सत्ता कुर्सीमा बसेपछि स्वतः राजाको जस्तै शक्ति प्राप्त हुँदोरहेछ

सत्ता कुर्सीमा बसेपछि स्वतः राजाको जस्तै शक्ति प्राप्त हुँदोरहेछ

०६२/६३ को जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको छ । त्यसअगाडि २००७ सालदेखि प्रजातन्त्र (बहुदलीय र निर्दलीय) भन्ने चलन रहेको थियो । नयाँ बोतलमा पुरानो रक्सी राखेजस्तै नाम जे दिए पनि लोकतन्त्र र प्रजातन्त्र एकै हो । लोकमार्ग र राजमार्ग जे भने पनि सवारी साधन चल्ने मोटर बाटो नै हो ।

नेपालको सार्वभौमसत्ता जनतामा निहित भएकाले जनता तन्त्र भने पनि हुने हो । त्यसैले जनता तन्त्र, लोकतन्त्र प्रजातन्त्र जे नाम दिए पनि काम एकै हो । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले जनताद्वारा जनताका लागि र जनताकै निम्ति भनेर लोकतन्त्रको परिभाषा गरेका थिए भने नयाँ नेपालको लोकतन्त्रमा नेताद्वारा नेताका लागि र नेताकै निम्ति भन्ने परिभाषा कायम भएको छ ।

लोकतन्त्रमा जनताले मतदानद्वारा बालिग मताधिकारका आधारमा आफ्नो प्रतिनिधि चुन्छन् र तिनले विधायिकामा गएर संविधान, ऐन, कानुन बनाउने र कर लगाउने जस्ता कार्य गर्छन् । जनताको मतको प्रतिनिधित्व गर्ने भएकाले जनचाहनाअनुसार कार्य गर्ने र केही गरी जनताको चाहनाविपरीत काम गरेमा आवधिक निर्वाचनमा मतदानद्वारा उनीहरूलाई पराजित गरिदिन्छन् । अर्कोतर्फ नयाँ लोकतन्त्रको नेतातन्त्रमा नेताले टिकट दिएर पार्टीको तर्फबाट लड्न पठाइन्छ ।

उम्मेदवार असल र खराब जे भए पनि पार्टीको नामबाट भोट पाएर उसले चुनाव जित्छ । विधायिकामा गएपछि पार्टीको हितअनुसार कार्य गर्ने र पार्टी केही स्वनामधन्य नेताहरूको नियन्त्रणमा हुँदा जनचाहनाविपरीत नेताको निर्देशनमा काम गरिरहेकाले वास्तविक जनताको प्रतिनिधित्व गर्न विधायकलाई कठिनाइ परिरहेको हुन्छ ।

नयाँ लोकतन्त्रमा २०६३ को अन्तरिम संविधान र २०७२ मा व्यवस्था भएको समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले नेतातन्त्रलाई अझ बल पुर्‌याएको छ । संविधानसभा जो रूपान्तरित भएर संसद् भएको छ । त्यसमा ६०१ जना सभासद् रहेका छन् । त्यसमा २४० जना मात्र निर्वाचित क्षेत्रका आधारमा जनताद्वारा प्रत्यक्ष निर्वाचित र ३६१ जना समानुपतिकको नाममा अप्रत्यक्ष रूपमा नेताहरूद्वारा मनोनीत रहेका छन् । संसद्मा जनताको प्रतिनिधिभन्दा नेताको प्रतिनिधि बहुमतमा छन् ।

त्यसैले जनप्रतिनिधिभन्दा नेता प्रतिनिधिको बोलवाला छ । पञ्चायतकालमा एक प्रधानमन्त्री (डा. तुलसी गिरी ) ले जनकपुरमा चुनावी सभामा मतदातासँग भने, 'मलाई जनताको मतको मतलब छैन, मलाई त राजाको एक भोट भए पुग्छ' भनेर मतदातालाई लल्कार्दै त्यसलाई वर्तमान लोकतान्त्रिक गणतन्त्रमा कुनै नेता वा शक्तिकेन्द्रको आशीर्वाद लिएर मन्त्री, प्रधानमन्त्री भएर राइँदाइँ गरेर मतदातालाई ललकार गरेको देखिएको छ ।

नेता वा शाक्ति केन्द्रहरूको आशीर्वादले मन्त्री बनाइरहेकाहरूले यो देशलाई कति नोक्सान पुग्न गएको छ, त्यसतर्फ कसैको ध्यान गएको देखिँदैन । ऊर्जा मन्त्रालयमा सभासद् वा संसद् भएर गएका (गोकर्ण विष्ट) मन्त्रीहरूले गरेको कार्य र सभासद् वा सांसद नभई मन्त्री भएर गएका (राधा ज्ञवाली) दुईजना मन्त्रीको कामगराइ र उपलब्धि वा हानिनोक्सानीको मूल्यांकन गर्ने हो भने एकजनाले अन्धकारबाट उज्यालोतिर र अर्कोले उज्यालोबाट अँध्यारोतिर लगेको वास्तविकता छर्लंग देखिन्छ ।

नेपालमा २०१९ देखि २०४७ सम्म ३० वर्ष निर्दलीय पञ्चायती व्यवस्था रहेको र त्यसबेला राजानै सर्वेसर्वा हुन्थे । देशलाई पाँच विकास क्षेत्रमा विभाजित गरेर विकासको गति अघि बढाउन प्रत्येक वर्ष विकास क्षेत्रको भ्रमण गर्ने र भ्रमणको अन्त्यमा सरकारलाई निर्देशन दिइन्थ्यो । अहिले नयाँ लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीले दिनको पाँचपटकसम्म 'निर्देशन' दिने गरेका छन् । सत्ताको कुर्सीमा बसेपछि स्वतः राजाको जस्तै शक्ति प्राप्त हुँदोरहेछ कि के हो ? राजाले जस्तै 'निर्देशन' दिने गरेका छन् । लोकतन्त्र वा प्रजातन्त्रमा विधिको शासन हुन्छ ।

संविधान, ऐन, नियम, कार्यविभाजन, कार्यसम्पादक नियमावलीअनुसार सबै पदको काम, कर्तव्य अधिकार र सीमा तोकिएको हुन्छ । सो काम गर्नको लागि निर्देशनको आवश्यकता नै पर्दैन । हो, सोअनुसार काम भए÷नभएको निरीक्षणको आवश्यकता पर्छ । नीतिगत निर्णय गर्न तहमा बसेकाले तल्लो तहको कार्यान्वयन तहमा रहेकालाई काम गर्न केकति कठिनाइ परिरहेको छ, वाधा–अड्काउ परेको छ । त्यो फुकाइ स्वतः कार्य सञ्चालन हुने व्यवस्था गर्नुपर्ने हो ।मन्त्रालयमा नीतिगत निर्णय गर्नुपर्ने फायलको चाङ लगाई मन्त्रीहरू फिल्डमा दौडेर खास उपलब्धि हुँदैन होला ।

लोकतन्त्रमा जनता जनार्दन अर्थात् भगवान् महादेव जस्ता हुन् । महादेवले भस्मासुरलाई वरदान दिएर शक्तिशाली बनाएजस्तै जनताले आफ्नो मतद्वारा नेतालाई निर्वाचित गरेर शक्तिशाली बनाएका हुन्छन् । वरदान पाएपछि भस्मासुरले महादेवमाथि जाइलागेजस्तै निर्वाचित भएर कुनै पदमा पुगेपछि नेताको व्यवहार जनताप्रति त्यस्तै हुने गरेको छ । केही मन्त्री सार्वजनिक रूपमै आफ्नो मन्त्रालयको काममा प्रधानमन्त्री वा पार्र्टीका नेता जसले उनीहरूलाई मन्त्री बनाएका छन्, हस्तक्षेप सहिँदैन भनेर भस्मासुरे प्रवृत्ति देखाइरहेका छन् ।

संघीयता, प्रदेशको सीमांकन, नामांकन, राजधानी तोक्ने, भाषा र समानुपातिक प्रतिनिधित्व, स्थानीय निकायलाई तहमा रूपान्तरण गर्ने र सीमा संख्या तोक्ने कार्य तथा हिन्दु धर्म, संवैधानिक वा सेरेमोनियल राजतन्त्र वा गणतन्त्र आदि समस्यालाई जनचाहनाअनुसार नै समाधान गर्ने हो भने निर्वाचनमा जानैपर्छ ।

वर्तमान नयाँ लोकतन्त्र र नेतातन्त्रमा नेताको कृपा भएपछि कुनै पद पाउनु ठूलो होइन । तर पदमा रहेर पदअनुसार काम गर्नु नै ठूलो हो । भर्खरै नेपाल राष्ट्र बैंकका बहालवाला निर्देशक बैंकतर्फको विशिष्ट श्रेणीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ । उपाध्यक्षको पद मन्त्री (राज्यमन्त्री) सरह रहेको छ । राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र अर्थसचिवलगायत नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी रहेका छन् । अब राष्ट्र बैंक गभर्नरमातहतकै कर्मचारी योजना आयोगको उपाध्यक्ष नियुक्त भएपछि योजना आयोगको बैठकमा आर्थिक नीति निर्माण गर्ने ठाउँमा रहेका गभर्नर र अर्थसचिवले कस्तो सहयोग पुर्‌याउलान् ?

हुन त योजना आयोगको उपाध्यक्ष नियुक्त भएपछि उनले राष्ट्र बैंकको निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । सो राजीनामा स्वीकृतिको क्रममा होला । यसैलाई पहिला राजीनामा दिन लगाएर योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको भए राम्रो हुन्थ्यो कि ? गत वर्ष पुनर्निर्माण प्राधिकरणको प्रमुखमा भएको यस्तै नियुक्तिले गर्दा प्राधिकरणमा कोही सरकारी कर्मचारी जान नचाहेका र भूकम्पपीडित जनताले समयमै सहयोग र राहत पाउन सकेनन् । ठीक ठाउँमा ठीक व्यक्तिको नियुक्ति नहुँदा देशले बारम्बार अकल्पनीय क्षति व्यहोर्दै आएको छ । निगाह र कृपाले नौ महिना जागिरे खाने भन्नु एउटा हो, पदअनुसारको दायित्व निर्वाह गर्नु अर्कै हो ।

नेपालमा अहिले जल्दाबल्दा समस्याको रूपमा रहेका संघीयता, प्रदेशको सीमांकन, नामांकन, राजधानी तोक्ने, भाषा र समानुपातिक प्रतिनिधित्व, स्थानीय निकायलाई तहमा रूपान्तरण गर्ने र सीमा संख्या तोक्नेजस्ता कार्य र हिन्दु धर्म, संवैधानिक वा सेरेमोनियल राजतन्त्र वा गणतन्त्र आदि समस्यालाई जनचाहनाअनुसार नै समाधान गर्ने हो भने जनताको मत अर्थात् निर्वाचनमा जानैपर्छ । अरूले उचालेको भरमा विगतमा देखा परेका जातीय राज्य वा प्रदेशहरूको आन्दोलन सेलाएको छ ।

त्यस्तै मधेस एक प्रदेशबाट दुई मधेस हुँदै सीमांकनमा चर्केको मधेस आन्दोलन सीमा नाकाबन्दीबाट काठमाडौं सरेर खुलामञ्चमा अनसन गरेर स्थगित भई हाल संविधान पुनर्लेखनबाट संविधान संशोधनको नाममा सीमित भएको छ । जातीय आन्दोलन जस्तै केही समयपछि मधेस आन्दोलन पनि सेलाउनेछ । जनताले निर्वाचनद्वारा आफ्नो मत दिएरै यो समस्या सदाको लागि समाधान हुनेछ । निर्वाचनपछि मात्र नेपाल सुन्दर शान्त विशाल हुन गई जनताले चाहेको समुन्नत र समृद्ध नेपालमा बस्ने संकल्प पूरा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.