सौभाग्यको पर्व श्री दिवस

सौभाग्यको पर्व श्री दिवस

मानव जीवनको शाश्वत पक्षलाई मनन गरेर यसको सर्वोच्चतम् प्राप्तिको खोजीमा नै हिन्दु शास्त्राकार र चिन्तकहरूले जीवन विताउनुमा सार्थकता ठाने । सारभूत रूपमा जीवनका अँध्यारा पक्षहरूलाई हटाई उज्यालाको प्राप्तिमा नै मानव जीवनको धार्मिक तथा आध्यात्मिक लक्ष्य हुन्छ । अविद्या, अज्ञानता, अहंकार र क्लेशजस्ता जीवनका भयानक अन्धकारलाई हटाई औंसीको रातमा पनि पूर्णिमाको पूर्णताको खोजी गर्ने प्रकाशमय पर्वका रूपमा दीपवलीलाई विशेष हर्ष र उल्लासका साथ मनाउने गरिन्छ ।

पद्मपुराण तथा स्कन्दपुराणमा दीपावलीलाई धार्मिक मान्यता प्रदान गर्नुका साथै यस महोत्सवमा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नुपर्ने विधानको उल्लेख भएको पाइन्छ । वेद, उपनिषद्, पुराणलगायतका ग्रन्थमा श्री र लक्ष्मीको चर्चा छ । (हरिराम जोसी-नेपालका चाडपर्वहरू)

उज्यालोको यसै शाश्वत चिन्तन र महत्त्वलाई मनन गर्दै 'तमसोमाज्योतिर्गमय असतोमा सतगमय' अर्थात् प्रकाशरूपी ज्ञानको मार्गको यात्रामा नै मानवले आफूलाई अभिप्रेरित गराउन्पर्छ भन्ने वृहदारण्यकोपनिषद्को दार्शनिक भावभूमि छ ।

पूर्वीय संस्कृतिमा मानव जीवनका चारवटा आधार धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थ अर्थात श्री र सम्पत्तिलाई महत्त्वपूर्ण स्थान दिएको पाइन्छ । आश्रम व्यवस्थाका चारवटा आ श्रममध्ये गृहस्थ आ श्रममा रहेर मानवले सम्पन्न गर्नुपर्ने धार्मिक अनुष्ठानहरूमा धन र सम्पत्तिको अनिवार्य आवश्यकता मानिएको छ । धनको यसै महत्त्वपूर्ण आवश्यकतालाई ध्यानमा राख्दै हिन्दु शास्त्राकारहरूले श्री अर्थात् धन र सम्पत्तिकी देवीको परिकल्पना गरेका छन् ।

हिन्दु संस्कृतिमा एकातिर पुरुषलाई माथिल्लो श्रेणीमा राखिएको छ भने अर्कोतिर नारीलाई सौभाग्यकी देवीको रूपमा पूजा गर्ने गरिएको छ । शाक्त दर्शन (मातृपूजा) को पौराणिक परम्परा अद्यापि रहेको तथ्य विभिन्न देवी र मातृशक्तिको उपासनाबाट पुष्टि हुन्छ । हिन्दु परिवारमा छोरीको जन्मलाई सौभाग्यको आगमन र वधूको गृहप्रवेशलाई श्री को प्राप्ति मानेर हर्षोल्लास मनाउने सामाजिक परम्परा र दार्शनिक आधार छ ।

श्री शक्तिको उपासना, प्रकृति र पर्यावरणप्रतिको सम्मान र भ्रातृ दिवसको त्रिवेणीका रूपमा रहेको उज्यालोको प्रतीकका रूपमा मनाइन्छ । मानव जीवनमा भौतिक सम्पन्नताले हुँदैन, आध्यात्मिक एवं मानसिक श्रीवृद्धि हुनुपर्छ भन्ने यस पर्वको दार्शनिक आधार रहेको छ । अविद्या, राग, द्वेश र क्लेशजस्ता औंसी र अन्धकारका प्रतीक स्वरूपका मानसिक विकारहरूलाई हटाएर आध्यात्मिक ज्योतिको प्राप्तिका लागि हिन्दुहरूले निरन्तर साधना अनुष्ठान गर्नुपर्छ ।

यस प्रकारको पवित्र र क्लेशरहित साधनाले मात्र व्यक्ति सदा श्रद्धावान् र सम्पन्न हुन्छ । सांसारिक कामना र लालसाबाट माथि उठेका व्यक्तिले मात्र समग्र रूपमा परिवार, समाज र राष्ट्रलाई नै माथि उठाउँछ भन्ने पूर्वीय सभ्यताको दार्शनिक अभिव्यक्ति रहेको छ । अर्कोतिर वातावरण र पर्यावरणको पारम्परिक सम्बन्ध र सन्तुलनलाई कायम राख्दै पृथ्वीमातालाई दीर्घायु प्रदान गर्नका लागि प्रकृति पूजाको प्रतीकका रूपमा काग, कुकुर र गाई आदिलाई पूजन र नमन गर्ने परम्परा रहेको हो ।

मानवले पुस्तकबाट मात्रै होइन कि यस धराधामका अन्य प्राणीहरूबाट पनि ज्ञान प्राप्त गर्नसक्छ भन्ने यसको सार हो । दाजुभाइ र दिदीबहिनीहरूबीचको पवित्र सुसम्बन्धलाई निष्ठापूर्वक कायम राख्नका लागि तिहारले धार्मिक तथा भावनात्मक आधार प्रदान गरेको मानिन्छ ।

 

पाँच दिनसम्म मनाइने यस पर्वमा विशेष गरी माता लक्ष्मीलाई धूमधामसँग पूजा गरी मनाइन्छ । भगवान् विष्णुको अर्धांगिनीका रूपमा पुजिएकी लक्ष्मीलाई धनकी देवीको रूपमा मानिन्छ । अष्टमात्रिकामध्ये एक महालक्ष्मी देव र दानवहरूले क्षीर समुद्र मन्थन गर्दा उत्पत्ति भएकी मानिन्छिन् ।

सुवर्णादि धनका साथमा श्री, शोभा र सौभाग्य आदिको साथमा लक्ष्मीको सम्बन्ध भएको तथ्य वेदमा उल्लेख छ । पुराणहरूमा लक्ष्मीको सौन्दर्य र कान्तिले सबैलाई प्रभावित गरेको उल्लेख छ । रामायण, महाभारत, विष्णु पुराण, पद्म पुराणलगायतका पौराणिक ग्रन्थहरूमा महालक्ष्मीको गरिमा गाइएको छ । (जोसी, अभिनव संस्कृतिकोष पृष्ठ-२७०)

आद्य लक्ष्मी, विद्या लक्ष्मी, सौभाग्य लक्ष्मी, अमृत लक्ष्मी, काम लक्ष्मी, सत्य लक्ष्मी र योग लक्ष्मी गरी आठ प्रकारका लक्ष्मीको चर्चा गरिएको छ । अमरकोष नामक ग्रन्थमा पनि लक्ष्मीको चर्चा छ । मानसिक दरिद्रता हटाई आध्यात्मिक र भौतिक उन्नतिका लागि महालक्ष्मीको अनुष्ठान विधिपूर्वक गर्ने गरिन्छ । राजामहाराजाहरूले पनि राज्य प्राप्तिका लागि महालक्ष्मीको उपासना गर्ने गरेको पौराणिक कथन छ । धनीदेखि गरिबसम्मका सम्पूर्ण तह र तप्काका मानिसले हिन्दु नरनारीहरू सौभाग्य प्राप्तिका लागि श्री लक्ष्मीको पूजा गर्ने परम्परा छ ।

सुन्दर यस शारदीय ऋतुमा घर, चोक र आँगन र प्रांगणमा सफा गर्दै वरिपरि चारैतिर बत्ती बालेर विशेष पूजाआजाका साथ महालक्ष्मीको विधिपूर्वक अनुष्ठान गरिन्छ । यसर्थ लक्ष्मीतिहार (गाई) लाई धन प्राप्तिका लागि गरिने आराधनाको पर्व अर्थात् सौभाग्य र श्रीदिवसका रूपमा मनाइन्छ ।

हिन्दु संस्कृतिमा एकातिर पुरुषलाई माथिल्लो श्रेणीमा राखिएको छ भने अर्कोतिर नारीलाई सौभाग्यकी देवीको रूपमा पूजा गर्ने गरिएको छ । हिन्दु परिवारमा छोरीको जन्मलाई सौभाग्यको आगमन र वधूको गृहप्रवेशलाई श्री को प्राप्ति मानेर हर्षोल्लास मनाउने सामाजिक परम्परा र दार्शनिक आधार छ ।

प्रतिमा विज्ञानका पुस्तकहरूमा लक्ष्मीमाताको विभिद स्वरूप र प्रतिमा लक्षणका नियमहरूको वर्णन गरिएको पाइन्छ । विषेशगरी विष्णुधर्मोत्तर पुराण, मत्स्यपुराणलगायत प्रतिमा विज्ञानसम्बन्धी पुस्तकमा लक्ष्मी, श्री लक्ष्मी, महा लक्ष्मी, यज्ञलक्ष्मी, राज्य लक्ष्मी, स्वर्ग लक्ष्मी, ब्रह्म लक्ष्मी आदि सबैको प्रतिमा र चित्र बनाउने नियमको उल्लेख छ । मत्स्य पुराणमा लक्ष्मीको दायाँ हातमा कमल, बायाँ हातमा विल्वफल (वेल) धारण गरेकी, दुई बाहुको पछाडि दुईतिरबाट दुई हात्तीले सुवर्णका झारीले स्नान गराइएको, सिंहासनमा पद्ममाथि विराजमान भएकी लक्ष्मीको प्रतिमा (मूर्ति) बनाउनु भनी उल्लेख गरिएको छ ।

विष्णुधर्मोत्तर पुराणमा लक्ष्मीको साथमा राज्यलक्ष्मी, स्वर्गलक्ष्मी, ब्रह्मलक्ष्मी र जयलक्ष्मीको प्रतिमा बनाउनु भनी निर्देशन गरिएको छ । श्रीलक्ष्मीलाई नवयौवना, पुष्ट गला लाल ओंठ, मणिको कुण्डल लगाएकी, मण्डलाकार मुहारको सिउँदोमा सिउँदोको दुईतिरबाट दुई हात्तीले स्नान गराएकी र पाउ धोइएकी देखाउने पर्छ भन्ने प्रतिमाशास्त्रीय विधान छ ।
नेपालमा प्राचीनकालदेखि नै लक्ष्मीको मूर्ति बनाउने परम्परा छ ।

पाटनस्थित च्यासलहिटीको गजलक्ष्मीको मूर्तिलाई सर्वप्राचीन मूर्ति मानिन्छ । राष्ट्रिय संग्रहालयमा रहेको पदमहस्ता लक्ष्मी मूर्तिलाई लिच्छवीकालको उत्कृष्ट नारी मूर्ति मानिन्छ । मानांक मुद्राको पृष्ठ भागमा लक्ष्मीको आकृति अंकित गरिएको छ । विष्णुले लक्ष्मीको रक्षा गरेको मानिने दार्शनिक चिन्तनको प्रतीकात्मक भावार्थ मानदेवबाट प्रसारित सिक्काहरूमा पाइन्छ ।

राज्यलक्ष्मीलाई शत्रुबाट बचाई देशलाई समृद्धितिर लान सकेको सांस्कृतिक आधारलाई समेत यसै तथ्यले संकेत गरेको छ । राजा अंशुवर्माले प्रसारण गरेको वैष्णव मुद्राको पृष्ठ भागमा अंकित गाईले बाच्छोलाई दूध चुसाइरहेको (कामदोही) दृश्यले लिच्छवी संस्कृतिको वैभव र ऐश्वर्यलाई नै अभिव्यक्त गरेको मानिन्छ । मल्लकालमा आएर एकल र पारिवारिक समूहमा लक्ष्मी माताको मूर्ति बनाउने प्रचलन रहेको थियो । आज पनि हिन्दुहरूका घरघरमा श्रीलक्ष्मीको यन्त्र र प्रतिमा स्थापना गरी पूजा गरिएको पाइन्छ ।

मानसिक दरिद्रता र क्लेश अनि अज्ञानतालाई हटाई आध्यात्मिक र भौतिक श्रीवृद्धिका लागि महालक्ष्मीको पूजा र अनुष्ठान गर्ने गरिएको ऐतिहासिक तथा सांस्कृतिक आधार छ । राष्ट्रको आर्थिक सम्पन्नता, यश, कृति र समृद्धिका लागि हिन्दु शास्त्राकारहरूले विभिन्न धार्मिक पर्व र परम्पराहरूमा महामाया महाशक्ति महालक्ष्मीको उपासना गर्ने परम्परा चलाएका छन् ।

हिन्दु शास्त्रकारले प्रतिपादन गरेको चार आ श्रम व्यवस्था, त्रिऋण मोचन र चार पुरुषार्थ प्राप्तिका लागि धनकी देवी श्रीदेवीको पूजा उपासना अनिवार्य मानिन्छ । यसै सन्दर्भमा सौभाग्यको पर्व लक्ष्मीपूजा अर्थात् श्रीदिवस पर्वको गरिमाको सार्थकता रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.