हात्ती र गधा चिन्हमा तपाईं कता ?

हात्ती र गधा चिन्हमा तपाईं कता ?

‘साताका पाँच दिन अमेरिकामा बस्नेहरु हाड घोट्छन, बाँकी दुई दिन कार्ड घोट्छन् ।’

फेसबुकको एउटा बहुचर्चित भनाई

यो आलेख लेखिरहँदा मतदान केन्द्रहरू तयार पारिइरहेको, प्रेसमा छापिइरहँदा गधा र हात्तीबीच मतदान भइरहेको हुनेछ । पत्रिका वितरण होउन्जेल मतदान सकिएको मुचुल्का गर्ने तयारी हुनेछ र त्यसलगत्तै मतपरिणाम निस्कन थाल्नेछ ! किनभने यो संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव हो, जहाँ मतदान हुन समय लाग्छ, मतगणना गर्न लाग्दैन । प्रविधिले मतगणना तीव्र गतिमा गरिदिन्छ ।

अमेरिकाको राष्ट्रपतिको चुनाव खासमा पोहोर यतिखेरदेखि नै चर्चा र विवादमा छ । तर अचम्मलाग्दो कुरा के छ भने त्यतिखेरदेखि नै राष्ट्रपतिका दुईजना उम्मेदवार डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प मात्रै छन् झैं प्रचार गरिएको छ । संसारभर र स्वयं अमेरिकामा पनि यी दुई प्रतिस्पर्धीको मात्र खबर प्रकाशित भइरहेको छ । तर अमेरिकाको पैंतालीसौं राष्ट्रपति चुन्ने यो चुनावमा दर्जन बढी उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

अरू उम्मेदवारबारे न कसैलाई जान्नेसुन्ने रुचि छ न त सञ्चारमाध्यमले तिनको कतै चर्चापरिचर्चा नै गरेका छन् । सबैजना अन्य उम्मेदवारबारे कुहिराको काग झैं बनेका छन् । अमेरिकाको कम्युनिस्ट पार्टीमा लामो समय महासचिव रहेका गसको हालको जीवनी पढ्दा थाहा पाएँ, उनी स्वयं कैयौंपटक राष्ट्रपतिको चुनावमा उम्मेदवार बनेका रहेछन् । त्यसो भए अरू पार्टी पनि त होलान् अमेरिकामा र तिनले पनि राष्ट्रपतिको चुनावमा आआफ्ना घोषणापत्रसहित उम्मेदवारी दिएका होलान् भन्ने जान्न मन लाग्यो ।

पन्ध्र बढी राष्ट्रपतिका उम्मेदवार

इन्टरनेटको सहारामा गुगलमा खोजें । नभन्दै हात्ती चुनाव चिन्ह भएको रिपब्लिकन पार्टी र गधा चुनाव चिन्ह भएको डेमोक्रेटिक पार्टीबाहेक अन्य पार्टीले पनि उम्मेदवारी दिएका रहेछन् । तिनलाई थर्ड पार्टी भनिँदो रहेछ, जसमा लिबरेटेरियन पार्टीले गेरी जोन्सन, ग्रिन पार्टीले जिल स्टेम, कन्स्टिच्युसन पार्टीले डारेलकास्ट, रिफर्म पार्टीले रोकिडेलालाई उम्मेदवार बनाएका रहेछन् । त्यसबाहेक स्वतन्त्र उम्मेदवारको रूपमा अन्य दसजनाले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

अमेरिका असल शासक, कुशल प्रशासक र विधिको शासनले मात्र अचम्मको होइन, यहाँको निर्वाचन पनि अचम्मको छ । हामीकहाँ वा अन्यत्र आमचुनावमा जसले बढी मत ल्याउँछ, उसैले चुनाव जित्छ भनेजस्तो महाशक्ति अमेरिकामा हुँदैन ।

कसरी हुन्छ अमेरिकी चुनाव ? प्राडाधारी प्राध्यापकहरूलाई सोध्दा पनि सटिक जवाफ आउन सकेन । त्यसपछि मात्र निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई सम्पर्क गरी सोध्दा उनले वास्तविक अमेरिकी चुनाव प्रक्रियाबारे बताए र महाशक्ति राष्ट्रको चुनावी खेला खोतले !

आजको अमेरिकाको चुनावमा धेरैवटा चुनाव भइरहेका छन् । संसद्को दुवै सदनको चुनाव पनि भइरहेको छ । अमेरिकाका पचास राज्य (साना हुन् वा ठूला) बाट २/२ का दरले सिनेट (माथिल्लो संसद्) मा एक सय, हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) मा ४३५, वासिंगटन डिसीबाट ३ जना गरेर ५३८ जनाको लागि मतदान भइरहेछ । यसैलाई ‘इलेक्टोरल कलेज’ भनिन्छ ।

यसमा जसले जित्छ, जितिसकेपछि उसको विपक्षीले पाएको मत पनि जित्नेकै खातामा जोडिन्छ । अनि राष्ट्रपतिको चुनाव जित्न जुन पार्टीले ५३८ मध्ये बहुमत ल्याउँछ, त्यही पार्टीको राष्ट्रपतिको उम्मेदवारले चुनाव जित्छ । जर्ज बुसको बेलामा अलगोरले राष्ट्रपति निर्वाचनमा जनताको प्रत्यक्ष मत धेरै पाए पनि इलेक्टोरल भोट (५३८) मध्ये धेरै बुसले जितेकाले बुस नै अमेरिकाको राष्ट्रपति बनेको कारण यही थियो ।

उप्रेतीले अमेरिकी प्रणाली नबुझेकालाई पर्ने अप्ठेरो प्रस्ट्याउँदै भने, त्यसैले राष्ट्रपतिका उम्मेदवारमध्ये जसले जति प्रत्यक्ष भोट ल्याउँछ उसले चुनाव जित्छ भन्ने होइन अमेरिकामा । हाम्रो राष्ट्रिय सभा र राष्ट्रपतिको चुनाव जस्तै परोक्ष तरिकाले अमेरिकाको राष्ट्रपतिको चुनाव हुन्छ ।

मतदाता कति ?

अमेरिकाको जनसंख्या ३२ करोड रहेको छ भने मतदाता २० करोड । तर अमेरिका त्यहाँका रेड इन्डियन भनिने रैथाने वासिन्दाको वर्चस्वको होइन, आप्रवासीहरूको मुलुक हो । मेहनत नै अमेरिकाको पर्याय हो । त्यसैले भनिन्छ, सातामा पाँच दिन अमेरिकीले हाड घोट्छन्, बाँकी दुई दिन कार्ड घोट्छन् !

कोलम्बसले अमेरिका पत्ता लगाएपछि रेड इन्डियनहरू युरोपियनहरूबाट खेदीखेदी नारायणहरि बनाइए । अमेरिका पुग्ने गोराहरूले अफ्रिकाबाट काला जातिलाई दासको रूपमा ल्याएर काममा लदाए । त्यसले गर्दा कालाको संख्या अमेरिकामा कम छैन । अहिले त नेपालीहरू पनि अमेरिकामा ६ लाख पुगिसके भनिन्छ ।

अमेरिकाको जनसंख्याको कुरा गर्दा सुरुमा अमेरिकामा आउने गोराहरू अहिले अल्पमतमै पुगेका छन् । तीन पुस्ता बस्नेको गन्ती गर्ने हो भने बत्तीसमध्ये पच्चीस करोड एसिया, मध्य अमेरिका र अफ्रिकाका आप्रवासी छन् र सात प्रतिशत मात्र तीन पुस्ता अगाडिदेखि बसोवास गर्ने आप्रवासी छन् ।

पैंतालीसौं राष्ट्रपतिको चुनाव

अमेरिकी राष्ट्रपतीय चुनाव हुन थालेको १७१ वर्ष भइसकेको छ अर्थात् सन् १८४५ देखिको निरन्तरता हो, आज भइरहेको निर्वाचन । आजको चुनावले संयुक्त राज्य अमेरिकाको पंैतालीसौं राष्ट्रपति चुन्नेछ । हरेक चुनावमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुने भएकाले संसारभरका मानिसलाई भ्रम परेको छ, अमेरिका दुई दलीय व्यवस्था भएको मुलुक हो र यहाँ रिपब्लिकन र डेमोक्रेटिक दलका हात्ती र गधा चुनाव चिन्हबीच प्रतिस्पर्धा भइरहन्छ ! यही भ्रमले गर्दा अमेरिकी समाजमा आफ्नै महफ्व र विशिष्टता भएका अन्य उम्मेदवारहरूको चर्चा अमेरिकाबाहिर बिरलै हुने गर्छ ।

स्वास्नी मानिसप्रति संकुचित

अमेरिकाका अन्य चुनावभन्दा यसपालिको चुनाव संसारभर अत्यधिक चासो र उत्सुकताका साथ हेरिने अर्को एउटा कारण पनि छ र त्यो हो, पहिलोपल्ट हिलारी क्लिन्टन राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेकी छन् । यसले गर्दा संसारभरका महिलाहरूको चासो मात्र होइन, पुरुषहरूको पनि उत्तिकै उत्सुकता अमेरिकी चुनावले सिर्जना गरेको छ । हुन पनि सबैभन्दा बढी प्रजातन्त्र, मानव, महिला अधिकारको चर्चा गर्ने अमेरिकामा किन ४४ पटक पुरुष बन्दा पनि एकजना महिला राष्ट्रपति बन्न सकेनन् ?

संसारभरकै अल्पविकसित मुलुकमा महिला अधिकारका क्षेत्रमा खर्च गरिरहेको अमेरिकामाथि सदावहार प्रश्न हो यो, अरू देशका महिलालाई राजनीतिमा सहभागी गराउन किन अमेरिकीहरू खर्च गर्छन् ? पहिला आफ्नै देशमा एकजना महिला राष्ट्रपति बनाएर देखाऊन् ! यसो भन्दा अमेरिकीहरू लाजले भुतुक्क हुन्थे ।

हुन पनि भाले डाँको भएका साँढे जस्ता अमेरिकीहरू महिलालाई अगाडि बढेको पटक्कै रुचाउन्नन् । यसको उदाहरण खोज्न अन्यत्र जानैपर्दैन । दुइपटक यिनै हात्ती र गधा चुनाव चिन्हधारीले उपराष्ट्रपतिमा महिलाहरू (जेराल्डिङफेरारो र अलास्काकी गभर्नर पालिन) लाई उठाएका थिए तर पुरुषवादी अमेरिकीहरूले महिला उठाउने भन्दै राष्ट्रपतिका पुरुष उम्मेदवारलाई नै चुनावमा हराइदिए ! यति संकुचित छन् अमेरिकीहरू स्वास्नीमानिसप्रति !

हिलारी र ट्रम्प प्रतिस्पर्धा

आज भइरहेको राष्ट्रपति निर्वाचन पनि गधा चुनाव चिन्ह भएकी उम्मेदवार हिलारी क्लिन्टन र हात्ती चिन्ह भएका डोनाल्ड ट्रम्पका बीचमै हराएका जस्ता छन् अन्य उम्मेदावारहरू चुनाव जित्ने प्रतिस्पर्धामै छैनन् ।
हिलारी रोधाम क्लिन्टनको जन्म २६ अक्टोबर १९४७ मा भएको हो । बाबु हग रोधाम सामान्य व्यापारी र आमा डोराथी होवेल रोधाम गृहिणी थिइन् ।

हिलारीका दुई भाइ छन् । बाल्यकालमा दुःख, पीडा देखेभोगेकी न्यूनमध्यम परिवारकी हिलारी विध्वंसकारी दोस्रो विश्वयुद्धपछि जन्मेकी थिइन् । युद्धले थङथिलो भएको समयमा जन्मिएकाले कति संघर्ष गर्नुपर्छ माओवादी जनयुद्ध र विदेशी सेनामा भर्ती भएका सन्तानको पीडा नेपाली परिवारलाई दोहोर्‍याइरहन पर्दैन । हिलारीले ‘द लिभिङ हिस्ट्री’ भन्ने आत्मकथामा लेखेकी छन् ।

सन् १९६० मा १४ वर्षकी किशोरी हिलारीले जोन अफ केनेडी राष्ट्रपतिको चुनाव उठेका, घरघरमा भोट माग्दै कुराकानी गरेको, आफ्नै बाबु केनेडीको प्रचारमा हिँडेको र आफैं त्यो चुनावमा सहभागी भएको चर्चा पुस्तकमा छ । अमेरिका मात्र होइन, नेपाल भ्रमण गरेको बेला उनलाई लागेका कुरा ‘साइलेन्स इज नट स्पोकन हेयर’ भन्ने शीर्षकमा लेखेकी छन् ।

एल युनिभरसिटीको ल स्कुलमा पढेकी हिलारीको भेट यही पढिरहेका बिल क्लिन्टनसँग भएको थियो, जो पछि अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपतिकी पत्नीका रूपमा प्रथम महिला भई हिलारी ह्वाइट हाउसमा दुई कार्यकाल बसिन् । बिल र हिलारी क्लिन्टनकी मात्र एक छोरी छन् ।

वकिल, सिनेटर हुँदै राष्ट्रपतिकी उम्मेदवार बनेकी हिलारी यसअघिको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीभित्र वर्तमान राष्ट्रपति बाराक ओबामासँगको प्रतिस्पर्धामा पराजित भएकी थिइन् । बाराकले प्रतिद्वन्द्वी हिलारीलाई विदेशमन्त्री बनाए । यसपालिको राष्ट्रपति निर्वाचनमा पार्टीभित्र बर्नी स्यान्डर्ससँग प्रतिस्पर्धा गरी हिलारी अमेरिकी राष्ट्रपतिको लागि प्रथम महिला उम्मेदवार बनिन् ।

डोनाल्ड जोन ट्रम्प राजनीतिक अनुभव भएका व्यक्ति होइनन् । उनी धनाढ्य अमेरिकी व्यापारी हुन् । हिलारीभन्दा एक वर्ष पहिला जुन १९४६ मा जन्मिएका ट्रम्प धनाढ्य अमेरिकी पे्रmड ट्रम्प र आमा म्यारी आन्ना न्याक्लिडका छोरा हुन् । खासमा ट्रम्पका बाबु जर्मनवंशका ड्रम्ट हुन् तर उनले आफ्नो थर ड्रम्टलाई ट्रम्प बनाएपछि उनका सन्तानले पनि ट्रम्प नै लेख्न थाले ।

डोनाल्ड जोन ट्रम्पले सन् १९६८ मा युनिभरसिटी अफ पेन्सलभानियाबाट अर्थशास्त्रमा स्नातक गरे । व्यापार व्यवसायमा लागे । यिनी टीभीको टक सो ‘द एपरेन्टिस’ का सञ्चालक पनि रहे । यिनले तीनवटा विवाह गरे, जसबाट पाँच सन्तान छन् ।

दुई उम्मेदवारबीच भिन्नता

वर्ष दिनदेखिको अमेरिकी निर्वाचनको क्रममा दुवै उम्मेदवार भिन्न रूपमा प्रस्तुत भएका छन् । भद्दा, अशोभनीय प्रचार अमेरिकामा पनि भयो । तर उम्मेदवारको परख मतदाताले गरिरहँदा रहेछन् ।पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेका सल्लाहकार आश्विन पुडासैनीले भने, हिलारी शालीन र सौम्य रूपमा अगाडि देखा परेकी छन् भने ट्रम्प म धनी छु र दुनियाँलाई देखाइदिन्छु भने झैं जोदाहा ताल देखाइरहे ।

पुडासैनीले थपे, नसुहाउँदो किसिमले हात्ती मैमत्त देखियो तर गधा शालीन र सभ्य ! यो नै कानुनी राज भएको अमेरिकामा खास बल हो । कूटनीतिक क्षमता र सरलता भएकी हिलारीसँग नेपाल र नेपाल जस्ता अतिकम विकसित र भूपरिवेष्ठित मुलुकले लाभ लिन सक्छन् । किनभने उनी मानव, महिला, बालअधिकार, गरिबी र विपन्नताविरुद्ध लड्ने अभियन्ता पनि हुन् ।

हुन पनि कुनै भाषण, डिबेट र प्रचार अभियानमा दम्भ प्रदर्शन र गालीगलोज गर्न ट्रम्प कहिल्यै पछि परेनन् । जसले गर्दा धेरै विवादमा फसे । धेरै मत सर्वेक्षणमा पछाडि परेको होहल्लामा पनि कत्ति डग्मगाएनन् । आफ्नो स्वभाव बदलेनन् । झन् आक्रामक बनिरहे । यही स्वभावले उनलाई चुनावको दिन आउँदा सर्वेक्षणमा धेरै माथि पनि आइपुगे ।

महिलामाथि ट्रम्प जाइलागिरहे, खुट्टा भए जुत्ता नाथे कति–कति ? पोप फ्रान्सिसलाई थर्र्काए । जर्ज बुसलाई ट्विन टावर ढाल्दाका राष्ट्रपति भनेर गिल्ला गरे । छिमेकी मेक्सिकोले अमेरिकालाई ड्रग, अपराधी, बलात्कारी पठाएको दोषारोपण मात्र गरेनन्, सिमानामा उसकै खर्चमा अग्लो पर्खाल लगाउँछुसम्म भने । पत्रकारलाई होच्याए । प्रतिस्पर्धी हिलारीलाई बाथरुमकी भनेर उल्याए ।

कूटनीतिक क्षमता र सरलता भएकी हिलारीसँग नेपाल र नेपाल जस्ता अतिकम विकसित र भूपरिवेष्ठित मुलुकले लाभ लिन सक्छन् । किनभने उनी मानव, महिला, बालअधिकार, गरिबी र विपन्नताविरुद्ध लड्ने अभियन्ता पनि हुन् ।

ट्रम्प अलि सन्की रूपमा प्रस्तुत भएकै हो, तर अमेरिकी चुनावका मसिना कुरा नियालिरहेका अर्का एक नेपाली राजनीतिक विश्लेषकले भने, ट्रम्पको शक्ति नै डाङडुङ हो । न गभर्नर न त सिनेटर भएको व्यक्ति एकैपटक राजनीतिमा आएको छ, उसले सामना गर्नुपर्ने प्रतिपक्षी पोलिस्ड छिन् अनि के ट्रम्प भद्र बनेर यहाँसम्म आउन सक्थ्यो ? असम्भव । तर ट्रम्पले सधैं आफूलाई आक्रामक बनेर चर्चामा ल्याइरह्यो ।

खासमा उसले रिपब्लिकन पार्टीका खर्राटहरूलाई पाखा लगाउँदै आफूलाई स्थापित गर्‍यो । गोरा धनी र याड्की अमरिकीका मनका कुरा ओकल्यो । उनले थपे, अमेरिकी कति असहिष्णु छन् भन्ने देख्नु भएन, बाराक ओबामाले दुईपल्ट शपथ ग्रहण गर्नुपर्‍यो । कारण सामान्य छ, बाराक हुसेन ओबामा भनेर गरेको शपथ ग्रहणलाई अमेरिकीले मानेनन् र पछि हुसेन हटाएर शपथ ग्रहण गर्नुपर्‍यो ।

नेपालीले के सिक्ने ?

राष्ट्र हाँक्ने नेता चुनिँदा चारैतिरबाट हेरिनुपर्दो रहेछ भन्ने शिक्षा हाम्रो लागि महत्वपूर्ण देखियो । खुला तर्क, विचार, नीति कार्यक्रम र धारणा सार्वजनिक रूपमा एउटै मञ्चबाट उठाउनाले कुन उम्मेदवार केका लागि भन्ने स्पष्ट हुने रहेछ । निर्वाचन खर्च पारदर्शी रूपमा प्रचार अभियानदेखि नै सार्वजनिक गर्नुपर्ने रहेछ । अमेरिकामा सरकार परिवर्तनपछि राजनीतिक नियुक्ति एकैपटकमा दसौं हजारमा हुने रहेछ । नेतृत्व परिवर्तन हुँदा संरचना नै परिवर्तन हुनाले गाँजेमाजे ताल स्वतः हट्ने रहेछ ।

दलभित्रै प्रतिस्पर्धा हुँदा अमेरिकीहरू गुटउपगुट बनाउनेतर्फ होइन, प्रतिस्पर्धीलाई आफ्नै शक्तिशाली मन्त्री बनाउँदा पो रहेछन् । ओबामाले हिलारीलाई त्यसैले विदेशमन्त्री बनाए, उनी पनि राजी भइन् । तर पार्टीभित्र एमालेमा ओली अध्यक्ष र प्रधानमन्त्री बन्दा माधव नेपाललाई विदेशमन्त्री बनाएको भए ? अथवा कांग्रेस सभापति शेरबहादुर अबको ६ महिनामा प्रधानमन्त्री बनेपछि के रामचन्द्र पौडेललाई आफ्नो मन्त्री बनाउलान् ? संविधानमै आमनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई अमेरिकीहरू तम्तयार रहँदा रहेछन् ।

हाम्रोमा निर्वाचन आयोग नै पूर्ण बनाइएको खै ? संविधानमा बजेट ल्याउने मिति तोकिएकाले असहज अवस्थामा पनि बजेट आयो तर कहिले निर्वाचन मिति तोक्ने ? स्थानीय निर्वाचन कहिले ? यही तालले ०७४ माघ ८ भित्र निर्वाचित संसद् बनिसक्ला त ? अहिलेसम्म हाम्रा नेताले दुई दिनकी रानी झैं, डोली चढी... नै गरेका छन् । अब अमेरिकी चुनावबाट केही शिक्षा लेलान् कि ?



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.