भुटानीकरण भएकै हो त ?
भुटानीकरण भन्ने शब्द आजभोलि बजारमा बहुप्रचलित छ । हामी सबै यसबारेमा आंशिक जानकार छौं, तर पूर्ण संवेदनशील छौं । विशेष गरेर अहिलेको कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारलाई देशलाई भुटानीकरण गरेको आरोप ज्यादा लाग्ने गर्छ, यो संगीन आरोप हो । यसको प्रमाणीकरण त आरोप लगाउनेहरूले नै गर्लान्, तर यहाँनेर भुटानीकरणको बारेमा थोरै चर्चा गर्नु उपयुक्त हुन्छ ।
भुटानले भारतकै सहायतामा वैदेशिक नीति चलाइरहेको छ र आर्थिक विकासको मोडेल पनि भारतकै अपनाइरहेको छ । नेपालको जस्तै जलसम्पदामा धनी देशले भारतकै सहयोगमा हजारौं मेगावाट बिजुली उत्पादन गरेर एसियाकै सम्पन्न देश बन्ने हैसियतमा पुगेको छ ।
यसमा भारतले कति हात र साथ दिएको छ भन्ने छर्लंग छ । जबकि भारतमै करिब तीन करोड जनसंख्या भोकभोकै सुत्ने गर्दछ, भारतको करिब ९५ प्रतिशत सम्पत्ति भनौं या पुँजी र उत्पादनका साधनहरू ५ प्रतिशत भारतीयको हातमा मात्र छ ।
विहारलगायतका कतिपय ठाउँहरूमा ८० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । बर्सेनि हजारौं कृषकले आत्महत्या गर्दछन्, तर भारतले भुटानको जलस्रोत विकासमा कुनै कसर बाँकी राखेन । किनभने भारतले एसियामा आफ्नो सामरिक शक्तिलाई दीर्घकालसम्म कायम राख्न चाहन्छ ।
बंगलादेशको स्वतन्त्रतामा भारतको ठूलो हात भए पनि त्यहाँको त्यसपछिको राजनीति भारतअनुकुल चल्न सकेन । आजसम्म पनि बंगलादेश अस्थिर नै छ, स्थिर भएर भारतीय सुरक्षा छातामा ओर्लेको भए बंगलादेशमा पनि भारतले भुटानमा जत्तिकै लगानी गथ्र्यो । पाकिस्तानले चाहिँ भारतको नाकैमुनि बसेर हुँकार पिटिरहेको छ । भारतको सुरक्षा छाताभित्र भुटानबाहेकका दक्षिण एसियाका देशहरू सजिलै छिर्ने वातावरण छैन । नेपालको हकमा पनि भारतले आर्थिक, सामाजिक र सांस्कृतिकलगायतका अस्त्रहरू प्रयोग गरेर गलाउने रणनीति लिएको छ । यसको अर्थ नेपाल भुटानीकरण भइसकेको छैन ।
भुटानीकरण हुनुको अर्को संकेत भनेको भारतसँग असहमति राख्ने राजनीतिक दलहरू समाप्त हुनु हो । भारतविरोधी भावना पूर्णरूपले हट्नु हो । जब यसो हुन्छ, तब नेपालमा भारतले निर्धक्क आर्थिक लगानी गर्छ, चीन या अन्य कुनै देशसँगको नेपालको सम्बन्धलाई पुनरावलोकन गर्छ र त्यसमा नेपालको भूमिका प्रस्ट पारिदिन्छ ।
तर संयोगवश भारतले नेपालमा हस्तक्षेप गर्ने चरणमा मात्र काम गरिरहेको छ । अहिले भारत अत्यधिक रूपमा प्रतिक्रियात्मक बनेको छ । सम्भवतः यो उसको प्रयास हुन सक्छ । तर भोकै बसेर पनि स्वाभिमानसँग भरिएको पेट साट्न नचाहने नेपालीका लागि यो सह्य हुने छैन । भारतले गरेको नाकाबन्दी भारतको लागि नै प्रत्युत्पादक हुनु भनेको उसको योजनामा ब्रेक लाग्नु हो ।
भारतको नेपाल रणनीति राम्रोसँग बुझेर आफ्नो राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्ने काममा लाग्यौं भने हामी भुटानीकरण हुने या सिक्किमीकरण हुने कुनै खतरा छैन ।
नेपालमै र भारतमा राखेर दिल्लीले करिब २०÷२२ हजार नेपाली पालिरहेको छ भनेर बेलाबखत सुन्नमा आउँछ । यसका केही संकेतहरू पनि देखिएका छन् । जस्तै नाकाबन्दीलाई धेरैले नाकाबन्दी भनेर भनेनन् । भारतीय दूतावासमार्फत छात्रवृत्ति लिएर पढेका धेरै नेपालका नेताहरूका छोराछोरीलाई भारतले नेपालविरुद्ध प्रयोग गर्नको लागि तयार गर्दै छैन भन्ने कुनै आधार छैन ।
बर्सेनि करोडौं रकम भारतीय दूतावासले खर्च गर्छ, त्यो पक्कै नेपाली स्वाभिमानलाई मलजल गर्नको लागि खर्च गरिएको हुँदैन । यी केही संकेतहरू हुन् । नेपालको भुटानीकरण भनेको नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राखेर दिल्लीबाट नेपालको परराष्ट्र मामिला सञ्चालन गर्नु हो भन्नेभन्दा अर्को कुनै उपयुक्त परिभाषा नहोला । यदि यी संकेत गहिराइमा अध्ययन गरियो भने भारतले नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्छ भन्ने कुरा पत्ता लाग्छ ।
नेपालको दसकौंको राजनीतिक संक्रमणले भारतको यो योजनालाई बल पुर्याइरहेको साँचो हो । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको बेलामा गरेको पच्चीसबुँदे समझदारीलाई आधार बनाएर नेपाल भुटानीकरण भइसक्यो भन्ने होहल्ला चलिरहेको छ । प्रचण्ड एक औसत नेता हुन् र उनले विगतको भारतसँगको सम्बन्धमा क्रमभंग गर्लान् भनेर सोच्नु नै मूर्खता हो ।
करिब ८० प्रतिशत नदीहरूको जलविद्युत् परियोजनाको लाइसेन्स भारतीय कम्पनीलाई हस्तान्तरण गर्दासम्म प्रचण्डले सत्तारोहण गरिसकेका थिएनन् । भुटानीकरणको सामान्य अर्थ अर्को पनि छ, त्यो हो देशको जलविद्युत्को सम्पूर्ण क्षमता भारतलाई बुझाउनु ।
त्यसकारणले कांग्रेस–एमाले मिलेर विभिन्न कालखण्डमा बुझाएका नदीहरूबाट नेपाल भुटान हुने भए भइसक्थ्यो । तर आजको नेपाली समाज र युवाहरू ती सबै विषयमा सचेत छन्, जुन जुन विषयले नेपाललाई भुटानीकरण गर्न खोज्छ, त्यसलाई कोर्स करेक्सन गरेर नेतृत्व दिन सक्ने टिम नेपालमा पैदा भइसकेको छ । मात्र जनताले अनुमोदन गर्न बाँकी छ । पछिल्लो समयमा नेपालको प्राकृतिक सम्पदाहरू नेपालले नै र नेपालकै प्रयोगका लागि सदुपयोग गरिनुपर्छ भन्ने आवाजले नेपालको भुटानीकरणलाई निषेध गर्दछ ।
राजाको प्रत्यक्ष शासनको कालखण्डमै कालापानीलगायतका भूभागमा भारतले अतिक्रमण गरिसकेको थियो भनेर इतिहासमा पढ्न पाइन्छ । नेपालमा भुटानीकरण भन्ने शब्दावलीमा राजनीति गरेर धेरै दलहरू सत्तामा पुगिसके । तर जब उनीहरू सत्तामा हुन्छन्, शब्दार्थ फेरिन्छ, जब प्रतिपक्षमा आउँछन् फेरि सत्तामा जाने हेतुले नै भुटानीकरणको हौवा पिटिन्छ । हामी यथार्थको गहिराइमा नपुगी ताली बजाइदिन्छौं र बारम्बार राष्ट्रियताको मुद्दामा मार खाने गर्दछौं ।
नेपालमा भुटानीकरणको हौवा फैलाउन भारतकै निर्देशनमा एउटा समूह लागिरहेको छ । भारतको मिडिया एटिकेट हामी सबैले देखेजानेको हो । नभएको कुरालाई काइते तर्कहरू पेस गरेर बारम्बार फुकिरहने र जनभ्रम छरिरहने उसको काम हो । उसको मिडिया आतंकको सिकार हामी मात्र भएका छैनौं, स्वयं भारतीयहरू पनि भइरहेका छन् ।
तर नाकाबन्दीलाई नाकाबन्दी भन्न अन्कनाउनु, उत्तरतिरका सीमानाका खोल्न पहल नगर्नु, नेपालको माइक्रो म्यानेजमेन्टमा भएको भारतीय हस्तक्षेपलाई प्रतिवाद नगरिनु, अन्य छिमेकी देशहरूलाई भन्दा भारतलाई हरेक कुरामा प्राथमिकता दिनु, संविधान संशोधनमा भारतको मुख हेर्नु आदि नेपाललाई भुटानीकरण गर्ने लक्ष्यको सुरुआत हुन सक्छ ।
यसमा नेपालमा प्रो–इन्डियन भनिने राजनीतिक दलहरू र पछिल्लो समयमा भारतविरुद्ध सुरुङ युद्धको हाँक दिएर राजनीतिमा स्थापित भएका वामपन्थीहरूले भूमिका खेल्दैछन् भन्ने बुझ्न गाह्रो छैन ।
एकातिर भुटानीकरण भएको हौवा फैलाउनु र अर्काेतिर उपर्युक्त घटनाक्रमहरूमा नेपालले स्वाधीनताको पक्षमा पहलकदमी नलिनुले नेपालको राष्ट्रिय स्वार्थमा ठूलो हमला गरेको घामजस्तै छर्लंग छ ।
बाँकी कुरा तपसिलमा राखिए पनि परराष्ट्र नीतिलाई भारतअनुकुल बनाउनु, भारतको सुरक्षा छातामा नेपाललाई प्रवेश गराउनु र नेपालमा भारतबाहेक अन्य छिमेकीबाट लगानी भित्र्याउन नदिनु जस्ता क्रियाकलापहरूको सुरुआती चरणमा नेपाल छ र त्यसको डटेर प्रतिवाद गर्नु हाम्रो राष्ट्रिय कर्तव्य हुन आउँछ ।
कुनै पनि चिजलाई सम्झिने सन्दर्भमा त्यो चिजको गति र दिशा पत्ता लगाउनु महत्वपूर्ण हो । हामीलाई भारतको गति थाहा छ र उसको गति कुन दिशातर्फ निर्देशित छ भन्ने पनि थाहा छ । भारतको नेपाल रणनीति राम्रोसँग बुझेर आफ्नो राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्ने काममा लाग्यौं भने हामी भुटानीकरण हुने या सिक्किमीकरण हुने कुनै खतरा छैन ।
भारतबाटै निर्देशित भएको सुनियोजित हल्लाको पछि लाग्न छोड्यौं भने हामीमा भुटानीकरणको आतंक कम हुन्छ । अन्त्यमा देशलाई बचाउने प्रमुख कुरा भनेकै देशको आर्थिक समृद्धि हो । भारतको भन्दा बढी आर्थिक वृद्धिदर हुन सक्ने सम्भावना बोकेर पनि हामी अझै निरीह र गरिब बनिरहेका छौं । हामी आफू समृद्ध हुने र राष्ट्रिय स्वार्थको आधारमा एक हुने हो भने सुदूर भविष्यसम्म पनि हामीलाई भुटानीकरणको आतंकले भेट्नेवाला छैन ।