ऋतिकाको साथी
ऋतिकालाई बिहान अबेरसम्म सुत्न मन पर्छ । तर आज सुत्न पाइनन् । उनको घर अगाडि गाईको सानो बाच्छो कराउन लाग्यो । बाच्छो बाँ बाँ गरेपछि उनी सुत्नै सकिनन् । उनले उठेर झ्यालको पर्दा खोलिन् । घर अगाडिको बाटोमा सानो बाच्छो थियो । आहा ! कति राम्रो बाच्छो । 'यससँग खेल्न पाए त !' ऋतिकाले मनमनै भनिन् । उनलाई सानो बाच्छोको गाजले आँखा ज्यादै मन पर्यो ।
'ऋतिका ! तिमी त आज चाँडै उठेछौं ' उनको पापाले भन्नुभयो । उनी अझै झ्यालबाट बाहिर नै हेर्दै थिइन् । 'पापा ! हेर्नु न कति राम्रो बाच्छो, म खेल्न जाउँ बाच्छोसँग ? ' उनले पापालाई सोधिन् । 'खै म पनि हेरौं ? ' पापाले भन्नुभयो ।
बाटोमा गाईको सानो बाच्छो थियो । त्यसलाई बाच्छो धनीले त्यहाँ छोडिदिएको थियो । 'बिचरा एकाबिहानै कस्तो बिजोग भएछ । आज दूध खान पनि पाएन जस्तो छ । हेर त ऋतिका, त्यसको पेट कस्तो गरी भित्र पसेको' पापाले भन्नुभयो ।
'पापा ! हामी त्यो बाच्छोलाई दूध खुवाऔं न हुन्न ? ' ऋतिकाले अनुरोध गरिन । 'हुन्छ, तिमी र म दूध लिन जाने हो त ? ' पापाले त्यति भनेपछि ऋतिका पापासँग दूध लिन गइन् । बाटोभरि उनले पापालाई बाच्छोको बारेमा धेरै प्रश्नहरू सोधिन् ।
पापाले भन्नुभयो, 'यो बाच्छो बहर हो । गाईको सन्तानमध्ये छोरोलाई बहर भनिन्छ । छोरीलाई चाहिँ बाच्छी । बहर ठूलो भएपछि गोरु हुन्छ र त्यसलाई बारी जोत्न प्रयोग गरिन्छ । बाच्छी ठूलो भएपछि गाई भनिन्छ । त्यसले सन्तान जन्माएपछि दूध दिन्छ । काठमाडौंमा गोरु जोत्न पाइँदैन किनभने साँढे त शिवजीको वाहन हो ।
बरु त्यसलाई हामी पूजा गर्छौं । तर गाई पाल्नेहरूले बाच्छी जन्म्यो भने मात्र पाल्छन् । किनभने बाच्छी ठूलो भएपछि गाई हुन्छ र दूध दिन्छ । बहर जन्म्यो भने चाहिँ केही हप्ता पालेर सडकमा छाडिदिन्छन् । कति ठाउँमा त भैंसीले पाडो पायो भने जन्मनेबित्तिकै भीरबाट फलिदिन्छन् । पाडी पायो भने मात्र पाल्छन् । भैंसीको सन्तानमध्ये छोरोलाई पाडो र छोरीलाई पाडी भनिन्छ ।'
'मानिसले त छोरालाई बढी प्यारो गर्छन् है पापा ? ' ऋतिकाले फेरि सोधिन् । 'सबैले त्यसो गर्दैनन् बेटा । जस्तै, तिमी हाम्रा लागि कति प्यारो छौ भन त ? भाइ अंकित र तिमी हाम्रो लागि उत्तिकै त छौ । हैन त ? ' पापाले प्रस्ट पार्नुभयो ।
'त्यो त हो तर विद्यालयमा गुरुआमाले भन्नुभएको आज पनि गाउँघरतिर धेरै ठाउँमा बुबाआमाले छोरीलाई भन्दा छोरालाई बढी प्यारो गर्नुहुन्छ रे । छोरीलाई त कति ठाउँमा घरधन्दामात्र गर्न लगाउनुहुन्छ रे । गाईबाख्रा चराउन लगाउनुहुन्छ रे । छोरीलाई त अर्काको घरमा जाने जात भन्नुहुन्छ रे । विद्यालय पनि पठाउनुहुन्न रे । हो त पापा ? '
ऋतिकाले एकै पटक धेरै कुराहरू सुनाइन् । उनको पापा पनि छक्क पर्नुभयो । 'हो बेटा, कति ठाउँ र परिवारहरूमा यस्तो अझै पनि छ । तर अब यो सबैतिर परिर्वतन हुँदैछ । नेपालको नयाँ संविधानमा छोराछोरीबीचमा कुनै किसिमको भेदभाव गर्न पाइँदैन भनेर लेखिसकिएको छ' पापाले उनलाई छोराछोरी बराबरी हुन् भन्ने राम्ररी बुझाउनुभयो ।
ऋतिकासँग बाटोभरि धेरै कुरा गर्दागर्दै पापाले डेरी पुगेर दूध किन्नुभयो । बाच्छोलाई दूध चुसाउने निप्पल पनि किनेर ल्याउनुभयो ।
उहाँहरू आइपुग्दा बाच्छोलाई त पुलिस अंकलहरूले लिएर जान आट्नुभएछ । ऋतिकालाई नराम्रो लाग्यो । बाच्छोलाई दूध खुवाएर त्यससँग खेल्न मन थियो उनलाई । बाच्छोको गाजले आँखा हेरिरहन मन लागेको थियो उनलाई ।
'पापा, बाच्छोलाई पुलिस अंकलहरूले किन लाने रे ?' उनले पापालाई सोधिन् । ऋतिकाको कुरा सुनेपछि एकजना पुलिस अंकल उनको छेउमा आउनुभयो र भन्नुभयो, 'नानु ! सुन त, पशुहरू बाटोमा छोडियो भने सवारी दुर्घटना हुन सक्छ । पशुहरूले खान पनि पाउँदैनन् । विद्यार्थी, केटाकेटी र अन्य मानिसको हिँडाइमा समेत अवरोध पुग्छ । त्यसैले हामी यसलाई अन्यत्रै लान्छौं ।'
पुलिस अंकलको कुरा सुनेपछि ऋतिकाले भनिन्, 'अंकल यो त मेरो सानो साथी हो । यसलाई पापा र मैले दूध किनेर ल्याइदिएका छौं । म बाच्छोसँग खेल्छु नि ! नलैजानु न अंकल, प्लिज ।'
ऋतिकाको बाच्छोप्रतिको ममता देखेपछि पापाले भन्नुभयो, 'ठीकै त छ नि वेटा, उहाँहरूले यसलाई पशुपति मन्दिर क्षेत्रमा लैजानुहुन्छ । त्यहाँ यसको पूजा हुन्छ । बहर साँढेको सानो रूप हो । साँढे शिव भगवान्को वाहन हो । त्यही भएर बहरको पनि पूजा हुन्छ । मन्दिरमा यसलाई भक्तजनहरूले दूध दिनुहुन्छ ।
खानेकुरा दिनुहुन्छ । तर हामीले यसलाई हाम्रो घरमा राख्यौं भने यसको हेरचाह पुग्दैन । हरेकदिन तिमी, बिहानै विद्यालय जान्छौं । म अफिस जान्छु । तिम्रो ममी पनि अफिस जानुहुन्छ । अनि बाच्छोलाई यहाँ कसले हेर्छ । भन त ? वरु यो दूध पुलिस अंकललाई दिऔं । तिमी र म हरेक शनिबार, यो नयाँ साथीलाई भेट्न पशुपति मन्दिर जाऊँला । हुन्न ? '
पापाको कुरा ऋतिकालाई मन पर्यो । उनले हुन्छ भनिन् । डेरीबाट किनेर ल्याएको दूध, पापाले पुलिस अंकललाई दिनुभयो । पुलिस अंकलहरूले उनको साथीलाई गाडीमा राखेर लानुभयो ।