किर्गियस आठ साताका लागि निलम्बनमा 

किर्गियस आठ साताका लागि निलम्बनमा 

लन्डनः खेलका क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरेको आरोपमा एटीपीले अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियसलाई आठ सातासम्म कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरेको छ ।

एटीपीको उक्त निर्णयपछि २१ वर्षीय किर्गियसले अब जारी सिजनको बाँकी अवधि कोर्टबाहिर बिताउनुपर्नेछ । उनी आगामी जनवरी १५ देखि मात्र कोर्टमा फर्कन पाउनेछन् । उनले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन भने खेल्न पाउनेछन् ।

निलम्बनसँगै एटीपीले किर्गियसलाई थप २५ हजार अमेरिकी डलर जरिवाना तिराउने निर्णय पनि गरेको छ । पटकपटक अनुशासनसम्बन्धी विवादमा फस्दै आएका किर्गियसले हालसम्म तिरेको यो सबैभन्दा ठूलो जरिवाना हो । हालै चीनमा सम्पन्न सांघाई ओपन टेनिस प्रतियोगिताका क्रममा खेल भावना विपरीतको कार्य गरेको आरोपमा किर्गियसलाई दण्डित गरिएको हो ।

उक्त विषयमा छानबिन गर्न एटीपीले समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा किर्गियसलाई निलम्बन र जरिवाना तिराउने निर्णय गरिएको बताइएको छ । सोही आरोपमा गत साता आयोजकले पनि उनलाई १६ हजार पाँच सय अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको थियो ।

सांघाई मास्टर्सको दोस्रो चरणको खेलका क्रममा उनले आक्रामक व्यवहार प्रदर्शन गरेका थिए । त्यतिबेला उनले खेलका क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरेको आरोपमा १० हजार, दर्शकमाथि अपशब्द प्रयोग गरेको आरोपमा पाँच हजार र खेल भावनाविपरीतको आचरण प्रदर्शन गरेको आरोपमा एक हजार पाँच सय अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरिएको थियो ।

किर्गियस दोस्रो चरणको खेलमा तुलनात्मक रूपमा कमजोर जर्मन प्रतिद्वन्द्वी मिसचा जाभरेभसँग ६-३, ६-१ ले पराजित भएका थिए । हाल विश्व वरीयताको १४औं स्थानमा रहेका किर्गियसले कुनै कारणबिना नै अम्पायर अली निलीसँग बीचैमा खेल परित्याग गर्ने अनुमति मागेका थिए । यसैगरी उनले खेल सकिएपछि दर्शकलाई समेत अपशब्द प्रयोग गरेका थिए । उनले राम्रो खेल्न नसकेको भन्दै दर्शकले आलोचना गरेपछि किर्गियसले दर्शकलाई नै कोर्टमा आएर राम्रो खेल्न चुनौती दिएका थिए ।

यसैगरी खेलका क्रममा उनी आफ्ना प्रतिद्वन्द्वीविरुद्घ सर्भिस गरेर जवाफी प्रहारको प्रतीक्षा नै नगरी सीधै कोर्टबाट बाहिरिएका थिए । किर्गियसले भने आफू निकै थकित भएकाले कोर्टबाट बाहिरिएको र तनावमा आएको दाबी गर्दै आएका छन् । ‘लगातार एकपछि अर्को प्रतियोगिता खेल्नु परेकाले म शारीरिक र मानसिक रूपमा निकै थकित थिएँ, त्यसैले मबाट त्यस्तो व्यवहार प्रदर्शन हुन गयो’, उनले आफ्नो बचाउ गर्दै भनेका छन् ।

यसअघि पनि किर्गियसले केही प्रतियोगितामा आक्रामक व्यवहार प्रदर्शन गरेका थिए । गत वर्ष क्यानडाको मोन्ट्रियलमा खेलिएको प्रतियोगितामा पनि उनले प्रतिद्वन्द्वी स्टान वावरिन्कालाई दुव्र्यवहार गरेका थिए । उक्त व्यवहारका लागि त्यति बेला किर्गियसलाई १२ हजार पाँच सय अमेरिकी डलर जरिवाना तिराइएको थियो ।

त्यति बेला नै उनलाई ६ महिनासम्म खेलका क्रममा कुनै अभद्र व्यवहार गरे २५ हजार अमेरिकी डलर जरिवाना तिराउने र निश्चित अवधिका लागि खेलबाट निलम्बनसमेत गर्न सकिने चेतावनी दिइएको थियो । उनलाई ६ महिनाका लागि दिइएको चेतावनीको अवधि गत फेब्रुअरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.