विगत सम्झेर झस्किएको ब्राजिल
रियो दी जेनेरियोः आफ्नै घरेलु मैदानमा दुई वर्षअघि आयोजित विश्व कप फुटबलको सेमिफाइनलमा ब्राजिलियन टोली बलियो प्रतिद्वन्द्वी जर्मनीसँग ७—१ गोलले पराजित भयो । त्यो हारले ब्राजिललाई उपाधिबाट विमुख त गरायो नै, सँगसँगै वर्षौंदेखि विश्व फुटबलमा दबदबा कायमै गर्दै आएको ब्राजिलियन फुटबललाई लामो समयसम्म भुल्न नसकिने पीडा पनि दियो ।
सन् २०१४ को विश्व कप सुरु हुनुअघि घरेलु टोली ब्राजिललाई विश्वभरका लाखौं फुटबलप्रेमीले उपाधिको बलियो दाबेदारका रूपमा लिएका थिए । तर सेमिफाइनलमै जर्मनीसँग ७—१ गोलले पराजित भएपछि ब्राजिलियन फुटबलमा लामो समयसम्म नमेटिने दाग लाग्न पुग्यो । खेलमा हारजित स्वाभाविक भए पनि त्यो खेलमा जर्मनीको अगाडि ब्राजिलियन टोली विश्व फुटबलमा भर्खरै बामे सर्दै गरेको टोलीझैं निरीह देखिएको थियो ।
उक्त नतिजापछि घरभित्रमात्र होइन, विश्वव्यापी रूपमा ब्राजिलियन फुटबलको तीव्र आलोचना भयो । उक्त नतिजाको विषयलाई लिएर विभिन्न तर्कवितर्क अघि सार्दै ब्राजिलियन फुटबल महासंघदेखि लिएर प्रशिक्षक र खेलाडीसम्म आआफ्नो बचाउमा लाग्नु त सर्वाधिक पाँच पटकको विश्व कप उपाधि विजेताका लागि झनै उदेकलाग्दो क्षण थियो ।
आगामी शुक्रबार विश्व कप छनोट फुटबल प्रतियोगितामा ब्राजिलले अर्को बलियो दक्षिण अमेरिकी प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्दैछ । संयोगले त्यो खेल त्यही रंगशालामा परेको छ, जहाँ सन् २०१४ को विश्व कपको सेमिफाइनलमा ब्राजिललाई जर्मनीले लज्जास्पद हारको स्वाद चखाएको थियो ।
त्यतिबेला जर्मनीसँग पराजित भएपछि मिनेइरो रंगशालामा ब्राजिलले कुनै पनि बलियो प्रतिद्वन्द्वीसँग भिडन्त गर्न लागेको यो पहिलो पटक हो । त्यसैले यतिबेला ब्राजिलको फुटबलमा जर्मनीसँगको त्यो नमिठो हारको चर्चापरिचर्चा फेरि सुरु भएको छ र ब्राजिलियन टोली पनि आफ्नो इतिहासबाट केही त्रसित देखिएको छ ।
‘पक्कै पनि जर्मनीसँग नमिठो पराजय भोगेको त्यही रंगशालामा बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग विश्व कप छनोट खेल्नु पर्दा केही त्रास त हुन्छ नै', ब्राजिलियन टोलीका प्रशिक्षक टिटे भन्छन्, ‘तर, यसबीचमा दुई वर्षभन्दा बढी समय व्यतीत भइसकेको छ र यसबीचमा हामीले इतिहासबाट धेरैभन्दा धेरै शिक्षा पनि लिएका छौं ।' अर्जेन्टिनाविरुद्घको खेलका लागि आफूहरूले गतिलो तयारी गरेको दाबी गर्दै प्रशिक्षक टिटेले उक्त खेलका लागि आफ्ना सबै खेलाडी तयार रहेको बताए ।
यसैगरी ब्राजिलियन टोलीका मिडफिल्डर रेनाटोले त अझ एक कदम अघि बढेर अर्जेन्टिनाविरुद्घको नतिजालाई राष्ट्रियतासँग जोड्दै टोलीका सबै सदस्यलाई उक्त खेलप्रति गम्भीर हुन सुझाव दिएका छन् । उनले भनेका छन्, ‘त्यो हार वा जित हाम्रा लागिमात्र होइन, सिंगो राष्ट्रको हार वा जित हुनेछ ।' रियो दी जेनेरियोभन्दा तीन सय ५० किलोमिटर उत्तरमा रहेको मिनेइरो रंगशालामा ब्राजिल र अर्जेन्टिनाबीचको खेल हुँदा ६२ हजार सिट खचाखत भरिने अनुमान खेल अधिकारीले गरेका छन् ।
दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनोट प्रतियोगितामा टिटेले प्रशिक्षकको जिम्मेवारी सम्हालेयता आफ्ना पछिल्ला चारवटै खेलमा जित हात पार्दै ब्राजिल २१ अंकसहित समूहको पहिलो स्थानमा छ । हालसम्म १० खेल खेलेको ब्राजिलले ६ जित, तीन बराबरी र एक हारको नतिजा निकालेको छ ।
सहभागी सबै टोलीले १०÷१० खेल खेलिसकेका छन् । २० अंक हात पार्दै उरुग्वे दोस्रो स्थानमा छ । यसैगरी १७ अंकसहित इक्वेडर तेस्रो, समान अंक भएको कोलम्बिया चौथो, १६ अंकसहित चिली पाँचौं, समान अंक भएको अर्जेन्टिना छैटौं, १५ अंकसहित पाराग्वे सातौं, ११ अंकसहित पेरु आठौं, चार अंकसहित बोलिभिया नवौं र दुई अंकसहित भेनेजुएला १० औं स्थानमा आसीन छन् । जर्मनीविरुद्घको खेलमा सहभागी अधिकांश खेलाडी अहिले ब्राजिलियन टोलीमा छैनन् ।
त्यतिबेला जर्मनीविरुद्घको खेलमा टोलीमा रहेका रियल म्याड्रिडका मार्सेलो, म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डिन्हो र ग्वान्झोउ एभरग्रानेडका मिडफिल्डर पाउलिन्हो भने अर्जेन्टिनाविरुद्घको खेलमा पनि मैदानमा देखा पर्नेछन् । चेल्सीका विंगर विलियनले भने अर्जेन्टिनाविरुद्घ नखेल्ने सम्भावना छ । जर्मनीविरुद्घको खेलमा टोलीमा रहेका चेल्सीका डिफेन्डर डेभिड लुइज र एट्लेटिको मिनेरियोका स्ट्राइकर फ्रेडले भने अर्जेन्टिनासँग खेल्ने छैनन् ।
‘हामी जुन रंगशालामा जर्मनीसँग नराम्ररी हार्यौं त्यही रंगशालामा अर्को सुखद इतिहास रच्ने अवसर पनि हो यो', अर्का ब्राजिलियन खेलाडी पाउलिन्हो भन्छन्, ‘शुक्रबार हुने खेलको नतिजा कस्तो आउला, अहिले नै किटान गर्न सकिँदैन तर, हामी अर्जेन्टिनाविरुद्घ उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना समर्थकमाझ गतिलो छाप छाड्ने भने सफल हुनेछौं ।'
अर्का ब्राजिलियन डिफेन्डर रोड्रिगो काइयो पनि अर्जेन्टिनाविरुद्घको खेलमा ब्राजिलले सुखद नतिजा निकाल्ने दाबी गर्छन् । ‘यो नयाँ ब्राजिल हो त्यसैले हाम्रा समर्थकले मैदानमा हाम्रो खेल हेरेर आफैं मूल्यांकन गर्नेछन्', रोड्रिगो भन्छन् । सन् २०१४ को विश्व कपमा जर्मनीले ब्राजिललाई हराउँदा रोड्रिगोले भर्खरै व्यावसायिक फुटबलमा पाइला टेकेका थिए ।
विश्व कप छनोट खेलमा सहभागी हुन बार्सिलोनाका दुई प्रभावशाली खेलाडी लियोनल मेसी र नेमार बुधबार ब्राजिल आइपुग्ने अनुमान गरिएको छ । मेसी र नेमारले एउटै क्लबबाट व्यावसायिक फुटबल खेले पनि यी दुवैको राष्ट्रिय टोली भने फरक छन् । मेसी अर्जेन्टिनाका आशाका केन्द्र हुन् भने नेमारबाट ब्राजिलियन समर्थकले उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् ।
अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजाले भने सन् २०१८ मा रुसमा आयोजना हुने विश्व कपमा आफ्नो टोलीको सहभागितालाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । त्यसैले उनले ब्राजिलविरुद्घको खेललाई निकै महत्वका साथ लिएका छन् । ‘छनोट प्रतियोगिताको तालिकामा हाम्रो स्थान खासै सन्तोषजनक छैन, त्यसैले पनि मैले ब्राजिलसँगको खेललाई गम्भीर रूपमा लिएको छु', उनले भनेका छन् ।
अर्जेन्टिनी टोली सन् २०१४ को विश्व कपको फाइनलमा जर्मनीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले विश्व कप छनोटको अर्को खेल नोभेम्बर १५ तारिखमा कोलम्बियासँग खेल्नेछ । दक्षिण अमेरिकी क्षेत्रबाट विश्व कपमा चारवटा टोली सिधै छनोट हुनेछन् । अंकतालिकाको पाँचौं स्थानमा आउने टोलीले भने विश्व कपमा छनोट हुन प्लेअफ खेल्नु पर्नेछ ।