नदबाइयोस् मेरो आवाज
म को त ? म अर्पणा बस्नेत एक गृहिणी र पेसागत हिसाबले एक डाक्टर । आमा, दिदी, बहिनी, छोरी । अनि नेपाल आमा र नेपालीकी छोरी । म बिरामी हेर्ने काम गर्छु । किताब लेख्छु र कहिलेकाहीँ आक्कलझुक्कल पत्रिकामा पनि लेख्छु । कहिलेकाहीँ गीत पनि लेख्छु । भर्खर ‘फलन इन् लभ' उपन्यास लेखिसकेँ, इडिटिङ हुँदैछ । सबैलाई आग्रह गर्छु, पढ्नु होला है ।
एउटा नेपाली नागरिकले त्यसमा पनि एउटा सचेत महिलाले कसरी र के गर्दै दिन बिताइरहेकी छन् त्यसबारे एउटा काल्पनिक कथा छ, त्यसमा । मन पराउनु हुनेछ त्यो मेरो दावा हो । म आश्वस्त गर्न चाहन्छु सबैलाई म पार्टी वा राजनीतिक संस्थासँग आबद्ध छैन ।
यद्यपि पारिवारिक राजनीतिक पृष्ठभूमि छ मेरो । कांग्रेसी रगत छ ममा । किन नहोस् हजुरबुवा तारणीप्रसाद कोइराला र बीपी कोइराला भएपछि ? रगत जाँचेको छैन तर पक्कै कांग्रेसी नै छ । कांग्रेसकोे सक्रिय सदस्यता लिएँ तर कहिले त्यसको अफिस जान सकिनँ ।
राष्ट्रिय महत्वका विषयमा अलमल अलमल गरेको कांग्रेसले कतै मलाई नै किच्छ कि जस्तो लाग्छ । भारको बोध हुन्छ । स्वर्गमा बीपी बाबा, शैलजा दिदी के भन्नुहोला भन्ने पनि पीर लाग्छ । त्यसैले राजनीति नगरे पनि लेख लेख्ने चै जमर्को गर्दैछु, त्यो पनि संविधानका महत्वपूर्ण मुद्दामा आफूलाई सीमित राख्दै ।
संशोधन हुन लागेको संविधानमा मेरो पनि मागभन्दा प्रश्न आउँला– तिमी त्यस्तो माग राख्ने को हौ ? म यस देशको नागरिक र बोल्न नसकिरहेका नेपालीहरूको आवाज । त्यस अर्थमा मैले बहुसंख्यक नेपालीलाई प्रतिनिधित्व गर्दछु ।
१. राजसंस्थाको पुनस्र्थापनाः यो व्यक्तिको पक्षमा राखिएको माग हैन । ज्ञानेन्द्र चाहियो या चाहिएन भनेको पनि हैन । राजसंस्था चाहियो । बीपीको मान्यतामा, अधिकांश मौन नेपालको बुझाइमा त्यो अनेकतामा एकताको प्रतीक हो, राजनीतिक स्थायित्वको लागि आवश्यक संस्था हो र परम्परागत नेपालमा अभिभावकीय भूमिका खेली रहनुपर्छ त्यो संस्थाले ।
२. बैद्धिक सनातन हिन्दु राष्ट्र चाहियोः यो शिवको देश हो । उनको घर हो । उनी वि श्राम गर्न नेपाल आउँछन् भन्ने मेरो विश्वास छ । र धेरैको मान्यता छ सगरमाथामा ध्यान गर्छन् । रारामा डुबुल्की लगाउँछन्, शिव । नेपालबाट ‘हिन्दु' पहिचान गयो भने संसारबाट हिन्दु मान्यता र आदर्श लोप हुने डर छ ।
त्यसलाई जगेर्ना गर्ने या लोप हुन नदिने दायित्व हामी आजका नागरिकको हो । त्यसैले ठूलो स्वर गरी भनौ र दिन दिनै भनौं बैद्धिक सनातन हिन्दु राष्ट्र चाहियो । घरघरबाट आवाज उठाऔं । महिला, दिदी, बहिनी, आमा, छोरी सबैजनाले माग गरौं- हिन्दु राष्ट्र चाहियो ।
३. नेपाल बुद्धको नि घर होः हाम्रो हिन्दु धर्ममा भगवान् गौतम बुद्धलाई विष्णुको अवतार मानिन्छ । स्वयम्भू बौद्धधर्मको संरक्षण हिन्दु राष्ट्रबाट मात्र सम्भव छ । अधर्मी व्यवस्थाबाट कुनै पनि धर्म संरक्षित हुन सक्तैन ।
४ नेपाल पार्वतीको पनि घर होः पार्वतीको मर्यादा हामी नेपालीले संरक्षण गर्नुपर्ने देखिन्छ । हिमालकी छोरी पार्वतीले पनि ध्यान गर्ने ठाउँ या माइती हो नेपाल । अहिन्दु या गैरहिन्दुले नेपाल र पार्वतीको अन्तरसम्बन्ध र अन्योन्याश्रित सम्बन्ध बुझ्दैनन् । त्यो नबुझ्नेको हातमा नेपालको मौलिक पहिचान संरक्षित र सुरक्षित रहँदैन ।
५ संघीयता चाहिएनः नेपालमा अहिले लाद्न खोजिएको आयातित संघीयता हो, कृष्णप्रसाद महराको शब्दमा । बरु विकेन्द्रीकरण चाहियो । त्यसको लागि चाँडोभन्दा चाँडो स्थानीय निर्वाचन गराउनु प¥यो । आयातित र जातीयतामा आधारित संघीयता गर्नु भन्या गृहयुद्ध निम्त्याउनु हो । बीपी कोइरालाका सुपुत्र प्रकाश कोइराला भन्नुहुन्छ सानो मुलुकमा संघीयताको के काम ? बरु विकेन्द्रीकरण भए हुन्थ्यो । जुन पहिला थियो ।
चौथो मागः नागरिकताः प्रकाश कोइरालाका अनुसार नागरिकतासँग नेताहरूले खेलवाड नै गरिराखेका छन् । २०६३ पछि बाँडिएका ४० लाख नागरिकताको रेकर्डसम्म सरकारसँग छैन । कसलाई दिइयो त्यो नागरिकता ? मेरो माग अब नागरिकता नबाडियोस् ।
र पहिले बाँडिएको नागरिकताको छानबिन होस् । फेरि पनि यो आवाजविहीन आम नेपालीकै माग, भावना र अभिव्यक्ति हो । यसलाई आम पाठक, राजनीतिक दलहरू र सरकारले त्यही रूपमा बुझ्न, मनन् गर्न र कार्यान्वयन गर्न आवश्यक छ ।
– डा. बस्नेत टिचिङ अस्पताल, महाराजगन्जमा कार्यरत छन् ।