सडक र सवारीमा बेथिति कहिलेसम्म

सडक र सवारीमा बेथिति कहिलेसम्म

भनिन्छ-सार्वजनिक यातायात आधुनिक सहरी सभ्यताको परिचायक हो । व्यवस्थित सार्वजनिक यातायातले सहरको सुन्दरता बढाउँछ । तर लगभग ४० लाख जनसंख्या बसोवास गर्ने राजधानी काठमाडौँमा अझै पनि सार्वजनिक यातायात व्यवस्थित हुन सकेको छैन, जसको पीडा जनताले दिनहुँ भोग्नु परिरहेको छ ।

ट्राफिक नियम पनि फितलो छ । यहाँ साना र थोत्रा गाडीहरू बढी छन्, जुन चढ्न पनि घन्टौँ कुर्नुपर्छ । पाइहाले पनि सकसका साथ यात्रा गर्नुपर्छ । यो सकस सर्वसाधारणले पैसा तिरेर पनि हरेक दिन झेल्नु परिरहेको छ । यसतर्फ न सरकारको ध्यान जान सकेको छ, न त सरोकारवाला निकायकै ।

राजधानी उपत्यकाको चक्रपथमा ३९ वटा हाइटेक मेट्रो बस सञ्चालनमा आएको छ, तर यो संख्या निकै कम रहेको छ । ती बसमा सुविधा पनि उपलब्ध छ । बत्तीससिटे बसमा थप ३० जनासम्म उभिन मिल्ने जनाइएको छ । यात्रुले आफ्नो मोबाइलमा एप्स डाउनलोड गरेर गाडी कहाँ आइपुग्यो र कति समयमा बसस्टपमा आइपुग्छ भन्ने जानकारी पाउन सकिनेछ ।

यसले केही राहत दिनेछ, तर सञ्चालन हुन नपाउँदै एक बसमा ढुंगामुडा भएको छ । यस्ता अराजक तत्वहरूलाई हामीले निरुत्साहित गर्नुपर्छ र सरकारले पनि उनीहरूलाई कारबाही गरी उचित सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।

यहाँ राम्रोलाई प्रोत्साहन गर्नेभन्दा पनि खुट्टा तान्ने प्रवृत्ति हाबी छ । यसले गर्दा कोही पनि नयाँ र राम्रो काम गर्न पनि हिच्किचाउँछ । साझा यातायातले पनि आफ्नो सेवा विस्तार गरेको छ । तर यस्ता सुविधासम्पन्न सहरको संख्यामा वृद्धि गर्नुपर्छ र जनतालाई आरामदायी यात्राको व्यवस्था गर्नुपर्छ ।

सार्वजनिक यातायातमा यात्रा गर्नुको पीडा जनताले दिनहुँ भोग्नुपर्छ । एक दिन आनन्दका साथ घर आउन पाइयो भने पनि त्यसलाई उपलब्धि नै मान्नुपर्छ । प्राय गाडीहरू साना र थोत्रा छन् । कहिले त गाडी नपाएर यात्रुहरू तिनै सानो गाडीमा कोचिएर यात्रा गर्न बाध्य हुन्छन् ।

ती साना गाडीमा निहुरिनुपर्ने र ज्यान पनि जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ । यात्रुले यस्ता समस्या कार्यालय समय र साँझको समयमा बढी भोग्नुपर्ने हुन्छ । त्यस्तै पाकेटमारको पनि डर हुन्छ ।

केही साताअघि बढी चापका कारण बसबाट खसेर एक सहचालकको मृत्यु भएको थियो । ठाउँ नभए पनि एउटै बसमा क्षमताभन्दा बढी यात्रु राखिँदा यस्ता घटना हुन गएको हो ।

सडकमा सार्वजनिक यातायातभन्दा प्राइभेट र मटरसाइकल नै बढी देखिन्छन् । अचम्म त के छ भने सबभन्दा हतार ती मोटरसाइकल वा गाडीवालालाई नै हुन्छ । उनीहरू जहाँबाट पनि छिरिदिन्छन् र अनावश्यक जाम गराउँछन् ।

गाडीहरू पनि त्यस्तै छन्, जहाँ मन लागे त्यहीँ रोकिदिन्छन् । यात्रुलाई पनि दुई पाइला हिँड्न सकस हुन्छ । कतिपय यात्रुलाई घरअगाडि नै गाडी रोकिदिनुपर्छ । ट्राफिकको कारबाहीबाट बच्नुपर्छ भन्ने कुरामा उनीहरु सचेत हुँदैनन् ।

त्यस्तै सार्वजनिक यातायातमा यात्रा गर्दा बिझाउने अर्को कुरा भनेको सहचालक र चालकले यात्रुप्रति गर्ने व्यवहार र बोल्ने बोली हो । उनीहरुमध्ये प्रायको बोली रुखो हुने गर्छ । त्यस्तै पीडा साना र थोत्रा माइक्रोमा चढ्दा पनि छ ।

कहिलेकाहीँ घन्टौँ कुर्दा पनि एउटै सवारी साधन पाइँदैनन् र पाइए पनि प्रायः कोचाकोच हुन्छन् । कहीँ जानुपर्‍यो भने दुईतीन घन्टाअगाडि नै हिँड्नुपर्छ । कहिलेकहीँ त अगाडि नै गए पनि सिट पाइँदैन ।

अब सरकारले साना र थोत्रा गाडीहरूको संख्या घटाउनुपर्छ र सुविधासम्पन्न ठूला गाडीहरूको संख्यामा वृद्धि गर्नुपर्छ । मोटरसाइकलको संख्या पनि घटाउनुपर्छ । ठाउँठाउँमा सुविधासम्पन्न प्रतीक्षालय बनाउनुपर्छ र भएका नियम पनि कडाइका साथ लागू हुनुपर्छ ।

चालक र सहचालकहरूले यात्रुप्रति गर्ने व्यवहार बोलिने बोलीमा पनि आवश्यक सुधार गर्नुपर्छ । जेब्रा क्रसिङ, लेन, आकासे पुलहरू ठाउँठाउँमा निर्माण गरेर उचित प्रयोगमा ल्याउनुपर्छ । भएका साधन र नियमलाई व्यवस्थित गर्नुपर्छ । ठाउँठाउँमा सीसीटीभीको व्यवस्था गर्नुपर्छ । उल्लंघन गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।

 

यसैगरी ट्राफिक लाइटहरू ठाउँठाउँमा छन्, तर ती बल्दैनन् । ती लाइटहरूको मर्मत नै हुन सकेको छैन, व्यवस्थापन नै छैन । सीसीटीभीमा हेरेर कानुन उल्लंघन गर्नेलाई कारबाही गर्न सकिन्छ । जथाभावी बाटो काट्नेलाई कडा कारबाही गर्न सकिन्छ ।

यहाँ सार्वजनिक साधनमा देखा पारेका बेथिति कडा कानुन नभएर होइन, भएका कानुनको उचित कार्यान्वयन नभएर हो । व्यवस्थित सार्वजनिक साधन आधुनिक सहरी सभ्यताको सुन्दरता हो । त्यसैले सरकार र सम्बन्धित निकायले उचित ध्यान पुर्‍याउनुपर्छ ।

सार्वजनिक यातायामा यात्रा गर्नुको पीडा जनताले दिनहुँ भोग्नुपर्छ । एक दिन आनन्दका साथ घर आउन पाइयो भने पनि त्यसलाई उपलब्धि नै मान्नुपर्छ । 

सरकारले ठूलो जनसंख्या भएको नगरीमा सुविधासम्पन्न गाडी प्रयोगमा ल्याउनुपर्छ । सिन्डिकेटको अन्त्य हुनुपर्छ । सवारीसाधन व्यवस्थित गर्न कुनै कठिनाइ छैन । कठिनाइ त मानसिकताको हो । मेट्रोरेल र अन्डरग्राउन्ड पार्किङको अवधारणामा जानुपर्छ । सरकार खाली भाषणमा मात्र सीमित छ ।

एउटा आयोजना सुरु गर्छ, तर ती आयोजना वर्षौंसम्म लथालिंग र अलपत्र रहन्छन् । दृढ इच्छाशक्ति भएमा सरकारले छोटो समयमै यसलाई सम्पन्न गर्न सक्छन्, तर त्यस्तो इच्छाशक्ति कुनै सरकारले देखाएका छैनन् ।

कुनै पार्टीका नयाँ नेता राष्ट्रपति वा प्रधानमन्त्री भए भने उनीहरू आउनेजाने बाटोको सुधार रातारात हुन्छ, सर्वसाधारण हिँड्ने बाटोको मर्मत कहिल्यै गरिन्न । जनताले वर्षौंसम्म दुःख खेपिरहनुपर्छ ।

सडक र सवारी क्षेत्रमा व्याप्त बेथिति हटाउनेतर्फ सरकारले अहिलेसम्म कुनै पाइला नचाल्नु विडम्बना हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.