नेपाल–भारत सम्बन्धः सुमधुर हुनुपर्ने हैन र ?
नेपाल र भारतबीचको विद्यमान सम्बन्ध जसलाई हामी कूटनीतिक भाषामा ‘सुमधुर' भन्छौं उदेकलाग्दो छ । एकअर्कालाई जहिले पनि शंकास्पद रूपले हेर्ने सम्बन्ध कसरी र कस्तो चिरस्थायी 'सुमधुर' हो, बुझ्न कठिन छ । केही कुरा अवश्य छ, जुन हामी लुकाउन खोजिरहेका छौं, तर सांकेतिक रूपमा विभिन्न माध्यमबाट प्रकट भइरहेका छन् । तर हामीबीच एक विशेष आकर्षण भने छँदैछ ।
हाम्रो तीर्थस्थल एकै छन्, संस्कृति समान छ, लिपि एकै छ, जनताबीच समान विचार छ, तर सम्बन्ध अचम्मको छ । दक्षिण एसियाली वासिन्दालाई कतिपय पश्चिमा विद्वान्हरू 'ढोंगी' पनि भन्ने गर्छन् । के हामीले भन्ने गरेको 'सुमधुर' सम्बन्ध 'ढोंग' नै हो त ? यसले कहिलेकाहीं हामीलाई खिन्न पनि बनाउँछ । किन हुन सक्दैन हामीबीच साँच्चैको सुमधुर सम्बन्ध ? केले रोकेको छ यसलाई ? हुन नहुने कुरा किन भइरहेका छन् ?
मेरो पहिलो विदेश भ्रमणको बेला होटेलमा बिहानको खाना लिँदै गर्दा एकजना भारतीयले मसँग हिन्दीमा भने- म तपाईंसँग बस्न सक्छु ? मैलै सोध्दै नसोधी उनले भने— हेर्नुस्न, यिनीहरूसँग न कुरा मिल्छ न खानपान । आखिर तपाईंहामी त उस्तै हौं नि हैन र ? नेपालबाहिर जाँदा नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी, श्रीलंकाली कोही हुँदैनन्, हुन्छन् त छिमेकी ।
जब तिनै व्यक्तिहरू आफ्नै समूहमा हुन्छन्, कुरा अर्कै हुन्छ, एकअर्काको कुरा काट्न सुरु भइहाल्छ । सायद यो दक्षिण एसियायीहरूको चरित्र हो, सुधार गर्नुपर्ने चरित्र ।
विदेशमा आफ्नै जस्तो हुनु र आफ्नो देशमा पाइला टेक्नेबित्तिकै खोइरो खन्ने हाम्रो बानी के पश्चिमाले भनेजस्तै हाम्रो ‘जीन' मै छ त ? हामी मिल्न सक्दैनौं ? एकअर्कालाई प्रेम गर्न सक्दैनौं ? यो देश र ऊ देश होइन, दक्षिण एसियाली हामी सबै त्यस्तै छौं ।
भारतले सोच्छ भुटान भारतको नजिक छ, नेपालभन्दा । तर विदेशमा नेपाली, भुटानी भारतीय एकै ठाउँमा भेट भएमा भुटानी नेपालीसँग नजिक हुन्छन् र नेपालीमै वार्तालाप पनि चल्छ । मो मो र थुक्पाको मात्र नाता होइन यो ।
नेपालीहरू भुटानबाट किन खेदिए र भारतले त्यसको किन मौन समर्थन गर्यो, यो पनि नेपालीले बुझ्न सकेका छैनन् । ‘तिब्बती' मूलका भुटानीहरू नेपाली मूलका भुटानीहरूभन्दा कसरी भारतको नजिक भए, यो पनि नेपालीले बुझ्न नसकेको कुरा हो । ‘रोटीबेटी' को सम्बन्ध त्यतिबेला कता हरायो थाहा भएन । यसले गर्दा भारतका लागि नेपालीहरू भुटानीभन्दा टाढा रहेछन् भन्ने धारणा नेपालीबीच भने पक्कै विकास भएको छ ।
भारतका उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा नेपाल र भारतका ‘प्रबुद्ध व्यक्ति समूह' का भारतीय पक्षका नेता भगत सिंह कोशियारीले समूहको काठमाडौंमा भएको पहिलो बैठकमा भनेको ‘भारत नेपाललाई पनि भुटानजस्तै सुखी' देख्न चाहन्छ' भन्ने भनाइलाई ‘नेपाललाई भुटान जस्तै बनाउन खोजेको' भनेर नेपालमा टीकाटिप्पणी भयो । जनसंख्याको हिसाबले नेपाल भुटानभन्दा झन्डै चालीस गुना ठूलो छ ।
भारत नेपालभन्दा जुन अनुपातमा ठूलो छ त्यही अनुपातमा नेपाल भुटानभन्दा ठूलो छ । नेपाल भुटान हुन सक्दैन र यस्तो भनाइ हेपाहा हो भनेर टीकाटिप्पणी पनि भयो । कहिल्यै कसैको अधीनमा नरहेको नेपालीको ‘स्वाभिमान' ले यस्तो भनाइलाई सहजरूपले लिएको पाइँदैन । नेपाल मात्र एउटा देश हो, जसको सबै दक्षिण एसियाली देशहरूसँग सुमधुर सम्बन्ध छ ।
यस विषयलाई भारतले अरू छिमेकीसँग सम्बन्ध सुधार गर्न प्रयोग गर्न सक्छ, विशेष गरेर पाकिस्तानसँग । तर हाल विद्यमान शंकाको वातावरणमा यो सम्भव देखिँदैन ।
हामी केटौले व्यवहार देखाउँछौं । नेपाल जस्तो सानो र संक्रमणकालमा रहेको देशमा यस्तो हुनु स्वाभाविक होला तर विश्वको महाशक्ति हुने दिशातर्फ बढिरहेको देशको भनाइ र गराइ परिपक्व हुनुपर्छ ।
नेपाल विहार र उत्तर प्रदेशसँग सीमा जोडिएको छ भन्दैमा भारतले नेपालीलाई यी दुई प्रदेशका आँखाले हेर्नुपर्छ भन्ने पनि हुनु हुँदैन । दिल्लीले विहार उत्तर प्रदेशलाई हेर्ने दृष्टिकोण र काठमाडौंले यी प्रदेशलाई हेर्ने दृष्टिकोणमा खासै फरक रहेको छैन । नेपाललाई भारतले दिल्लीको आँखाले नै हेरोस् भन्ने चाहना नेपालीले राखेको पाइन्छ ।
नेपालको चीनसँगको सम्बन्ध भारतको लागि महत्वपूर्ण विषय रहने गरेको छ । जबसम्म हिमालले ठूलो पर्खालको काम गरेको थियो चीन खास विषय थिएन । द्रूत गतिमा भौतिक विकास गरिरहेको चीनका भौतिक संरचना नेपालको सीमानजिक आइरहेका छन् । सडक आइसक्यो र केही वर्षमा रेल आउँदै छ ।
समयको र गतिको हिसाब गर्दा दिल्ली र बेइजिङको दूरी खासै फरक नहुन सक्छ । यसको लागि हामी तयार रहनैपर्छ । तर बेरोकटोक जान आउन मिल्ने भारत र नियन्त्रित तिब्बततर्फको नाका सहजताको हिसाबले एकै हुने सम्भावना हाल देखिँदैन ।
नेपालमा गत वर्ष भएको नाकाबन्दीले सम्पूर्ण नेपालीले जुन कष्ट भोगे, नेपाली युवामा त्यसको गहिरो छाप परेको छ, जसको असर सजिलै मेटिने छैन । विश्व समुदायले यसलाई जसरी बुझे पनि नेपाली जनताले यसलाई भारतको अपरिपक्व कदमको रूपमा लिएका छन् । नेपालको शासन व्यवस्थामा भारतको प्रभाव रहेको कसैबाट छिपेको छैन । परोक्ष रूपमा चाप राख्नुको सट्टा भारतबाट स्पष्ट रूपमा समयमै कुरा आउन सकेको भए पक्कै पनि यसरी नकारात्मक सोचले प्र श्रय पाउने थिएन ।
हाम्रो तीर्थस्थल एकै छन्, संस्कृति समान छ, लिपि एकै छ, जनताबीच समान विचार छ, तर सम्बन्ध अचम्मको छ । दक्षिण एसियाली वासिन्दालाई कतिपय पश्चिमा विद्वान्हरू 'ढोंगी' पनि भन्ने गर्छन् । के हामीले भन्ने गरेको 'सुमधुर' सम्बन्ध 'ढोंग' नै हो त ? यसले कहिलेकाहीं हामीलाई खिन्न पनि बनाउँछ । किन हुन सक्दैन हामीबीच साँच्चैको सुमधुर सम्बन्ध ? केले रोकेको छ यसलाई ?
नेपालमा भारतीय राजनीतिक व्यवस्थाको अनुकरण भएको छ । भारतमा नरहेको समानुपातिक प्रणाली र जातीयताको प्रावधानसमेत रहेको छ । यो प्रावधानबाट नेपालमा स्थायी सरकारको गठन हुन सम्भव देखिँदैन र अस्थिरता कायम रहने देखिन्छ । नेपालमा स्थायी सरकार नबनेसम्म नेपाल र भारतबीचको सम्बन्धमा स्थायित्व आउने सम्भावना रहँदैन ।
भारतमै पनि जातीय, क्षेत्रीय, भाषागत विषयहरूलाई लिएर विवाद रहिरहेको अवस्थामा तिनै कुराहरूले नेपालमा विवाद कम हुन्छ भन्ने भारतीय सोच पनि बुझ्न कठिन छ । नेपालको हालको संविधान भारतीय र पश्चिमाहरूको सोचको सम्मि श्रण भनिन्छ । सिद्धान्तमा यो राम्रो सुनिए पनि व्यवहारमा नेपाल जस्तो अल्पविकसित देशको लागि यस्तो व्यवस्था अस्थिरताको कारकतत्व हुन सक्छ । संविधान लागू भएको एक वर्षमै यस्ता संकेत देखिइसकेका छन् ।
नेपाल र भारतबीच सहकार्यको प्रचुर सम्भावना छ । नेपालको जलस्रोत, पर्यटन, व्यापार, उद्योगधन्दा, प्राकृतिक प्रकोप नियन्त्रण जस्ता विषयहरूमा दुवै देशले एकअर्काको सहयोगबाट ठूलो फाइदा लिन सक्छन् । यसको लागि भारतको उदार र खुला नीति हुन आवश्यक छ । चीन भौतिक विकासका कार्यमा तीव्र गतिमा अघि बढ्दै छ । यसले गर्दा चीनका सडक, रेल र विद्युत्का सञ्जालहरू नेपालको सीमासम्म केही समयमा आइपुग्नेछ । नेपालका लागि विकल्पहरू पनि थपिँदै जानेछन् । नेपालको व्यापारमा विविधता पनि थपिने सम्भावना बढ्ने नै छ ।
नेपाल र भारतबीच सौहार्दता र सुमधुर सम्बन्ध विकसित हुनुपर्नेमा दुईमत हुन सक्दैन । जनस्तरमा रहेको यस्तो सम्बन्ध आधिकारिक स्तरमा पनि हुनुपर्छ । आपसमा सद्भाव र आदर यसका पूर्वसर्त हुन् । कहिल्यै कसैको अधीनमा नरहेको नेपालीको स्वाभिमानलाई कायम राख्दै यस दिशामा अघि बढ्नु नेपालको हालको आवश्यकता हो । यस विषयमा नेपालले पनि छिमेकी हितलाई समेत जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्ने हुन्छ ।
हामी सकारात्मक हुनैपर्छ । हाम्रा आउने पुस्ता अझ नजिक हुनुपर्छ । हाम्रा तीर्थस्थल, रीतिरिवाज, पौराणिक ग्रन्थहरू र भूगोलले जोडेको सम्बन्ध अदूरदर्शी र स्वार्थी ‘अगुवाहरू' को स्वार्थमा किमार्थ बिग्रन दिनु हुँदैन । यसको लागि पनि आपसमा स्नेह र आदर भने अनिवार्य सर्त हुन् । शंकालाई विश्वासमा बदल्न भारतको उदारताको ठूलो भूमिका हुनेछ । आशा गरौं– विगतका शंका र कटुता हट्नेछन् र भविष्य सुन्दर हुनेछ ।