सानै उमेर हुँदाको राष्ट्रिय उद्गार
म बनारसमा पढ्दै थिएँ । समाजको इतिहासलाई विचार गर्ने हो भने उनन्साठी—साठी वर्ष त्यति धेरै हुँदै होइन, तर व्यक्तिको जीवनमा भने यो अवधि पनि लामै पो मानिँदो रहेछ ।
मैले त्यतिबेला एउटा अनौठो लेख लेखेको थिएँ र त्यो लेख काशीको प्रसिद्ध र जनप्रिय पत्रिका अर्थात् ‘उदय'मा त्यसका आदरणीय सम्पादकज्यू काशीबहादुर श्रेष्ठले राम्रो मानेर छापिदिनुभएको थियो । त्यस लेखको शीर्षक पनि मैले निकै सोचेर यस्तो राखेको थिएँः ने.सि.भो, सङ्घात्मक जनतन्त्रको आवश्यकता । यो सोचाइ कस्तो राम्रो भविष्यको चिन्तन रहेछ ।
भर्खरै मेरा प्रिय भाइतुल्य मित्र लेखक खेम कोइराला ‘बन्धु' ले मेरे सरस्वतीनगरस्थित घरमा एउटा ४६८ पृष्ठ ओगट्ने ग्रन्थ ल्याएर दिनुभयो । त्यस ग्रन्थका प्रणेता श्री बुद्धिनारायण श्रेष्ठसँगै आउनु भएको थिएन, तर म ता यस्ता प्रसिद्ध सीमाविशेषज्ञको अत्यन्त विशिष्ट ग्रन्थ ‘जङ्गे-बुद्धे' देखेर औधि रमाएँ, आत्मविस्मृत भएँ ।
हुन पनि हाम्रा पशुपतिनाथ बाबाको असीम कृपाले नै श्रेष्ठज्यूको समस्त विशेषता सीमासम्बन्धी अध्ययन, विश्लेषण र अति वैज्ञानिक निष्कर्ष यस मननीय र प्यारो पुस्तकले प्राप्त गरेको रहेछ ।
जहाँजहाँ विशाल र विस्तृत भारतसित हाम्रो नेपालको सीमा जोडिएको छ त्यहाँत्यहाँ जङ्गबहादुर राणा प्रधानमन्त्री भएकाले उनले त्यतिबेलाका भारतका शासक अङ्ग्रेज अधिकारीहरूसँग भेटेर सीमास्तम्भ (अर्थात् सिमाना छुट्ट्याउने किला) गाडेका थिए ।
हाम्रो अन्तु डाँडो मेचीनदीदेखि उकालो चढेर पश्चिम जाँदा मात्र पुगिने भए पनि त्यहाँ समेत सीमास्तम्भहरू घँचेटिएका छन्, हटाइएका छन्, केही उत्तरतिर सिक्किम, इलाम र बङ्गालको सीमामा पर्ने सन्दकपुर भन्ने ठाउँमा त झन भारततिरकाहरूले सीमास्तम्भहरू सबै फालिदिएका छन् ।
हरेक किलालाई सङ्ख्या अङ्कित गरीगरी सिमानामा मन्जुरीसाथ ठोकेको भए तापनि सीमा पारिकाहरूले अतिक्रमण गरी यत्रतत्र ती किलाहरूलाई फालिदिने र जमिन आफैंले लिने गर्थे । यसरी नेपालको भूमिलाई सयौं मिटर वा माइलैसमेत मिचेर दक्षिणी छिमेकीहरू नेपालतिर हानथाप गर्दै हुइँकिइरहेका छन् ।
'मैले सिक्किम र भोटाङमा पनि त्यही बिल्लिबाठ हुने देखेर सानै उमेरमा यी तीन स्वतन्त्र राजतन्त्रात्मक राज्यहरूले आफ्नो राजतन्त्रात्मक अस्तित्वलाई यथावत् राखी भारतसँगको सीमाविवादमा एक भई सङ्घर्ष गर्नुपर्ने सङ्केत गर्दै प्रेरणासमेत दिन खोजेको थिएँ, किनभने यी तीनै राज्यका बुहसङ्ख्यक जनता नेपाली बोल्छन र अरुहरूले पनि नेपाली भाषालाई नै भाषाका रूपमा प्रयोग गर्छन् ।
म इलाममा जन्मेको थिएँ र इलामको पूर्वी भागमा लाप्चाहरू बस्छन् (दार्जीलिङमा पनि लाप्चा छन् तर त्यहाँका त्यति बेलाका शासकहरू अङ्ग्रेज थिए र ती लाप्चालाई ‘लेप्चा' भन्थे र लेख्थे) इलामका धेरै स्थानहरू लाप्चा भाषामै छन्-जस्तै फिक्कल, कर्फोक, रम्फोक, कट्टेबुङ, कोल्बुङ आदि ।
तापनि सबै लाप्चाहरू इलाम र दार्जीलिङमा नेपाली भाषालाई नै प्रेमपूर्वक साझा रूपमा प्रयोग गर्छन् । दार्जीलिङमा मात्र होइन, समस्त भोटाङ र सिक्किममा लाप्चाहरू बहुसङ्ख्यक नेपाली भाषीहरूसँग आत्मसात् भएका हुनाले नै बुद्धिनारायण श्रेष्ठले यस अनुसन्धानात्मक ग्रन्थले पनि नेपाली भाषालाई नै साझा मानेर आफ्ना धारणाहरू प्रस्तुत गरेको छ ।
हाम्रो इलाममा समेत दार्जीलिङको सिमानामा जतासुकै हाम्रा जङ्गे स्तम्भहरू हटाइएका र नेपालीतिर घँचेटिएका छन् । मैले दार्जीलिङ पढ्दै गर्दा मेरा पितालाई सगर्व सुनाएको थिएँ, ‘पिताजी, म बिहानै झुल्केको घाम हेर्न दार्जीलङको बाघेडाँडो (टाइगर हिल) पुगेँ, साह्रै राम्रो दृश्य हेर्न पाइँदो रहेछ ।' मेरा पिता स्वर्गीय प्रजापति उपाध्यायले भन्नुभयो, ‘बाबु, हाम्रै अन्तुबाट घाम झुल्केको दृश्य बाघे डाँडाको भन्दा कता हो कता राम्रो हुन्छ ।'
तर आज हाम्रो अन्तु डाँडो मेचीनदीदेखि उकालो चढेर पश्चिम जाँदा मात्र पुगिने भए पनि त्यहाँ समेत सीमास्तम्भहरू घँचेटिएका छन्, हटाइएका छन्, केही उत्तरतिर सिक्किम, इलाम र बङ्गालको सीमामा पर्ने सन्दकपुर भन्ने ठाउँमा त झन भारततिरकाहरूले सीमास्तम्भहरू सबै फालिदिएका छन् ।
हाम्रो यो बिजोग राष्ट्रिय एकता, स्वतन्त्रता र मैत्रीपूर्ण अस्तित्वमाथि नै हृदयहीन र शत्रुवत् बन्चराको दुष्ट प्रहार हो । सम्पूर्ण सिक्किमलाई ध्वस्त पारेर भारतले त आफैंमा गाभी ठूलो अपमान गरेको छ र विचरा भोटाङेहरू पनि धमाधम नेपालतिरै भाग्दै छन् । ‘जङ्गेबुङ्गे' अवश्य पनि वैज्ञानिक र विश्लेषणात्मक रूपले अत्यन्त प्रशंसनीय ग्रन्थ हो जसले हाम्रो ऐतिहासिकता, स्वतन्त्रता र सार्वभौमिकताको औधि राम्रो अध्ययन विश्वमा प्रस्तुत गरेको छ ।