सचेत भएर गरौं किनमेल

सचेत भएर गरौं किनमेल

काडमाडौं: चाडवाडको समयमा मौका छोपेर व्यवसायीले अत्यधिक मूल्य असुल गरी कमसल सामग्री भिडाउने गर्छन् । यस्तो समयमा कम्तीमा तीन/चारवटा पसलमा सामग्रीको अवलोकन गरी मूल्य र गुणस्तरका बारेमा पर्याप्त जानकारी लिएर मात्रै किनमेल गर्नुपर्ने विज्ञको सुझाव छ ।

दसैंको समयमा तेल, मसला, कपडा, फलफूल, जुसलगायतका वस्तुको अत्यधिक बिक्री हुन्छ । पसल अवलोकन र पर्याप्त जानकारी बिना किनमेल गरिए झुक्किएर गुणस्तरहीन सामग्री किन्नुपर्ने बाध्यता हुन्छ । केही दिनअघि दरबारमार्गको अति महँगो मानिएको एला मोड पसलबाट जिन्सको पाइन्ट खरिद गरेका भाष्कर ज्ञवालीले यस्तै समस्या व्यहोर्नु पर्‌यो । केही पसल अवलोकन नगरी ब्रान्डेड भनेर महँगो मूल्यमा खरिद गरेको जिन्स प्यान्ट लगाउने बित्तिकै फाट्यो भनेर उनले ट्विटसमेत गरेका छन् ।

ठूलो पसलमा महँगोमा बिक्री हुने सामग्री गुणस्तरयुक्त हुन्छ र सानो पसलमा बिक्री हुने सस्तो सामग्री गुणस्तरयुक्त हुन्न भन्ने सोचाइ अहिलेको प्रतिस्र्पधात्मक बजारमा मिल्दैन । खुला बजारमा कुनै पनि वस्तुको मूल्यमा एकरुपता हुँदैन । तर, त्यसको नाममा व्यवासायीले छाडातन्त्र हुने गरी आफूखुसी मूल्य कायम गरी बिक्री गर्न पाउँदैनन् ।

कुमारीपाटीस्थित 'टयाक' भन्ने पसलका सञ्चालक अरुण तुलाधरका अनुसार उपभोक्ताले आफैं केही पसलको अवलोकन गरी सामग्रीको गुणस्तर र मूल्य छनोट गर्नुपर्छ । 'लुगाफाटोको गुणस्तर र मूल्य उपभोक्ता आफैंले निर्धारण गरी छनोट गर्नुपर्छ', उनले भने,'कतिपयले मौका हेरेर निकै पुराना लुगा पनि भिडाउने गर्छन् ।

यस्तो अवस्थामा लुगाको वास्ना र रंग राम्ररी ख्याल गर्ने । लुगाबाट नराम्रो वास्ना आएको छ र रंग खुइलिनेजस्तो लाग्ने र कपडा तानतुन गर्दा रेसा फुट्ने जस्तो देखियो भने त्यस्ता लुगाफाटो गुणस्तरहीन भएको बुझ्नुपर्छ ।' आफूलाई सकभर सजिलो हुने कपडा मात्रै खरिद गर्नुपर्ने तुलाधरको भनाइ छ ।

अन्तर्राष्ट्रिय मूल्यमा दैनिक हुने घटबढ, राजस्व, ढुवानी, पसल राखिएको स्थान, कर्मचारी खर्चलगायतका कारण पसलैपिच्छे यस्ता सामग्रीको मूल्य फरक भइरहने तुलाधरले बताए । ठमेलका कपडा बिक्रेता गोकुल पौडेलले चाडवाडको समयमा सकेसम्म विश्वासिलो पसलमा सामान खरिद गर्नुपर्ने सुझाव दिए । लुगाफाटो खरिद गर्नुअघि केही पसलको अवलोकन गर्नुपर्ने, कपडा खरिद गर्दा तानतुन गरेर हेर्नुपर्ने, बढी मोलमोलाई गर्ने स्थानमा खरिद गर्न नहुने उनको सुझाव छ ।

'बढी मोलामोलाई गर्ने पसलमा गुणस्तरहीन सामग्री राखिएका हुन्छन्', पौडेलले भने, 'मानौं कुनै पाइन्टको सुरुमा तीन हजार भन्यो, तर मोलमोलाई गर्दै गएपछि एक हजारदेखि आठ सयमा आउने भयो भने त्यो कुन गुणस्तरको प्यान्ट छ भनेर आफैं अनुमान गर्न सकिन्छ ।' उनका अनुसार बाहिरबाट आउने लुगा सस्तो भए पनि सरकारले लिने चर्को राजस्वका कारण सस्तो लुगामा पनि झन्डै तेब्बरमा उपभोक्ता खरिद गर्न बाध्य छन् ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले सकेसम्म 'विशेष छुट' र 'सेल छुट' भनेको पसलमा सकेसम्म कुनै पनि सामग्री खरिद गर्न नहुने बताए । उनका अनुसार व्यवसायीले पहिले नै आफूले पाउनुपर्ने नाफा राखेर अत्यधिक मूल्य थप्ने र त्यसपछि त्यसमा १५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट र सेल भनेर बिक्री गर्छन् ।

'यस्तो सेल र विशेष छुट भनिएका पसलमा पुराना सामग्री पनि अत्यधिक मूल्य लिएर बिक्री गर्ने प्रवृत्ति छ', श्रेष्ठले भने, 'त्यसैले उपभोक्ता आफैं ५÷६ वटा पसलको अवलोकन गरी मूल्य र गुणस्तरका आधारमा विश्वासिलो पसल छनोट गरी किनमेल गर्नुपर्छ ।

गुणस्तरहीन सामग्री बढी मूल्य बिक्री गरेको शंका लागेमा खरिद बिलसहित तत्कालै विभागमा उजुरी गरेमा हामी तत्कालै कालोबजारी अन्तर्गत कारबाही पनि गर्न सक्छौं ।' उपभोक्तालाई राहत दिन र नठगिन सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाटै किनमेल गर्न उनले सुझाव दिए ।

सरकारले उपत्यकाका १३ स्थानमा यस्तो पसल सञ्चालन गरेको छ । तर अपायक र कम संख्यामा रहेका यस्ता पसल सम्पूर्ण उपत्यकावासीको पहुँचभन्दा बाहिर छन् । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेल भाटभटेनीले उत्पादन हुने उद्योगबाटै ठूलो परिमाणमा गुणस्तरयुक्त सामग्री भित्र्याउने भएकाले अन्य पसलको तुलनामा यहाँ केही सस्तोमा गुणस्तरीय वस्तु उपभोक्ताले किनमेल गर्दैआएको दाबी गर्छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सहप्रवक्ता मदन चापागाईले चाडवाडको समयमा तेल, मरमसला, जुस, फलफूल र मासु निकै सचेत भएर किनमेल गर्न सुझाव दिएका छन् । उनका अनुसार मूल्य र गुणस्तरमा नठगिन पसलको अवलोकन र विश्वासिलोको आधारमा किनमेल गर्नुपर्छ । सामान खरिद गर्नुअघि प्याकेजिङ राम्रोसँग भएको, कच्याक कुचुक नपरेको, प्याकेजिङ नफुलेको, उत्पादन मिति र उपभोग्य मिति स्पष्ट देखिएको र यथावतै रहेको, उत्पादन गर्ने उद्योगको विवरण भएको, अनुज्ञापत्र लिएकोजस्ता आधारभूत मापदण्ड पूरा गरेका उत्पादकको तेल, मसला, जुससहित अन्य सामग्री खरिद गर्न विभागको सुझाव छ ।

नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्यले मूल्य र गुणस्तरमा ठगिन नदिन सरकारको सहकार्यमा उपत्यका सयवटा पसलमार्फत सहुलियतमा खाद्यान्न, मसला, सोयाविन तेल, चिनी र नुन बिक्री भइरहेको जानकारी दिए । कोटेश्वर, असन, स्वयम्भु, ढल्को, सिनामंगललगायतका स्थानमा रातो व्यानर राखेर संघले छुटसहितका पसलमा चाडवाडमा बढी बिक्री हुने वस्तु राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दमोदर रेग्मीले बजारमा उपलब्ध सबै ब्रान्डका सामग्री गुणस्तरीय छन् भन्नु उचित नहुने बताए । 'राम्रा ब्रान्ड पनि नराम्रा हुन सक्छन् र ब्रान्ड नभएका सामग्री पनि गुणस्तरीय हुन सक्छ' रेग्मीले भने,'चाडवाडको समयमा नठगिन उपभोक्ताले आफ्नो चेतनास्तर बढाउनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.