नेपाल विजेता बन्दै सेमिफाइनलमा

नेपाल विजेता बन्दै सेमिफाइनलमा

काठमाडौः नेपाल मलेसियामा जारी ‘एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिता' को सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार भएको समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले ब्रुनाईलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

नेपालले ब्रुनाईसँग १० वर्षअघिको हारको बदलासमेत लिएको हो । समूह एमा नेपालले दुई खेलबाट चार अंक जोड्यो । उपविजेता हुँदै सेमिफाइनल पुगेको ब्रुनाईले दुई खेलबाट तीन अंक बटुल्यो ।

यसअघि नेपाल र ब्रुनाईबीच सन् २००६ को एएफसी च्यालेन्ज कपमा भिडन्त भएको थियो । समूहगत चरणकै उक्त खेलमा नेपाल ब्रुनाईसँग २-१ गोलले पराजित भएको थियो । त्यतिबेला नेपालका लागि टासी छिरिङले गोल गरेका थिए । यसपटक ब्रुनाईविरुद्ध तीनवटै गोल स्ट्राइकरले गरे ।

नेपाली अग्रपंक्ति सम्हालेका विमल घर्तीमगर, नवयुग श्रेष्ठ र भरत खवास गोल गर्न सफल भएका हुन् । खेलको सुरुआतदेखि नै ब्रुनाईविरुद्ध आक्रामक शैलीमा उत्रिएको नेपालले पहिलो हाफको इन्जुरी समयमा खाता खोलेको थियो ।

नेपालका लागि पहिलो गोल नवयुगले गरे । हेमन्त गुरुङले डीबक्स बाहिरबाट गरेको सशक्त प्रहार ब्रुनाईका रक्षकले क्लियर गर्ने प्रयास गरे पनि बल नजिकै रहेका नवयुगको खुट्टामा पुगेको थियो । नवयुगको पहिलो प्रहार विपक्षी गोलरक्षकले रोक्ने प्रयास गरे पनि उनी आफैंले रिबाउन्डमा गोल गर्दै नेपालको खाता खोले । १-० को अग्रतापछि थप जोसिएको नेपालले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कियो ।

खेलको ७२ औं मिनेटमा भरत खवासले गोल गर्दै टोलीको उत्साह थप बढाएका थिए । विमल घर्तीमगरले प्रहार गरेको कर्नरमा सुजल श्रेष्ठले हेडमार्र्फत दिएको बललाई भरतले पहिलो टचमै आकर्षक रूपमा जाली चुमाएका थिए ।

लगत्तै ब्रुनाईको कडा प्रहारलाई नेपालका रक्षक रविन श्रेष्ठले विफल पारदिएका थिए । नेपालले ८० औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरेको थियो । नेपालका लागि तेस्रो गोल विमल घर्तीमगरले गरे ।

ब्रुनाईका खेलाडीले विमललाई डीबक्सभित्र जर्सीमा तानेर लडाएपछि पाएको पेनाल्टीलाई उनले नै सदुपयोग गरे । पहिलो हाफमा केही अवसर बनाएको ब्रुनाई दोस्रो हाफमा भने निराश देखिएको थियो ।

समूहमा नेपाल पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो । यसअघि नै सेमिफाइनलमा स्थान बनाएको ब्रुनाई तीन अंकका साथ समूह उपविजेता बन्यो । ब्रुनाईले पहिलो खेलमा टिमोर लिस्टेलाई ४-० गोलले हराएको थियो । ।

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी तय भइसकेको छैन । नेपालले मंगोलिया, लाओस र मकाउमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको सेमिफाइनल कात्तिक २७ गते हुनेछ । खेलपछि नेपालका प्रशिक्षक ग्योतुकी कोजीले खेल जिते पनि खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट नरहेको बताए । ‘अस्तिको भन्दा आजको मैदान धेरै राम्रो थियो । खेलाडीले सोचेको जस्तो खेल्न सकेनन् ।

सेमिफाइनलमा पुगेकाले आगामी खेलमा आजको भन्दा थप राम्रो गर्नेछौं', कोजीले भने । नेपालका कप्तान विराज महर्जनले भने टोलीका सबै खेलाडीले मेहनत गरेर खेलेको प्रतिक्रिया दिए । ‘पहिलो खेलमा गोल गर्न नसक्दा दुःख लागेको थियो । आज सबैले ईख लिएर खेल्यौं,' विराजले भने ।

ब्रुनाईका प्रशिक्षक कोन ओहसोनले टोलीका महत्वपूर्ण खेलाडी घाइते हुँदा राम्रो खेल्न नसकेको बताए । ‘हाम्रो ६ जना खेलाडी घाइते थिए । रक्षापंक्तिको कमजोरीका कारण हामीले गोल खाएका हौं । सेमिफाइनलमा पुगिसकेकाले खेलाडी बढी आत्मविश्वासी भए । यस हारले हाम्रो टोलीलाई थप सचेत गराएको छ । सेमिफाइनलमा हामी राम्रो गरेर देखाउनेछौं,' कोनले भने ।

आठ महिनापछि तेस्रो औपचारिक प्रतियोगिताका रूपमा सोलिडारिटी कप खेल्न मलेसिया गएको नेपाली टोली लगातार तेस्रो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ । फाइनल खेल कात्तिक ३० गते खेलिनेछ ।

एएफसीले एएफसी च्यालेन्ज कप आयोजना गर्न छाडेपछि त्यसैको सट्टामा यस वर्षदेखि सोलिडारिटी कप आयोजना गर्न लागेको हो । एएफसीले सन् २०१८ को विश्वकप छनोट र सन् २०१९ को एसिया कप छनोट चरणबाट बाहिरिएका टोलीलाई सोलिडारिटी कपमा सहभागी गराउन लागेको हो ।

विश्वकप छनोटका लागि भएको प्रारम्भिक छनोट खेलमा नेपाली टोली भारतसँग पराजित हुँदै बाहिरिएको थियो । नेपाली राष्ट्रिय टोलीले आठ महिनापछि औपचारिक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

नेपालले आठ महिनाअघि बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु गोल्डकप र भारतको गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.