एटिएम ह्याकर बुल्गेरियन नागरिक पक्राउ
काठमाडौं: अर्काको एटिएमको डाटा र पिन कोड चोरेर पैसा निकाल्दै आएका बुल्गेरियाका नागरिक डिमो एटानसोभ स्टेफानोभलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहिबार ठमेल ज्याठाबाट पक्राउ गरेको हो ।
घटनाबारे जानकारी दिन शुक्रबार ब्यूरोले आयोजना गरेको पत्रकार सम्मेलना ब्यूरोका प्रमुख डीआइजी नवराज सिलवालले भने,‘एटिएमबाट पैसा चोरीको अन्य घटना पनि छन्, तर यो घटना अलि फरक प्रकृतिको छ ।’
डिमोले एटिएम बुथमा माइक्रो क्यामेर राखेर एटिएमको डाटा र पिनकोट चोरी गरी डाडा स्किमरको माध्यमबाट अर्को कार्डमा डाडा टान्सफर गरेर पैसा निकाल्दै आएको जानकारी सिलवालले दिए ।
अक्टोबर सातमा नेपाल आएर ठमेलस्थित होटल जगतको कोठा नम्बर १०१ मा बसेका डिमोले नेपाली रकम मनी एक्सचेन्समा डलर र यूरोमा साटेर विदेश लैजाने तयारी अवस्था थिए । डिमोले इन्भेष्टमेन्ट बैंकको एटिएम बुथबाट पैसा झिकेपछि खातावालको मोबाइलमा अर्लाम बजेपछि उक्त सूचना बैंकसम्म पुगेको थियो । खातावालले वैंकमा जानकारी गराएका थिए । उक्त बैंककै कर्मचारीकै एटिएमको डाडा प्रयोग गरेर पैसा झिकेका थिए डिमोले । बैंकले कर्मचारीलाई बुझ्दा पैसा नझिकेको बताएपछि सीसीटीभी फुटेजको आधारमा शंका लागेर बैंकले ब्यूरोलाई जानकारी गराएको थियो ।
‘बैंकको सूचना पाएपछि प्रहरीले सूक्ष्म निगरानी गरेपछि डिमोलाई पक्राउ गर्न सफल भयौं, डीआइजी सिलवालले भने । कार्यक्रममा इन्भेष्टबैंकका डेपुटी जनरल म्यानेजर विजेन्द्र सुवालले बैंकले सुरक्षा गार्ड र अन्य शाखालाई जानकारी गराउँदा पनि एटिएम ह्याकरले पैसा निकाल्न नछाडेको बताए ।
उनले तीन वटा सावधानी अपनाएमा यस्ता घटनाबाट अन्य ग्राहक जोगिने बताए । एटिएम बुथबाट पैसा निकाल्दा वरपर कतै हिडेन क्यामेरा भए नभएको एकिन गरेर मात्रै कार्ड छिराएर पीनकोड राख्ने, पीनकोड समयसमयमा फेर्ने र अफूले प्रयोग नगरेको कारोबारका बारमो मोबाइलमा एसएमस अर्लट आएमा तुरुन्त सम्बन्धित बैंकमा जानकारी गराएमा एटिमबाट पैसा चोरी हुने सम्भावना कम हुने जानकारी सुवालले दिए ।
नेपालमा प्रयोग हुँदै आएका अधिकांश एटिएम कार्ड म्याग्नेटीभ प्रविधि अन्तर्गत चल्दै आएका छन् । चीप प्रविधिमार्फत् एटिएम प्रयोग भएमा चोरी हुने सम्भावना न्युन हुन्छ । ‘हामीलगायत अन्य बैंकले सन् २०१७ भित्र राष्ट्र बैंकको स्वीकृतिमा चीप प्रविधिमा एटिएम प्रयोगमा ल्याउने योजनामा छौं, सुवालले भने । डीआइजी सिलवालले एटिएम प्रयोग विधिमा सुरक्षात्मक उपाय नअपनाउँदा खातावालको पैसा कुनैपनि समयमा चोरी हुनसक्ने दावी गरे।
एटिएमबाट पैसा निकाल्ने तीन वटा समुहलाई ब्यूरोले यसअघि पक्राउ गरिसकेको छ । ब्यूरोका अनुसार गत साउन १७ गते रोमानियाली नागरिक प्रेडा औरेलियनलाई नेपाली रुपैंया दुई लाख ६४ हजार र विभिन्न एटिएम कार्ड, २०७१ चैत ५ गते बुल्गेरियन नागरिक पेट्रोस्लभ हिस्र्टोभलाई ४० हजार अमेरिकी, ५७ हजार यूरो र १८ लाख नेपाली रुपैंयासहित एटिएम कार्ड रिर्डर, राइटर र एक सय ७१ थान एटिएम कार्डसहित पक्राउ गरेको थियो । त्यसैगरि २०७१ मंसिर एक गते टर्किस नागरिक मेहमेत गुलेनलाई पाँच हजारा अमेरिकी डलर र २६ लाख नेपाली रुपैंयासहित ब्यूरोले पक्राउ गरेको थियो ।