनि मानिसले बुझ्न सकेको छैन त्यो सूर्यलाई ।

एउटा शुद्ध सत्व अवस्थाको मानिसले द्वन्द्व, कलह र हिंसा मन पराउँदैन । उसमा अहंकार पनि हुँदैन । ऊ सहज, सरल र शान्त हुन्छ । उसमा बुद्धि र विवेकको उचित समन्वय हुन्छ र प्रज्ञावान् हुन्छ । प्रज्ञावान् मानिस दृढ हुन्छ, संकल्प शक्ति हुन्छ, क्रिया शक्ति हुन्छ । धर्ममा मात्र होइन राजनीतिमा पनि यस्ता व्यक्ति देखा परे सक्षम नेतृत्वको आगमन हुन्छ । यी व्यक्तिले दूरदृष्टि राख्छन्, तिनको निःस्वार्थ भावना र कर्मयोगी चित्तधाराले राष्ट्रलाई बलवान्, शान्त र समृद्धि बनाउँछ ।

संसारका राम्रा नेताहरूमा यो चरित्र र व्यवहार देखिन्छ । त्यस्ता व्यक्तिहरू कसरी उधन्न गर्ने अर्थात् कहाँबाट प्राप्त गर्ने ? शिक्षा दीक्षा, संस्कारको भूमिका पनि छ, तर अध्यात्ममा होस् वा भौतिक लौकिक व्यवहारमा होस्, साधना अभ्यासको सर्वाधिक महत्त्व छ । अध्यात्ममा मात्र होइन, भौतिक उन्नतिको पक्षमा पनि साधना चाहिन्छ ।

अहिले व्यक्तिगत र गुटगत साधना मात्र चलिरहेछ राजनीतिमा । समाज र राष्ट्रहितको पक्षमा निःस्वार्थ साधना गर्न सक्ने कर्मयोगी देशले खोजी र प्रतीक्षा गरिरहेछ । ईश्वर पुकारौं- त्यो कर्मयोगीको आगमन होस् शीघ्र, यो देशको मुहार फेर्न, शान्ति, स्थायित्व र समृद्धि प्राप्ति गर्न ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.