दसैंमा देवीको सात्विक पूजा
वैदिक समयदेखि नै माटो, ढुंगा, काठ वा धातुबाट निर्मित कलश स्थापना धार्मिक र सामाजिक कार्यमा गर्ने प्रचलन सनातन धर्मावलम्बीहरूमा छ । राज्यको सीमा छुट्ट्याउने क्रममा स्थायी घटको स्थापना गरेर राख्ने चलन पनि नेपाल र भारतमा देखिन्छ । काठमाडौंको केही टोलको सीमामा स्थापना गरिएका प्रस्तरका कलश यसका उदाहरण हुन् । हामीकहाँ प्रचलित चाडपर्व जात्राहरूको स्रोत धार्मिक, साहित्यिक ग्रन्थहरू एवं किंवदन्तीहरू हुन् ।
सनातन धर्मावलम्बीले पाठ गर्ने तीनवटा प्रमुख ग्रन्थमा श्रीमद्भागवतगीता, रामायण र दुर्गासप्तशती पर्छन् । दसैंमा घटस्थापनादेखि नै रामायण र दुर्गा सप्तशती दुवै ग्रन्थ पाठ गरिन्छ । सात सय श्लोक भएको दुर्गा सप्तशतीको बारेमा अध्ययनमनन गर्ने विद्वान्हरूले यो ग्रन्थलाई राजनीतिको मुख्य सिद्धान्त शक्ति विज्ञानको व्याख्या मानेका छन् ।
धर्म, अर्थ, काम र मोक्ष जस्तै सनातन धर्मावलम्बीहरूले राजनीतिक विज्ञानको ज्ञान अत्यावश्यक मानेर त्यसलाई ज्ञानवर्धक र रोचक कथाको माध्यमबाट बुझाउन दुर्गा सप्तशती रचना गरेको देखिन्छ । शक्तिको शक्ति बुझाउन, ब्रह्माण्डको सम्पूर्ण ग्रह-नक्षत्रको गति देखाउन, शक्तिको उत्पत्ति र क्षय बुझाउन, चेतनशील बनाउन नै दुर्गा सप्तशतीको रचना र पाठ दसैंमा हुने गरेको हो ।
मार्कण्डेय पुराणअन्तर्गत पर्ने देवी महात्म्य (सप्तशती वा चण्डी) मा दुर्गा स्थापना, विसर्जन र पूजा विधिबारे वर्णन छ । सात्विक, राजसी र तामसी तीनै प्रकारले देवीको पूजा गर्ने प्रचलन घटस्थापनाकै दिन जमरा छर्केर देवीलाई आह्वान गरेर फलफूल, नैवेध, मिठाई चढाएर सात्विक पूजा गरिन्छ । राजसी पूजामा पशुबलि चढाइन्छ र तामसीमा रक्सी र बलि दुवै चढाइन्छ । नेपालमा तिनै प्रकारका देवी पूजा प्रचलनमा छन् । तर सनातन धर्मवालम्बीहरूको सम्पूर्ण ग्रन्थ अध्ययनपश्चात्को निचोड भनेको अहिंसा परमोधर्म हो ।
त्यसैले अबको दसैंहरूमा पशुबलि हैन स्मार्तबलिबाटै सुरु गरौँ । घिरौंला, कुविण्डो, लौका, नरिवल, वेल र उखुको प्रयोग गर्दै स्मार्त बलिद्वारा दसैंघर दैलोमा हुल्ने प्रणको आवश्यकता छ । हाम्रा विविध धार्मिक कार्यमा पितृ र देवताले प्राप्त गरून् भनेर फल, पकवान, मिष्ठान्न मसला र वस्त्रहरू चढाउने चलन छ । त्यसैलाई बलि भनिन्छ ।
तान्त्रिक स्मार्त र वैदिक बलिको उल्लेख मेरुतन्त्र र अन्य शास्त्रमा छ । बलि शब्दको अर्थमा केही भिन्नता भए पनि पितृ र ईश्वरलाई थरीथरीका वस्तु अर्पण गर्ने विषयमा भने एउटै छ । देवतापितृ आदिले पाऊन् वा खाऊन् भन्ने भावले पूजाको क्रममा चढाइने आमान्न, पक्वान्न, फलादि वा जीवादि वस्तु वा खाने चिजलाई बलि भनेर गरिएको परिभाषा शब्दकोशमा पाइन्छ ।
शक्तिसंगमतन्त्रे ग्रन्थमा पशु बलिको सट्टा अर्पण गरिने फलफूल र पकवानको उल्लेख छ । बलिका प्रतिनिधि वस्तुहरूको नाम यस प्रकार छन् । पशुपक्षीको प्रतिनिधित्व गर्ने गरेर कुभिन्डो, काँक्रो, केरा, भन्टा, तुम्बी, ऊखु, घिरौंला, मूला, तरबुजा, नरिबल सिंगो वा फुटाएर चढाउन सकिन्छ ।
यस ग्रन्थमा बलिको प्रतिनिधि भएका वस्तुहरूको नाम उल्लेख छ, जसमध्ये प्रमुख यस प्रकार छन् । राँगोको सट्टा कुभिन्डो, बोकाको सट्टा काँक्रो, कुखुराको सट्टा भन्टा, भेडाको सट्टा तुम्बा, मानिसको सट्टा रुख कटहर, माछाको सट्टा उखु वा केरा, गधाको सट्टामा शरण, मृगको सट्टामा घिरौंला, हात्तीको सट्टामा खीर, बिरालोको सट्टा गहत, सुँगुर वा बँदेलको सट्टा परबर, गैँडाको सट्टा शर्करावालुक, मुसाको सट्टा मूला, सारसको सट्टा तरबुजा, सुगाको सट्टा नरिवल, सबैथरी बलिको सट्टा मास खिचडी ।
आरम्भमा दुर्गा पूजा सैनिक कार्य थियो तर पछि धार्मिक र पूर्णरूपले पारिवारिक र सामाजिक स्वरूपमा परिवर्तित भयो । आज नेपालमा मनाइने दसैंको सामाजिक र सांस्कृतिक पक्ष प्रबल छ ।
यसरी प्रत्येक जनावरको बलिको सट्टा फलफूल एवं तरकारी विकल्प प्रतिनिधिको रूपमा शास्त्रमै उल्लेख छ । त्यसैले आफ्नो संकल्प पूजा पूर्ण गराउन सुगन्ध बलिको प्रारम्भ गर्नुपर्छ ।
पृथ्वीमा प्राणीहरूको जन्म र आजसम्मको यात्राक्रम अध्ययन गर्दा के देखिन्छ भने जो विभिन्न ढंगले योग्य छ त्यही बाँच्छ । कमजोर शरीर भएको मानिसले ढुंगा, हाड, बाँस, काठ र धातुका विभिन्न आकारका औजार हतियार बनाएर त्यसकै प्रयोगले सिकार गरेर आफ्नो दिनहरू गुजारा गर्यो । हजारौँ वर्ष मानिसले विभिन्न जनावर मारेर जीविका चलायो ।
कृषि गर्न थाले । पछि उसको जीवनशैलीमा परिवर्तन आयो । एकै थलोमा बसेर खान पान गर्न पाएपछि उसको सोचमा परिवर्तन र परिपक्वता आउन थाल्यो । प्राणीमा मात्रै हैन, बोटबिरुवामा पनि ज्यान छ भन्न ज्ञान हुनेबित्तिकै मानिसले आफ्नो जीवनशैलीमा खानपानद्वारा परिवर्तन ल्याउन कोसिस गर्यो ।
हजारौँ वर्ष लगाएर नीतिनियम, कर्मकाण्ड, खानपान, व्यायाम, ध्यान, योगादि विषयमा छलफल र प्रयोग गर्दै ग्रन्थ रचना गर्यो । त्यही क्रममा अहिंसा नै सबैभन्दा ठूलो यज्ञ, धर्म र कर्तव्य हो भनेर शिक्षा सुरु गर्यो । अहिंसा परमोधर्म (हिंसा नगर्नु नै सबैभन्दा ठूलो धर्म हो) भनेर धर्मको परिभाषा गर्न थालियो । सम्पूर्ण शास्त्रको निचोड नै परोपकार गर्नु, कसैको मन नदुखाउनु धर्म भएजस्तै मन, वचन वा कर्मले कसैलाई दुःख दिनु पाप हो भनेर बारम्बार भन्न थालियो ।
दसैंमा देवीको सात्विक पूजा
पूजा, बलि एवं होम तीनै प्रकारले देवीलाई प्रसन्न पार्न सकिने वर्णन शास्त्रमा छ । २, ४, ८, १०, १८ र २० वटा हात भएकी देवीका विविध स्वरूपको चित्र र मूर्ति निर्माण गर्ने विधान छ । प्राचीन चित्र र मूर्ति अध्ययन गर्दा देवीको २ र १८ वटा हातकै स्वरूप पूजन बढी प्रचलित देखिन्छ ।
आरम्भमा दुर्गा पूजा सैनिक कार्य थियो तर पछि धार्मिक र पूर्णरूपले पारिवारिक र सामाजिक स्वरूपमा परिवर्तित भयो । आज नेपालमा मनाइने दसैंको सामाजिक र सांस्कृतिक पक्ष प्रबल छ । शारदीय एवं वसन्तकालीन दसैंमा दुर्गा र आर्यादेवीको स्तुति गरिन्छ । दुर्गा पूजाको क्रममै आठौँ र नवौँ दिनमा घरका हातहतियार र ब्यारेकको हतियार पुछपाछ पारेर तेल लगाएर पूजा गर्ने प्रचलन छ ।
आयुर्वेदिक महत्त्व बोकेको जमारा सिउरेर पूर्ण आयु, सम्पत्ति, शत्रुनाश, ऐश्वर्य वृद्धि, सम्मान, सौर्य, बल, सत्यवादी, विशिष्ट ज्ञान र कीर्तिको कामना गरिएको आशीर्वाद ग्रहण गरेर दसैं मनाऔँ ।