इङ्ल्यान्डको कमजोर सुरुवात
नयाँ दिल्लीः इङ्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टमा कमजोर सुरुवात गरेको छ । इङ्ल्यान्डले दोस्रो दिन शुक्रबारको खेल सकिँदासम्म आफ्नो पहिलो पालीमा पाँच विकेट गुमाएर एक सय तीन रन जोडेको छ ।
यसअघि पहिलो पालीमा भारतले चार सय ५५ रन जोडेको थियो । इङ्ल्यान्ड पहिलो पालीमा भारतभन्दा अझै तीन सय ५२ रनले पछाडि छ । इङ्ल्यान्डको पालीमा जोए रुटले ५३ रन जोडे ।
हसिब हमिदले १३, बेन डुकेट पाँच, कप्तान एलेस्टर कुकले दुई र मोइन अलीले एक रन जोडेर आउट भए । भारतका बलर रविचन्द्रन आश्विनले दुई तथा मोहम्मद सामी र जयन्त यादवले एकएक विकेट लिए । चार रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डले दोस्रो विकेटका लागि ४७ रनको साझेदारी गरेको थियो ।
दिनको समाप्तिमा बेन स्टोक्स र जोनी बेयरस्ट समान १२ रनमा अविजित छन् । यसअघि पहिलो टेस्टमा इङ्ल्यान्डले सानदार ब्याटिङ गरेको थियो । भारतले चार विकेटको क्षतिमा तीन सय १७ रनको स्थितिबाट दोस्रो दिन आफ्नो पहिलो पाली अगाडि बढाएको थियो ।
कप्तान विराट कोहली १६ रन थप्दै एक सय ६७ रनमा आउट भए । शुक्रबार रविचन्द्रन आश्विनले ५८, जयन्त ३५ रन जोडेर आउट भए । रिद्धिमान साहले तीन रन जोडे भने रवीन्द्र जडेजाले खाता खोल्न सकेनन् । कोहली र आश्विनबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी भयो ।
भारतको पालीमा पहिलो दिन चेतेश्वर पुजाराले एक सय १९, मुरली विजयले २० रन जोडेका थिए । अर्का ओपनर लोकेश राहुुलले खाता खोल्न सकेका थिएनन् ।
इङ्ल्यान्डका बलर मोइन अली र जेम्स एन्डर्सनले तीनतीन विकेट हात पारे । अदिल रसिदले दुई तथा स्टुवार्ट ब्रोड र बेन स्टोक्सले एकएक विकेट लिए । पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो ।