पढ्ने उमेरमा जेलमा बस्न बाध्य छन् बालबालिका
रोल्पा: जिल्ला कारागार शाखा रोल्पामा चार नाबालक आमासँगै कैदी झैँ जेल जीवन बिताउन बाध्य रहेका छन् ।
विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका चार महिला कैदीले आफ्ना ती नाबालकलाई कारागारमा आफूसँगै राख्न बाध्य भएका छन् ।
यसरी कारागारमा कैद जीवन बिताउने बालबालिकामा रुकुमकी मीरा विक, रोल्पा इरिवाङका हुकुम पुन, थवाङका शक्तिमान पुन र थवाङकै आशा परियार रहेको कैदी हुकुम बुढाले बताए। छोरी पढाउन दाङ कारगारमा सरुवा मागेको भए पनि रोल्पा सरुवा गरेका कारण छोरीको भविष्य अन्धकार भएकामा दुखेसो पोखिन् रुकुम घर भएकी कैदी लगन विकले ।
आमा अपराधमा संलग्न भएपछि बालबालिकाको घरमा रेखदेख गर्ने मान्छे नहुँदा उनीहरु जेलमा बस्न बाध्य हुँदै आएको बताइन्छ ।
पाँच वर्षमुनिका यी बालबालिका शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताए। रासस