बिरामीका लागि सकस बन्यो दसैं

बिरामीका लागि सकस बन्यो दसैं

काठमाडौंः मधुमेहकी बिरामी धापासीकी ३३ वर्षीया पवित्रा खत्रीलाई दसैंपछि चिन्ता थपिएको छ । दसैंमा उनले सामान्य मानिसले जस्तै चिनी र चिनीबाट बनेका, तारेका, भुटेका खानेकुरा, प्लास्टिक र बन्द बट्टामा राखिएका अचार, ड्राइफुड, जंकफुड, फलफूल सबै खाइन् । यस्ता खानेकुरा खाँदा ख्याल गर्नुपर्ने उनको स्वास्थ्य खस्किन थालेको छ ।

रगतमा चिनीको मात्रा ठीक राख्नु, मधुमेहबाट हुने दीर्घकालीन रोग नियन्त्रण गर्नु, तौल नियन्त्रण गर्न खानामा बन्देज गर्नुपर्ने उनको दैनिकीलाई दसैंमा अघि सारिने खानाले खलबल्याइदिएको छ ।

ती खानाबाट उनको मुख एकछिन मिठो भए पनि शरीरमा देखिएको रोग र त्यसबाट पर्ने असर नियन्त्रणमा उनी असफल हुने भइन् । ‘आफ्नो रोग सम्झिँदा त केही पनि खान मन लाग्दैन तर यो बेला जहाँ पनि नखाइनहुने बाध्यता छ ।

नाइँ भन्न पनि सक्दिनँ । राम्रो देखेपछि खान मन लाग्छ । यसकै कारण अझै थला परिन्छ कि भन्ने डर पनि छ', उनले भनिन् ।

उनलाई चिकित्सकले भनेका थिए, ‘मह, केक, सखर, तेलमा बनाइएका पुरी, सेल, समोसालगायत केही पनि नखानू ।' वर्ष दिनमा एकपटक आउने दसैंमा उनलाई मिठोमिठो खान मन लाग्छ । साथीभाइसँग रमाइलो गर्न मन लाग्छ ।

उनी राति अबेरसम्म आफन्तसँग गफिँदै बसिन् । तर अहिले उनलाई आफ्नो स्वास्थ्य खाना र निद्रा सन्तुलनमा नहुँदा खस्किएकोमा पछुतो लागेको छ ।

मधुमेहका बिरामीले गेडागुडी, हरियो सागपात र फलफूल भने कम मात्रामा खाँदा लाभदायी नै हुने चिकित्सक बताउँछन् । चिनी र चिल्लो नभएका पेय पदार्थ जस्तै चिया, कफी थोरै मात्रामा लिन सकिन्छ । जिरा, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँलगायत मसलाजन्य खानेकुराले मधुमेहका बिरामीलाई कुनै असर गर्दैन ।

यतिबेला पवित्रामात्र हैन, विभिन्न समस्या भोगेका धेरै बिरामी चिन्तित छन् । दसैंका खाना खान मन लागे पनि आफ्नो रोग सम्झिँदा पछि हट्ने पनि धरै छन् । मुटुमा समस्या भएका बिरामीले पनि दसैं खुलेर मनाउन पाएका छैनन् । डाइटिसियन विनिता पन्तका अनुसार यो समस्या नियन्त्रणका लागि सन्तुलित खाना खानुपर्छ ।

तर दसैंमा खाइने खानाका कारण हृदयाघात हुने र कोलेस्टेरोल बढ्ने जोखिम धेरै हुन्छ । मुटुरोग भएका बिरामीले चिल्लो र मसलायुक्त खानेकुरा, चिनी, मासुका परिकार धेरै खानु हुँदैन । त्यसमा पनि मादक पदार्थ, धूमपान, जंकफुड र फास्टफुड खाने चलन छ । यस्ता खानेकुराले रक्तचाप बढ्ने र मुटुमा झनै समस्या ल्याउने हुन्छ ।

कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु र अन्डाको सेतो भाग खाँदा मुटुरोगीलाई राहत मिल्छ । मुटुरोगीले तेलमा पनि धेरै नै विचार पुर्‍याउनुपर्छ । दसैंमा धेरैजसो ठाउँमा मासुकै परिकार बनाउने चलन छ । त्योसँगै मदिरा पनि पिउने गरिन्छ ।

मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतका अनुसार मासु र मदिराले मिर्गौला असन्तुलित हुन्छ । त्यसैले मिर्गौलाको समस्या भएका बिरामीले दसैंमा मात्र होइन अघिपछि पनि मदिरा र अत्यधिक मासु खानु हुँदैन । बियरले शरीरको मेटाबोलिजममा असर गर्छ ।

बियरले शरीरमा पानीको मात्रा बढाउने भएकाले त्यति नै मात्रामा पानी शरीरबाट बाहिर निस्केन भने समस्या निम्त्याउँछ । युरिक एसिड भएका बिरामीले पनि दसैंमा खाने खानालाई कम ठान्नु हुन्न । रातो मासु, प्रोटिनयुक्त खाना सकभर नखान नै चिकित्सकले सुझाउँछन् ।

यस्तो खानाले हड्डी कुँजिने, जोर्नीबाट पीप बग्नेलगायत समस्या बढाउँछ । दसैंका बेला कलेजोका बिरामी पनि चिन्तित बनेको पाइन्छ । तर चिकित्सकहरू चिन्तितभन्दा सचेत हुनुपर्ने र त्यहीअनुसारको खाना खानुपर्नेमा जोड दिन्छन् ।

मदिरा र बोसोयुक्त खाना त विष नै साबित हुने गरेको छ कलेजोका बिरामीका लागि । कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा भन्छन्, ‘ज्यान गुमाउनु छ भनेमात्र कलेजोका बिरामीले मदिरा र मासु खाने हो । हैन भने मदिरा र मासुबाट सधैं टाढा रहनुपर्छ ।'

मदिरा कलेजोमा जम्मा भई टुक्रिँदै र जल्दै जान्छ । त्यो बेला धेरै ऊर्जा उत्पन्न हुने तर खर्च हुन पाएन भने बोसोमा परिणत भई अस्वस्थ बन्ने क्रम सुरु हुन्छ । दसैंका खानाले बाथका बिरामीलाई पनि ठूलो समस्यामा पारेको हुन्छ । यसका बिरामीको गुनासो हुन्छ, ‘खान मन लागेको केही पनि पाइँदैन । खायो भने समस्या झनै बल्झिन्छ ।'

विशेषगरी बाथका बिरामीले खसी, राँगालगायतको रातो मासु, मदिरा, पालुंगो, तामा, गुन्द्रुक, अमिलो र चिल्लो अचार खानु हुँदैन । बिरामी जुनसुकै रोगका किन नहुन्, दसैंमात्र नभई अघिपछि पनि नियमित शारीरिक अभ्यास गर्नुपर्छ । शारीरिक अभ्यासले कहिलेकहीं खाने चिल्लो वा मसलायुक्त खाना पच्न सहयोग गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.