पुरुषको साथ, महिला र नमुना गाउँ
पहिरो पन्छाउँदै सुचारु गरिएको हिलाम्मे बाटो, त्यसलाई घेरेका डरलाग्दा भीर र त्यसमाथि अस्थिर देखिएका ढुंगाहरू हेर्दा लाग्थ्यो, हामी आफ्नो गन्तव्यमा पुग्नेछैनौं । त्यसलाई छिचोल्दै ठाडै उकालोको यात्रा भयो हाम्रो । चिरा परेका पहाडहरू एक वर्षभन्दा पहिलाको भूकम्पको साक्षी बनेर उभिएका थिए । भूकम्पको डर ताजा हुँदाका निराशालाई पहाडका खोल्साहरूबाट बगिरहेका छहराहरूले केही हदसम्म शान्त पनि बनाइरहेको थियो अर्कोतिर ।
राजधानीसँग जोडिएको नुवाकोटको बिदुर नगरपालिकाबाट उकालो लागेको करिब पाँच घन्टापछि एउटा पहाडमा अवस्थित छ धादिङको सेम्जोङ गाउँ । नेपालको सानो दार्जिलिङको उपनाम दिएका छन् स्थानीयवासीले त्यसलाई । झुलेका धान र कोदोको बाला हल्लाउने चिसो सिरेटोले पनि न्यानो आत्मीयता बोध गराउँछ । तर, भूकम्पको क्रूरताले अर्को रूप पनि प्रस्तुत गर्छ त्यो गाउँको । घरहरू अब जस्तापाताले ढाकिएका छन् । प्रकृतिको सामीप्य र कृत्तिम निर्माणको द्वन्द्वबारे सोच्दै गर्दा छेउबाटै आएको एक महिलाको मीठो आवाजले झस्काउँछ, 'ए हजुर ! हामी तपाईंहरूलाई स्वागत गर्दैछौं है, तपाईं यही बाटो भएर जानुहोस् अगाडि ।'
केहीअगाडि परम्परागत भेषभूषामा सजिएर चिटिक्क परेका महिलाहरू स्वागतमा थिए । पहेँलो पोते, रातो विरुको माला, चाँदीको जन्तर, घलेक, ढाकाको चौबन्दी चोली, बुनेको छिर्केमिर्के रुमाल र स्यामामा सजिएका तामाङ महिलाको प्रसन्नता र निश्चल आतिथ्य पायौं हामीले । निगालाको भाटामा जम्मा गरी राखिएको सयपत्री फूलको माला हामीलाई लगाइदिए । उनीहरूको साथमा थियो-कोदोको रक्सी (तामाङ समुदायको चलनमा सगुन भनिन्छ ), दूध, दहीलगायतका काला ठेकीहरू । अनि ती महिला, बाजागाजासहितका धामीझाँक्री र स्थानीय पुरुषहरूसँगै उकालो लाग्यो यात्रा ।
जर्मन सरकारले निर्माण गरिदिएको स्वास्थ्यचौकी उद्घाटन र नर्वे सरकारले निर्माण गर्न लागेको ६ वटा विद्यालय शिलान्यासको रिपोर्टिङि गर्न पुगेको भए पनि मलाई ती हँसिला, हृष्ठपुष्ट र सफा महिलाको दैनिकीमाथि घोत्लिन मन लाग्यो । नेपालका लागि जर्मनीका राजदूत माथियास मेयरले आफूलाई तन्काएर अझ अग्लिए पनि स्थानीय महिलाहरू उनलाई माला लगाउन सफल भए । त्यो बेला हामीसँगै गाउँ पुगेकी रोयल नर्वेजियन एम्बेसीकी सेकेन्ड सेक्रेटरी क्यारोलिन हारग्रेभ्सले मुख खोलिन्, 'वा कस्तो राम्रो परम्परा अनि कति सुन्दर, स्वस्थ र साहसिला महिला !' उनको त्यो वाक्यले मलाई झन् ती महिलाको जीवन नियाल्न प्रेरित गर्यो ।
सेम्जोङको भौगोलिक विकटता, पेसा, व्यवसाय, साक्षरता दर, स्वास्थ्य सेवामा पहुँचको अवस्था नेपालका अन्य गाउँहरूको भन्दा फरक थिएन । फरक थियो त महिलाको अग्रसरता, सेम्जोङवासीकै कामप्रतिको लगाव, घरआँगन र गाउँ नै सफा राख्ने बानी, संस्कृति संरक्षणमा एकता, मौलिकतालाई बचाउने अठोट अनि अनुशासित बन्ने सामूहिक प्रतिबद्धता ।
बिहानबेलुका छाक टार्न र लत्ताकपडाको जोहो गर्न घन्टौंको ओरालो र उकालो गर्नु प्रकृतिको नियतिले लादेको थियो उनीहरूलाई । केही वर्षअघि सरकारले जसोतसो गाउँमा बाटो पुर्यायो पनि । पहिरोका कारण वर्षमा ६ महिनाजति बाटोमा गाडी देख्न पाउँदैनन् उनीहरूले । विद्यालय गाउँभन्दा धेरै टाढा छ । स्वास्थ्यचौकी पुग्न उकालो धाउन नसक्दा घरमै बच्चा जन्माउँथे सेम्जोङका महिला । भूकम्पमा त्यही पनि धराशयी भयो । घरगोठ अनि थुपै्र व्यक्ति र पशुपन्छी रहेनन् । त्यस्तो अवस्थबाट यति छ्टिै उठे सेम्जोङवासी । कारण हो, महिला र पुरुषको विश्वासिलो सहकार्य ।
मौलिक संस्कृति, स्वच्छ हावापानी र मलिलो माटोले साथ दिएको सेम्जोङलाई विकास गरी पर्यटकीय थलो बनाउन सबैभन्दा धेरै खटिएका छनन् स्थानीय महिला । घरको धन्दा छोडेका छैनन् तर गाउँ निर्माणलाई साझा अभियान बनाएका छन् उनीहरूले । पुरुषको हातेमालोले उनीहरूको काम सहज बन्यो । साँच्चै नै भूकम्पको पीडा र आफन्तको बिछोडको आँसुलाई शक्तिमा परिणत गरे उनीहरूले र गाउँ पुनर्निर्माणमा जुटे । जर्मन विकास सहयोगले उनीहरूलाई काठमाडौं नै बोलाएर तालिम दियो । गाउँ पुनर्निर्माणमा त्यसले महत्त्वपूर्ण भूमिका खेल्यो ।
आफ्नो घर पुनर्निर्माण गरी भूकम्पले भत्काएको साना किसान संस्थाको भवन पनि बनाउन कसिएका छन् । त्यो अभियानमा डकर्मी र सिकर्मी दुवै महिला छन् ।
आपत्का बेला संस्था चाहिन्छ भन्दै उनीहरू सरकारले सञ्चालन गरेको सानो किसान संस्थामा भूकम्पअघि नै संलग्न थिए । सदस्यता नलिने सायदै कोही छ गाउँमा । भूकम्पपछि सरकार वा अन्य संस्थाको राहतको भर नपरी त्यही संस्थाबाट ऋण लिए उनीहरूले । कोही बाख्रापालनमा, कोही कुखुरापालन र कोही खेतबारी चुम्न पुगे । कोही गाउँमै 'सेनेटरी प्याड' उत्पादनमा जुटे । प्रयासले नतिजा जन्माउँछ । त्यसैले उनीहरूको गाउँ नमुना बन्दैछ । भवन निर्माणमा खटिने महिलाको इच्छा र अवसरको मिलनसिछ उनीहरूको क्षमता आज साबित भएको छ ।
साना किसान संस्थादेखि केही पर संक्रमणरहित स्तरीय सेनेटरी प्याड निर्माणमा उनीहरू एकजुट भएर लागिपरिरहेका थिए । संस्थाकी अध्यक्ष एवं प्याड उत्पादनमा संयोजकको भूमिका निर्वाह गरिरहेकी मीरा तामाङले सोचेकी थिइनन् विकट गाउँमा 'सेनेटरी प्याड' उत्पादन गरेर आत्मनिर्भर हुन सकिन्छ भनेर । तर अहिले प्याडको माग ह्वात्तै बढेको छ र सबैभन्दा धेरै चटारो उनलाई नै छ । बजारमा पाइनेभन्दा निकै स्तरीय र लामो समय टिक्ने भनिन्छ उनीहरूको उत्पादन । मूल्य पनि धेरै सस्तो । हिजोआज महिलाका लागि प्याड किन्न पुरुषको पनि भीड लाग्न थालेको छ ।
यसले उनीहरूको आत्मविश्वासमा वृद्धि ल्याएको छ । प्याड उत्पादनमा पनि जर्मन विकास सहयोगको नेपाल जर्मन रिकभरी कार्यक्रमले प्राविधिक सहयोग दिएको छ । सरकारी विकासका कार्यक्रम विरलै पुग्ने गरेको उक्त गाउँमा स्थानीय महिलाको तत्परतामै हेल्थपोस्टमात्र होइन विद्यालयसमेत पायक पर्ने ठाउँमा सारिएका छन् । सबैलाई सहज हुने भन्दै स्वास्थ्यचौकीको पुनर्निर्माणका लागि जग्गा दिएकी स्थानीय छयो तामाङको भनाइमा अब गाउँमा बाटो स्थायी बनाउन सके अरू कुरामा परनिर्भर हुनु पर्दैन ।
गाउँलेलाई स्वस्थ बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरू सरकारी स्वास्थ्य सेवा प्रवद्र्धनमा जुटेका छन् । स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको संख्या बढ्दैछ । केही वर्षअघिसम्म गाउँका डाक्टर धामीझाँक्री बन्थे सेम्जोङमा । तर अहिले आफूकहाँ उपचार गर्न आउनेलाई कुनै संकोच नै नमानी स्वास्थ्यचौकी पठाउन थालेका छन् । स्वास्थ्यचौकी उद्घाटन समारोहमा अतिथिको स्वागतमा बाजागाजासहित उनीहरू उत्रिनुले पनि त्यसको पुष्टि गर्छ ।
अनुपम, सुन्दर, शान्त सेम्जोङ संस्कृति र रहनसहनमा भिन्न छ । तामाङ र लामाको बाहुल्य रहेको गाउँका महिलालाई पुरुषको साथले महिला अगुवाइ तथा नेतृत्वलाई संस्थागत गरेको छ । सायदै कोही होला जो काम नगरी बस्ने । गाउँको शिरमा रहेको गुम्बाबाट आउने 'ॐ मणि पेमे हुँ' मन्त्रले उनीहरूलाई ऊर्जा दिइरहन्छ र मौलिक संस्कृति नजिक पुर्याइरहेको हुन्छ । भौगोलिक विकटताका बीच पनि सेम्जोङ विश्वको सम्पर्कमा छ । बालबालिकादेखि वृद्धवृद्धासमेत डाँडाबाट झुल्कने घामलाई पृष्ठभूमि बनाउँदै सेल्फी खिच्न थालेका छन् । मात्र त्यहाँ पुग्न ज्यान धरापमा पर्ने बाटो निर्माणमा सरकारी सहयोगको अपेक्षा छ सेम्जोङे बासिन्दामा । आधुनिकता, निर्माण र संस्कृति अनि मौलिकताको संगम बनेको छ सेम्जोङ ।