एमालेको मधेस मिसन र मोसन
अपने अगनियाँ मे होगइल परदेसिया...
उपर्युक्त हरफ संविधानविरुद्ध साम्प्रदायिक भावना भड्काउन मधेसमा सर्वाधिक गाइएको गीतको अंश हो । यो एउटा राष्ट्रिय एकता, अखण्डता र सद्भावविरुद्धको एउटा नमुना मात्र हो । जब कुनै मानिस र समुदाय आफूसित तथ्यपूर्ण, तर्कपूर्ण र सत्य सही कुरा, नारा र मान्यता हुँदैन तब उसले बकबास गर्न थाल्छ । सतही रूपमा विशेषतः एमालेलाई अनेक जोड र कोण मिलाएर मधेसविरोधी आरोप जनजनमा फैलाएको देखिए पनि विरोधको अन्तर्यमा राष्ट्रिय अस्मिता, अस्तित्व र सद्भावविरुद्ध रहेको तथ्यहरूले बताइसकेका छन् । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको संविधान निर्माण, पारित र लागू गराउन लिएको चट्टानी अडानका कारण एमालेलाई मधेसविरोधी भावना फैलाइएको जगजाहेर छ ।
एमालेले संविधानमा तराईका जनताका हक अधिकार नदिन प्रमुख भूमिका निर्वाह गर्यो भनेर आयातित केही दलका नेताले रैथाने तथा आदिवासी मधेसी जनतालाई भड्काए । तिनले त्यतिबेला मधेसी जनताले अब नागरिकता पाउँदैनन्, पाएको नागरिकता पनि खोसिन्छ, हामी आफ्नै आँगनमा अब परदेशी हुन्छौँ, हामी अधिकारविहीन भयौँ । अब हामी राष्ट्रपति, प्रधानमन्त्री, आदि-आदि हुँदै गएर गाउँ र समितिको नगरको अध्यक्ष र प्रमुख पनि हुन पाउँदैनौँ आदि-आदि अफवाह लगातार महिनौं दिन गाइयो, भनियो सुनाइयो ।
जे भन्दा मधेसी जनता भट्किन्छन्, त्यही कुरा भनियो । पहाडे र मधेसी भावना भड्काइयो । यही आधारमा एमाले मधेस र मधेसीविरोधी पार्टी हो भनेर व्यापक दुष्प्रचार गरियो । कतिपय जिल्लाका एमाले पार्टी कार्यालय जलाइयो । संविधानका सकारात्मक कुरा भन्न पनि नदिएको अवरोध सिर्जना गरेको स्थिति थियो ।
यसले मधेसमा एमाले रक्षात्मक अवस्थामा थियो । एमाले आफ्नो बहुआयामिक संगठन, सिर्जना, व्यक्तित्व, विशेषता र कलाकारिताको सञ्जाल हुँदाहुँदै पनि ती सारा भ्रम चिर्ने गति, मती र हुती नभएको जस्तो देखियो । तर साम्प्रदायिक भावना भएका कथित लेखक भने अहोरात्र मधेसलाई भड्काउन निरन्तर लागिरहे । लेखक सीके लालले २०७३ असोज २३ गते एक दैनिकमा भूराजनीतिक अखडा शीर्षक लेखमा नेपाली जनतालाई नेपाली राष्ट्रिय अखण्डता र एकताविरुद्ध खुला विद्रोह गर्न उक्साउने लेख लेखेका थिए ।
आफूलाई मुलुकको सशक्त एमाले बौद्धिक शक्ति ठान्ने नेपाल बुद्धिजीवी परिषद्को उपल्लो नेतृत्व यस्तो संगीन अवस्थामा रमित हेरेर बसिरहेको देखिन्छ । नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सल्लाहकार प्रा. कृष्ण पोखरेल एमाले पार्टीका सबै नकारात्मक कुरा मात्र रहेको भन्दै कात्तिक २७ गते सगरमाथा टीभीमा अन्तर्वार्ताका क्रममा बोल्दै थिए ।
विभिन्न आवरणमा लेखिरहने लेखकहरू अहिले आएर खुला रूपमा मधेस हकहित प्राप्तिको आन्दोलनका नाममा राष्ट्रघाती विचार प्रवाह गरिरहेका बेला र केही स्वतन्त्र वरिष्ठ लेखकहरूले समेत एमाले पार्टीका सकारात्मक पक्षको खुला समर्थन गरिरहेका बेला केही वरिष्ठ एमाले बुद्धिजीवी पार्टीलाई उल्याइरहेका छन् ।
समयले संविधानसम्बन्धी कतिपय भ्रम तोडे पनि भुइँतहमा संविधानसम्बन्धी भ्रम पर्याप्त रहेका छन् र यसैसित सम्बन्धित रहेर एमाले मधेसविरोधी हो भन्ने मतिभ्रमका अवशेष पनि मधेसमा विद्यमान छन् र ती भ्रम विभिन्न पदीय जिम्मेवारी बहन गरेका केन्द्रीय र स्थानीय स्तरका नेतृत्वका कमजोरीका पनि रहन गएका देखिन्छन् । अहिले एमाले पार्टीमा खास कुनै निजी निहित, इच्छित र आश्वस्त उद्देश्य प्राप्तिलाई मूल आधार बनाएर काम गर्ने र कामको जोखिम मोल्ने चरम अवसरवादी चिन्तनले घेरेको देखिन्छ ।
हुन पनि अमूक नेताले पत्याएका तर हरेक दृष्टिले कमजोर रहेकाहरू हर अवसर पाइरहेका छन् । यसैकारण सानो वा ठूलो त्यागको भावना पार्टीमा कमजोर रहेको देखिन्छ नत्र एमाले पार्टी एक ढिक्का हुने हो र लागिपर्ने हो भने यस्ता भ्रम चिर्न नसकिने होइन । यस्ता भ्रमको बारेमा पार्टी पंक्ति स्पष्ट हुने हो भने ५० प्रतिशत समस्या सल्टिन्छ । किनकि प्रायः हरेक घरमा पार्टी वा मोर्चा संगठनमा आबद्ध एमाले रहेको देखिन्छ । पार्टी अध्यक्ष ओलीले पार्टी र मोर्चा संगठन सञ्जाललाई दम्कल भएर मधेस ताप समन गर्न र गराउन सार्वजनिक आग्रह गरे, तर यसमा युवा संघ मात्र सक्रिय रहेको देखियो ।
वैचारिक, बौद्धिक तथा कला साहित्य क्षेत्रले यस सबालमा कलात्मक हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो र गर्न पनि सकिन्थ्यो तर किञ्चित काम भएको देखिएन । त्यस बेला पार्टी कार्यकर्ताका घरघर, टोलछिमेक र गाउँस्तरमा अनेक अवसरमा प्रत्यक्ष वा परोक्ष रूपमा पार्टीविरोधी अफवाह छिमल्न सकिन्थ्यो, तर खासै काम भएको पाइएन । कतिपय नेता र कार्यकर्ता आफू स्वयं नवौँ महाधिवेशनको गुटगत संकीर्ण भावनाबाट ग्रसित थिए भने कति त क्षेत्रीय, जातीय तथा सांस्कृतिक संकीर्ण भावनाका कारण निस्क्रिय रहेका थिए ।
त्यसैले ढिलै भए पनि पार्टी केन्द्रको अगुवाइमा एमालेले २०७३ कात्तिकदेखि चारमहिने मधेस मिसन सुरु गरेको देखिन्छ । यसको मिसन वा उद्देश्य एमालेविरोधी भड्काउको तथ्यपूर्ण र कलात्मक खण्डन त हुँदै हो र यसो गरेर एमालेप्रति लगाइएका सारा भ्रमहरू अरू एकपटक तोड्न सके आगामी सबै निर्वाचनमा एमाले अग्रस्थानमा आउनेमा आम जनतामा कुनै शंका छैन । बरु एमालेमा हालसम्म देखिएको र अवशेषका रूपमा रहेको जबजविपरीत त हुँदै हो, माथिल्लो र उपल्लो नेतृत्वमा सामान्य आन्तरिक लोकतान्त्रिक संस्कारको अभावले पार्टीको अग्रगतिमा समस्या पार्ने देखिन्छ ।
अनि यस पार्टीमा परम्परागत चाडपर्व र विभिन्न संस्कारमा मध्यकालमा नियोजित रूपमा समावेश गरेको सामन्तवादी सांस्कृतिक सारमा रमाउने संस्कार पार्टीमा व्याप्त गरिरहेकाले गुणात्मक परिवर्तनमा एमालेले खेल्ने भूमिका भने कमजोर नै हुने देखिन्छ ।
यही सालका चाडपर्व जस्ता सांस्कृतिक विषय र सन्दर्भमा सांस्कृतिक रूपान्तरणको विषयबारेमा चर्चासम्म नहुने र करिब सांस्कृतिक शून्य चेतको स्थिति पार्टीमा देखिन्छ । तथापि एमाले मधेस मिसनले पार्टीहित मात्र होइन, राष्ट्रिय हितको लागि पनि मात्रात्मक महत्त्वपूर्ण भूमिका रहन्छ । मधेसमा विगतमा चालिएको संविधान लक्षित आन्दोलन नेपाली एकतामा भाँजो हाल्ने, विखण्डन गर्ने र नेपाललाई पहाड र मधेस दुई राष्ट्र बनाउने दुर्नियतसम्मको रहेको स्पष्ट भइसकेको छ । त्यसैले अमूक पार्टीविरोधी भनेर अरूले मौन साधना गरेर बस्ने हो भने एकएक गरेर समग्रमा नेपाललाई पछार्ने नियतलाई बेलैमा बुझ्न जरुरी हुन्छ ।
काल पल्क्यो भनी दूरगामी सोच राखेर मनन गर्ने हो भने यस खालको साम्प्रदायिक सद्भाव भड्काउने गतिविधिका बारेमा सबै सचेत हुन जरुरी हुन्छ । अहिलेको संगीन अवस्थामा राष्ट्रिय अखण्डता, एकता, सद्भाव र समभावको लागि पनि सबै प्रमुख पार्टीहरू अघोषित रूपमा भए पनि एकताबद्ध भएर लाग्नु जरुरी देखिन्छ । एमाले मधेस मिसन कति मोसन वा गतिवान् हुने हो, त्यो भने हेरेर मात्र भन्न सकिन्छ ।
एमाले पार्टीमा परम्परागत चाडपर्व र विभिन्न संस्कारमा मध्यकालमा नियोजित रूपमा समावेश गरेको सामन्तवादी सांस्कृतिक सारमा रमाउने संस्कार पार्टीमा व्याप्त गरिरहेकाले गुणात्मक परिवर्तनमा एमालेले खेल्ने भूमिका भने कमजोर नै हुने देखिन्छ ।
एमाले पार्टी र यसको विगत विरासत नियाल्ने हो भने पार्टी मधेसीविरोधी भनेर किमार्थ स्विकार्न सकिन्न । तथ्य, सत्य र तर्कहरूले यस कुराको प्रमाणित गर्छ । लेखक चन्द्र किशोरले २०६३ कात्तिक १८ मा एक दैनिकमा 'सत्ताधिकारको खोजी' शीर्षकको लेखमा २०११ सालमा कम्युनिस्ट पार्टीले गरेको ऐतिहासिक किसान आन्दोलन गरेर विशेषतः मधेसका सारा भूमिपुत्रहरूको हकहित दिलाएको उल्लेख गरेका छन् ।
पुष्पलाल नेतृत्वको तत्कालीन कम्युनिस्ट पार्टीले अनेकिसंघका अध्यक्ष तुलसीलाल अमात्यसहितको नेतृत्वमा गरेको उक्त आन्दोलनको किसान नारा हामीलाई सम्मानपूर्वक जी कहो भन्नेसम्मका थिए । त्यही विरासतमा हुर्किएको माक्र्सवादी र माले हुँदै विकसित तथा समृद्ध एमाले पार्टीले मनमोहन अधिकारी र केपी ओलीका नेतृत्वको नौ-नौमहिने एमाले सरकारका देश र जनता पक्षधर कामले आम मधेसी जनताको दृढतापूर्वक पक्षपोषण गरेको स्पष्ट पार्छन् । अनि धनपति नागरिक आयोग, बडालको भूमिसुधार आयोगलगायत अनेक मधेस र मधेसी उत्थानको लागि गरिएका तमाम कामको फेहरिस्त दिन सकिन्छ । बरु यस विषयमा पार्टी पंक्ति सुसूचित र शिक्षित भएर आम जनतामा यसलाई कलात्मक रूपमा प्रवाह नगर्नु एमाले नेता र कार्यकर्ताको सबैभन्दा कमजोर पक्ष हो ।
यही कुरा मार्मिक रूपमा एमाले नेता र कार्यकर्ताले एमालेलाई नै सबैभन्दा पहिले चिन्न जरुरी रहेको सुनसरीको अभियान उद्घाटनका अवसरमा यही २०७३ कात्तिक २६ गते धरानमा पार्टी महासचिव ईश्वर पोखरेलले बताएका थिए । उनले पार्टी र यसका इमानदार तथा प्रतिभावान् नेता-कार्यकर्ताहरूले गरेका अनेकौँ प्रतिकुलताविरुद्ध जुधेर निर्माण गरेको भूमिका र योगदानको कारण फैलिएको पार्टी इतिहास बुझ्न हार्दिक आग्रह गरेका थिए । पोखरेलले कुनै पनि पार्टी, परिवार र समाज समस्यारहित हुँदैन भन्दै एमाले पार्टीमा रहे भएका समस्या कति प्रायोजित र कति प्राकृतिक हुन्, राम्ररी ठम्याउन अगुवा कार्यकर्तालाई उल्लेख गरे ।
नवौँ महाधिवेशनका बेलाका प्रायोजित गुटगत धङधङी अझै पालेर पार्टी महाधिवेशनका फैसलाविरुद्ध जानु अराजकता हो भने । उनले अहिले विगतमा एमाले पार्टी र यसको नेतृत्वको सरकारका राम्रा कामलाई दुराग्रहवश आलोचना गर्नु आत्मघाती काम हो भनेका थिए । नवौँ महाधिवेशनमा प्रायोजन गरिएको पार्टीव्यापी गुट र फुटका कारण आफ्नै पार्टी र नेतृत्वका सकारात्मक काम कदम र क्रियाकलाप तथा कार्यक्षमता बिर्सने व्याधीका कारण पनि एमाले कमजोर हुन पुगेको देखिन्छ । त्यसैले के एमाले एकताबद्ध रूपमा सबै आफ्नो पार्टी र मोर्चा शक्तिलाई सैद्धान्तिक, सांगठानिक तथा सिर्जनात्मक शक्तिलाई भुइँतहदेखि कलात्मक हस्तक्षेपका साथ परिचालन गर्न सक्ला ?
तराईमधेसमा पनि संविधानका सकारात्मक पक्षहरूका बारेमा राम्रो जानकारी राख्ने समुदाय, बुद्धिजीवी र सचेत समुदाय विद्यमान छन् । त्यहाँ राम्रा लेखक, सर्जक र स्रष्टा पनि छन् । के ती सबै शक्ति र सामथ्र्यलाई तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन योजनाका साथमा एक मनले एमाले लाग्ला ?
मधेसमा पनि प्रदेश नं २ हरेक दृष्टिले पछि पारिएको छ । यसरी तराईमधेसका सारा रैथाने तथा आदिवासी मधेसीलाई पछि पार्ने आयातित कथित मधेसका नामका केही नेता मात्र हुन्, तिनको त्यहाँ कुनै जनमत हाल छैन । तराईमा निरक्षरता मात्र उन्मूलन गर्ने हो भने सार भ्रम समाप्त हुनेछन् । तर अहिले बाल, युवा, महिला, प्रौढ र ज्येष्ठ नागरिकका क्षेत्रमा तीन 'स' का साथ सिर्जना, संगठन र सिद्धान्तको आँधीबेहोरी सिर्जना गर्ने हो भने एमालेविरोधी मात्र होइन, देश र मधेसविरोधी प्रायोजित भ्रम चिर्न सकिन्छ, तर गर्दा मात्र सकिन्छ ।