साइकल लेन भएको भए...

साइकल लेन भएको भए...

व्यस्त सडकमा कसैले साइकल चलाइरहेको देख्नासाथ मेरो मन सिरिंग हुन्छ र त्यही दुर्घटनाको सम्झना आउँछ । नसम्झूँ भन्दाभन्दै मनमा चित्र बनिहाल्छ । अनिझसंग हुन्छु म ।

त्यो दिन सधैंभन्दा फरक थियो । परिवारसँग घुम्न जाने साइत जुरेको थियो । सधैंजस्तो बिहानीपख अफिसको काम सकेर हतारहतार घर पुगेँ । घर पुग्दा निकै ढिलो भइसकेको थियो । ट्याक्सी तयार गरेर परिवार यात्रामा जान तम्तयार थिए । श्रीमती, छोरी र सासूआमालाई चन्द्रागिरि घुमाउने योजना बल्ल सफल हुँदै थियो । घुमघामपछि हतारहतार कार्यकक्ष पुग्नुपर्ने बाध्यताले पनि पिरोलिरहेको थियो ।

ड्राइभर दाइसँगै बसेर यात्रारत थिएँ । हामी चढेको ट्याक्सी सानेपाको स्टार हस्पिटलनजिकै पुग्दै गर्दा एक्कासि अगाडि दौडिरहेको साइकल यात्रीसँग ठोक्किन पुग्यो । कसरी त्यस्तो हुन पुग्यो ठ्याक्कै भन्न सक्दिनँ । भाइ भाइ भनेर ती साइकल यात्रीलाई बोलाउँदा बोलाउँदै दुर्घटना भइहाल्यो ।

साइकलमा सवार व्यक्ति दुई बल्ड्याङ खाएर सडकपेटीमा पछारिन पुगे । हामी चढेको ट्याक्सीको सिसा झर्‌याम्म फुट्यो । यसो हेरेँ, धन्न पछाडि बसिरहेका छोरी, श्रीमती र सासूआमा सुरक्षित हुनुहुन्थ्यो ।

कति बेला घाइतेसामु पुगेँ आफैंलाई थाहा भएन । एक्कासि निधारमा पेस्तोल तेर्सिएपछि झल्याँस्स भएँ । प्रहरी पोसाकमा रहेका घाइते मलाई पेस्तोल तेस्र्याइरहेथे ।

'तैं होस् ड्राइभर ? ' उनी आक्रोशित देखिन्थे । हतास भइसकेको मैले हतारहतार परिवारलाई घर फर्काएँ । भीड जम्मा भइसकेको थियो । सबैजना ड्राइभर कुट्न तम्तयार देखिन्थे । भीडबाट जोगाउन पनि ड्राइभरलाई नजिकैको प्रहरीचौकीमा पठाएँ । धन्न, घाइते व्यक्ति समझदार रहेछन् । आक्रोशित भीडलाई उनैले साम्य पारे । एक राजनीतिक व्यक्तिका सुरक्षागार्ड रहेछन् उनी । सौहार्द वातावरण निर्माण गर्न बलियो भूमिका खेले । आवश्यक उपचारपछि ड्राइभर र उनीबीच मिलापत्र भई घटना टुंगियो ।

घटना विगत भइसकेको छ । मेरो मनमा भने अझै पनि ताजा बनेर नाचिरहेछ । सोच्छु— साइकल यात्रीका लागि छुट्टै साइकल लेन भइदिएको भए त्यो घटना हुने थिएन । साइकल यात्रीले पनि स्वतन्त्रतापूर्वक यात्रा गर्न पाउँथे ।

संसारका विकसित सहरहरूमा साइकल यात्रीका लागि बेग्लै साइकल लेन बनाइएको हुन्छ । बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ आदिका कारण पनि साइकललाई प्राथमिकता दिन थालिएको छ । हाम्रै देशमा पनि अघिल्ला प्रधानसेनापति गौरवशमशेर राणाले साइकलमै अफिस आउनेजाने गर्न जोड दिएका थिए ।

तर, साइकलमात्रै भएर साइकल सवारी हुँदैन । साइकल सवारीका लागि सडक पनि साइकलमैत्री हुनुपर्छ । विडम्बना ! अन्तर्राष्ट्रिय स्तरको भनिएको सडकमा पनि साइकल लेनको बन्दोबस्त छैन । मानौं, साइकलमा हिँड्नु अपराध हो । सडक भनेकै पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनका लागि हो ।

नाकाबन्दीको समयमा साइकल चढेर हिँड्छौं भनेर भाषणबाजी गरिए पनि साइकलमैत्री सडकको परिकल्पना नहुनु दुखद हो । मिनेटभरमा सयौं सवारीसाधन गुड्ने काठमाडौंको सडकमा साइकल लिएर हिँड्नु जोखिम प्रतीत हुन्छ ।

जबजब महानगरको भीडमा च्यापिएर कसैले साइकल चलाउँदै गरेको देख्छु, मेरो मन सिरिंग हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.