प्रभाव पर्यावरणको
प्रभाव पर्यावरणको भन्नु पर्यावरणको प्रभुसत्ता स्वीकार्नु हो । प्रभावबिना जीवन जिउन सकिन्न । भनूँ, बिनाप्रभाव कुनै पनि जीवन जीवित रहन सकेको हुन्न । कुनै पदार्थको निरन्तर अनिवार्यताको महसुसी प्रभाव हो । शरीरिक, मानसिक वा भौतिक या वैज्ञानिक प्रक्रियाको असर भोक हुनसक्छ । तृप्तिका लागि अरू कुनै उपभोग्य वस्तुको जरुरत पर्छ । भोजन पदार्थ उपभोग्य वस्तु भयो । भनूँ- दाल, भात, डुकू सामान्य भोजनका लागि परिकार हुन् ।
हामी नेपाली यसलाई जीवनयापनका एउटा साधारण तर प्रभावशाली खाद्य सामग्रीका रूपमा स्वीकार्छौं । यो स्वीकृति प्रभाव हो । स्वीकृतिको आधारमा प्रभाव मान्न सकिन्छ । अथवा प्रभावबाटै स्वीकृति पैदा हुन्छ । प्रभाव स्वीकृतिमा आएर अवतरण हुन्छ । स्वीकृति त दीर्घकालीन हुन्छ । दीर्घकालीन पदार्थ निरन्तर हुन्छ । दाल, भात, डुकूले नेपाली जनजीवनको अन्तरालसम्म जरा हालेको हुनु अकण्टक प्रभाव भयो ।
खाद्यवस्तुको चयन अर्थात् भोजनका परिकार संस्कृतिको चर्चा बन्छ । विभिन्न स्थान, जाति र समुदायको विभिन्न परिकार आआफ्नै संस्कारजन्य विषय बन्छ । खाद्यवस्तु एकै वा उही नै भएर पनि परिकार फरकफरक तरिकाबाट तयार हुनसक्छ । एउटै चामल दानाका असंख्य परिकार बन्दो छ । यो संस्कारगत चर्चा बनेको छ । नेवार समुदायले चामललाई भातकै परिकारमा मात्र सिमित नराख्नु संस्कारको प्रभाव मान्नु पर्छ ।
चामललाई भातको आधार सामग्री मान्नु समष्टीगत सन्दर्भ हो । चामलको पीठोबाट अरू नेपालीले बनाउने सेल, अनरसाबाहेक अरू अनेक परिकार नेवार संस्कृतिको विम्ब हो । चामलको पीठोबाट उनीहरू केही खास चाडपर्व जनाउने परिकार तयार गर्छन् । धान्यपूर्णिमा र दुई वर्षदेखि १२ वर्षपर्यन्तका जोड वर्षमा मनाइने जन्मोत्सवमा बनाइने योमरी एउटा विशुद्ध परिकार भयो । यस्तै जेठ महिनामा मनाइने 'सिथि नःख' चामल विशेष परिकार 'चटामरी' अर्को सांस्कृतिक परिकार हुन्छ । 'चटामरी' मात्र 'सिथि नःख'कै परिधिभित्र सीमित नरही पूजाआजा र अनौपचारिक जलपानमा पनि प्रयुक्त हुनु नेवार संस्कारको अर्को विविधता हो, अथवा अर्को हाँगो हो ।
संस्कार स्वयंमा प्रभाव हो तर पर्यावरणको । पर्यावरणले संस्कारमाथि प्रभाव पारेको हुन्छ । संस्कारले जीवनशैली निर्माण गर्न प्रभाव पारेको हुन्छ । पर्यावरण अनुकूलमात्र धान खेती हुन्छ । धान खेतीकै सम्भावनाबाट चामलका परिकारहरू तयार गर्न सकिने भएछ । पर्यावरणको सेरोफेरो प्रकृति हो । पर्यावरणको सेरोफेरो समाज हो । पर्यावरण कनिकुथी धर्म, अर्थ अनि राजनीति पनि हो । भनूँ, पर्यावरण मात्र प्रकृति होइन वा मात्र रहेनछ । यो धर्म, अर्थ र राजनीतिक समाज पनि हो वा रहेछ । जे भनिए पनि धर्म, अर्थ र राजनीति प्रकृतिभित्रबाटै पलाएर वृक्षकै हाँगोबिँगो हुन् ।
सृष्टिको श्रीगरोशमा प्रकृतिले पर्यावरणमाथि चोरेको प्रभाव पार्यो । धर्म, अर्थ र राजनीति पनि पर्यावरणका विविध विद्या बनेपछि यिनले अब पर्यावरण प्रकृतिको स्वरूप बनाउनमै प्रभाव पारेको छ । प्राकृतिक पर्यावरणअनुरूप बनेको संस्कारले धर्म र धर्मले अर्थ अनि अर्थले राजनीतिक पर्यावरणको जग हाल्ने काम गर्यो । कालान्तरमा धर्म र संस्कृतिमाथि राजनीतिले पर्यावरणीय प्रभाव जमायो । वर्तमानमा धर्म, संस्कृति र राजनीतिमाथि पनि अर्थकै प्रभाव जम्न पुगेको छ । आर्थिक प्रणालीका आधारमा अब राजनीतिक चक्लाबन्दी हुने भएकाले आर्थिकै पर्यावरणकै प्रभुसत्तावाद जल्दोबल्दो अवस्थामा पुग्न गएको छ ।
मात्र यतिमै कुरो टुंगिँदैन । सेरोफेरो प्रकृतिकै कोखको बनाऔं । प्रकृतिको कोखबाट जन्मी उनकै काखमा लडीबुडी खेली हुर्केका हामीले विज्ञानको सहाराले प्रकृतिको रूपरंग फेरबदल गर्ने काममा तेजी प्रभाव पैदा गर्न पुगिसकेका छौं । दुर्लङ्घ्य हिमाल उक्लिएछन्, गगनभेदी उड्डयन साधन बनाएर अन्तर ग्रह यात्रा क्रममा गाँसिएछन् । यातायातका साधन चलाएर संसार सुगम यात्रा स्थल बन्न पुगेका छन् । प्रशान्तको अन्तरालसम्म मानिस माछा परिवारसरह चुर्लुम्म पौडिसकेका छन् ।
दूर श्रव्य र दूर दर्शन यन्त्रको ढुकढुकीसाथ जन्त्र लगाइसकेको छ । यान्त्रिक देह यान्त्रिक चेतनागम्य साधन र साध्य दुवै भएछ । ऐहिक लीलाका साध्य कुनै निराकार पारमार्थिक तत्त्व भए जीवन यन्त्रवत् एउटा साधन हो । यान्त्रिक प्रभुसत्तामै चुर्लुम्म बनी निर्मित वैज्ञानिक यन्त्रकै बसिभूत हुने भए यान्त्रिक जीवन साध्यभन्दा साधनमात्र बन्दो छ । यान्त्रिक देहका यान्त्रिक चेतनागम्य साध्यका प्रारूप टेस्ट ट्युब बालक भएको सबुद बन्न गएको छ । अचेल अमेरिका, चीन, रुस, युरोप अनि जापानमा जल्दोबल्दो रूपमा प्रचलनमा आइरहेको यन्त्र मानव (रोबोट) यसको अर्को उदाहरण बन्छ ।
जसरी आआफ्नो युगमा धर्मले संस्कार माथि, संस्कारले राजनीति माथि, एकताका राजनीतिले अर्थमाथि, अहिले अर्थले राजनीतिमाथि जिउँदो जाग्दो प्रभाव पारे उसैगरी यन्त्रतन्त्रले अर्थतन्त्रमा आधारित राजनीतिलाई किक्लिक किक्लिक पारी हाल्ने अवस्था उघ्रन लागेको छ अब । अत्यधिक यन्त्र मानवलाई उत्पादनका सशक्त गुठियार बनाउन सक्दा युगीन, अत्याधुनिक उद्योगले दिग्विजय गर्न थालिसकेको छ । यी सबको उल्लेख गर्नुको तात्पर्य यान्त्रिक पर्यावरणको स्थिति सकिएको युगबोधका तारताम्य जोड्नुसित छ ।
यान्त्रिक चमत्कारले विशाल यन्त्रशालाभित्र मात्र तेजी प्रभाव पारेको होइन, अपितु जीवनको प्रत्यक पाइला र मोडमा पनि निरन्तर प्रभाव पारिसकेको छ । रातलाई चहकाउने विद्युत् तरंग, आवागमनका संकेत सूचक रातो, पहेँलो र हरियो रंगीन बत्ती, पाइलाका चालसित स्वतः खुल्दै बन्द हुने द्वारहरू, जीवन र घटनाक्रमका संचित्रावली, चित्र दर्शन यन्त्र (भीडीओ) आदि केही सर्सती सबुद हुन् । यान्त्रिकताको चढावसितै अब एउटा यस्तो प्रभाव पर्यावरणमा पर्नेछ कि पर्यावरणै यान्त्रिक बन्नेछ । यान्त्रिक उपकरणको प्रयोगमात्र होइन, उत्पादनमा जसको अधिकार हुन्छ उनकै मानव समाज र राष्ट्रहरूप्रति आधिपत्य हुनेछ ।
यान्त्रिक उपकरणका प्रयोक्ता मुलुकहरू नै वर्तमानका अधिपति बन्न सकेका छन् । उनका इच्छा र इसारामा हाम्रो सम्पूर्ण पर्यावरणको भविष्य अड्न पुगेको छ । यन्त्रसारिणी कम्प्युटरकै सूचनामा संकट, युद्ध र प्रलयकारी स्थिति सिर्र्जिएको छ । पटकपटक संयुक्त राज्य अमेरिकाका यन्त्रसारिणीहरूले दिएको गलत सूचना, संकेतहरूले विश्व संकेतमा स्थिति सिर्जना गरेको तथ्य सरोकार राख्ने विद्वत् वर्गका लागि विदित चर्चा हुन् ।
भूबनौट, हावापानी, तापक्रम, हरियाली जंगल आदिको समग्र प्रभाव पर्यावरण भएकाले मानिसको समाज र संस्कार तदनुरूप हुन गएको छ । ऊष्ण ठाउँमा बस्ने मानिस वा समाजको रहनसहन खुला ह्वार्लाङे, पातलो आवरण बन्नु त्यसको प्रभाव हो । शीतोष्ण ठाउँका बासिन्दाको रहनसहनमा उस्तै प्रकारले कसिएको, बाक्लो वस्त्र बन्नु पनि प्रभाव पर्यावरणकै हो ।
पर्यावरण कनिकुथी धर्म, अर्थ अनि राजनीति पनि हो । भनूँ, पर्यावरण मात्र प्रकृति होइन वा मात्र रहेनछ । यो धर्म, अर्थ र राजनीतिक समाज पनि हो वा रहेछ । जे भनिए पनि धर्म, अर्थ र राजनीति प्रकृतिभित्रबाटै पलाएर वृक्षकै हाँगोबिँगो हुन् ।
पर्यावरणको प्रभावबाट मुक्त हुन नसकेका मानिसले बौद्धिक र वैज्ञानिक उपलब्धिका सार्थक पर्यावरणलाई पनि अपूरा नयाँ खोज र प्राप्तिद्वारा प्रभावित पार्न थालेका छन् । चिसो सिरेटो र हिउँबाट बचेर तेज र ताप सञ्चय गर्न मानिसले ऐनाका झ्यालढोकाहरूको प्रयोग गर्न थाले । ऐना फुट्ने पदार्थ भएकाले त्यस संकटबाट बच्न उनीहरूले सेलोलाइट र प्लास्टिक पदार्थ आविष्कार गरी प्रयोगमा ल्याए ।
प्राकृतिक पर्यावरणको प्रभावले मानिसको रहनसहनमाथि डेरा कसेझैं रहनसहनले पनि सामाजिक पर्यावरण सिर्जना गर्न सफल भएका छन् । पहिरन नै मात्र रहनसहनका समग्रता होइन । परन्तु, पहिरनले रहनसहनको एक पक्षलाई साक्षात्कार पार्छ । साधारण आफूखुसी पहिरनले पेसागत रूपमा मानिसहरूलाई यकिन चिनाउँदैन । पीत वस्त्रले पुरोहितलाई, भिक्षुलाई आदि धर्मरत पेसागत वस्तुस्थितिलाई अवगत गराउँछ । उर्दी पोसाकले पेसा जनाउनुका साथै पेसागत स्तरलाई पनि प्रज्ञापन गर्छ । सेतो मयलपोस सुरुवालमाथिको कालो, खैरो कोटले निजामती कर्मचारीको श्रेणी सूचक जनाउँछ । सेतो एप्रोनले नर्स र डाक्टरको पेसा र स्तर जनाउँछ ।
पेसा, श्रेणीका साथै पहिरनले कुनै अवस्थालाई जनाउँछ । उर्दी पोसाकले औपचारिक उर्दीको अवस्थालाई जनाउँछ । औपचारिक उर्दीको अवस्थाले कुनै खास सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक अवसरलाई प्रतिनिधित्व गर्छ । पास्नी, विवाहोत्सव आदि सामाजिक अवसरभित्र पर्छन् । फूलपाती, शिवरात्रि, भोटोजात्रा, भानुजयन्ती आदि सांस्कृतिक र धार्मिक पर्वअन्तर्गत गणणा गर्न सकिन्छ । प्रजातन्त्र दिवस, मेहेन्दु जयन्ती, पृथ्वी जयन्ती आदि राजनीतिक चाडपर्वसित गाँसिएका अवसर हुन् । पहिरन त्यसकारण सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक पर्यावरणमूलक वस्तुस्थितिको सजीव चित्रण हो ।
पहिरन समाजको आर्थिक र वैज्ञानिक उन्नतिको सूचक अनुमोदन पनि हो । पहिरन समाजको सीपसूचक कारिगरी पनि हो । सीपसूचक कारिगरी स्थानीय साधन परिचालनमूलक वास्तविकता हो । स्थानीय साधन परिचालनमूलक वास्तविकता रोजगारी उन्मुख अभियान हो । रोजगारी उन्मुख अभियान राष्ट्रप्रेम सूचक गतिविधि हो । राष्ट्रप्रेम सूचक गतिविधि आत्मसम्मान, गौरव र आत्मनिर्भरताको आधार हो । आत्मसम्मान, गौरव र आत्मनिर्भरताबिनाको राष्ट्रप्रेम ढोँग र ढोकसलामात्र हो ।
घरबुना वस्त्र, हाकुपटासी, भादगाउँले टोपीले आत्मसम्मान गाथा गाएको हुन्छ । राष्ट्रप्रेम र राष्ट्रियता शाब्दिक नारामा भन्दा आफैं राष्ट्रिय सीप र कौशलमा सजीव बन्छ । जहाँजहाँ कार्ययोगको जगेर्ना र संरचना हुन सकेका छन् त्यहाँत्यहाँ राष्ट्रिय पर्यावरण जिउँदाजाग्दा बन्न सकेका छन् । राष्ट्रियता स्वयं एक सजीव सामाजिक, आर्थिक र राजनीतिक पर्यावरणभित्र जन्मिने जागरण तत्त्व हो । राष्ट्रियताभित्र छिट र हाकुपटासीजस्तै भादगाउँले टोपी पनि अटाउँछ । राष्ट्रियताभित्र माना, कुर्वा र पाथीजस्तै तोला, पाउ र धार्नी पनि अटाएकै हुनुपथ्र्यो । राष्ट्रियताभित्र आफैं लय, मधुर लैबरी भाकाका स्वरलहरी उत्रे चढेको हुन्छ । राष्ट्रियताभित्र आफ्नै कला, शैली र सीप हाँसिरहेको हुन्छ ।
राष्ट्रियताभित्र शंकरको जटामाथि स्वरगंगा पनि अल्झिएर अटल हिमाल उठेको हुन्छ । महादेवले स्वरगंगा आफ्नै जटामा अल्झिएको भगीरथ कथा, पर्यावरणको शाश्वत गाथा भन्दा परको चर्चा होइन, न यो कपोलकल्पित अन्धविश्वास नै हो । यो वास्तविक पर्यावरणीय प्र्रभाव सजीव कलात्मक चित्रण हो । चित्रण धर्म सम्पदामूलक रहस्यका गर्भ हुन पुगेको छ । हिमालमा तपस्यारत महादेवको जटामा जतिसुकै मुसलधारे पानी बर्से पनि हिउँ नै बन्ने तथ्य विज्ञानसम्मत रहेको वैज्ञानिक सत्यतथ्य हो ।