राष्ट्रिय स्वाभिमान र पहिचान
संसारमा जति पनि निर्जीव वस्तु वा जीवित प्राणीहरू छन्, तिनीहरू सबैको आआफ्नै स्वाभिमान र पहिचान हुन्छ । पहिचानका कारण नै उनीहरूको स्वतन्त्र अस्तित्व रहेको हुन्छ । मानिसको आगमन जब बच्चाको रूपमा यो संसारमा हुन्छ, उनीहरूलाई पहिचानको आवश्यकता पर्छ । पहिचानको सुरुआत नामाकरण वा न्वारनबाट हुन्छ । नामाकरण ज्योतिषीले घडी, पला मुहुर्तका आधारमा राम, सीता आदि र सात बारका आधारमा आइते, आइती, सोमे, मंगली, त्यस्तै महिला र समाजमा प्रचलित अन्य नाम रामविलास, धनियाँ, पासाङ, च्याङ्बा, आलम, जहिदा रहेका छन् ।
त्यस्तै ठाउँका आधारमा हिमाल, पहाड, तराई मधेसबाट हिमाली, पहाडी, मधेसी भनिन्छ भने जाति, वर्णका आधारमा बाहुन, क्षेत्री, वैश्य, शूद्र, सेतामगुराली र भाषाका आधारमा नेपाली, मैथिली, नेवारी, गुरुङबख्खु, दौरा-सुरुवाल, भोटो, कछाड र धोती, टोपीको पहिचान गरिन्छ । त्यस्तै उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्गका आधारमा पनि पहिचान निर्धारण गर्ने गरिन्छ । देशका आधारमा नेपाली, भारतीय, चिनियाँ, अमेरिकी आदिमा पहिचान गरिन्छ ।
यो संसारमा मानवको जन्म हुँदाको बखत् सम्पूर्ण बालबालिका समान रूपले जन्मिन्छन् । समाज, वातावरण देशमा परिस्थितिले अलग पहिचान बनाइन्छ । सबै मानिसको नशामा बग्ने रगत रातो नै हुन्छ । रंग, वर्ण, भेदपछि सिर्जना भएका हुन् । मानव अधिकार ग्लोबलाइजेसन, आमसञ्चारमा भएको विकासले 'वसुदैव कुटुम्बम' को भावना विकास भएर पहिचानको मापदण्डमा परिवर्तन आएको छ । अहिले नेपालको प्रमुख कार्य स्वाभिमान जोगाएर आफ्नो पहिचान कायम राख्नु नै रहेको छ ।
नेपालमा अहिलेसम्म सबै नेपाली छन् । देश संघीयतामा गयो भने भारतमा जस्तै नेपालभित्र पनि विभिन्न प्रान्त, क्षेत्र, भाषा र जातिका आधारमा पहिचान खोजिनेछन् । जस्तो- मधेसमा बस्नेले पहिले मधेसी त्यसपछि नेपाली । जनजातिहरूले पहिले आफ्नो जाति र त्यसपछि नेपाली भन्नेछन् । स्वनामधन्य केही तथा कथित बुद्धिजीवी भनाउँदाहरू नेपाल नरहे पनि मधेस रहन्छ भन्ने विखण्डनवादी विचार विभिन्न सञ्चारमाध्यमबाट प्रवाह गरिरहेका छन् । नेपालभित्रै मधेस सुरक्षित छ भन्ने यथार्थमा आँखा चिम्लिरहेका छन् । आम नेपालीमा नैराश्य र भ्रमको खेती गरिरहेका छन् । नेपालभित्र नेपाली नभनिने र राहदानी लिएर विदेश गएपछि नेपालीसँग भेट गर्नुपर्ने हुन सक्छ ।
आज देशमा धर्म, भाषा, भेषभूषा, शिक्षा आदिमा प्रहार गरेर बेथिति र अन्योल सिर्जना गर्न सफल गैरजिम्मेवार अवसरवादी जमातको अर्को प्रहार स्थानीय निकायलाई स्थानीय तहमा परिवर्तन गरी जिल्लाहरूको पहिचान मेटाउन अर्को प्रयास सुरु भएको छ । २०४७ को संविधानअगाडिको गाउँ पञ्चायत हटाई बहुदलीय व्यवस्थाको आगमनसँगै गाउँ विकास समिति, जिल्ला विकास समिति बनाइयो । दलीय भागबन्डाले गाउँमा जन्ती, मलामी, मेला पर्वमा पनि दलीय आधारमा विभाजन सुरु गरियो ।
जसको फलस्वरूप २०५४ सालमा भएको स्थानीय निर्वाचनपछि विगत १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । सर्वदलीय भागबन्डाका आधारमा विकास बजेट भागशान्ति जय नेपाल गर्ने गरिएको छ । अब २०७२ को संविधानमा व्यवस्था भएको नाममा जुन संशोधनको लागि कबुल गरिएको छ । स्थानीय निकायलाई स्थानीय तहमा परिवर्तन गरी गाविसलाई गाउँपालिका, नगरलाई नगरपालिका बनाएर गाउँ, जिल्लाको विगत ५० वर्षदेखि कायम भएको पहिचान मेटाउने कोसिस भएको छ ।
एउटा गाविस सचिवको व्यवस्था गर्न नसकेर गाउँलेहरूले वृद्ध भत्ता मालपोत बुझाउने, सिफारिस लिने जन्मदर्ता, मृत्युदर्ता जस्ता कार्य गर्न नपाएको अवस्थामा गाविसमा ७० देखि १०० जनासम्म कर्मचारी उपलब्ध गराई सिंहदरबारको अधिकार गाउँमा पुर्याउँछु भन्नु हिँड्न नसक्नेले दौडने खोज्नुजस्तै हो ।
अब नेपालमा नयाँ शक्ति र पुरानो शक्ति भनेर झैझगडा, संघर्ष र अन्योलमा समय बिताउने वा नयाँ र पुरानो दुवै शक्तिलाई मिलाएर वर्ग संघर्ष होइन, वर्ग समन्वय गरी सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने र रोज्ने बेला आएको छ ।
नेपालको संविधान २०७२ तीन दलका नेताले सहमतिका आधारमा जारी गरेर पटकपटक संशोधन गरी संविधानको महत्त्व नै कम गराएका छन् । विधिको शासन भएको देशमा संविधान देशको मूल कानुन हो र यसलाई केटाकेटी खेलेजस्तो जतिबेला पनि संशोधन गरिराखिँदैन । संविधान लागू गर्नुभन्दा पहिल्यैै संशोधन गर्ने कबुल गरेर जारी गर्नुभन्दा केही दिन पर्खेर संशोधन गर्ने बुँदा राखेर जारी गरेको भए संविधानमा विश्वास र अपनत्व कायम हुन्थ्यो । अहिले राजनीतिक दलका नेताहरू हामी नै सर्वेसर्वा हौँ र जनताका नाममा हामीले जे गरे पनि हुन्छ भन्ने अहमपना देखा परेको छ । अति भएपछि खती हुन्छ र ढिलोचाँडो सत्यकै विजय हुनेछ ।
अब नेपालमा नयाँ शक्ति र पुरानो शक्ति भनेर झैझगडा, संघर्ष र अन्योलमा समय बिताउने वा नयाँ र पुरानो दुवै शक्तिलाई मिलाएर वर्ग संघर्ष होइन, वर्ग समन्वय गरी सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने र रोज्ने बेला आएको छ । नेपालमा हाल अहोरात्र खटिरहेका विदेशमा उच्च शिक्षा प्राप्त जनशक्ति, सञ्चार, शिक्षा, स्वास्थ्य, जलस्रोत व्यवस्थापनमा विदेशमा उपलब्ध अवसर त्यागेर नेपालमा बसेका छन् ।
तिनीहरूको आत्मविश्वास दृढता र लगनशीलताले नेपालको भविष्यमा आशावादी बनाएको छ । २००७ सालदेखि २०७३ सम्म यो ६६ वर्षको अवधिमा राजाको सक्रिय नेतृत्वमा तीसबर्से निर्दलीय पञ्चायत व्यवस्था र ३६ वर्ष नेपाल सरकार बहुदलीय व्यवस्था चलाएर सबैले काम गर्ने मौका पाएका छन् । एकअर्कालाई आरोप-प्रत्यारोप र अरूलाई होचो बनाएर आफूलाई अग्लो बनाउने निषेधको राजनीति छोडेर अनावश्यक विवादमा नअलमलिई हातेमालो गरेर समृद्ध नेपालको सपना सफल परी विश्वमा नेपालीको उचित पहिचान कायम गर्न सकिनेछ । नेपालको स्वाभिमान यसैमा सुरक्षित छ ।