संविधान कार्यान्वयनको विषय संशोधनसँग जोड्नु हुन्न : ओली
दमक: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताएका छन्।
झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताए। उनले भने,'विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहुँदैन, अबको समय भनेको विकास र संमृद्धिको हो।'
उनले मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैं रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए। उनले भने,'संविधान कार्यान्वयन गर्न स्थानीय तहसँगै तीनवटै निर्वाचन गर्न लाग्नुपर्छ।' सरकारले संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित नभएको अध्यक्ष ओलीको भनाइ थियो।
उनले भने,'अब संविधान कार्यान्वयनका लागि जति छिटो निर्वाचन गराउन सरकारले वातावरण निर्माण गराउनुपर्छ।' अबको स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनताको कामलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो।
रासस