भारतीय स्थल सेनाध्यक्ष दलवीरले गरे पशुपतिमा विशेष पूजा
काठमाडौं: नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन्।
सेनाध्यक्ष सिंहले परिसरका अन्य देवीदेवताको दर्शन गरी वासुकीमा दुग्धाभिषेक र पशुपतिनाथमा रुद्राभिषेक गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।
मन्दिरका मूलभट्ट गणेश भट्टले सेनाध्यक्ष सिंहलाई रुद्राभिषेक गराई फूलप्रसाद लगाइदिएका थिए। भारतीय गोरखा सेनासँग नजिक भएर काम गरेकाले पशुपतिमा पूजा एवम् दर्शनका क्रममा उनले नेपाली भाषामा कुराकानी गरेका थियो ।
एक घन्टा ५ मिनेट पशुपतिनाथमा विधिवत् पूजा गरेर ६४ लिङ्ग परिक्रमा गरी उनी बाहिरिए। कोषको आगन्तुक पुस्तिकामा स्थल सेनाध्यक्ष सिंहले पशुपतिको पूजा र दर्शन गर्न पाएकोमा खुसी व्यक्त गर्दै ऐतिहासिक, पुरातात्विक, पौराणिक र धार्मिक महत्व बोकेको पशुपतिनाथ मन्दिरको संरक्षण एवम् संवद्र्धन गरिनुपर्ने बताए।
नेपाल भ्रमणमा आउने भारतीय अधिकारीले द्वादश ज्योतिर्लिङ्गको शिर पशुपतिनाथ मन्दिरमा आई पूजा र दर्शन गर्न रुचि राख्छन्। भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणको अवसर पारेर कात्तिक १८ गते मन्दिरमा सवा लाख दीप प्रज्वलन सहित विशेष पञ्चामृत पूजा गरेका थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं २०७१ साउन १९ गते विशेष पूजा गरेका थियो।
स्थल सेनाध्यक्ष सिंह नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा तीनदिने भ्रमणमा शुक्रबार नेपाल आएका हुन्। रासस