नेपाल राष्ट्रभन्दा ठूलो प्रधानमन्त्री !

नेपाल राष्ट्रभन्दा ठूलो प्रधानमन्त्री !

कुनै पनि नेपाल र नेपाली जनतालाई माया गर्ने नेपालीको लागि नेपाल राष्ट्रभन्दा ठूलो अरू केही छैन, केही हुँदैन र कोही हुनै सक्तैन । तर प्रधानमन्त्री दाहाल प्रचण्डले आफूलाई राष्ट्रभन्दा ठूलो र प्राथमिकताको व्यक्तित्व ठान्नुभयो । यो केवल भ्रम हो किनकि उहाँको लागि आआफ्ना नवसामन्तशाली, शक्ति, सम्पत्ति, परिवार, दलाल, माफिया, चाकडीदारहरूका लागि भने प्राथमिकतामा पर्नुहुन्छ होला ! नत्र अरू नेपाली जनताका आँखामा होइन । यो कुरा दोस्रो संविधानसभा निर्वाचनमा सिराहा- ५ बाट कसरी निर्वाचित हुनुभयो ? उहाँलाई थाहै छ ।

आज पनि मधेसबाट निर्वाचितका नामबाट मधेसी नेतृत्वको लागि, उनीहरूका मागमा खेल्दै हुनुहुन्छ केही हुन्छ भने गर्नु, कि हुन्न भने नगर्नु वा बीचको मार्गप्रशस्त गर्नु अथवा संवैधानिक तरिकाले व्यवस्थापिकाबाट गर्ने बाटोमा लाग्नु ! केही नगरी नेपाली जनसमाजलाई नै राजनीतिक विवादमा फसाइराखेर, अनावश्यक हल्ला फसाद गराएर, राजनीतिक अस्थिरता सिर्जना गर्ने, आर्थिक व्यवस्था ध्वस्त पार्ने जस्ता क्रियाकलाप राष्ट्रघाती क्रियाकलाप र चरित्र हुन् ।

तसर्थ सबै आवश्यकताको परिपूर्ति संविधानबमोजिम गर्दै जाने शैलीमा ल्याउनुपर्ने, नल्याई यस्ता स्वनिर्मित खेल र क्रियाकलापकै विषयलाई लिएर प्रधानमन्त्रीको भारत भ्रमण भए । त्यस्तै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा देशभर एक दिन सरकारी बिदा गर्नु र भ्रमण अवधिभर यातायात व्यवस्था नै बन्द गरी नेपाली जनताका हातखुट्टा बाँधिराख्नु, भारतीय नेतृत्वको चाकडी गरेको बाहेक अरू के हुन सक्छ ? दासत्वबाहेक अरू के हुन सक्छ ? तर प्रधानमन्त्रीले चाकडी गरे पनि दास बने पनि उहाँको यो व्यक्तिगत क्रियाकलाप हो । नेपाल राष्ट्र (नेपाली जनता) न चाकडी गर्छ, न दासत्व स्वीकार गर्छ । नेपाल र नेपाली जनता नपढेको, यिनको आवश्यकता र मनोभावना नबुझेको नेतृत्वले यस्तै गर्छ । जननजरबाट टाढा फ्याँकिन्छ । त्यो टाढा, अब नेपाली जनताबाट टाढा, काम नलाग्ने गरी धेरै टाढा !

यस कुरालाई उहाँको नेतृत्वका नाममा दस वर्षसम्म चलाएको जनयुद्ध गरिब सर्वहारा वर्ग, श्रमिक वर्ग, शोषितपीडित वर्गको लागि भनिएको थिएन र ? हजारौंहजार युवा, बालबालिका, महिला र पुरुषलाई यही शिक्षादीक्षा दिइएको थिएन र ? तर आज तिनीहरूमध्ये कैयौं मारिएनन् ? सबै जीवित छन् ? जीवितले काम, दाम, माम पाएका छन् ? सबै नेतृत्वमा छन् ? हैन ! नेतृत्वमा बस्ने र त्यसका प्रिय पात्रहरूबाहेक सबै अलपत्रमा हुनुले के पुष्टि गर्छ ?

अर्कोतिर, युद्धकै कारणले हजारौंहजार साधारण नेपाली जनता मारिएनन् ? लाखौंलाख नेपाली महिला बलात्कृत भएनन् र मारिएनन् ? यो सबै त प्रधानमन्त्रीलाई विशेष र बढी जानकारी छ होला ! तर आज प्रधानमन्त्री कहाँ ? कसकहाँ ? कसको मन्त्रणामा ? कसको लागि काम गर्दै हुनुहुन्छ ? वास्तवमा 'प्रचण्ड' नामक प्रधानमन्त्री को हुनुहुन्छ ? कसको प्रतिनिधि ? कहाँ र कुन स्तरको कुन धरातलको व्यक्ति वा व्यक्तित्व मान्छे हुनुहुन्छ ?

एक दिन बानेश्वर चोकमा निकै जोसिलो राष्ट्रवादी भाषण गर्ने व्यक्ति नै अहिलेका प्रधानमन्त्री हुनुहुन्छ ? अथवा युरोमेकान्डियाको ? उहाँको बानी-व्यवहारले ठम्याउनै गाह्रो थियो त्यसबेला त, अहिले भने, नेपाली जनताले युरोप, अमेरिका, इन्डियाको भन्ने चिनिसकेका छन्- नेपाली जनता त परै भए आफ्नै लागि जीउ, ज्यान, रगत बगाएका युवाहरूको लागि विरोधी नेता, अथवा के ?

भारत र प्रधानमन्त्री

भारत नेपालको भूगोल, संस्कृति, परम्परा र सामाजिक सम्बन्ध भएको देश हो । नेपाली जनताले भारतीय जनतालाई यही हैसियतमा महत्त्व दिन्छन् । दिइआएका छन् । भारतलाई सहयोग र सेवा पुराइआएका छन् । एउटै वाक्यमा भन्दा नेपाली जनता (नेपाल राष्ट्र) भारतलाई छिमेकी असल मित्र ठान्छन् । असल मित्रको हैसियतमा सद्भावना, सहयोग, विश्वास तथा सहअस्तित्वको भावना, लगानी र योगदान गरिआएका छन् । यी हदसम्म भारतका समर्थक छन् र समर्पित छन् । भारतबाट पनि यस्तै व्यवहार चाहन्छन् ।

तर भारतले भने, यस्तो व्यवहार कहिल्यै गरेन, गरिआएको छैन । जबजब नेपालले आफ्नो उन्नति र प्रगतितर्फ केही गरिरहेको अवस्था हुन्छ या कमजोर अवस्था भोगिरहेको हुन्छ, त्यसबेला नेपालमाथि आर्थिक नाकाबन्दीसम्म लगाएर त्यो अवस्थालाई अझै ढालिदिन्छ- नेपाललाई अरू कमजोर बनाइदिन्छ । यही भएको थियो- ०२७/२८ मा, ०४५/४६ मा र २०७२ मा । २०७२ को नाकाबन्दी त यस्तो बेलामा लगायो ! नेपाली जनता भयंकर भूकम्पबाट पीडित थिए ।

त्यसबेलाको भारतीय नाकाबन्दी भीरबाट लडेको घाइतेलाई थिचेर मार्नुसरह थियो । अर्थात्, भारतले नेपालीलाई उठ्नै नदिने उसको नीति छ । जसको कारणले मात्र नेपाली जनतामा भारतप्रति गुनासो छ, यसलाई भारतविरोध भावनाको व्याख्या गर्छ यो साँचो होइन र भारतको यस्तो नीति रहेसम्म यो गुनासो रहिरहन्छ ।

यस्तै, नेपाल भारत सीमामा आफूखुसी बाँध, तटबन्धहरू बनाएर वर्षाको बाढी बग्ने प्राकृतिक बहाब रोकी नेपालतिर बाढीको पानी जमाएर, लाखौंलाख बिघा नेपाली भूमि र त्यत्तिकै नेपाली जनतालाई डुबाउने/बगाउने क्रियाकलाप गरिरहेको छ । (आश्चर्य छ- मधेस÷तराईका जनताको प्रतिनिधित्व गर्ने दल र नेताहरूलाई आफ्नो पीडितभूमि र आफ्ना पीडित जनताको अवस्थाले किन छुँदैन ? भारतसँग यो अवस्थाबारे किन केही बोल्दैनन् ? के, कुन कारणले नेतृत्वको मुख बन्द गरेको छ ? ) ।

 

यस्तै भारतले पश्चिम कालापानीदेखि सुस्ता हुँदै कञ्चनजंघा हिमाल काखसम्म नेपाली लाखौंलाख रोपनी र त्यतिकै बिगाहा जग्गा अतिक्रमण गरी नेपाली सार्वभौमिकतामाथि नै आक्रमण गरिरहेको छ । उसको नेपालप्रति यस्तै नीति र सोचअनुसार असमान सन्धिहरू गरे-गराएको छ । नेपालको तराई, मधेसलाई आफ्नो सुरक्षाको रेड एरिया ठान्ने प्रवृत्ति जस्ता दृष्टिदोष र सोच जस्ता व्यवहार नेपालको लागि ठूला समस्या भएका छन् ।

भारतले यी समस्याको समाधान चाहँदैन । बरू अरू बढाएर (लिम्पियाधुराबाट नाका खोल्ने जस्ता) नेपालप्रतिका खेलमा नेपालको अस्तित्वलाई किन्न खोजिरहेको छ । यही उद्देश्यपूर्तिको लागि नेपाल र नेपाली जनसमाजमा आफ्ना षड्यन्त्रका सञ्जालहरूलाई व्यापक पार्दै आएको छ नेपाललाई भारतले दिएका सहयोगहरू-सडक, अस्पताल, ट्रमा सेन्टर, स्कुल छात्रवासका निर्माण सहयोगकै लागि हैनन् बरु गलत हात, नंग्रा बढाउन र स्थापित गर्नको लागि भएका हुन् । नेपालको राजनीति र नेतृत्वलाई चुड्की र पैसाका मुड्कीले सञ्चालन गरिरहेको छ । नेपाली जनता यी सबै समस्याको समाधान गरी भारत नेपालका बीच असल, विश्वासी र सहयोगपूर्ण मित्रतालाई अगाडि बढाउन चाहन्छन् । नेपाली राजनीति, नेतृत्व, प्रधानमन्त्री, सरकारबाट यही अपेक्षा राख्छन् । यही अपेक्षा थियो प्रधानमन्त्री दाहाल प्रचण्डमा पनि ।

तर प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको बेला त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक, उच्चस्तरीय नेतृत्व, शासकीय संयन्त्र प्रमुखहरूसमेतलाई भेट्नुभयो । पच्चीसबुँदे सम्झौता गर्नुभयो । त्यसमा भएका विभिन्न पक्षमध्ये नेपालको कूटनीति, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मामिलामा समेत असर पर्ने खालका बुँदाप्रति एक स्वतन्त्र सार्वभौमसत्तासम्पन्न देश नेपालका असंलग्न परराष्ट्र नीति अपनाइआएका नेपाली जनताले चित्त बुझाउने कुरै भएन । स्वतन्त्र स्वाभिमानी असंलग्न जनतालाई चोट लाग्यो ।

यस्तै नेपाली भूमिमाथिका बाढी, डुबान बगान, असमान सन्धि/सम्झौता आर्थिक नाकाबन्दी आदि नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई धक्का पुर्‌याइरहेका समस्याका विषयमा कुरा उठाउने र छलफल गरी हटाउने, मिलाउने कुनै काम नगर्नुभएकाले प्रधानमन्त्री प्रचण्ड देशकै प्रतिनिधित्व गरी त्यत्रो र त्यस्तो स्तरमा भारत भ्रमणमा किन जानुपरेको ?

यसले के देखाउँछ भने, प्रधानमन्त्री नेपाली सत्तामा टिक्न, भोलि पनि चुनाव जित्न, पुनः सत्ता प्राप्त गरी अरू अगाडि बढेर नेपाललाई भारतीय सहयोगमा बाहेक डेग चल्न नसक्ने हैसियतमा झार्न, भारतको उछालपछार पथप्रदर्शन, दासत्व र व्यक्तिगत विश्वास नवीकरण गर्न मात्र भारत भ्रमणमा गएको हुनुपर्छ, त्यही गरेर आएको हुनुपर्छ, जो सार्वभौम स्वतन्त्र नेपाल र नेपालीलाई पाच्य छैन ।

फेरि, प्रधानमन्त्रीको भारत गोवामा भएको भ्रमण पनि भारतको लागि उल्लेखनीय रह्यो भने नेपाल र नेपालीका लागि दुःखदायी ! किनभने भारतीय प्रधानमन्त्री चीनको भ्रमणमा गएको बेला चीन र भारतबीच नेपालीभूमि लिम्पियाधुरा नेपालको भन्ज्याङबाट व्यापारिक नाका खोल्ने भनी सम्झौता गरेका छन् । लिम्पियाधुरा नेपालको एकलौटी भूमि हो । नेपालको स्वीकृति र सहमतिविना दुई देश मिलेर नाका खोल्ने कदम चाल्नु नेपालको सार्वभौमिकताको बेवास्ता गर्नु हो । त्यसलाई नेपाली जनताले स्वीकार गर्न सकेका छैनन्÷सक्दैनन् ।

प्रधानमन्त्रीले गोवामा चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्री दुवैलाई एकै ठाउँमा भेट्दा यसबारे किन कुरा उठाउनुभएन ? जब चीन भारत दुई देशले नेपालको सहमतिविना नेपाली भूमि अतिक्रमण गर्छन् भने दुवै त्यस कार्यका कारणी छन्- दुवैसँग सँगै भेट भएको बेला तत्सम्बन्धी कुरा नउठाउनु प्रधानमन्त्रीको नेपाल भूमि र सार्वभौमिकताप्रति वफादारी, इमानदारी वा नियत के हो ? नेपाली जनताको मुटु चिरिएको छ भने प्रधानमन्त्री आफैंले आँखा चिम्लेर सोच्दा के कस्तो देख्नुहुन्छ वा यस्ता कार्य राष्ट्रको लागि गर्नुपर्नेमा नगर्नु उहाँलाई के बाध्यता थियो ? अक्कल गुम हुनुभएको थियो ?

चीनप्रति प्रधानमन्त्री

उहाँलाई र उहाँका वर्गलाई थाहै होला ! (१) उहाँ प्रधानमन्त्री भएपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण अघोषित रूपमा स्थगित भएको त हो ? (२) चीन र नेपालबीच भएका सबभन्दा पछिल्ला (व्यापार पारवहनसमेतका) सन्धि-सम्झौताहरूको कार्यान्वयनतिर नेपालले चासो नलिएको पनि त हो ? (३) स्पष्टरूपमा चीनलाई पर र भारतलाई वर गरी भारत र चीनबीच बराबरीको सम्बन्ध (कार्यान्वयनमा भारतसँग बढी छ) मा असर पर्ने गरी भारतको फाँदमा आफूलाई बिसाउन गएको पनि हो ? (४) यस्तो क्रियाकलापबाट प्रधानमन्त्रीले नेपाल र नेपाली जनताका लागि के प्राप्त गर्नुभयो ? (५) नेपाल सानो छ !

भारत र चीन शक्तिशाली छन् । उनीहरूबीच आफ्नै सम्बन्ध र व्यवहार छन् । भारत शक्ति राष्ट्र हुनाले अमेरिका, युरोप तथा मुस्लिम देशहरू एवं दक्षिण एसियाका देशहरूसँग पनि विभिन्न खेल खेल्छन् । नेपाललाई कसैसँग त्यस्तो खेल खेल्नु छैन । एक असंलग्न राष्ट्रको कूटनीति र परराष्ट्र नीतिअनुकूल छिमेकीसमेत सबै राष्ट्रहरूसँग सुसम्बन्ध कायम राखी आफ्नो अस्तित्व र उन्नतिको लागि काम गर्नु छ । शान्तिपूर्ण ढंगले विश्व-मानव जातिको शान्तिको लागि योगदान पुर्‌याउनु छ । यसतिर प्रधानमन्त्रीले जानकारी र ध्यान राखेर भारतसँग व्यवहार गरेको देखिएन र नेपाल राष्ट्रको नाममा नेपाल राष्ट्रलाई नै आफू वा अझैमाथि सम्झेर, भारतबाट आफ्नो व्यक्तिगत लाभहानि विचारेर काम गर्नुभयो, जसले नेपाल र नेपालीको पहिचान उठाउने काम गरेन, जुन दुःखको कुरा हो ।

भारत र पूर्वप्रधानमन्त्री

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री देउवाको पार्टी नेपाली कांग्रेस नेपाल सरकारमा सम्मिलित हुनाले सरकारको तर्फबाट गरिने र गरेका कामहरूको जस, अपजस अध्यक्षले पनि लिनुपर्ने हुन्छ । माथि विभिन्न प्रकरणहरूमा उल्लेख भएझैं नेपाल र नेपाली जनतामा प्रधानमन्त्री प्रचण्डबाट भारतसँग भए गरेका व्यवहार र सम्झौता, सहमतिहरूले उहाँसँग सम्बन्ध राख्छन् तापनि प्रधानमन्त्री भएका कारणले नेपाल र नेपाली जनतालाई असर पारेका छन् । सरकारमा सहभागीका नाताले पूर्व प्रधानमन्त्रीले उहाँको पार्टीले पनि यी असरहरू भोग्नुपर्ने हुन्छ । सहभागी नेतृत्व 'सञ्च' परेर बस्नुको अर्थ राष्ट्रविरोधी क्रियाकलाप गर्न प्रधानमन्त्रीलाई समर्थन गरेको होइन र ?

वर्तमान र पूर्वप्रधानमन्त्रीहरूलाई सह्य छ भने भारतीय खेलबाट नेपाली सत्तामा आफू सुरक्षित रहने मानसिकता हो । देश र जनविरुद्ध चल्नु हो । देशको सेवा, संरक्षण, उपयोग र मालिकत्व सबै नेपाली जनताको हो । भारत र भारतीय दलाल दासहरूको मात्र होइन ।

हुन त, अमेरिका, अमेरिकी राजदूत जुलिया चाङ, महाकाली बहुउद्देश्यीय आयोजनालाई भारतको ठूलो हित र नेपालको लागि सानो हितमा पनि संसद्बाट दुईतिहाई बहुमतले पारित गराई भारतलाई सुम्पने कार्य, सांसदहरूलाई लुकाउने, घुम्न बैंककसम्म पठाउने र उनीहरूलाई तीन 'र' उपलब्ध गराउने, माओवादी विद्रोहकालमा नेतृत्वका टाउकाको मूल्य तोक्ने, सरकारी बलको बढी प्रयोग गरेर नेपाली जनताको बढी हत्या, बलात्कारका घटना गराउने जस्ता काम गर्ने गरेका पूर्व प्रधानमन्त्रीले समष्टि रूपमा नेपाल र नेपालीको हित गर्नुहुन्छ भन्ने कुरा त हुँदै होइन । तब त, उहाँले भारतकै सल्लाहमा टाउको काट्ने र कटाइ माग्नेका बीच (स्वार्थ मिलेकाले) सम्झौता गरी वर्तमान नेपाल सरकार बन्न गएको हो ।

आफ्नो भावी पदप्रतिष्ठाको संरक्षण र प्राप्तिको लागि भारतको अनुयायी र दास बन्नुभएको छ । संसद्मा ठूलो पार्टी नेपाली कांग्रेसको अध्यक्षजस्तो हैसियतका व्यक्तिले भारतमा तिब्बती भगौडाहरूको सरकार प्रमुखसँग बस्ने वरिष्ठ वक्ताको रूपमा अभिव्यक्ति दिने क्रिया सुहाउने र स्वाभाविक होइनन् । प्रश्न उठ्छ- के यी क्रियाकलाप नेपालको असंलग्न परराष्ट्रनीतिअनुकूल छन् ? नेपाल चीन र भारतमध्ये एउटाको मात्र फाँदमा पर्न सक्छ ?

नेपाली जनतालाई यस्तो व्यवहार पाच्य हुन्छ ? पूर्व प्रधानमन्त्रीलाई नेपाली जनताले सम्मान, सल्लाह र भोट दिएको यस्तै क्रियाकलाप गर्नको लागि हो ? भारतीय खेल खेल्नको लागि हो ? कैलाली टीकापुर घटना दुःखदायी थिएन ? देशलाई अस्थिरता र भारतनिर्मित दलदलमा फसाइराख्नु पूर्व प्रधानमन्त्रीको सन्तुष्टि हो ? यसैको लागि यो संयुक्त सरकार हो ? तर जनताका लागि प्रिय व्यवहार होइन । राजनीतिक नेतृत्वलाई देश र जनता सबैभन्दा ठूलो कुरा हो । जननेतृत्व गर्न चाहनेले जनविरोधी क्रियाकलाप गरेर जनतालाई चिढाइराख्न हुँदैन । पूर्व प्रधानमन्त्रीभन्दा नेपाल र नेपाली राष्ट्र ठूलो हो । प्राणभन्दा प्रिय हो ।

अन्त्यमा

आज नेपाल र नेपाली जनताको जीवन कष्टपूर्ण र संकटग्रस्त छ । भित्र भ्रष्टाचार, तस्करी, माफियागिरी, गैरराष्ट्रवादी, गैरजनवादी शक्तिहरूको लाभको लागि शासन सत्ता चलिरहेको छ । सत्तामा, राजनीतिमा, नेतृत्वमा नेपाली जनसमाजमा भारतीय हस्तक्षेपकारी सञ्जाल व्यापक छ । सत्ता गठन, विघटन, उच्चस्तरका सरकारी संवैधानिक निकायहरूमा नियुक्ति, पदमुक्ति, थमौतीमा पनि उसको हस्तक्षेप छ ।

ठूला-ठूला योजनाहरूसम्बन्धी निर्णयहरूमा, ठेक्कापट्टा आदिमा उसको हस्तक्षेप छ । सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश नेपाललाई यो सह्य कुरा होइन । वर्तमान र पूर्वप्रधानमन्त्रीहरूलाई सह्य छ भने भारतीय खेलबाट नेपाली सत्तामा आफू सुरक्षित रहने मानसिकता हो । देश र जनविरुद्ध चल्नु हो । गलत हो, यसको आयु लामो हुँदैन । कुरा त नेपाल नेपाली जनताको हो । यसको सेवा, संरक्षण, उपयोग र मालिकत्व सबै नेपाली जनताको हो । भारत र भारतीय दलाल दासहरूको मात्र होइन ।

यो सत्यलाई पढेर, बुझेर भारतसँग भारतका कारण नेपाल र नेपालीले भोगिराखेका सबै समस्याको समाधान गर्नुपर्छ । आफ्नो सुरक्षा र उन्नतिको लागि स्वतन्त्र ढंगले अगाडि बढ्नु वर्तमान र पूर्व प्रधानमन्त्रीहरूको कर्तव्य हो । नेपाल र नेपाली जनताले यतातिर ध्यान आकर्षण गराइरहेका छन् ।

अहिलेसम्म चीनले नेपालको कुभलो चाहेको छैन । कमजोर भएको वा कुनै कारणले अप्ठ्यारोमा परेको बेला सधैं मद्दत गरेको छ- नेपाली जनताको आर्थिक स्थिति उठाउनकै लागि छाला जुत्ता, कारखाना, इँटा टायल कारखाना, कपडा कारखाना, भृकुटी कागज कारखाना, सुगर मिलहरू आदि बनाई चलाइदिएको थियो यी सबैलाई बिक्री गरेर कसलाई सन्तुष्ट गराइयो ? कसलाई अतिसम्पन्न गराइयो ? किन ? नेपाली कांग्रेसले अनुसन्धान र समीक्षा गरी अध्ययन गर्ने हो भने कांग्रेसभित्र रहेका देशभक्त युवालाई प्रोत्साहन हुने हुन्छ । भारतीय नाकाबन्दीकै बेलामा पनि चीनले गरेको पेट्रोलियम पदार्थलगायतका सहयोग उल्लेखनीय रहेका थिए ।

अहिले चीनमाथि अमेरिकी, युरोपेली देशहरूले सुदृष्टि नराखेको अवस्था छ । यिनीहरूले ताइवान तथा तिब्बत चीनबाट स्वतन्त्र हुनुपर्छ भन्ने चाहना राख्छन् । तिब्बतमाथि हुने क्रियाकलाप भारतको माध्यमबाट, नेपालको भूमिमार्फत हवस् भन्ने पनि चाहन्छन् । तर हामी नेपालको भूमि, प्राकृतिक, मानवीय सम्पत्ति, शक्ति, केही पनि कुनै पनि मित्रदेशहरूको विरुद्धमा उपयोग र प्रयोग हुन दिन्नौँ । चीनविरुद्ध उपयोग र प्रयोग हुन दिन्नौँ- ताइवान, तिब्बत दुवै चीनको भूमि हो । चीन एक चीन छ । दुई चीन छैन । यो नेपाल राष्ट्रको दृढ र अपरिवर्तनीय स्थायी नीति र जनमानसिकताविपरीत शंका हुने खालले सहभागी हुने, वक्ता हुने जस्ता क्रियाकलाप नेपाल राष्ट्रअनुकूलका क्रियाकलाप होइनन् ।

तसर्थ, वर्तमान र पूर्व प्रधानमन्त्रीहरू ! राजनीति, नेतृत्वहरूले सर्वप्रथम नेपाल राष्ट्रको सार्वभौमिक स्वतन्त्रता र राष्ट्र तथा राष्ट्रिय एकताको संरक्षण गर्दै माथि उल्लिखित समस्याबाट मुक्त भएर, भारत र चीन दुवै देशको सही मित्र रहेर, त्यस्तै मित्रता प्राप्त गरेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपाल र नेपाली जनताको आवश्यकता, मानसिकता, सेवा, उन्नति, प्रगति, परिवर्तन र आन्तरिक तथा विश्व शान्तिको लागि कार्यान्वयन गर्ने/गराउने जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ ।

यस्तो राजनीति नै नेपाली जनताको राजनीति- 'नेपालवाद' हुनेछ । यस्तो जिम्मेवारी बहन गर्ने नेतृत्व वा प्रधानमन्त्री नै नेपाल राष्ट्रवादी र जनराजनीति गर्ने लोकतान्त्रिक गणतन्त्रका हिमायती आदरणीय नेतृत्व हुन्छ । यस जिम्मेवारीविपरीत जाने वर्तमान वा पूर्वप्रधानमन्त्री अथवा यस्तै जोसुकै भए पनि नेपाल राष्ट्रभन्दा ठूलो होइन र छैन । राजनीतिमा सत्य कुरा यही हो । सबैले बुझ्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.