जनविरोधी राजनीति र मित्रघातको दुष्परिणाम
माओवादीको उत्कर्षकालीन उन्माद ताल फुटेर आएको बाढीजस्तो थियो भने अब आउने अकल्पनीय अँध्यारो भविष्य फुटेको तालको दुःखान्त जस्तो रहनेछ । केही थान मन्त्री र सांसदहरूको साँघुरो घेरामा खुम्चिएको अवसरवादी अन्तिम भोज ताल फुटेको ठाउँमा भविष्यमा हुने पानीको हाहाकारको ख्याल नगरी बचेखुचेको हिलोमा ठूला जलचरको अन्तिम जगजगी र छटपटी समरूपको छ ।
फुटेको तालको प्रलयको नमुना बाजुराको बाँधु गाविसस्थित पाँडीका सिमखेतहरू हुन् । पाँडी दह २०२२ सालमा फुटेछ । त्यसको बाढीले कर्णालीलाई थुनेछ र उल्टो बग्न बाध्य पारेछ । आजसम्म पनि कर्णाली क्षेत्रमा तालहरूको तुलनात्मक फैलावटको बारेमा सामान्यीकरण गरेर भन्ने गरिन्छ- मानसरोवर थाल हो, रारादह कचौरा हो र पाँडीदह दियो हो ।
पहिलो संविधानसभा चुनावमा माओवादीले एमाले र कांग्रेस जस्ता चुनावी राजनीतिका उस्ताद शक्तिलाई एकैसाथ आठतालु सुकाइदिनु पाँडीदह फुटेर कर्णालीको वेग रोकिदिनु जस्तै थियो । आज माओवादीको उत्कर्ष काल र पाँडीको दह एकादेशको कथा भइसकेका छन् । भारतको कठपुतली भयो भनेर सकल कांग्रेसलाई अराजनीतिक टिप्पणी गर्दै गर्ने प्रचण्ड एक वर्ष नबित्दै भारतका अगाडि निउरमुन्टी 'न' भएर कांग्रेसका पछाडि लामबद्ध हुनु नै माओवादी केन्द्रको पूर्ण पतनको ढोका खुल्नु हो । व्यक्ति वा शक्तिलाई अरूले नाश गर्ने होइन ।
वास्तवमा रक्षा गर्न नसकिएको आफ्नै वचन बदलामा उत्रिएर कर्ताको नाश हुने हो । वचनको फेसनको पर्यायवाची शब्द पतन हो । आफैंद्वारा नाश गरिएका वाचा र वचनवीर केन्द्रमाथि भारी हुँदैछन् । विगत कालमा रअ निर्देशित भएर देशविरुद्ध द्रोह र सहदेशवासीविरुद्ध गद्दारी गरेको दोषजति बाबुरामको थाप्लोमा थोपरेर आफू साखुल्य रहने सुन्दर अवसर प्रचण्डसामु नआएको होइन ।
पल्केको तिल्के घरघर मिल्के भनेझैं कुलत रातारात हट्न सम्भव भएन । सही निष्कर्षमा पुग्नुभन्दा जटिल त्यसमा उभिरहनु हुन्छ । एक वर्षको अन्तरालमा प्रचण्डले लिएको युटर्न मोड यसको उदाहरण हो । मयुरको प्वाँख सिउरिँदैमा काग मयुर भइहाल्दैन । खोस्टो ओढाउँदैमा स्याल बाघ बन्दैन ।
भारतीय शासक वर्गका अगाडि प्रचण्डले बचेखुचेका राष्ट्रप्रेम र देशभक्तिको रसायन जोगाउन सकेनन् । यसले उनको व्यक्तित्वमा अपूरणीय क्षति पुगेको छ । ओरालो यात्रामा भौतिक सुखसुविधाले स्थान पाए पनि आत्मगौरवलाई स्थान हुँदैन । जीवन सुख सयल र शानका साथ बित्दैमा व्यक्ति नायक नै हुन्छ भन्ने छैन । देशभक्त महानायकहरूको जीवन दुःखान्त पनि हुन सक्छ ।
कालु पाण्डे, बहादुर शाह, दामोदर पाण्डे, भीमसेन थापा, बीपी, पुष्पलाल, मदन र वीरेन्द्रको दुःखान्त जीवन दाहाल र देउवाले उडाएको मोजमस्ती भन्दा कयौं गुणा मूल्यवान् छ । दाहाल र देउवा गठबन्धनले आफ्ना आवाजको सुनुवाइ गर्ला भनेर जनताले आशा गर्न छोडिसके । यस गठबन्धनले पक्रेको राजनीतिले माओवादी केन्द्रको पूर्ण पतनलाई सुगम तुल्याउँदै छ ।
अघिल्लोपटक सेनापति काण्डमा प्रचण्ड नेतृत्वको सरकार चिप्लँदा देशभक्त भएकै कारणले अन्याय भयो कि भन्ने ठाउँ शेष थियो । यसपटकको सत्तारोहणसँगै शंकाको फाइदा समाप्त भएको छ र दाहालको देशभक्तिको मुकुन्डो उत्रिएको छ । संकट परेको बेला देशको पक्षमा उभिनु त कता हो कता परचक्रीको मतियार बन्ने दाहाल देउवा जोडाको क्रियाकलापको हिसाबकिताब जनता जनार्दनले माग्नेछन् ।
इतिहासको भूलवश नै भए पनि माओवादीले अवसर नपाएको होइन । कुशल संगठक र साहसी युवापुस्ताको साथमा नपाएको होइन । उसले जनसमुदायबाट शंकाको फाइदा उठाउनुका साथै एमाले र कांग्रेसप्रतिको जनताको असन्तुष्टिको लाभ उठाएको पनि सत्य हो ।
केही धम्की, केही मारमुग्री, केही सक्रियता, केही हदसम्म प्रतिस्पर्धी दलको गलत चुनावी रणनीति, केही हदसम्म अनाचारका अगाडि जनता जनार्दनले मूर्खदेखि दैव डराओस्को सुविधा प्रदान गरेपछि माओवादी २०६४ सालमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भई सुनकोसीमा जुरे भीर खसेर अस्थायी ताल बनेजस्तै 'उडिजाउँ त पक्षी होइन भुइँ बस्ने मन छैन' को उन्मादमा उत्रिएको थियो ।
जो बलियो त्यतैतिर ढलियो गर्ने नेपाली राजनीतिको कमजोरीको लाभ पोल्टामा नपरेको होइन । आस, त्रास, लोभ, मोह, निन्दा र प्रशंसाको उल्टो चक्रपात चलाउन पनि माओवादी कम्ती कुशल थिएन । यी सब अनुकुलता हुँदाहुँदै पनि पतनको भागेदार हुनुपर्यो । शीलको अभाव माओवादीलाई महँगो पर्यो । राजनीतिकर्मीले सन्तानको सुविधा हेरेर कार्यकर्ताको भाग खोस्नु गाई काटेर भालु पोस्नुसरहको अपराध हो । कार्यकर्ताको भाग खोस्नु, भविष्य अन्धकारतिर धकल्नु र उभिने भुइँ नराख्नुकै कारणले केन्द्र जनमत गुमाउन बाध्य भयो ।
जनताको गोजी रित्याउन लगाएर तिनै कार्यकर्ताका गोजी मार्ने सहायकप्रतिको धृतराष्ट्र मोहले गर्दा माओवादी नेतृत्व जोई न जुँगा मोही न सातु दशामा पुगेको छ । अहंकार र लोभले वशीभूत भएकैले माओवादी जनताको दिलमा नबसेर भीरको डिलमा पुगेको छ । किनकि अविवेकीको पतन अनेक प्रकारले हुन्छ । कौरव र यदुवंशको सर्वनाशको प्रसंगमा वेदव्यासले व्यक्त गरेको यो कथन नेपालका माओवादीका लागि तयार पारिएको थिएन, तर भएको छ त्यस्तै ।
राजनीति जतिसुकै वैज्ञानिक सिद्धान्त र वर्ग पक्षधरताको जगमा उभिएको भए पनि दलहरूले माटोको साउती र सुवास, जनताको मनोविज्ञान र आवाज, समाजको मर्यादा र मर्म, समन्धित राष्ट्र एकताका तन्तु र संवेदन अंगहरूबारे ख्याल गरेन भने सान्दर्भिकता गुमाउँछ । यसको सबैभन्दा सुलभ, सुबोध र सुन्दर उदाहरण माओवादी केन्द्र हो । कुनै एउटा चुनाव मात्र कुनै दलको दलको भविष्य नाप्ने अन्तिम मापन होइन ।
०६४ सालमा एमाले र कांग्रेस हिउँदमा महानदी घटेजस्तै भएका थिए । सदाका लागि उठ्नै नसक्ने गरी धराशयी भएकै भए पनि दाहाल र भट्टराईले गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालको गुन बिर्सनु हुँदैनथ्यो । इमान र जमान, धैर्य र त्याग, निष्ठा र नैतिकता हेर्दा अरूलाई पोस्नको लागि जस्तो देखिए पनि वास्तवमा यी सबै मानवीय मूल्यहरू कर्ता स्वयंका आभूषण र रक्षाकबच हुन् ।
द्वन्द्वात्मक भौतिकवादी हुनु भनेको मानवीय मूल्य र मान्यता हिसाबले टाट पल्टिनु होइन र नैतिक रूपले निर्वस्त्र रहनु पनि होइन । उत्कर्षकालमा माओवादी नेतृत्वले सुझबुझ राख्न सकेन । प्रतिशोध र परनिन्दा दाहालको नशानशामा रगत भएर सल्बलायो । एमालेसँग सत्ता साझेदारी गरेर एकदलीय अधिनायकवादी दुस्वप्नमा वाधा बनेपछि एमाले कार्यकर्ताकै छानीछानी हत्या गराउनु, सत्ताको आडमा वाईसीएललाई यमदूतका रूपमा उतार्नु, एमालेमा फुट पार्न छिद्रहरूको खोजी गर्नु र सेनापति काण्डको षड्यन्त्र रच्नु माओवादीको बांगो नियतका प्रमाण थिए ।
जनताको कोपजति राजनीतिमा भयंकर र भारी अन्य केही हुँदैन । के कारणले संविधानसभा नामको सेतो हात्ती खडा गरियो ? किन जातीय विद्वेष र प्रादेशिक दरारको जरुरत पर्यो ? विदेशीको आडमा गृहयुद्ध किन थुपारियो ? राजनीतिक स्थिरता किन भएन ? संविधान किन बनेन ? यस्तै सजीव प्रश्नहरूको कामद्वारा जवाफ दिन माओवादी नेतृत्वले जरुरी नठानेकाले नै जनताको कोपमा परेर पुनः मुसिको भव भएको हो ।
जनताको मन जित्नेभन्दा सीमापारिका बलियालाई खुसी पार्नमा सरस्वती लगाउने बल्छीमा माओवादी बल्झिएको छ । अब प्रचण्डपथ लेन्डुप दोर्जे पथ संस्करणको नयाँ काँचुलीमा आएको छ । एमालेसँगको मित्रद्रोहकै कारण ऊ उम्किन नसक्ने खाडलमा भासिँदै छ । देशभक्त कार्यकर्ताको विशाल पंक्तिको भविष्य अन्धकारतिर धकेल्दै नेतृत्वले आफ्नो छुद्र स्वार्थको लागि नयाँ समीकरणको विष खेती गरेको छ । नेतृत्व निर्लोभी, एमालेमैत्री र देशभक्तिको भावनाले ओतप्रोत परेको भए जनता विगतमा दिएको सजायलाई न्याउरी मारी पछुतोको तहमा लिन सक्थे ।
अहंकार र लोभले वशीभूत भएकैले माओवादी जनताको दिलमा नबसेर भीरको डिलमा पुगेको छ । कौरव र यदुवंशको सर्वनाशको प्रसंगमा वेदव्यासले व्यक्त गरेको यो कथन नेपालका माओवादीका लागि तयार पारिएको थिएन, तर भएको छ त्यस्तै ।
जनताको कोपबाट बच्न केन्द्रले आवश्यक नै देखेन । देशभक्तहरूको मोर्चा कस्ता विगतमा रअले छरेको चाराको मूल्य चुकाउने क्रममा द्वन्द्वकालमा गरेका जघन्य अपराधका मुद्दा उछालिने र कुमार लामा झैं विदेशमा थुनिने खतरा देख्यो । एमालेसँग मिलेर यो देशको जीर्णोद्धार गर्दा, मातृभूमिको स्वाभिमानको मेरुदण्डमा मालिस लगाउँदा, नेपाली जातिको शस्त्रबल र शास्त्रबलको पुनरुद्धार गर्दा, जनजीविका, सामाजिक न्याय, सामाजिक सद्भावको लिकमा मुलुकलाई उभ्याउँदा, विकास, समृद्धि र राजनीतिक स्थिरताको पोषण जनसमुदायलाई दिँदा माओवादीले सत्गति पाउन सक्थ्यो ।
नेपालीको उत्थानमा सीमापारिका परचक्रीको चैन हराउने गर्छ । सस्ता कामदार र सेवक नपाउने खतरा बढेपछि नै माओवादीलाई सुनियोजित रूपले संविधान कार्यान्वयनको सारथि बन्नुबाट पथभ्रष्ट पारिएको छ । देश उँभो लाग्दा र आफ्नो भूगोलमा जनताको एकताबद्ध पहल निर्णायक हुँदा श्रेय बढी एमालेको पोल्टामा जाने देखेर केन्द्र नेतृत्वलाई जलन पैदा भयो । देश र जनताको बृहत्तर स्वार्थका अगाडि आफू कहाँ परिन्छ भन्ने चिन्ता गर्नु विनास काले विपरीत बुद्धि हो । विनाश निकट आएकै कारणले माओवादी बहकिएको छ ।
दण्डनीतिले भन्छ- जनताको हितविरुद्धमा जानेजतिलाई जनताको कोपबाट दण्डित गरिनुपर्छ । २०७० को चुनावी पराजयपछि प्रचण्डका उन्मत्त कुममा आएको गतिहीनताको सजायले मात्र पुगेन । अघिल्लो चुनावमा जस्तै आगामी चुनावमा पनि माओवादी केन्द्रलाई प्रत्यक्षतर्फ ६ गुणाले खुम्चिनेछ । विगतमा प्रचार गरिएजस्तो ठूलो दलको हाउगुजी हटेको छ । दुईतिहाइ बहुमत पाउने हौवा पिट्ने ठाउँ पनि रहेन ।
केन्द्रसँग यतिखेर खुला र चुनावी राजनीतिका चतुर खेलाडी डा. बाबुराम भट्टराई छैनन् । भट्टराईको बहिर्गमन केन्द्रको लागि ठूलो झट्का साबित हुन बाँकी नै छ । आफूविनाका प्रचण्डलाई विष नभएको सर्प र दाह्रा नग्रा उखेलिएको बाघ बनाउने संकल्पका साथ भट्टराईले केही सपना बोकेका जवानहरूको जमात जम्मा गरी कदम उठाइसकेका छन् । जनविरोधी राजनीति र मित्रघातको दुष्परिणाम टार्न केन्द्रले छर्ने भ्रम, वाचा वचन र अहंकार प्रदर्शन अगुल्टो पानीमा डुबाउँदाको झ्वाइँय मात्र हुनेछ ।