मानसिक स्वास्थ्य र पुनस्र्थापना

मानसिक स्वास्थ्य र पुनस्र्थापना

अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको एक सर्वेक्षणअनुसार विश्वमा अरू अपांगताभन्दा मानसिक अपांगताबाट ग्रसित व्यक्तिको समुदाय बृहत् छ । मानसिक रोग लागेपछि अब ठीक नै हुँदैन, औषधि सेवन गरिसकेका मानसिक रोगीले समुदायमा उत्पादक काम गर्न सक्दैनन् भन्ने अल्पधारणा हामी र हाम्रो समाजमा छ ।

विश्व स्वास्थ्य संगठनले दिएको परिभाषाअनुरूप एउटा व्यक्ति स्वस्थ हुन मानसिक रूपले पनि स्वस्थ हुनुपर्छ । तथापि मानसिक स्वास्थ्य र यसका सकारात्मक प्रयास अझै पनि ओझेलमै परेको छ । झन् हाम्रोजस्तो मुलुकमा त यो विषय अझ पछाडि परेको छ।
पुनस्र्थापनाको परिभाषा केलाउने हो भने यसको दायरा धेरै फराकिलो छ ।

उपचारका क्रममा बिरामीले देखाउने ससाना परिवर्तन पनि पुनस्र्थापनाकै एउटा पाटो हो । डिप्रेसनको बिरामीले १५ दिनदेखि आफूले गर्नुपर्ने महत्वपूर्ण दैनिकी गरेको छैन, मुखसम्म धोएको छैन तर औषधि र थेरापीको सहायताले मुख धुन थाल्छ भने त्यो पनि पुनस्र्थापनाको एउटा सानो प्रयास हो । त्यस्तै सबै मानसिक रोगबाट पीडित व्यक्ति फेरि समाजमै फर्किन्छन् भन्ने छैन, कसैकसैलाई जीवनभर नै सेवा र सहयोग चाहिन्छ ।

हाम्रो देशको परिवेश बुझ्ने हो भने मानसिक रोग र उपचारका प्रयासहरू अझै पनि मेडिकल मोडलबाट नै प्रभावित भएको पाइएको छ । विगतभन्दा मानसिक स्वास्थ्यमा उल्लेखनीय रूपमा दक्ष जनशक्ति उत्पादन भएको छ । तर पनि उत्पादित जनशक्ति अरू फाँटमा भन्दा अपुग नै देखिन्छ । मानसिक रोगसम्बन्धी जनचेतनाका प्रयास पनि अपुग नै देखिन्छ ।

अझै पनि दिनहुँ पत्रपत्रिकामा मानसिक रोगीहरूको दर्दनाक स्थिति र परिस्थितिका विषयमा समाचारहरू आई नै रहन्छन् । पहिलो समयमा देशले साइक्याट्रिक डाक्टरहरू उत्पादन गर्न थालेको छ । तथापि देशमा एउटा पनि पुनस्र्थापना साइक्याट्रिक छैनन् । त्यसै गरेर व्यावसायिक थेरापी मानसिक पुनस्र्थापनाका लागि नभई नहुने अर्काे दक्ष जनशक्ति हो । त्यो जनशक्ति पनि हाम्रो देशमा छँदै छैन ।

प्रायःजसो पुनस्र्थापना केन्द्रहरू मेडिकल मोडलबाट नै प्रभावित भएका देखिन्छन् । तथापि केही निजी संस्थाले विगत छोटो समयदेखि साइक्याट्रिक पुनस्र्थापनाका कामहरू गर्दै आएका छन् र साइको–सोसल पुनस्र्थापनाको नमुना पछ्याइरहेका छन् ।
पुनस्र्थापना आफैंमा महँगो, एकदम खर्चिलो र झन्झटिलो प्रयास हो । झन् मानसिक स्वास्थ्यसँग यसलाई जोडेर हेर्ने हो भने त यो असम्भव र महत्वाकांक्षी योजना पनि हो । हाम्रोजस्तो मुलुकमा कतिपय व्यक्ति सेवाको पहुँचमै आएका हुँदैनन् । आएका व्यक्ति पनि महँगो औषधि, अधुरो उपचार वा गलत उपचारजस्ता कारणले समयमै निको हुन पाउँदैनन् ।

हाम्रोजस्तो मुलुक जहाँ सरकारले सामाजिक स्वास्थ्य सुरक्षाको नीति प्रयोगमा ल्याउन सकेको छैन । मानसिक स्वास्थ्य कमजोर हुँदा परिवारलाई नै थप आर्थिक भार पुग्छ साथै मानसिक रोग लागेपछि जागिर पनि छाड्नुपर्ने अवस्थाका कारण मानसिक रोगी थप अन्यायमा परेका छन् ।

मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक प्रयास विगत केही वर्षदेखि संयुक्त रूपमा भइरहेका छन् । अझ प्राथमिक स्वास्थ्य हेरचाहको एउटा महत्वपूर्ण तत्वका रूपमा नेपाल सरकारले यसलाई ग्रहण गरेर स्कुल मेन्टल हेल्थको अवधारणा अगाडि सारेको छ । तथापि नेपालमा भएका अधिकांश विद्यालयले विद्यालयमा मनोविमर्श दाताहरूलाई ग्रहण गरेको अवस्था भने छैन । केही निजी संघसंस्थाले यो अवधारणालाई ग्रहण गरेर केही आशालाग्दा काम गरेका छन् । यसले गर्दा विद्यालयस्तरबाट नै मानसिक रोगसम्बन्धी जनचेतनाका प्रयासहरू सफल भएका पनि देखिन्छन् ।

पुनस्र्थापनामा सहयाग पु¥याउने अर्को महत्वपूर्ण पक्ष भनेको परिवार र समाज हो । त्यसैले परिवार र समाजलाई मानसिक रूपमा तयार गर्नु अर्को थप चुनौती पनि हो । तथापि यो महत्वपूर्ण पक्षलाई समेट्नैपर्छ । किनभने विगतमा यी पक्षलाई पुनस्र्थापनामा समाहित नगरिएकाले थुप्रै मानसिक रोगबाट ग्रसित व्यक्तिहरूको पूर्ण उपचार हुन सकेको छैन । पुनस्र्थापनाको प्रक्रिया बीचमै असफल भएको पाइएको छ ।

मानसिक स्वास्थ्य र त्यससम्बन्धी आममानिसको अल्पधारणा त अझै पनि समाजमा विधमान नै छ । तर पनि विगत दस वर्षभन्दा अहिले पक्कै पनि आमधारणा र सोचमा परिर्वतन हुँदै आएको छ । यो नगण्य परिवर्तनलाई पनि रूपान्तरणको एउटा सानो फड्को मान्न सकिन्छ ।

मानसिक स्वास्थ्यमा जनचेतना एउटा पक्ष हो भने समाजिक पुनस्र्थापना अर्को महत्वपुर्ण पक्ष हो । यी दुवै विषयलाई हामीले सँगसँगै लैजानुपर्छ नत्र हाम्रोजस्तो मुलुकका लागि मानसिक अपांगता एउटा थप बोझका रूपमा भविष्यमा प्रस्तुत हुनेछ । त्यसैले पनि मानसिक स्वास्थ्य र पुनस्र्थापनाको विषय हिजो यस क्षेत्रमा लागेका व्यक्तिहरूको मात्र साझ सवालको विषय थियो भने अबउप्रान्त हामी सबैको चासोको विषय बन्न सकेको खण्डमा मात्र मानसिक रोगबाट ग्रसित व्यक्तिहरूले समाजिक न्याय पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.