राजनीति होइन, अब विकास

राजनीति होइन, अब विकास

देशको भविष्यमाथि लागेको कालो बादल हटेको छैन । देशको राजनीति स्वाभिमानयुक्त नेपालको निर्माण गर्न अग्रसर रहेको पनि छैन । एकजनालाई हटाएर एकजना प्रधानमन्त्री बने । त्यसबेला संसद्मा उनले भनेका थिए, ‘राजनीति सम्भावनाहरूको खेल हो ।'

लागेको थियो उनले सम्भावनाहरू थुप्रै बोकेर आएका रहेछन् । तर उनको चार महिनाले देखाएका सम्भावना समाप्त भएको जस्तो लाग्छ । चीनलाई जोड्ने नाका सडकहरू जोडतोडले बन्लान् भन्ने लागेको थियो, तर वर्तमान सरकारको त्यसतर्फ त कुनै ध्यानै गएन । भूकम्पपीडित जनताले राहत पाउने ठूलाठूला सपना बाँडिएका थिए, त्यसमा पनि केही भएन ।

सार्कको कन्तबिजोक भयो । प्रधानमन्त्री यसका अध्यक्ष थिए, त्यसमा पनि कतै कूटनीति नामको चरा देखिएन । चीनले ‘एक पेटी एक सडक' को नीतिअन्तर्गत नेपालमा लगानीको ठूलो सम्भावना व्यक्त गरेको थियो, त्यसमा पनि केही भएन । चीनसँग महत्वपूर्ण सम्झौताहरू भएका थिए, ती पनि धुलोले पुरिए । त्यसो भए ‘राजनीति सम्भावनाहरूको खेल कसरी भयो त ? '

भारतीय राष्ट्रपति आए । उनले जनकपुरको यात्रा गरे र जानकीको दर्शन गरे । उनी गए । अनि नेपाली कांग्रेसका सभापति भारत गए । सामाजिक सञ्जालमा कुरा आए, उनले त्यहाँ ‘दलाई लामाको अनलाइन भाषण सुन्नेछन् र दलाई लामाको कथित सरकारका प्रतिनिधिलाई भेट्नेछन् ।

सरकारका प्रधानमन्त्रीले हेक्का राख्नुपर्ने हो, यसले देशलाई भूकम्पको अर्को धक्का निर्माण गर्नेछ । यसले प्रधानमन्त्रीमाथि लागिरहेको ‘भारतभक्ति' को आरोप पनि प्रमाणित गर्नेछ । देउवाले के गर्छन्, त्यो महत्वपूर्ण होइन, देउवाको यस कार्यप्रति सरकारको दृष्टिकोण के हो, त्यो महत्वपूर्ण हुनेछ ।

अब यस्ता कुराको चर्चामा समय बिताउनु आवश्यक छैन जस्तो लाग्छ । प्रधानमन्त्री को हुन् वा अरू नेता को हुन्, त्यो उनीहरूले जान्ने कुरा हो । उनीहरू देशविरोधी हुन् भने उनीहरूको इतिहास कलंकित हुनेछ । उनीहरू देशवादी रहेछन् भने इतिहासले त्यसको सही मूल्यांकन गर्नेछ ।

मकै खाने बाँदरको नश्ल, उत्पत्ति र प्रकारका बारेमा छलफल गरेर मकैबाली नास हुन दिनु बुद्धिमानी होइन । बुद्धिमानी मकैबाली जोगाउनु हो । अब एउटा कुरा स्थापित भइसकेको छ, वर्तमान प्रधानमन्त्री आफ्नो र देश दुवैका लागि असफल भइसक्नुभयो ।

जुन बेला उहाँ प्रधानमन्त्री बन्नुभयो, त्यो समय उहाँ र देश दुवैका लागि ठीक समय थियो । भारतसँग विश्वासको प्रवर्धन हुन सकेन, चीनसँगको विश्वास धरासायी हुँदैछ ।

यस पृष्ठभूमिमा हामीले अब उप्रान्त सत्ताकेन्द्रित राजनीतिको छलफल र चर्चा बन्द गर्नुपर्छ । अब देशमा स्वाभिमान, राष्ट्रियता, राष्ट्रिय एकता र आर्थिक समृद्धिको अभियानको मात्र चर्चा गर्नुपर्छ । सकारात्मक दृष्टिकोणले मात्र नकारात्मक मान्यताहरूको पराजय गर्न सकिन्छ । हिजो देश कुट (विष) नीतिबाट ग्रस्त थियो अब बौद्धिकताबाट निर्देशित हुनुपर्छ ।

हो, यसो गर्न सजिलो छैन । दलदलमा यात्रा गर्दा असफलताले नै टाउको पहिला उठाउँछ । तर हिम्मत र लगनशीलता मानिसका त्यस्ता गुण हुन्, जसले मानिसलाई बाँदरबाट मानिस पनि बनाए र मानवीय सभ्यताको इतिहास पनि लेखे ।

नेपालको वर्तमान समाज हेर्दा के देखिन्छ भने मानिसहरू निराशाको चरम तहबाट गुज्रिरहेका छन् । मानिसका सोचहरू दिग्भ्रमित भएका छन् । मानिसमा अहंकारहरू व्याप्त छन् र ती अहंकार र विश्वास जीवनको असुरक्षा र भयबाट सिर्जना भएका छन् । यस्तो मनोविज्ञान बोकेका मानिस अत्यन्त व्यक्तिवादी र स्वार्थी हुन्छन् । यिनै व्यक्तिवादी चरित्र र स्वार्थले मानिसलाई अराजक बनाउँछ । यस मनोविज्ञानभित्र तीन खालका परिणाम जन्मिन्छन् भन्ने नेपालको अहिलेको अवस्थाले देखाइरहेको छ ।

पहिलो– मानिस राजनीतिप्रति विरक्ति व्यक्त गर्छ । यस विरक्तिले तीन खालका मानिसलाई समेटेको हुन्छ । एकखाले मानिस समस्याबाट पलायन गर्ने प्रवृत्तिका हुन्छन् । तिनीहरू युरोप र अमेरिकाको डीभी र पीआरको लाइनमा उभिन्छन् । तिनीहरूलाई रोक्न सम्भव हुँदैन । उनीहरूसँग अनेक बहाना हुन्छन् । मानिस मरेपछि कपाल छोड्ने जुम्राको चरित्र नै हो ।

दोस्रो खालका मानिसहरू ‘स्वार्थी र पीडक' हुन्छन् । उनीहरू यही अराजकताबाट फाइदा लिन्छन् । उनीहरू अर्काको पीडामा आफ्नो भविष्यको निर्माण गर्न लालायित हुन्छन् । उनीहरू अपराध गर्न, भ्रष्टाचार गर्न, देशमा विदेशीलाई चलखेलमा आमन्त्रण गर्न र यस्तै अनैतिक काममा संलग्न हुन्छन् ।

जुकाहरूले रगत चुस्नु उनीहरूको चरित्र नै हो । देशमा जुम्रा पनि हुन्छन् र जुकाहरू पनि हुन्छन् । यसलाई अस्वाभाविक मानिँदैन ।

अर्काथरी मानिस हुन्छन्, जो देशको माया पनि गर्छन् । देशका बारेमा चिन्तित पनि हुन्छन् । जुम्रा र जुकाबाट प्रभावित पनि हुँदैनन् । तर आफू अगाडि आएर नेतृत्व गर्न लाज मान्छन् । उनीहरू अर्काकाको मुख हेर्छन् । अर्कैले सार्वजनिक काम गरोस्, आफू आफ्नै व्यक्तिगत संसारमा सीमित रहन पाऊँ भन्ने कामना गर्दछन् । तर समयको कालखण्डले उनीहरूलाई यसरी बसिरहन दिँदैन ।

इतिहासको गर्भमा लुकेका घटनाहरू छन् । ती घटनाले निर्माण गरेको इतिहासको धार र वर्तमानको बहाब बदल्ने समय अहिले हो । त्यसैले अब आवाजको एकता बन्नैपर्छ ।

नेपाल यसै कालखण्डमा आइपुगेको छ । राजनीतिक पार्टीभित्रका यस्ता मानिस, नागरिक समाजभित्रका यस्ता मानिस, व्यवसायीहरूभित्रका यस्ता मानिस र आम जनताभित्रका यस्ता मानिसको संयुक्त आवाज अब फुट्नु आवश्यक छ ।

के तपाईं इमानदार नेता हो ? के तपाईं जालसाजमा संलग्न हुनुहुन्न ? के तपाईं गुटबन्दीमा लाग्नुभएको छैन ? तपाईंलाई लाग्छ तपाईं इमानदार हुनुहुन्छ, जालप्रपञ्चमा लाग्नुभएको छैन, तपाईं गुटका तानाबाना बुन्नु हुन्न भने अगाडि आउनुहोस् भविष्यले तपाईंलाई आह्वान गरिरहेको छ । तपाईं त्यस्तो मानिस होइन भने तपाईंको इतिहास कलंकित हुनेछ । तपाईंलाई तपाईंकै सन्तानले थुक्नेछन् ।

प्रत्येक बुद्धिजीवी, प्रत्येक व्यवसायी, प्रत्येक नागरिक समाजका सदस्य र प्रत्येक जनतालाई यिनै प्रश्न हुन् । देशको इतिहास र विकास दुवै जनताले निर्माण गरेका हुन् । त्यसैले नेपालको इतिहास र विकास दुवैको निर्माण गर्ने दायित्व हाम्रो हो ।

भैंसीले दूध दिएन भने त्यसलाई पिट्नु वा सराप्नुको तुक छैन । यात दूध नखाई चित्त बुझाउनुपर्छ, यात दूध दिने भैंसी खोज्नुपर्छ । भैंसी बिरामी रहेछ भने उपचार गर्नुपर्छ । भैंसी घाँस पनि खान्छ, भकारा पनि हग्छ दूध दिँदैन भने त्यसलाई छोड्नु नै राम्रो हो ।

असल मानिसहरू सकारात्मक सोच र सक्रिय पाखुरा लिएर कर्म क्षेत्रमा आएपछि आहालमा जमेको विशाक्त पानीलाई डिल फोडेर बाहिर फ्याँक्न सकिन्छ र त्यस दुर्गन्धित आहाललाई माछापोखरी बनाउन सकिन्छ ।

त्यसो नगर्दासम्म भ्यागुताहरू गोहीको इशारामा माछाहरूमाथि अत्याचार गर्न छोड्दैनन् । भ्यागुताहरू गोहीको भरोसा गर्न पनि छोड्दैनन् र पोखरीलाई आहालमा बदल्न पनि छोड्दैनन् ।

के हामी नेपाली नेपाल बनाउन सक्छौँ ? केही दिनअगाडि चिलिमे जलविद्युत् आयोजनाको उत्पादन गुहभित्र प्रवेश गरेर हेर्दा अनि त्यो सम्पूर्ण संरचना नेपाली इन्जिनियरहरूले बनाएको भन्ने थाहा पाउँदा उनीहरूप्रति गौरव लाग्यो ।

चिलिमे बनाउने नेपालीले नेपालकै पैसाले सयौं चिलिमे बनाउन सक्छन् । राष्ट्रको लागि चुपचाप र गुमनाम काम गरिरहेका प्राध्यापकहरू, वकिलहरू, चिकित्सकहरू, इन्जिनियरहरू, वैज्ञानिकहरू, व्यवसायीहरू कसैले मूकदर्शक नबन्नुहोस् । आफ्नो क्षमता र प्रतिभाहरूलाई दुनियाँका सामुन्ने राख्नुहोस् ।

हो, अहंकारबाट जोगिनुहोस् र उपियाँ र उडुसले तपाईंका शरीरमा बास गर्लान्, होस गर्नुहोस् । एकजना प्रसिद्ध लेखकले भनेका छन्, ‘जासुसी गर्ने र राष्ट्रघातीको इतिहास कहिल्यै लेखिँदैन ।' अर्का एकजनाले लेखेका छन्, ‘वर्तमानमा स्वेच्छाचारी हुनेलाई इतिहासले दण्डित गर्छ ।' इतिहासको निर्माण कहिल्यै व्यक्तिले गर्दैन । व्यक्ति त इतिहासको पात्र मात्र हो । इतिहासको निर्माण घटनाहरूले गर्छन् । नेपालको आजको यो अवस्थाको सिर्जनामा इतिहासको गर्भमा लुकेका घटनाहरू छन् ।

ती घटनाले निर्माण गरेको इतिहासको धार र वर्तमानको बहाब बदल्ने समय अहिले हो । त्यसैले अब आवाजको एकता बन्नैपर्छ । हुम्लाको हिल्साबाट पारीपट्टि चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङ काउन्टी छ । त्यहीँ एउटा आधुनिक तरकारी फार्म छ । त्यो भूभागमा कुनै बिरुवा उम्रिँदैन ।

तर त्यहाँ बनाइएको तरकारी फार्मले वर्षको एक अरबको तरकारी उत्पादन गर्छ । विसमतामा सिर्जना गर्न सक्ने क्षमता मानिसमा छ । तिब्बतमा गुराँसको फूलबाट बनाइएको जुसले कोकोकोला प्रतिस्थापित भएको छ । नेपालमा गुराँसबाट सडक धुन पुग्ने जुस उत्पान गर्न सकिन्छ ।

केवल हामी सत्ताकेन्द्रित राजनीति, हाम्रो जुम्रा प्रवृत्ति र कम्भकर्ण स्वभावले गरिब बनाएको छ । हामी हाम्रो देश बनाउन सक्छौँ । अहिलेसम्म भएका नोक्सानीका पूर्ति पनि गर्न सक्छौँ । हामीसँग केवल इमानदारी र आफैंमाथि भरोसाको अभाव छ । तर हामी समयको पल्लो छोरमा पुगिसकेका छौं, अब देउरालीमा बसेर सुस्ताउने समय छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.