शुक्रबार राजधानीका ३२ स्वास्थ्य संस्थामा अनुगमनः सात वटामा तालाबन्दी
काठमाडौं: स्वास्थ्य मन्त्रालयका दुई टोलीले शुक्रबार राजधानीका ३२ निजी स्वास्थ्य संस्थामा अनुगमन गरेका छन् । अनुगमन गरिएका मध्ये काठमाडौका पाँच र ललितपुरका दुई गरी सात वटामा तालाबन्दी गरिएको अनुगमन टोलीले जनाएका छन् । काठमाडौंमा २० र ललितपुरमा १२ वटामा अनुगमन भएको छ।
काठमाडौंको कालिमाटीदेखि कलंकीसम्म बाटोको छेउमा रहेका क्लिनिक मध्ये शुभारम्भ डेण्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालीमाटी डेण्टल क्लिनिक, सिटी भ्याली डेण्टल क्लिनिकमा तालाबन्दी गरिएको छ ।
क्लिनिक संचालनका लागि आधारभूत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले तालाबन्दी भएको टोलीले जनाएको छ । तालाबन्दी भएका क्लिनिकलाई बाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा.रामराज पन्थीले जानकारी दिए ।
त्यस्तै अनुगमन टोली पुग्दा क्लिनिक सञ्चालक भागेकाले ति क्लिनिकमा अर्को दिन अनुगमन हुने भएको छ । अनुगमन तथा मूल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेण्टल क्लिनिक एण्ड ल्याबलाई बन्द गरेको छ ।
टोलीले ग्लोवल हस्पिटल एण्ड एजुकेशन फाउण्डेसनले गत साउनदेखि नविकरण नगरेकाले नविकरणका लागि अल्टिमेट दिइएको उपसचिव खतिवडाले जानकारी दिए ।
मन्त्रालयको टोलीले पाँच दिनमा काठमाडाै र ललितपुरका ३७ वटा क्लिनिकमा तालाबन्दी गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको विषेश चासोमा अनुगमनमा खटिएका टोलीले अनुगमन जारी राख्ने मन्त्रालयले जनाएको छ ।