कावेली 'ए' निर्माण एक महिनाभित्रै
ताप्लेजुङ: मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रूपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली 'ए' आगामी एक महिना भित्र निर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको काबेली 'ए' जलविद्युत् आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले चाँडै काम सुरु गर्ने तयारी भइरहेको आयोजना प्रवद्र्धक प्रदीपकुमार श्रेष्ठले बताए ।
ताप्लेजुङ र पाँचथरको सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको यो आयोजना निर्माणका लागि लगानीको समस्या नभएकाले तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।
झिझ्याङ, टीडब्लू र सीडब्लू नामक तीनवटा चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको यो आयोजना निर्माणको काम यसअघि कावेली हाइड्रोपावर इनर्जि प्रालिले सुरु गरेको थियो । तर उक्त कम्पनीले स्थानीय सम्झौताविपरीत काम गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएपछि आयोजना निर्माण हुन सकेको थिएन । स्थानीय वासिन्दाको व्यापक विरोधपछि कावेली हाइड्रोपावर इनर्जि प्रालिले आयोजना निर्माण गर्न नसक्दा पछिल्लो पटक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको हो ।
हाल आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले भने स्थानीयको सहभागितामा नै आयोजना निर्माण गर्ने योजना बनाएको बताएको छ ।
कावेली आयोजनामा हाल पूर्वाधार निर्माणको काम भइरहेको छ । आयोजना प्रभावित क्षेत्रमा सडक निर्माणको कामलाई तीव्रता दिइएको छ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङखोल्याङ गाविसमा सडक निर्माणको काम अन्तिमचरणमा पुगिसकेको आयोजनाले जनाएको छ । यी गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छन् । अमरपुरको वडा नं. २ र ५ को खोला खर्कमा पोखरी बनाई साढे चार किलोमिटर सुरुङमार्गद्वारा अमरपुर ९ पिनासी घाटको पावर हाउसमा पानी खसाउने गरी पूर्वाधार निर्माणको काम भएको हो ।
बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानीबाट उक्त आयोजनाको काम सुरु गरिएको हो । एक सय मिलियन अर्थात १० अर्ब लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । स्थानीय बासिन्दासँग भएको सम्झौता बमोजिम अहिले विवादित विषय मिलाएर काम सुरु गरिएकाले सन् २०२० मा आयोजना निर्माणको कामले पूर्णता पाउने कम्पनीले जनाएको छ ।