म्याराडोनाको रोजाइमा अब रोनाल्डो

ब्युनोस आयर्सः अन्तर्राष्ट्रिय फुटबलमा पेले र म्याराडोनामध्ये को बढी उत्कृष्ट भन्ने विवाद अझै छ । यस्तै विवाद छ क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीबीच पनि । यस विषयमा एउटै व्यक्तिले पनि फरकफरक समयमा फरक धारणा व्यक्त गर्ने गरेका छन् । अर्जेन्टिनाका विश्व कप विजेता कप्तान म्याराडोनाको अभिव्यक्ति पनि यस्तै किसिमको छ । रोनाल्डो र मेसीबीच को बढी उत्कृष्ट भन्ने विवादमा उनले यसअघि स्पष्ट धारणा नराखे पनि मेसीकै पक्षमा देखिने गरेका थिए ।
तर हालैमात्र सञ्चारकर्मीसँग भएको कुराकानीमा म्याराडोनाले मेसी र रोनाल्डो लगभग एउटै स्तरको खेलाडी भए पनि केही विषयमा रोनाल्डो अगाडि रहेको बताएका छन् । ‘रोनाल्डो र मेसी बराबरका खेलाडी हुन् । यी दुई बाँकी खेलाडीभन्दा धेरै माथि छन् ।
भन्नुपर्दा म खिन्न हुन्छु कि मेसीले विश्व कप नजिते पनि उनी महान् खेलाडी हुन्', घुमाउरो पारामा म्याराडोनाले भने, ‘तर यदि तपाईंसँग व्यक्तित्व छैन अथवा राष्ट्रिय गान गाउनु भएको छैन भने तपाईं एक्लै पर्न सक्नुहुन्छ ।'
मेसीले सर्वाधिक पाँच पटक र रोनाल्डोले तीन पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । मेसीले सिनियर क्लब फुटबलमा आठवटा घरेलु लिग र चारवटा च्याम्पियन्स लिग उपाधि जितेका छन् । रोनाल्डोले चार पटक घरेलु लिग र तीन पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । दुवै जना आआफ्नो राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन् ।
तर केही महिनाअघि रोनाल्डोले राष्ट्रिय टोलीका लागि युरोकप उपाधि जितेपछि म्याराडोनाको धारणामा परिवर्तन आएको हो । युरोकप रोनाल्डोले सिनियर राष्ट्रिय टोलीका लागि जितेको पहिलो उपाधि थियो । यता मेसीले भने हालसम्म सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेका छैनन् ।
चार पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि उनको टोली उपविजेतामै सीमित बनेको थियो । यसै वर्ष आयोजित कोपा अमेरिका सेन्टेनारियोमा अर्जेन्टिना फाइनल पुगे पनि उपाधि भिडन्तमा चिलीसँग पराजित भएको थियो । यस लगत्तै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।
तर दबाबपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किइसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलको सर्वकालीन महान् खेलाडीमा मेसी, म्याराडोना, पेले र पछिल्लो समय रोनाल्डोलाई पनि सँगै बहसमा राखिने गरिएको छ । तर म्याराडोना भने मेसीले विश्व कप जित्नुपर्ने बताउँदै आएका छन् ।
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्व कप उपाधि जितेको थियो । पेलेले पनि तीन पटक विश्वकप जितेका थिए । लगातार चार वर्ष विश्व वर्ष फुटबलर घोषित भएका मेसीको राष्ट्रिय टोली अर्जेन्टिनाले भने २३ वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
गत सिजन युरोकप र युरोपियन च्याम्पियन्स लिग दुवैको उपाधि जितेकाले रोनाल्डो यस पटक फिफा वर्ष खेलाडीको बलियो दाबेदार छन् । यसले सर्बोत्कृष्टताको बहस थप चर्काउने निश्चित छ ।
तर म्याराडोनाले फिफा वर्ष खेलाडी अवार्ड विवादमा रहने गरेको भन्दै यसको नतिजामा आफूलाई विश्वास नभएको बताए । ‘सन् २०१४ को विश्व कप जितेका जर्मनीका गोलरक्षक म्यानुयल नुयर सबैभन्दा बढी हकदार थिए तर नतिजा अर्कै रह्यो', म्याराडोनाले भनेका छन् । उनले रोनाल्डो र मेसीको स्तरमा आउन सक्ने नयाँ खेलाडीका रूपमा नेमारलाई उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
