लाओससँग भिड्दै नेपाल
काठमाडौंः एसियाली फुटबल महासंघ (एएफसी) सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा शनिबार नेपालले तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी लाओसको सामना गर्दैछ । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यसअघिको प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को र्याङ्किङका आधारमा लाओस नेपालका लागि कमजोर प्रतिद्वन्द्वी हैन । फिफा र्याङकिङमा लाओस नेपाल भन्दा माथिको टोली हो ।
नेपाल एक सय ८६ औं स्थानमा छ भने लाओस ११ स्थान माथि एक सय ७५औं स्थानमा छ । साथै नेपालका लागि लाओस लगभग नयाँ प्रतिद्वन्द्वी भन्दा हुन्छ । नेपालले हालसम्म लाओससँग एक पटकमात्र प्रतिस्पर्धा गरेको छ । गत २९ मेमा उसकै मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले एकएक गोलको बराबरी खेलेको थियो ।
त्यसैले शनिबारको खेलमा जित हात पार्न नेपाललाई बढी नै मेहनत गर्नुपर्नेछ । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी भने लाओससँगको प्रतिस्पर्धाका लागि आफ्नो टोली तयार रहेको बताउँछन् । उपाधिबाट मात्र दुई खेल टाढा रहेकाले पनि आफ्नो खेलाडीले लाओसविरुद्ध सशक्त प्रदर्शन गर्नेमा विश्वस्त छन् ।
यद्यपि उनले लाओसलाई आफ्नो टोलीले कमजोर टोलीका रूपमा नलिएको समेत बताए । ‘हामीले केही महिनाअघि लाओसमा खेलेका थियौं । नतिजा बराबरीको थियो', प्रशिक्षक कोजीले भने, ‘यसपटक हामी दुवै विदेशी भूमिमा छौं । प्रतिस्पर्धाका लागि मेरा खेलाडी पूर्ण तयार छन् । हामी उपाधिबाट मात्र दुई जित टाढा छौं । त्यसैले उपाधिकै लागि प्रतिस्पर्धा गर्न मेरा खेलाडी तयार छन् । लाओसविरुद्धको प्रतिस्पर्धा सहज नहुनेमा पनि हामी सचेत छौं ।'
नेपाल तीन टोलीमात्रै सहभागी रहेको समूह ‘ए'बाट विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको टोली हो । त्यस क्रममा नेपालले टिमोर लिस्टेसँग गोलरहित बराबरी खेल्यो भने ब्रुनाईलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । लाओस भने चार टोली रहेको समूह ‘बी'को उपविजेता टोली हो । श्रीलंकालाई २-० तथा मंगोलियालाई ३-० गोलअन्तरले पराजित गरेको लाओस मकाओसँग भने ४-१ गोलअन्तरले पराजित भएको थियो ।
नेपाली प्रशिक्षक कोजीले नेपालले उपाधिकै लागि दाबेदारी प्रस्तुत गरेको बताएका छन् । ब्रुनाईविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले त्यही शैलीको आफ्नो आक्रामक खेल जारी राखे कोजीको योजना मुस्किल पनि छैन । ब्रुनाईविरुद्ध नेपाली स्ट्राइकर लयमा देखिएका थिए । पहिलो रोजाइमा मैदानमा उतारिएका तीमध्ये नवयुग श्रेष्ठ, विमल घर्तीमगर र भरत खवास तीनैले ब्रुनाईविरुद्ध आकर्षक गोल गरेका थिए । ‘ब्रुनाईविरुद्ध हाम्रा स्ट्राइकरले उत्कृष्ट प्रदर्शन दिए । आगामी खेलमा पनि त्यस्तै खेल अपेक्षा गरेको छु', प्रशिक्षक कोजी भन्छन्, ‘डिफेन्स र मिडफिल्डसहित स्ट्राइकर चलेको अवस्थामा हामी उपाधि नै जित्नेछौं ।'
सेमिफाइनल प्रतिस्पर्धाअघि नेपाललाई एक दिन बढी आराम गर्ने अवसर मिलेको छ । नेपालले गत बुधबार ब्रुनाईसँग प्रतिस्पर्धा गरेको थियो भने लाओसले बिहीबार मंगोलियासँग प्रतिस्पर्धा गरेको थियो । लाओसका प्रशिक्षक भालाकोन फोमफाक्डीले पनि नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
उनले दुवै टोलीको स्तर उस्तै भएकाले नतिजा अनुमान गर्न मुस्किल रहेकोसमेत बताए । ‘केही महिनाअघिको प्रतिस्पर्धामा समेत हामी उस्तै थियौं । अहिले पनि टोलीको स्तरमा खासै परिवर्तन आएको छैन', प्रशिक्षक भालाकोनले भने, ‘तर हामी जितकै लागि खेल्छौं ।'