सातौं खेलकुदका लागि मन्त्रीकै नेतृत्वमा अर्को समिति

काठमाडौः तेस्रोपटक सारिएको मितिीमा समेत हुने वा नहुने दुविधामा देखिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि युवा तथा खेलकुदमन्त्रीकै नेतृत्वमा अर्को तयारी समिति गठन गरिएको छ । खेलकुद मन्त्रालयले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्ने उद्देश्यसहित असशोज २० गते खेलकुद मन्त्रीको नेतृत्वमा ‘फास्ट ट्र्याक टास्क फोर्स' गठन गरेको हो ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलकुदमन्त्रीकै नेतृत्वमा यसअघि पनि मूल आयोजक समिति गठन गरिएको छ । मन्त्रालयले प्रतियोगिताको मिति निजिकिएकाले आवश्यक निर्णय आफंैले गर्नसक्ने गरी तयारीलाई तीव्र रूपमा अघि बढाउन टास्क फोर्स गठन गरिएको जनाएको छ । टास्क फोर्समा मन्त्रालयका सचिव, सहसचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष, सदस्यसचिव र कोषाध्यक्ष सदस्य छन् ।
प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौं संस्करण २०६८ सालमा सुदूरपश्चिमाञ्चलमा भएपछि हालसम्म सातौं संस्करण हुन सकेको छैन । राखेपमा केशवकुमार विष्ट सदस्यसचिव नियुक्त भएपछि तीनपटक समय तोकिएर पनि प्रतियोगिता समयमै हुन सकेको छैन ।
तेस्रोपटक तोकिएको समयअनुसार सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने जनाइएको छ । यद्यपि त्यसका लागि पनि तयारी निकै सुस्त भएको कारण देखाउँदै मन्त्रालयले फास्ट ट्र्याक टास्क फोर्स गठन गरेको बताइएको छ ।
‘प्रतियोगिताको मिति नजिकै आइसकेको छ तर तयारी अझै पूर्ण रूपमा हुन सकेको छैन', मन्त्रालयका एक अघिकारीले भने, ‘त्यसैले तयारीलाई तीव्र गतिमा अघि बढाउन यो समिति गठन गरिएको हो । यो समितिले मन्त्रालय स्तरबाट हुने सबै निर्णय गर्नेछ ।' समितिले सातौं राष्ट्रिय खेलकुदमा समावेश खेल सञ्चालन हुने पूर्वाधारको अवस्था अवलोकन गरी आवश्यकताअनुसार त्यसको मर्मतसम्भार र पुनः निर्माण गर्न लगाउने जनाइएको छ ।
टास्क फोर्सले सातौंबाहेक अन्य क्षेत्रमा समेत काम गर्ने जनाइएको छ । टास्क फोर्सले चालु आर्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने भौतिक पूर्वाधारको नियमित अनुगमन गरी समयमै सक्ने वातावरण निर्माण गर्ने कार्य गर्नेछ ।
यसैगरी टास्क फोर्सले क्रिकेट खेलाडीका रूपमा जापान लगेर उतै छाडिएका गैरखेलाडी र त्यस सम्बन्धमा छानबिन गर्न राखेपद्वारा गठित समितिको प्रतिवदनलाई कार्यान्वयनतर्फ अघि बढाउने विषयमा पनि चासो देखाएको छ । टास्क फोर्सले सन् २०१८ मा नेपालमै हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकका लागि समेत वातावरण बनाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
