देवदूत हुन् प्रहरी

देवदूत हुन् प्रहरी

अपेक्षा फलको छैन, सधैँ कर्तव्य चिन्तन !
आहुती प्रणको दिने तिमीमा अभिनन्दन !!

वीर अमर प्रहरीका वीर गाथाको स्मरण गर्दै पुनः एकपटक प्रहरी दिवस मनाउन गइरहेको सन्दर्भमा ती वीर अमर प्रहरीप्रति समर्पणभावका साथ हार्दिक श्रद्धाञ्जली तर्पण र अर्पण गर्छु । यसै अवसरमा, प्रहरी सेवाको मर्म र महत्त्वका विषयमा महाभारत युद्धको एउटा सन्दर्भलाई जोड्न सान्दर्भिक ठान्छु ।

उक्त युद्धमा राजा धृतराष्ट्रले आफ्नो कौरव सेना पराजित हुँदै गइरहेका बेला, भीष्म पितामहको संदिग्ध भूमिकाप्रति संकेत गर्दै भनेका थिए, 'तपाईं हाम्रो सेना पराजित भइरहँदा पनि पाण्डवविरुद्ध किन हतियार उठाउनु हुन्न, तपाईंजस्तो प्रकाण्ड योद्धाका सामु अर्जुन त केही होइन, जसको नुन उसको गुन भन्ने सामान्य राजधर्म पनि तपाईंले किन पालना गर्नु हुन्न भन्ने गम्भीर आरोप धृतराष्ट्रले भीष्मपितामहलाई लगाएका थिए । महाभारतको युद्ध नै धर्मयुद्ध भएको र राजधर्मको पालना नगरेको गम्भीर आरोप लागेका भीष्मपितामहलाई उक्त आरोपले आक्रोशित बनायो र राजसभामै युद्धमा सहभागी हुने घोषणा गरे र चौबीस घन्टाभित्र अर्जुनको हत्या गरिदिने प्रतिज्ञासमेत गरे, जुन प्रतिज्ञा भीष्म प्रतिज्ञाका रूपमा आजसम्म पनि स्मरण गरिन्छ । भीष्म पितामहको यस्तो घोषणापश्चात् पाण्डव सेनाका सारथि भगवान् श्रीकृष्ण चिन्तित भए । भीष्मपितामह आफ्नो प्रतिज्ञामा अटल रहने भएकाले श्रीकृष्ण आफ्ना प्रियजन अर्जुन मारिने नै भए भन्ने चिन्ताबाट रातभर निदाउन सकेनन् । आफू त निदाउन सकेनन् भने स्वयं अर्को दिन नै मारिने अर्जुनलाई कत्तिको चिन्ता भयो होला भनेर अर्जुनलाई सान्तवना दिन निज सुतेको कोठामा गए तर अर्जुन भने मस्त निदाएको देखेर आश्चर्यमा पर्दै सोधे, 'अर्जुन, के तिमीलाई भीष्मपितामहको प्रतिज्ञा थाहा छ ? '

अर्जुनले सहजरूपमा जबाफ दिए, 'थाहा छ, भोलिसम्ममा भीष्मपितामहले मेरो हत्या गर्ने भनेका छन् ।' आफू मारिने विषयलाई समेत सहज रूपमा लिएको र निदाइरहेका अर्जुनलाई देखेर श्रीकृष्णले पुनः प्रश्न गरे, 'के तिमीलाई आफू मारिने विषयमा पनि चिन्ता लाग्दैन भन्दा अर्जुनले जवाफ दिए, 'हेर श्रीकृष्ण, यो चिन्ता गर्ने विषय मेरो होइन, यो त तिम्रो चिन्ताको विषय हो, लालनपालन, संरक्षण, सम्भार गर्ने सबै जिम्मेवारी तिम्रो हो । त्यसैले मेरो निद्रामा बाधा नपुर्‌याऊ र आफ्नो काम गर ।' अर्जुनको यो जवाफ र श्रीकृष्णको भूमिकालाई प्रहरी सेवाको मर्मसँग तुलना गर्न सकिन्छ, जसरी आमनागरिक निश्चिन्त र निस्फिक्री ढंगले निदाउने गर्छन्, त्यतिबेला प्रहरी गस्ती र आम नागरिकको सुरक्षाको चिन्तामा रहेका हुन्छन् ।

आम नागरिकको निश्चिन्ततामा कहींकतैबाट अवरोध हुन नआओस् भन्ने कार्यका लागि गरिने कामकारबाही नै प्रहरी कार्य हो । यो दैवीय जिम्मेवारी हो, जसलाई भगवान्ले प्रहरी नामक प्रतिनिधिबाट सम्पन्न गराउने गर्छन् । तसर्थ प्रहरी देवदूत हुन् भन्ने अर्थमा प्रहरी सेवा बुझ्न आवश्यक छ । त्यसैले प्रहरी शब्दसँगै 'हरी' शब्दको प्रयोग गरिएको छ । यहाँ भगवान्लाई सांकेतिक भावका रूपमा मात्र बुझ्ने र भौतिकवादी दृष्टिकोणबाट परिभाषित गर्ने हो भने पनि अस्तित्वमा रहेका दुई विपरीत पक्षको अन्तरसंघर्षबाट उत्पादन र सृष्टिको निर्माण हुने गर्छ ।

तसर्थ विपरीतार्थको परिणामको सुनिश्चितता प्रहरीले कानुन पालनाको माध्यमबाट गर्ने गर्छ । दैवीय र राक्षस शक्ति अर्थात् कानुन पालना गराउने र आपराधिक प्रवृत्तिबीचको छिनोफानो प्रहरी सेवाका माध्यमबाट हुने गर्छ । प्रहरी सेवा पुण्यको सेवा भएकाले विगतमा पुण्य कर्म गर्नेजति यो सेवामा सहभागी हुने गर्छन् भन्ने तर्क पनि हुने गरेको छ ।

देवदूतको भूमिकामा रहेका प्रहरीले देवत्वको धर्म र आचरणको पालना गरेन भने अनिष्ट हुने गर्छ । अनिष्ट अर्थात् जे हुनुपर्ने, जे गर्नुपर्ने त्यो नगर्ने, जथाभावी गर्ने आचरण नै अनिष्टको आचरण हो । देवदूतलाई म नै देवता हुँ भन्ने भ्रम पर्न गयो भने त्यो निकै घातक हुनेछ, स्वेच्छाचारिता, दुरुपयोगको प्रवृत्ति मौलाउनुको कारण पनि यही बन्न सक्छ भन्नेतर्फ पनि प्रहरी सजग रहन आवश्यक छ ।

प्रहरी दण्डनायक पनि भएकाले उसलाई शंख, चक्र, गधा, पद्म सबै किसिमका अस्त्र दिइएको हुन्छ । यी सबैको सही उपयोगको लागि ठोक्ने, ढोग्ने र बोक्ने कला र सीपबाट पनि हरेक प्रहरी सुसज्जित हुन आवश्यक छ ।

माथि चित्रण गरिएका महाभारतका केही पात्रको गुण र चरित्रका विषयमा पनि विश्लेषण गर्न आवश्यक छ, महाभारतका धृतराष्ट्रको चरित्रलाई सत्तामोह, पुत्रमोह र छलछाम, षड्यन्त्र गर्न खप्पिस मानिएका पात्रका रूपमा चित्रण गरिएको छ । शारीरिक रूपमा अशक्त, दृष्टिविहीन व्यक्ति छलछाम गरेर अनुमानमै निर्भर रहने प्रवृत्तिका हुने भएकाले पनि उनीहरू षड्यन्त्र, छलछाम गर्न अभ्यस्त भएका हुन्छन्, आफ्नो अशक्तताको आपूर्ति गर्न अरूमै निर्भर रहनुपरेकाले पनि धृतराष्ट्र विदुरमा निर्भर रहेका थिए ।

शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरू आफ्नो क्षमतामा विश्वास गर्दैनन् र अरूको सुझावमा पनि आफ्नो हितलाई प्राथमिकतामा राख्ने गर्छन्, प्रहरी सेवाको लागि यो चरित्रलाई खतराको मूल्यांकन गर्दा भने बुझ्न उपयोगी हुन सक्छ । महाभारतका अर्का पात्र भीष्मपितामह वज्र, कठोर, अटल रहने चरित्रलाई प्रतिनिधित्व गर्छन् । प्रहरीको कर्तव्यपरायणताको मापक पनि यही गुण हुने भएकोले प्रहरी सेवाको लागि यो गुण प्रेरणादायी अत्यावश्यकीय गुणको रूपमा लिन सकिन्छ, दुर्योधनले अधर्मलाई प्रतिनिधित्व गर्छन् ।

यो अपराधिक मनोवृत्ति हो, प्रहरी सेवाको लागि हल गर्नुपर्ने दायित्वको विषय पनि यही हो । भगवान् श्रीकृष्णको रणनीति, कला–कौशलता प्रहरी सेवाको व्यवस्थापन र परिचालनको लागि आवश्यक पर्ने महत्त्वपूर्ण अनुकरणीय गुण हो । महाभारतका विभिन्न पात्र र निजहरूले प्रतिनिधित्व गर्ने गुणको सूक्ष्म मूल्यांकन गरी परिस्थितिअनुरूप उपयोग गर्न सकेमा प्रहरी सेवाको व्यावसायिकतामा विकास हुन गई जनमुखी अर्थात् अरूको हकहित र संरक्षणमा ध्यान दिने संस्कार विस्तार हुनेछ ।

अरूको चिन्तालाई आफ्नो जिम्मेवारी ठान्ने, चिन्तालाई निश्चिन्ततामा परिवर्तन गर्ने प्रहरी सेवाका विषयमा भनिन्छ, सबैसँग घडी छ तर समय निश्चित गर्नुपरे प्रहरीलाई सोध । कुनै पनि विषय सन्दर्भमा यकिन, निश्चित, कायम गर्ने जस्ता गहनतम् जिम्मेवारी बोकेको प्रहरी सेवाको व्यावसायिक निष्ठामै तलमाथि हुन गएको अवस्थामा भने समाजकै सन्तुलन बिग्रने गर्छ, त्यसैले प्रहरी सेवालाई अत्यन्तै संवेदनशील सेवाको रूपमा लिने गरिन्छ र यसको व्यावसायिक क्षमताको विकासमा राज्यले सर्वाधिक महत्त्व दिने गर्छ । जीउ रहे घिउ खाउँला भनेजस्तै जीउ र धनको सुरक्षा लोककल्याणकारी राज्यको पहिलो सर्त र प्राथमिकताको विषय हुने गर्छ र यसमा गरिने लगानी कहिल्यै खेर जाँदैन भनिन्छ ।

देवदूतको भूमिकामा रहने प्रहरीमा दैवीय गुण, ब्रह्म ऊर्जाको आवश्यकता पर्छ, भगवान्ले गल्ती गर्दैनन् भनेजस्तै प्रहरीलाई पनि गल्ती गर्ने छुट रहन्न भन्ने मर्म आत्मसात गर्ने प्रेरणा लिन आवश्यक छ । केही नगरी गल्ती नगर्ने छुट पनि प्रहरीलाई रहन्न । प्रहरी दण्डनायक पनि भएकाले उसलाई शंख, चक्र, गधा, पद्म सबै किसिमका अस्त्र दिइएको हुन्छ । यी सबैको सही उपयोगको लागि ठोक्ने, ढोग्ने र बोक्ने कला र सीपबाट पनि हरेक प्रहरी सुसज्जित हुन आवश्यक छ ।

ठोक्ने- अपराधीलाई होइन आपराधिक प्रवृत्तिलाई ठोक्ने अर्थात् ठेगान लगाउने जिम्मेवारी प्रहरीकै हो ।
बोक्ने- कानुनलाई बोक्ने अर्थात् कानुनबमोजिमबाहेकका कुरा सीमाबाहिर र उल्लंघनका विषय हुन् भन्ने विषयमा सचेत हुन आवश्यक छ ।
ढोग्ने- आमनागरिक, सुरक्षा सेवाका आकांक्षीलाई सेवाको केन्द्र बिन्दुमा राख्ने र उनीहरूको सर्वोत्तम हितलाई शिरोधार्य गर्दै ढोग्ने अर्थात् सम्मान प्रकट गर्ने व्यावसायिक कार्यशैली विकास गर्ने ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.