ट्रम्प, मोदी र नेपाल
औषधोपचारको लागि पंक्तिकार गएको थियो, भारु पाँच सयका तीनवटा नोट थिए, साट्न खोज्दा कतै साटिएन । प्राइभेट अस्पतालमामा पनि ठूलो नोट नचल्ने रहेछ । औषधोपचारको लागि लखनउ गएका अन्य नेपालीको पनि समस्या त्यही थियो । बैंकमा जाँदा नेपाली परिचयपत्रलाई मान्यता दिएन । बाहिर कम्तीमा हजारमा दुई सय रुपैयाँ कमिसन दिएपछि ठूला नोट साटिने रहेछ ।
यस्तै एकजना नेपाली पसलमा सामान किनेर ठूला नोट दिन खोज्दा पसलेले लिन मानेनन् । उनले आफ्नो बाध्यता देखाउँदा पनि उनको मन पग्लेन, पछि उनले भने हाम्रो नेपालमा त ठूला नोट सजिलै चल्छ । उनको यो कुरा सुनेर पसलेले भन्यो—अब हम लोग भी नेपाल जायेंगे । अपना व्यापार उधर हीं करेंगे । अब तो नेपाल भी इन्डिया बन जानेवाला है ।
उसको भनाइले मेरो मनमा नराम्ररी बिझ्यो । उससँग तर्क गर्न खोजिनँ । मैले आफूसँग भएको पाँच सयका नोट एउटा चिनेको पसलेसँग करकापले साटें ।
घर फर्केर समाचारमा आँखा दगुराएँ । त्यो भारतीय पसलेको भविष्यवाणीलाई सम्झें । कतै उसले सोचीविचारी त भनेको थिएन ? दाहाल सरकारले फेरि २५ लाख भारतीयलाई टोली गठन गरेर नागरिकता बाँड्ने तयारी गरिरहेको खबरले भारतीय पसलेको भविष्यवाणीलाई सत्यको निकट पुर्याएको पाएँ ।
०६३ सालमा धेरै भारतीयलाई नेपाली नागरिकता बाँडेर पुगेको रहेनछ । भारतमा विलय गर्न सायद अझै धेरैलाई नागरिकता दिएर त्यो अभीष्ट पूरा गर्न दाहाल सरकार चाहन्छ । संविधान संशोधनको तयारीमा पनि नेपाललाई भारतमा विलय गराउने उद्देश्यले नै गरिएको अब कुनै प्रमाण खोज्नुपर्ने अवस्था छैन । ०६२/६३ को परिवर्तन नेपाली जनताले के नेपाललाई भारतमा विलय गराउन चाहेका थिए ?
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयले नरेन्द्र मोदी र पूरै भाजपाई जति उत्साहित भएका छन्, त्यति नै साधारण भारतीयहरू पनि भएका छन् । उनीहरूमा एउटा विश्वास जागेको छ । ट्रम्पको विजयले पाकिस्तान कमजोर हुनुका साथै चीनविरोधी गतिविधि बढ्नेछ र भारतको दादागिरी दक्षिण एसियायी मुलुकमा चल्नेछ ।
ट्रम्प मोदीका प्रशंसक हुन् र उनी हिन्दु धर्मलाई विश्वकै उत्कृष्ट धर्म मान्दछन् । हिन्दु धर्म र मोदीप्रतिको ट्रम्पको मायाले भारत सरकार मात्र होइन, विस्तारवादी मनोविज्ञान भएका भारतीयमा खुसी छाएको छ ।
भारतीय अभीष्ट पूरा गर्न ओली सरकार ढालेर दाहाल नेतृत्वको माओ कांग्रेस सरकार भारतले बनाइदिएकोमा अब कुनै नेपाली दुईमत छैनन् । राष्ट्रियताको सन्दर्भमा एमालेको चरित्र पनि स्थिर छैन । आफ्नो अनुकूल हुने गरी संविधान संशोधन हुन दिन ऊ वाधक बन्ने छैन । नागरिकताको मुद्दामा पनि उसले आफ्नो चुनावी नाफा–नोक्सान हेरेर आलोचनासम्म गर्न सक्छ । विरोधमा आउने सम्भावना कमै छ । संसद् बाहिरका दलहरू नारामा मात्र सीमित छन्, राष्ट्रियताको रक्षाको सन्दर्भमा क्रान्तिकारी भाषणबाहेक कार्यान्वयन पक्ष शून्य छ ।
संविधानमा उल्लिखित खाद्य सम्प्रभुताको माग राखेर बन्द गर्नु ठीक-बेठीक जे भए पनि यो बेमौसमको राग हो । खाद्य सम्प्रभुताको प्रत्याभूति आवश्यक हो । सिक्किम र गोवाका जनताले भारतको अरू प्रान्तको जनताभन्दा बढी सुविधा पाएका छन् । भारतको अरू प्रान्त हेरी त्यहाँका जनताको जीवन स्तर उन्नत नै छ । के त्यो भन्दा उनीहरूले स्वतन्त्र र सार्वभौम जनता हुने अधिकार पाए ? कश्मिरी जनता कश्मीर भारतमा विलय भएको आज ६८ वर्ष हुँदा पनि स्वतन्त्रताको लागि संघर्षरत छन् । के पाइरहेका छन् तिनीहरूले ?
लाखजति त सेना र प्रहरीको गोली खाएर सहिद भइसकेका छन्, हजारौं कश्मिरी कानुनी रूपमा प्रतिबन्धित प्यालेट गनको गोली खाएर अपांग भइरहेका छन् । यो क्रम जारी छ ।
भारतीय सर्तअनुसार संविधान संशोधन र पुनः नागरिकताको भण्डारा लगाएर नेपाललाई सिक्किमीकरण गरेर सिक्किम र गोवाको जनता जस्तो खाद्य सम्प्रभुता र विकासमा नेपाली जनताले सन्तोष गर्ने कि कश्मिरी जनता झैं स्वतन्त्रताको लडाइँ गर्दै भारतीय फौजको गोली खाँदै सहिद हुने तथा प्यालेट गनको गोली खाएर अपांग हुने नियति रोज्ने ? बेलैमा नेपाली जनता माओ कांग्रेस सरकारविरुद्ध र उसले गर्न लागेको संविधान संशोधन र नागरिकताको भण्डाराविरुद्ध कडारूपमा आन्दोलित हुन आवश्यक छ ।
ट्रम्पको विजयले मोदी सरकार उत्साहित भएको छ । ऊ अब दक्षिण एसियाको एकछत्र सम्राट् बन्ने सपना देखिरहेको छ । विश्वमा फेरि फाँसीवादको उदय भएको छ । अमेरिकी जनताले ट्रम्पलाई विजय गराए पनि उनलाई आफ्नो राष्ट्रपतिको रूपमा स्वीकार गर्न सकेका छैनन् । सडकमा ट्रम्प हाम्रो राष्ट्रपति होइन भन्ने प्लेकार्ड बोकेर सडकमा निस्कन सुरु गरेका छन् । ट्रम्पको जित अमेरिकी लोकतन्त्रको उपहाससिवाय केही होइन ।
अलकायदा संगठनले ट्रम्पको विजयमा खुसी व्यक्त गर्दै आफ्नो वेबसाइटमा लेखेको छ, 'अब हामीले अमेरिकालाई बर्बाद गर्न धेरै केही गर्नुपर्ने छैन, किनकि यो काम अर्बपति बिजनेसम्यान ट्रम्प आफैंले गर्नेछन् । सेम्टेम्बर ११ मा अमेरिकाले अलकायदाको हतबाट विनाश भोग्नुपर्यो, अब नोभेम्बर ९ मा अमेरिकी जनताले स्वयं आफ्नो विनाश आफैं रोजेका छन् ।'
अहिलेको प्रमुख मुद्दा खाद्य सम्प्रभुता र कालापानी होइन कि सिंगो नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाको कडा आन्दोलनको आवश्यकता छ ।
ट्रम्पको जितमा पुटिन, खुसी हुनु र पुटिन, मोदी र ट्रम्पको त्रिभूजले फासीवादलाई मलजल दिनेछ । फाँसीवादले कमजोर मुलुकको स्वतन्त्रता हरण गर्नेछ । विश्व दुई ध्रुवमा बाँडिन बाध्य हुनेछन् । चीनलाई एक्लो पार्ने मोदी र ट्रम्पको घोषित लक्ष्यले नेपाल चेपुवामा पर्नेछ ।
फाँसीवादउन्मुख विश्वको वर्तमान अवस्थाबाट नेपाल अछुतो रहन सक्दैन । भारत स्वतन्त्र भएदेखि नै सरदार बल्लभ भाइ पटेलको नेपाललाई भारतमा गाभ्ने लक्ष्यलाई त्यही गुजरातका नरेन्द्र मोदीले कार्यान्वयन गर्नेतर्फ चालेको षड्यन्त्रको उपज हो वर्तमान माओ-कांग्रेस सरकार । संविधान संशोधन र टोली बनाई देशभरि विशेषगरी तराईका गाउँगाउँमा गएर नागरिकता प्रमाणपत्र वितरण गर्ने सरकारको योजना कार्यान्वयन हुनबाट रोक्न सक्नुपर्छ देशभक्त नागरिकले ।
अहिलेको प्रमुख मुद्दा खाद्य सम्प्रभुता र कालापानी होइन कि सिंगो नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाको कडा आन्दोलनको आवश्यकता छ । नेपाल बन्द र भारतीय दूतावासमा ज्ञापनपत्र दिँदैमा नेपाललाई सिक्किमीकरण हुनबाट रोक्न सकिँदैन । संसद्भित्र र बाहिरका राष्ट्रवादी शक्तिहरू राष्ट्रियताको सवालमा एक ठाउँमा आएर मोर्चाबन्दी गर्दै आन्दोलनमा जानुको विकल्प छैन ।
दूरदर्शी तथा राष्ट्रवादी राजा महेन्द्रले भनेका थिए- बहुदलीय व्यवस्था नेपालको लागि अफाप हो । यो ०४६ सालदेखि अहिलेसम्मको अवस्थाले उनको भनाइलाई सिद्ध गरिसकेको छ । नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र, गणतन्त्रको नाममा जनगण मन तन्त्र रहिरहने हो भने कुनै दिन हामीले एका समयमा नेपाल भन्ने स्वतन्त्र र सार्वभौम देश थियो भनेर भन्नुपर्ने हुन्छ, जस्तै सिक्किमीहरूले भन्ने गर्छन् ।
अर्को विकल्पको रूपमा सेनाले सत्ता आफ्नो हातमा लिएर नेपाललाई जोगाउने । सेनाभित्रै रअ र सीआईएको एजेन्ट भएको आरोप लागिसकेकाले सेनाबाट नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा हुनेछ भन्ने विश्वास गर्ने अवस्था छैन । तैपनि एउटा विकल्पको रूपमा लिन सकिन्छ । सेनाले सत्ता लिएर नेपालमा स्थिरता कायम गरिसकेपछि राजालाई सत्ता हस्तान्तरण गर्ने विकल्पको रूपमा लिन सकिन्छ । नेपालका राष्ट्रवादी राजनीतिक शक्तिहरूले नेपाली जनतालाई साथमा लिएर नेपालको राष्ट्रियताको रक्षाको लागि चाँडै पाइला नचाले ।