प्रतिनिधि विवाद कायमै

प्रतिनिधि विवाद कायमै

काठमाडौः अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष र उपाध्यक्ष पदको चुनाव नजिकिँदै जाँदा फुटबलमा चुनावी सरगर्मी ह्वात्तै चुलिएको छ । कात्तिक ८ गते हुन लागेको चुनावका लागि अध्यक्ष र उपाध्यक्षका प्रत्यासी उम्मेदवारले आफ्नो प्रचारलाई तीव्र बनाएका हुन् ।

अध्यक्षका प्रत्यासी कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच जिल्लाका प्रतिनिधि र क्लबलाई आआफ्नो पक्षमा मत हाल्नका लागि फकाउने होडबाजी चलेको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठ र शेर्पाले चुनावी दौडसँगै आफूले जित्ने दाबी गरेका छन् ।

एक वर्षदेखि एन्फाको कार्यवाहक अध्यक्ष बन्दै आएका श्रेष्ठले चुनावको नतिजा आफ्नो पक्षमा आउने ठोकुवा गरे । ‘नेपाली फुटबलमा अहिले भएकामध्ये मेरो योगदान कम छैन । जीवनको लामो समय फुटबलमा खर्च गरेकाले पनि जिल्ला र क्लबका साथीहरूले मलाई साथ दिन्छन् भन्ने पूर्ण विश्वास छ', श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने ।

निर्वाचनका लागि एक साता समय बाँकी रहेकाले आफ्नो पक्षमा रहेका जिल्ला र क्लबको खुलासा गर्न नचाहेको उनले बताए । यसअघि श्रेष्ठले उम्मेदवारी घोषणा कार्यक्रममा आफ्नो पक्षमा २२ जिल्ला, १० क्लब र तीन समितिको समर्थन रहेको दाबी गरेका थिए । श्रेष्ठलाई अहिले संस्थापन पक्षको बलियो उम्मेदवारको रूपमा चित्रण गरिएको छ ।

विश्व फुटबल महासंघ (फिफ) बाट दसवर्षे प्रतिबन्धको कारबाही गरिएका एन्फाका पूर्वअध्यक्ष गणेश थापाको समर्थन पनि श्रेष्ठलाई छ । तर श्रेष्ठ भने थापाको समर्थन आफूलाई रहेको भन्ने भनाइ निराधार भएको बताउँछन् । श्रेष्ठको पक्षबाट उपाध्यक्ष पदका लागि मणि कुँवरले उम्मेदवारी दिएका छन् । कुँवर वर्तमान कार्यसमितिका सहायक महासचिव हुन् ।

यसैगरी, अध्यक्षका अर्का प्रत्यासी शेर्पाले पनि आसन्न निर्वाचनका आफ्नो जित निश्चत भएको दाबी गरे । ‘मैले ३७ जिल्लाको भ्रमण सकेँ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको समर्थन पनि मलाई छ । आसन्न चुनावमा ४७ मत ल्याएर जित्नेमा म विश्वस्त छु', शेर्पाले भने ।

विगतमा एन्फाको संस्थापन पक्षबाट भएको भ्रष्टाचार, अनियमितता र एकलौटी निर्णय नै आफ्नो जितको बलियो आधार भएको शेर्पाले बताए । अघिल्लो दुई कार्यकाल उपाध्यक्ष पदमा रहेका शेर्पा तीन वर्षदेखि एन्फामा आर्थिक नियमितता, प्रशासनिक पारदर्शिता, सामूहिक नेतृत्व र फुटबलको विकेन्द्रीकरण हुनुपर्ने माग राख्दै आएका छन् ।

उम्मेदवार घोषणा कार्यक्रमा भने शेर्पाले २० जिल्ला र सात क्लबको समर्थन आफ्नो पक्षमा रहेको खुलासा गरेका थिए । शेर्पाको प्यानलबाट दीपक खातीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमै राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवं प्रशिक्षक उपेन्द्रमान सिंहले पनि उम्मेदवारी दिएका छन् ।

एन्फा निर्वाचन समितिले कात्तिक ५ गतेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकेको छ । तर एन्फाको निर्वाचनका विषयमा पाटन उच्च अदालतमा उजुरी परेपछि अदालतले कात्तिक ५ गतेसम्म एन्फाको चुनावी गतिविधि सञ्चालन नगर्न नगराउन अन्तरिम आदेश दिएकाले उम्मेदवारी फिर्ता गर्ने समय फेरबदल हुन सक्ने एन्फाले जनाएको छ । अदालतले ५ गते नै सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको छ ।

यो निर्वाचनबाट एन्फाको अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित पदाधिकारीको पदावधि केवल एक वर्षको हुनेछ । एन्फाको यो कार्यसमितिको कार्यावधि २०७४ कात्तिकसम्म रहनेछ ।

फिफाले भ्रष्टाचारको आरोपमा २०७२ कात्तिक ३० गतेदेखि लागू हुने गरी निवर्तमान अध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिवानाको कारबाही गरेपछि अध्यक्ष पद रिक्त रहँदै आएको थियो । यसैगरी तत्कालीन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको २०७२ साल जेठ २९ गते निधन भएपछि सो पद पनि रिक्त छ ।

निर्वाचनमा एन्फामा आबद्ध ४५ जिल्ला, ‘ए' डिभिजन क्लबबाट १२ जना, ‘बी' डिभिजन क्लबबाट पाँचजना र ‘सी' डिभिजन क्लबबाट तीनजना तथा प्रशिक्षक, खेलाडी, रेफ्री र महिला समितिबाट एकएक गरी ६९ जनाले मत दिन पाउने व्यवस्था छ ।
‘बी' डिभिजन क्लबको मताधिकार पाएको श्रीकुमारी क्लबलाई हालै एन्फा अनुशासन समितिले फुटबलबाट दुईवर्षे प्रतिबन्ध र ५० हजार रुपैयाँ जरिवाना गरेपछि उसले मत दिन पाउने छैन ।

प्रतिनिधि विवाद कायमै

एन्फा चुनाव आउन एक सातामात्र समय रहे पनि प्रतिनिधिको विवाद भने कायमै छ । निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै उम्मेदवारी फिर्ता लिने समय नजिकिँदा पनि कञ्चनपुर जिल्लाको प्रतिनिधिका विषयमा पुनः विवाद देखिएको हो । यसअघि निर्वाचन समितिमा कञ्चनपुरबाट जिल्ला अध्यक्ष भीमबहादुर थापाको नाम प्रतिनिधिको रूपमा पठाइएको थियो ।

निर्वाचन समितिले असोज २९ गते थापाको स्थानमा उपाध्यक्ष सुशीलप्रसाद भट्टलाई प्रतिनिधिको रूपमा राखेपछि विवाद चुलिएको हो ।संस्थापन पक्षले कञ्चनपुरका प्रतिनिधि थापाले आफू निर्वाचनमा आउन नभ्याउने बताएकाले उपाध्यक्षलाई पठाइएको दाबी गरेको छ । निर्वाचन समितिका संयोजक एवं एन्फाका कानुनविद् सुजित केसीले कञ्चनपुरका अध्यक्ष थापाकै अध्यक्षतामा पुनः बसेको कार्यसमिति बैठकले भट्टलाई प्रतिनिधिमा पठाएकोले सदर गरिएको बताए ।

‘एन्फाको निर्वाचनको मत अधिकार जिल्ला र क्लबलाई हो । यसमा को व्यक्ति आउने वा नआउने भन्ने विषयले महत्व राख्दैन', केसीले भने । निर्वाचन समितिले त्रिभुवन आर्मी क्लबको पनि प्रतिनिधिमा फेरबदल हुन सक्ने जनाएको छ ।
तर शेर्पा पक्षले भने निर्वाचन समितिले संस्थापन पक्षसँग मिलेर कानुनविपरीत थापाको नाम हटाएर भट्टलाई प्रतिनिधि बनाएको आरोप लगाएको छ ।

थापाले पनि आफूलाई केन्द्र र जिल्लाका साथीले दबाब दिएर दोस्रो पटक बैठक राखी उपाध्यक्ष भट्टको नाम प्रतिनिधिका रूपमा पठाएको बताए । ‘निर्वाचनका लागि प्रतिनिधिको नाम सार्वजनिक र उम्मेदवारी समेत दर्ता भइसकेको अवस्थामा दोस्रो व्यक्तिको नाम मागेर केन्द्र र निर्वाचन समितिले नियमविपरीत काम गरेको छ,' थापाले भने ।

उनले निर्वाचनमा आफूले नै भोट हालेर छाड्ने दाबी पनि गरे । अध्यक्ष पदका उम्मेदवार शेर्पाले निर्वाचन समितिले संस्थापन पक्षलाई काखी च्यापेर निर्वाचन निर्देशिकाभन्दा बाहिर गई काम गरेको आरोप लगाए ।

यसअघि पनि पर्सा, सिन्धुपाल्चोक, झापा, सर्लाही जिल्ला, मच्छिन्द्र र फ्रेन्ड्स क्लबको प्रतिनिधिका विषयमा विवाद भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.