एपीएफले जित्याे प्रधानसेनापति कप
काठमाडौः सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपीएफले मध्यमाञ्चललाई ३–१ गोलले हरायो । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा भएको खेलमा एपीएफ पूर्ण रूपमा हावी भएको थियो ।
एपीएफले पहिलो हाफमा २-० गोलले अगाडि रहँदै खेल जित्ने सम्भावना बलियो बनाएको थियो । विजयी टोलीका सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । मध्यमाञ्चलकी निशा ठकुरीले एक गोल गरिन् ।
उत्कृष्ट लयमा रहेकी सावित्राले २६औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले वन भर्सेस वनमा गोल गरेकी थिइन् । हेडमार्फत गोल गर्दै ४२औं मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाइन् । मध्यमाञ्चलले ६७औं मिनेटमा गोल गर्दै खेलमा फर्कने सम्भावना देखाएको थियो ।
मध्यमाञ्चलकी निशाले गोल गरेकी हुन् । तर, त्यसपछि मध्यमाञ्चलले गोल थप्न सकेन । ८२औं मिनेटमा अनिताले गोल गर्दै एपीएफको अग्रता फराकिलो बनाएकी थिइन् ।
विजेता एपीएफले उपाधिसँगै तीन लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेतामा सीमित मध्यमाञ्चलले पनि एक लाख ५० हजार रुपैयाँ हात पा¥यो । विजेतालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ट्रफी प्रदान गरे । एपीएफकी सावित्री भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । एपीएफका जनकसिंह सर्वोत्कृष्ट प्रशिक्षक र सरु लिम्बू सर्वोत्कृष्ट फर्वाड घोषित भए ।
यसैगरी मध्यमाञ्चलकी निशा थोकर सर्वोत्कृष्ट रक्षक र अञ्जन रानामगर सर्वोत्कृष्ट गोलरक्षक घोषित भए । आर्मीकी सुमित्रा योञ्जन सर्वोत्कृष्ट मिडफिल्डर चुनिइन् । सबै विधाका सर्वोत्कृष्टले जनही दस/दस हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा मध्यमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाएको थियो भने एपीएफले नेपाल पुलिस क्लबलाई हराएको थियो ।
नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच महिला फुटबल टोली, विभागीय टोलीसहित कुल नौ टोली सहभागी थिए ।