सञ्चारमैत्री सरकार, विकासमैत्री सञ्चार

सञ्चारमैत्री सरकार, विकासमैत्री सञ्चार

सञ्चारमाध्यमले सूचना प्रवाह गर्छन् । सूचनाको मुख्य स्रोत सरकारी निकायहरू हुन् । सूचनामा पहुँचको लागि विकल्प हुँदैन । जसको जिम्मा उसैको जवाफबाट सूचना व्यवस्थापन हुन्छ । सञ्चारसँगको पहुँचमा भने अहिले पर्याप्त विकल्प छ । छापा र विद्युतीय सञ्चारमाध्यमको संख्या उल्लेखनीय रूपले वृद्धि भएको छ । सूचनाप्रदायकसँग सञ्चारमाध्यम छान्ने प्रशस्त विकल्प छन् । टेलिभिजन, रेडियो, अनलाइन, डिजिटल र छापा सञ्चारमाध्यमहरूको संख्या, सेवा र पहुँचको सहजता गुणात्मक रूपले वृद्धि भइरहेको छ । नेपालको संविधान २०७२ ले सञ्चारको हक सुरक्षित गरेर सञ्चारमाध्यमको अस्तित्व, अस्मिता र उपयोगितालाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन अभिभावकत्व प्रदान गरेको छ ।

सूचनामा पहुँचको लागि सूचनाको ठूलो स्रोत सरकारी निकायहरू हुन् । विषय, जिम्मेवारी र कार्यसम्पादनको हिसाबले सरकारी निकायहरू सिंहदरबारदेखि दूरदराजका समुदायसम्म विस्तारित छन् । गाविस र नगरपालिका कार्यालय सरकारका विस्तारित रूप हुन् । यी जराधार तहका निकायहरू जनताले देख्ने, भेट्ने र संवाद गर्ने दूरीमा अवस्थित छन् ।

सिंहदरबारदेखि मुलुकभरका स्थानीय स्तरसम्मका सरकारी निकायहरू प्रत्येकसँग सूचना हुन्छ र तिनीहरूको सम्प्रेषण तत्तत् निकायबाट मात्र सम्भव हुन्छ । अर्थात् जहाँ काम त्यही प्रश्न जसको जिम्मा उसको जवाफबाट ती सूचनालाई प्राप्त गरी प्रसार गर्ने प्रबन्ध गर्नुपर्छ । यसरी सूचनाको स्रोतमा विकल्प नहुनु तर सम्प्रेषणका माध्यमको छनोटमा विकल्पहरू विस्तार हुँदै जानुले सरकार अर्थात् यसका सबै निकाय सञ्चारमैत्री हुन नितान्त जरुरी छ ।

सञ्चार क्षेत्र जसरी विस्तारित र विकसित हुँदै गएको छ, यसको सोच र संस्कारमा पनि नवीन शैली र शिष्टताको खाँचो छ । नेपालको सञ्चार क्षेत्र अझै पनि इम्पोजिङ एट्टिच्युडबाट निर्देशित देखिन्छ । यसलाई अपिलिङ एट्टिच्युडमा रूपान्तरण गर्न जरुरी छ । सरकारी निकायहरू इम्पोजलाई सहज रूपमा ग्रहण गर्दैनन् । किनकि एक्सेस टु मिडियामा विकल्प छ ।

यसैगरी सरकारी निकायहरू हालसम्म मिडिया फोबियाबाट ग्रसित छन् । प्रत्येक कर्मचारीलाई मिडिया फ्रेन्डली बनाउन जरुरी छ । सञ्चार क्षेत्रले सरकारी क्षेत्रलाई सञ्चार मैत्री बनाउन सक्छ । राम्रो काम फैलाएर नराम्रो काम औँल्याएर सञ्चारमैत्री सरकार बनाउन सकिन्छ । सँगसंगै सञ्चार क्षेत्रमा संलग्न व्यक्तिहरूले रिच-टिच-इजको विधिबाट पनि सरकारी कर्मचारीलाई मिडिया फ्रेन्डली बनाउन सक्छन् । नसिकाएर सिपालु र सहयोगी खोज्ने प्रवृत्तिले समाधान निस्कँदैन ।

सञ्चार क्षेत्रले कुनै विषयलाई एकैपटक व्यक्ति तहमा पुर्‌याउँछ । अर्थात् नागरिकलाई सुसूचित गर्छ । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक प्रत्याभूत गरेको छ । यस संवैधानिक प्रत्याभूतिले सार्वजनिक पदमा बसेर जिम्मा लिनेले जवाफदेही हुनैपर्ने कुराको चेतना अविछिन्न रूपमा प्रवाह गरिरहेको छ । संविधानप्रदत्त हक प्रचलनको लागि सञ्चार क्षेत्रको भूमिका अझ अपरिहार्य छ । किनकि सञ्चार क्षेत्रले मात्र समयमा समग्रतामा सही सूचना सबै तहमा समान किसिमले सम्प्रेषण गर्न सक्छ ।

 

तसर्थ सञ्चार क्षेत्रले नागरिकलाई सुसूचित गर्ने मात्र काम नगरेर सरकारलाई जिम्मेवार र जवाफदेही बन्न निरन्तर घच्घचाइरहेको हुन्छ । त्यस कारण सरकारले सञ्चारको शक्तिलाई सधैँ प्राथमिकतामा राखी सूचना दिएर र सहजीकरण गरेर सञ्चार मैत्री सोच, संस्कार र शिष्टताको प्रदर्शन गर्नुपर्छ । नेपालमा ट्रस्ट विथ मिडिया जबर्जस्त रूपमा बलियो हुँदै गएको छ । गोप्य रूपमा भएका छलकपटका विषयहरू भण्डाफोर वा रहस्योद्घाटन गरेर राष्ट्रिय हितमा कार्य गरेका दृष्टान्तहरूको संख्या निरन्तर बढिरहेका छन् । प्रतिवाद, प्रतिरक्षा वा बेवास्ताबाट सरकारी निकायहरूले सूचनालाई लुकाउने, छिपाउने वा ढाकछोप गर्ने अवस्था अहिलेको खुला समाजमा सम्भवै छैन । त्यसैले परस्पर सहयोगी भएर सूचनाको उत्पादन र वितरणमा सरकार र सञ्चारबीच सहकार्य हुनु जरुरी छ ।

पछिल्ला दसकमा नेपाली समाजको हरेक विषयप्रतिको चेतनास्तर आरम्भ-अभिवृद्धि-उत्कर्षको आयाममा लम्किरहेको छ । अपेक्षा, आकांक्षा र अधिकारका बारेमा प्रत्येक नागरिकको देखाइ, बुझाइ र बोलाइ चाखलाग्दो किसिमले अभिव्यक्ति भइरहेको छ । ओरल सोसाइटीको चरित्र भएको नेपाली समाजमा सूचनाको सञ्चार कति छिटो हुन्छ भने तत्काल आधिकारिक सूचनाबाट तिनलाई सही मार्गमा डोर्‌याउनुपर्ने हुन्छ । यो अवस्थामा आधिकारिक सूचनाको स्रोतको रूपमा रहेका सरकारी निकायहरूको निस्क्रियता वा अपूर्ण सूचना प्रवाहको अवस्था हुने हो भने नेपाली समाजको चेतना, अधिकार र आक्रोशले सरकार-नागरिक सम्बन्ध शंका, अविश्वास र असहयोगबाट गुज्रन पुग्छ, जसको परिणति सामाजिक विखण्डन, आर्थिक विचलन र राजनीतिक अस्तव्यस्तता देखा पर्छ । त्यसकारण पनि सरकार सही सूचना सम्प्रेषणका लागि सञ्चारमैत्री हुनैपर्छ ।

नेपालको सञ्चार क्षेत्रले पनि अबको दिनमा विचारको विकासमा भन्दा विकासको विचार फैलाउन बढी समय, स्रोत र मेहनत लगाउनु जरुरी छ । नेपाली जनता अनुहार र अभिव्यक्तिबाट आकर्षित हुन छोडेका छन् । अर्थात् डेमोक्रेसीका आधारभूत सिद्धान्त र मान्यताप्रतिको सचेतना उच्चस्तरमा स्थापित भएको छ । त्यसलाई निर्वाचनको समयमा प्राथमिकता दिँदा पुग्छ । सदैव राजनीतिक व्यक्ति- विचार-अभिव्यक्तिको रटानले पाठक, श्रोता वा दर्शक लोभ्याउन सक्ने अवस्था अब छैन ।

सञ्चार क्षेत्रले नागरिकलाई सुसूचित गर्ने मात्र काम नगरेर सरकारलाई जिम्मेवार र जवाफदेही बन्न निरन्तर घच्घचाइरहेको हुन्छ ।

अबको समयमा विकास मैत्री सञ्चारको आवश्यकता छ । मानवीय पुँजीको विकासदेखि लिएर भौतिक संरचना, प्राकृतिक संरक्षणलगायतका विकासका सबै आयाम समेटेर निरन्तर सूचना (ज्ञान) सम्प्रेषण गर्न आवश्यक छ । विचार आफूलाई मनपर्ने र विकास सबैलाई मनपर्ने ढाँचाबाट नेपाली समाज डोर्‌याउन सक्ने हो भने विकासका दीर्घकालीन सोच, नीति, कार्यक्रम र बजेटमा सामूहिक विश्वास, शक्ति र सहभागिता स्थापित भई विकासले गति, प्रगति र प्राप्ति हासिल गर्दै सुखी नेपाली-समृद्ध नेपालको गन्तव्यमा सुरक्षित यात्रा-पहुँच-आनन्दको अवस्था हासिल हुन सक्छ ।

विकासको प्रक्रिया र नतिजालाई प्राण भर्न, शक्ति थप्न र गति दिन यसका साझेदारको पहिचान, जिम्मेवारी किटान र कार्य सम्पादनको अभियानमा स्पष्ट हुन जरुरी हुन्छ । सरकार स्वयं जनतामा सेवा, सुरक्षा र सुविधा पुर्‌याउने अर्थात् प्रोभाइडरको रूपमा रहेको हुन्छ । यसका निम्ति योजना, बजेट, कार्यान्वयन, अनुगमन र मूल्यांकनका कार्यहरू वार्षिक रूपमा सम्पादन हुने गर्छन् । सञ्चार क्षेत्र त्यसरी सरकारी निकाय स्वयं वा उसको सहमतिमा गैरसरकारी संस्थाबाट सम्पादन भएको विकास कार्यको सचेतना, पैरवी र निगरानी गर्ने अर्थात् अब्जरभरको भूमिकामा रहेको हुन्छ ।

त्यसैले पुर्‌याउने र पुर्‌याएको अवलोकन गर्नेबीच प्रतिवाद, प्रतिद्वन्द्विता वा प्रतिस्पर्धा होइन, सहकर्मी, सहयोगी र सहयात्रीको सम्बन्ध रहनुपर्छ । सञ्चार क्षेत्रले निरन्तर रूपमा राम्रो काम फैलाउने नराम्रो काम औँल्याउने गरेको भए र राम्रा, सफल र सिद्ध विकास-कथाको निरन्तर सम्प्रेषण गरेको भए जनता जो डेभलमेन्ट रिसिपियन्टको भूमिकामा हुन्छन्लाई उत्साह बढाउन, उत्प्रेरण जगाउन र ऊर्जा थप्न सकिन्थ्यो तर निरन्तर नराम्रा कुराको खुराकले जनताको विकासप्रतिको चिन्तन, दर्शन र अनुभूति क्रमश निराशा, वितृष्णा र बेवास्ताको भुमरीमा रुमल्लिने अवस्था सिर्जना भएको छ ।

तसर्थ यसमा सुधारको खाँचो छ । सञ्चार क्षेत्रले जनतासमक्ष पुर्‌याउने पाठ्य, श्रव्य वा दृश्य सामग्री विकासमैत्री हुनुपर्छ । नेपालको विकास प्रयासमा उल्लेखनीय संख्याका द्विपक्षीय र बहुपक्षीय दाताहरूले सपोर्टरको रूपमा सघाइरहँदा पनि विकास नतिजाप्रति जनताको विश्वास जाग्न नसकेको अहिलेको अवस्था हो । यसमा साझेदारबीच सहकार्य हुनुपर्छ ।

विकास पुर्‌याउने, पाउने, सहयोग गर्ने र अवलोकन गर्ने गरी चार प्रकारका साझेदारहरूका बीचमा समझदारी, सहकार्य र समन्वयबाट मात्र क्रियाशील, गतिशील र नतिजामुखी हुने विकास प्रक्रियामा सरकारले आधिकारिक सूचना दिन सक्नुपर्छ र सञ्चारले त्यस्ता सूचना जनतामा फैलाउनुपर्छ । लोकतन्त्र र विकासको लागि सञ्चार अपरिहार्य छ । नेपालमा सूचना प्राप्तिलाई जनताको अधिकारको रूपमा स्थापित गरिएको छ । संवैधानिक व्यवस्था, सूचनाको हकसम्बन्धी कानुन र तिनको प्रचलनको लागि आवश्यक संरचनासमेत खडा भएको अवस्थाले स्वतन्त्रता, सुरक्षा, सुविधालगायतमा नागरिक सरोकारका विषयमा सूचनाको प्रवाह अनिवार्य कार्य भएको छ । यस मिसनमा विकास साझेदारको हेराइ-बुझाइ-गराइमा तालमेल हुन अनिवार्य छ ।

निष्कर्षमा सञ्चारमैत्री सरकार-विकासमैत्री सञ्चारको आवश्यकता, अभ्यास र अनुभूति आम नागरिकमा हुन जरुरी छ । यसको लागि अग्रसरता, अभ्यास र सहजीकरणको काम सरकारले सञ्चार मैत्री भएर सुरु गर्नुपर्छ । केन्द्रीय सचिवालयदेखि स्थानीय निकायसम्मका सबै सरकारी निकायहरूले एकै रुटिन र रिदममा यो मिसन चलाउनुपर्छ । यसैगरी सञ्चार क्षेत्रले पनि विकासका विषयलाई उत्प्रेरणा जगाउने, उत्साह बढाउने र ऊर्जा थप्ने गरी समेट्नुपर्छ । सचेतना, पैरवी र निगरानीका सबै रूपमा सूचनालाई समयमा सोचविचारका साथ सही तरिकाले सम्प्रेषण गर्नुपर्छ । सञ्चारको विकासमैत्री चरित्रबाट मात्र मुलुकको सर्वांगीण विकासमा सहयोग पुग्छ । जनता यही अवस्थाको पर्खाइमा छन् ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.