अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शनः उनी मेरा राष्ट्रपति होइनन्

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शनः उनी मेरा राष्ट्रपति होइनन्

बोस्टनः मिडिया सर्वेक्षण र विश्लेषकहरूको अनुमानविपरीत रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकाका दर्जनौं सहर र विश्वविद्यालयमा उनलाई अस्वीकार गर्दै ठूल्ठूला प्रदर्शन भएका छन् ।

डेमोक्र्याटको गढ म्यासाचुसेट्सको शैक्षिक केन्द्र बोस्टनमा बुधबार बिहानैदेखि विद्यार्थी ट्रम्प विजयको ‘दुःख' मा अँगालो हालेर रोइरहेका थिए । चोकचोकमा उभिएका विद्यार्थी अँगालो हाल्दै डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनको पराजयमा एकअर्काप्रति सहानुभूति व्यक्त गरिरहेका थिए ।

अमेरिकाकै पहिलो सार्वजनिक पार्क मानिने बोस्टन कमनमा बुधबार मध्यरातसम्म हजारौं विद्यार्थी र युवा ट्रम्पविरुद्ध नाराबाजी गरिरहेका थिए । शान्तिपूर्ण नाराबाजी र प्रदर्शनका क्रममा विद्यार्थी यातायातमा बाधा नपुर्‍याउन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन सचेत देखिन्थे ।

डेमोक्र्याटको गढ मानिएको म्यासाचुसेट्सको बोस्टनमा ट्रम्पको विजयलाई अप्रत्यासित भन्दै प्रतिक्रिया व्यक्त गर्नेको संख्या ठूलो थियो । साँझ साढे ६ बजेदेखि जम्मा हुन थालेका प्रदर्शनकारी नाराबाजी गर्दै बोस्टनस्थित गभर्नर कार्यालय स्टेट हाउसतिर अघि बढेका थिए । बोस्टनका विभिन्न भागबाट हजारौं प्रदर्शनकारी नारा लगाउँदै बोस्टन कमनतिर आएका थिए । बोस्टन प्रहरीका अनुसार प्रदर्शनमा चार हजारभन्दा बढी विद्यार्थी र युवा सहभागी थिए ।

मध्यरातसम्म बोस्टन कमनको अँध्यारोमा जम्मा भएका प्रदर्शनकारीले माई बडी माई च्वाइस (मेरो शरीर, मेरो छनोट), हि इज नट माई प्रेसिडेन्ट (उनी मेरा राष्ट्रपति होइनन्), हे, हे, हो, हो, डोनाल्ड ट्रम्प ह्याज टु गो (हे, हे, हो, हो, डोनाल्ड ट्रम्पले जानैपर्छ) भन्दै नारा लगाएका थिए ।

बोस्टनको इमर्सन कलेजमा विद्यार्थीले ट्रम्पको जितलाई अस्वीकार गर्दै आकर्षक प्लेकार्डहरू टाँसेका थिए । इमर्सन कलेजमा ‘राजनीतिक सञ्चार' का विद्यार्थी कायल निलले राष्ट्रपतीय निर्वाचनको अप्रत्यासित नतिजापछि आफू रातभर सुत्न नसकेको बताए । ‘म महिनौंदेखि ट्रम्पले जिते के होला भनेर डराएको थिएँ । हिलारी हारेपछि रातभर सुत्नै सकिनँ । रुँदै बिताएँ', उनले अन्नपूर्णसँग भने, ‘अझ हारपछि हिलारीले दिएको ‘पराजय वक्तव्य' ले मन थाम्नै नसकेर आँसु खस्यो ।'

‘आई एम सरी' भन्दै पराजय वक्तव्य सुरु गरेकी हिलारीले अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पलाई बधाई दिएको र उनीसँग देशबासीले खुला दिमाग र देशको नेतृत्व चाहेको बताएकी थिइन् ।
आँखा रातो पारेका अर्का विद्यार्थी मुकाला काबोङ्गोले पनि ट्रम्प विजयपछि आफू रातभर सुत्न नसकेको बताए ।

‘उनी हिटलरका नयाँ भर्सन हुन्', मुकालाले भने । चिनियाँ मूलकी अमेरिकी विद्यार्थी भिभियन लु पनि ट्रम्पको विजयमा उदास देखिन्थिन् । ‘यो अप्रत्यासित नतिजाले मलाई धेरै दुःख लागेको छ', उनले भनिन् ।

न्युयोर्कमा बुधबार बिहानैदेखि ट्रम्पविरुद्ध प्रदर्शन गर्नेको हूल थियो । न्युयोर्कको ट्रम्प टावरअगाडि ठूलो संख्यामा उभिएका प्रदर्शनकारीले नारा लगाउँदै ट्रम्पविरुद्ध प्रदर्शन गरेका थिए । कतिपय प्रदर्शनकारीले डिफिट फासिज्म (फासिज्मलाई हराऊ) लेखेका प्लेकार्ड बोकेका थिए ।

कतिपयले बिजुलीको पोलमा समेत चढेर प्रदर्शन गरेको न्युयोर्कमा केही प्रदर्शनकारी पक्राउ परेका थिए भने केहीबेर सडक बन्द गर्नुपरेको थियो । सयौं प्रदर्शनकारीले सिकागोको ट्रम्प टावरअगाडि उभिएर आक्रोश प्रदर्शन गरेका थिए ।

अमेरिकाको राजधानी वासिङ्टनडिसीस्थित ट्रम्प होटेलअगाडि जम्मा भएका सयौं प्रदर्शनकारीले नवनिर्वाचित राष्ट्रपतिविरुद्ध चर्का नारा लगाएका थिए । सञ्चारमाध्यमहरूका अनुसार त्यहाँको अमेरिकन विश्वविद्यालयमा समेत विद्यार्थीले ट्रम्पविरुद्ध प्रदर्शन गरेका थिए ।

बोस्टनस्थित युनिभर्सिटी अफ म्यासाचुसेट्समा पनि विद्यार्थीले ट्रम्प मस्ट गो (ट्रम्पले जानैपर्छ) भन्दै नाराबाजी गरेका थिए । क्यालिफोर्नियाको लस एन्जलसमा सयौं प्रदर्शनकारी उनलाई गाली गर्दै प्रदर्शनमा उत्रिएपछि सडकहरू बन्द गर्नुपरेको थियो । सियाटलमा समेत प्रदर्शनका कारण सडक बन्द गर्नुपरेको थियो ।

त्यस्तै क्यालिफोर्नियाको ओक्ल्यान्डमा पनि हजारौं प्रदर्शनकारी सडकमा ओर्लिएका थिए । केही क्षेत्रमा प्रदर्शनकारीले तोडफोड, आगलागी र झ्यालसमेत फुटाएका थिए । अफ्रिकी–अमेरिकी र हिस्प्यानिक्स अमेरिकीको उल्लेख्य बसोबास रहेको क्यालिफोर्नियाको बर्कलीमा समेत ट्रम्पविरुद्ध प्रदर्शन भएको थियो ।

ओरेगनको पोर्टल्यान्डमा पनि प्रदर्शनकारीले बाटो बन्द गराएका थिए । उता पेन्सल्भिनियाको फिलडेल्फियामा समेत विद्यार्थी र युवा ट्रम्पविरुद्ध आक्रोशित हुँदै प्रदर्शनमा ओर्लिएका थिए । फिलडेल्फियाको टेम्पल विश्वविद्यालयमा विद्यार्थीले ट्रम्पविरुद्ध चर्का नारा लगाएका थिए । भर्जिनियाको रिचमन्डमा प्रदर्शनका क्रममा विद्यार्थी पक्राउ परेका थिए ।

टेक्ससको ड्यालसस्थित भिक्ट्री पार्कमा जम्मा भएका प्रदर्शनकारीले ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए । टेक्ससको अस्टिनमा समेत सयौं विद्यार्थी ट्रम्पविरुद्ध प्रदर्शनमा ओर्लिएका थिए । एट्लान्टा, सेन्ट पउल, पिटसबर्गलगायत थुप्रै सहरमा समेत ट्रम्पविरुद्ध प्रदर्शन भएका थिए । अधिकांश ठाउँका प्रदर्शनमा मुख्य नारा थियो, ‘उनी मेरा राष्ट्रपति होइनन् ।'

इमर्सन कलेजका प्राध्यापक ग्रेगोरी पेनका अनुसार ट्रम्पविरुद्धको अप्रत्यासित र देशव्यापी प्रदर्शनले उनीप्रति विद्यार्थी र युवा पुस्ताको आक्रोश प्रतिबिम्बित गरेको छ । ‘ट्रम्प राष्ट्रिय नीति र मुद्दामा कमजोर छन् । अधिकांश युवा उनलाई राष्ट्रपति स्वीकार गर्न चाहँदैनन्', प्राध्यापक पेनले अन्नपूर्णसँग भने, ‘त्यसकै प्रतिबिम्ब हो उनीविरुद्धको यो देशव्यापी प्रदर्शन ।' यसअघि सन् १९६८ मा रिचर्ड निक्सन र सन् १९८० मा रोनाल्ड रेगन राष्ट्रपति चुनिँदा यसैगरी प्रदर्शन भएका थिए । दुवै रिपब्लिकन पार्टीबाट राष्ट्रपति निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.