लौहपुरुषको हेक्का नराख्नुको परिणाम
नेपालमा मात्र होइन, विश्वका ठूला-साना सबै देशमा आफ्ना युगपुरुषलाई आदर गर्ने तर अनुशरण नगर्ने रोगले सताउने गरेको छ । कालान्तरमा जब उनीहरू अतीतका गल्तीप्रति पछुताउन थाल्छन्, तब धेरै ढिलो भइसकेको हुन्छ । नेपालका सन्दर्भमा गणेशमान सिंहका चेतावनीको महत्वको पहिचान समयमै गर्न नसकेकाले आर्थिक रूपमा देश कति पछाडि धकेलियो, त्यसको लेखाजोखा गर्ने फुर्सद कसैलाई मिलेको छैन । किनभने सबै आँखा चिम्लेर दौडेको दौड्यै छन् ।
कहाँ पुग्न दौड चलेको हो, उनीहरूलाई पनि थाहा छैन त्यसको गन्तव्य । अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष दोहोर्याउँदै उनीहरूले दौड जारी राखेका छन् । यथार्थमा युगपुरुषका कालजयी चेतावनीप्रतिको उपेक्षाले हामी दिशाहीन बनेका हौं भन्ने चेत खुले पनि होस् खुल्न बाँकी छ । त्यसैले दौड जारी छ ।
नेपाल अहिले जुन युगमा छ, त्यो युगमा प्रवेश गर्ने ढोका २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताले खोलेको हो । गणेशमानको अतुलनीय त्याग, निरन्तरको संघर्ष र राष्ट्रप्रतिको निष्ठापूर्ण समर्पणपनबाट आर्जित सबैका निम्ति स्वीकार्य व्यक्तित्वका अभावमा त्यो आन्दोलनलाई अभूतपूर्व जनसमर्थन प्राप्त हुन सम्भव थिएन र सफलता पनि सहज हुने थिएन ।
त्यही आन्दोलनले ३० वर्षदेखि जमेर बसेको राजाको सक्रिय नेतृत्वको निर्दलीय पञ्चायत व्यवस्थाको कालो युगको अन्त्य भएर उदार प्रजातन्त्रको नयाँ युगको पुनस्र्थापना गरेकाले गणेशमानलाई युगपुरुष भनिएको हो । त्यो पदवी, उनको दाबीमा होइन, विश्व इतिहासले निर्धारित गरेको महान् व्यक्तित्वको मूल्यांकनको आधारमा नेपाली जनताबाट प्रदान गरिएको हो ।
बुद्धिजीवी तथा इतिहासकारले पनि जसको नेतृत्वमा युग परिवर्तन हुन्छ, उसको विशिष्ट योगदानको सम्मानस्वरूप त्यस्तो विशेषण प्रदान गर्ने विश्व परम्पराअनुरूप उनलाई युगपुरुषको उपाधि प्रदान गरेका हुन् । त्यस्ता युगपुरुषका कालजयी चेतावनीलाई व्यावहारिक राजनीतिका प्रमुख पात्रहरूका उपेक्षाबाट देश कसरी अन्त्यहीन अन्योलको सिकार बन्यो, त्यसको समीक्षा गर्न निकै ढिलाइ भइसकेको छ । गणेशमानको जन्मदिन भाइटीकाको भोलिपल्ट मनाइँदै आइएकाले यो प्रसंग स्मरण गरिएको हो ।
विश्व इतिहासकै यो विडम्बना रहिआएको छ कि आफ्ना युगान्तकारी नेताहरूलाई महान् घोषित गरी पूजाअर्चना गर्ने र त्यसपछि बिर्सिदिने । नेपाल र नेपालीले पनि त्यही गरे । गणेशमान भित्तामा लेखिएका अक्षर पढ्न सक्थे, त्यसैले राजनीतिको चाल देखेरै भविष्यमा त्यो कहाँ पुग्छ पहिल्यै बताइदिन्थे । अहिलेका नेताहरू आफूलाई दिएको होमवर्कबाहेक केही पढ्न सक्तैनन् । स्वाभाविक हो, उनीहरू भविष्यका के कुरा, भोलिको परिणामका बारेमा पनि आज बताउन समर्थ राख्दैनन् ।
जनताका आकांक्षा, राजनीतिक शक्तिका अकर्मण्यता र परिस्थितिको नाडी छाम्नसक्ने अद्भुत क्षमता थियो, गणेशमानमा । जनताका हक र अधिकार दिलाउने सवालमा मात्र होइन, उनीहरूले झेल्नुपरेका दैनन्दिन समस्याका सम्बन्धमा पनि उनीहरूले बोल्न नसकेर मनमै गुम्स्याएर राख्नुपरेका कथा र व्यथा उनी बुझ्थे ।
त्यसैले त उनीहरूले भन्न खोजेका तर लोभ र भयका कारणले मुख फोर्न नसकेका कुरा निर्धक्कसँग भनिदिन्थे । त्यसरी आफ्ना धुकधुकी छामेर तिनलाई वाणी प्रदान गरिदिने र जनताका मागप्रति सबैको ध्यान आकर्षित गराइदिने गणेशमानलाई उनीहरू आफ्ना वास्तविक वारिस ठान्थे । आफ्ना नेता मान्थे । त्यही कारण हो, उनी जे भन्थे, ती कुरा जनता ध्यान दिएर सुन्थे र पत्याउँथे पनि । अरू सबै नेता जनतालाई पुल्पुल्याउँथे मात्र, उनीहरूलाई गाली र विरोध गर्ने आँट र हिम्मत कसैमा थिएन । त्यसरी जनतालाई उनीहरूका गल्ती औंल्याएर ठाडै गाली गर्ने र हप्काउने हैसियत गणेशमानले मात्र राख्थे । कुन्नि कुन रसायनले जनता र उनलाई जोडेको थियो, त्यो त थाहा छैन तर उनीहरूका बीचमा अद्भुत तादात्म्य थियो, त्यो भने जगजाहेरै थियो ।
२०४६ सालको जनआन्दोलन अगाडि केही नेताहरूको असहमति र अवरोधको परवाह नगरेर उनले घोषणा गरेका थिए- जनताका स्वतन्त्र आकांक्षालाई कुण्ठित तुल्याएर लादिएको निर्दलीय पञ्चायत व्यवस्था फाल्ने परिस्थिति परिपक्व बनिसकेको छ । यो वार कि पारको आन्दोलन हुनेछ ।
यसमा आफ्ना सन्ततिको सुन्दर भविष्यको अपेक्षा राख्ने कसैले पनि डिलमा बसेर तमासा हेर्ने अवकाश पाउने छैनन्, सबैजना सडकमा उत्रिनै पर्नेछ । नभन्दै उनको आह्वानमा जनता अघि लागे, नेताहरूले द्विविधा त्यागेर जनताका पछि लाग्नै पर्यो । जनता उठेपछि राजाको सक्रिय नेतृत्वको निर्दलीय व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना भएरै छोड्यो ।
त्यो युगान्तकारी सफलतापछि उनले भविष्यमा चाल्नुपर्ने कदमका तीन पक्षमाथि विशेष जोड दिएका थिए । पहिलो थियो- जनताको महान् आन्दोलनबाट पुनस्र्थापित प्रजातन्त्रले सार्वभौमसत्ता नेपाली जनतामा हस्तान्तरण गरेको र त्यसलाई संस्थागत तुल्याउने संविधान पनि निर्माण भइसकेकाले राजनीतिक क्रान्ति सकियो, अब सबैले आर्थिक क्रान्तिमा लाग्नुपर्छ ।
उनले प्रस्ट र सबैले बुझ्ने शब्दमा भनेका थिए, ‘आर्थिक क्रान्तिको टेवाविनाको राजनीतिक क्रान्ति टिकाउ हुँदैन ।’ प्रजातन्त्र पुनस्र्थापनाको लागि सडकमा उत्रेका देशका जागरुक तरुण पुस्ताका पौरखी हातलाई काम दिनुको अर्थ हो- राष्ट्र निर्माणमा उनीहरूका ऊर्जाको सदुपयोग गर्नु ।
तिनलाई विदेश पलायन हुनबाट रोकेर देशको उत्पादन प्रक्रियामा सरिक गराउँदै लैजानु भनेको मुलुकमा औद्योगिक विकासका निम्ति चाहिने पुँजी र श्रम शक्ति तयार पार्नु पनि हो । त्यसो गर्न चुक्यौं भने बेरोजगार युवा शक्तिलाई अधैर्य तुल्याउँछ र उनीहरूको निराशा र मोहभंगको अवस्थालाई कुनै पनि दुस्साहसीले दुरुपयोग गरेर गलत बाटोमा डोर्याउन सक्छ । त्यो खतराप्रति सबैले सचेत हुनैपर्छ ।
उनको दोस्रो चेतावनी थियो- जातीय सन्तुलन हरहालतमा कायम राखिएन भने प्रजातन्त्रप्रति सबैमा अपनत्वको भावना पनि जागृत हुँदैन । धेरै जतजाति र भाषाभाषी भएको हाम्रो देशमा जातीय सद्भाव र एकता कायम राख्न भेदभाव र पक्षपातको अनुभूति कुनै हालतमा सिर्जना हुन दिनुहुन्न ।
त्यसले एक दिन विस्फोटक स्थिति निम्त्याउँछ । त्यसलाई रोक्न र प्रजातन्त्रमा सबैको आकांक्षाको सम्मान हुन्छ भन्ने प्रमाणित गरेर देखाउन राज्यले प्रदान गर्ने सबै प्रकारका अवसर देशका सबै जातजातिलाई उपलब्ध गराउनैपर्छ । एकदुई जातिले मात्र देश थाम्न सक्तैनन् । सबैलाई समेटिएन भने असन्तोषको ज्वाला भड्किनेछ । त्यो चेतावनीको उपेक्षाबाट उत्पन्न परिणाममाथि थप प्रकाश पारिरहन आवश्यक पर्दैन, किनभने ती सबै निकट अतीतका यथार्थ हुन् ।
तेस्रो- राजनीतिमा नैतिकता र चरित्रप्रति सजग रहने आग्रह । राजनीति, सत्ता प्राप्तिको माध्यम मात्र होइन, सामाजिक तथा मानवीय अवस्था परिवर्तनको उच्चतम मापदण्ड पनि हो । लौहपुरुष गणेशमानको सुदीर्घ जीवनको कठोर तपस्या, तिनै मूल्य र मान्यता नेपाली समाजमा स्थापित तुल्याउने अभियानमा समर्पित थियो ।
त्यसैले उनको विश्वास थियो, राजनीतिमा नैतिकता र चरित्र भएन भने त्यो भीडतन्त्र र अवसरवादमा परिणत हुन्छ । त्यसले पार्टी, प्रजातन्त्र र सामाजिक परिवर्तनको महान् मिसनलाई सुरक्षित गन्तव्यमा पुर्याउन सक्दैन । उनले प्रधानमन्त्रीको पदको त्याग गरेर त्यही मान्यता स्थापित गर्न प्रोत्साहित गरेका थिए । उनले प्रजातन्त्र पुनस्र्थापनापछि वाचडगका रूपमा आफ्नो भूमिकालाई पुनर्परिभाषित गर्नुपरेको कारण पनि त्यही थियो ।
स्वतन्त्र, समुन्नत तथा स्वाभिमान नेपाल निर्माणको उनको सपनामा अराजक तथा गन्तव्यहीन राजनीतिको कुनै स्थान थिएन । हो, गणेशमान दार्शनिक अथवा चिन्तक थिएनन् । त्यसैले उनले आफ्ना विचार र व्यवहारलाई सैद्धान्तिक आकार प्रदान गर्ने चेष्टा पनि गरेनन् । उनी नेपाली जनताका नेता थिए ।
उनको आर्जन भनेको १९९७ सालको पहिलो जनविद्रोहदेखि २०५४ सालसम्मको अनवरत संघर्षबाट अर्जित अनुभव थियो । त्यसैको निचोड थियो- आदर्श र चरित्रविनाको राजनीति देश र जनतालाई धोका हो । जसरी अन्धाले अर्को अन्धालाई सही दिशा देखाउन सक्दैन, त्यसैगरी सिद्धान्त र चरित्रहीन राजनीतिले पनि देश र जनतालाई दिशाबोध गराउन सक्दैन । उनका त्यस्ता हृदयस्पर्शी चेतावनीको मर्म र महत्वमाथि पनि थप चर्चा आवश्यक छैन ।
अहिले के छैन ? सबैथोक छ । जनता र नेताका प्रतिनिधिले बनाएको संविधान छ । भीमकाय संसद् छ । मिलिजुली सरकार छ । ऐन, नियम र प्रक्रिया पनि छन् । सवा सयभन्दा बढी दलहरू छन् । प्रतिपक्षको विरोधको कोलाहल छ । संविधान नमान्नेहरूको देश टुक्र्याउने धम्की छ । हो, छैन भने त्यो हो- विधिको शासन ।
त्यो यसकारण कि राजनीतिमा आदर्श र चरित्र छैन । त्यसैले कहाँ पुग्ने त्यो गन्तव्यको पनि ठेगान नभएको हो । अनि हो, युगपुरुषको चेतावनीको हेक्का नराख्नुको स्वाभाविक परिणाम । त्यो वास्तविकता सबैलाई गला लागेकै छ । त्यसैले त उनीहरूलाई वर्तमान अवस्था र व्यवस्था निल्नु न ओकल्नु बन्न पुगेको छ ।
हाइलाइट
....