आत्मविश्वासी नेपाललाई जापानी टोलीको चुनौती
काठमाडौः दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर तथा गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित हुन लागेको ‘च्यारिटी' खेलमा हालै सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार फ्रेन्ड्स अफ जापानसँग प्रतिस्पर्धा गर्दै छ । फ्रेन्ड्स अफ जापानमा जे लिगसहित युरोपेली लिगको अनुभव बटुलिसकेका खेलाडीहरू सहभागी छन् ।
जापानी टोलीमा सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका टोडा काजुयुकी छन् । काजुयुकीले इङ्लिस क्लब टोटनहाम हर्टस्परबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । काजुयुकीले आफूहरू नेपालमा जितकै लागि खेल्ने बताए ।
‘मैले नेपाली टोलीले सोलिडारिटी कपमा ब्रुनाई र लाओसविरुद्ध प्रतिस्पर्धा गरेको हेरेको छु', शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काजायुकीले भने, ‘हामीले त्यहीअनुसार तयारी गरेका छौं । हामी नेपालसँग प्रतिस्पर्धा गर्न तयार छौं ।'
जापानी टोलीका कप्तान योसुके नोजावाले पनि कुनै समयका आफ्ना प्रशिक्षक ग्योतोकु कोजीको टोलीविरुद्ध प्रतिस्पर्धा गर्न पाउँदा खुसी लागेको बताए । ‘म युवा हँुदा प्रशिक्षक ग्योको नेतृत्वमा खेलेको थिए । यो अवस्थामा फेरि उनकै टोलीविरुद्ध प्रतिस्पर्धाका लागि तयार हँुदै छ', कप्तान नोजावाले भने, ‘हामीले यो खेललाई हल्का रूपमा लिएका छैनौं । हामी जितकै लागि खेल्ने छौं ।'
नेपाली टोलीका प्रशिक्षक कोजीले आफ्नो टोली पनि प्रतिस्पर्धाका लागि तयार रहेको बताए । जापानी टोलीविरुको खेलका लागि आफ्नो टोलीमा कुनै दबाब नरहेको उनले बताए । ‘केही खेलाडी चोटग्रस्त छन् । तर हामी जितका लागि सक्षम छौं', प्रशिक्षक कोजीले भने, ‘हामीले भर्खरै पनि उत्कृष्ट प्रदर्शन गर्दै सोलिडारिटी कप जितेर फर्किएका छौं । यो खेल पनि हाम्रा लागि महŒवपूर्ण छ । हामी यो खेल पनि जित्न चाहन्छौं ।'
यस्तै नेपाली टोलीका कप्तान अनिल गुरुङले पनि मैत्रीपूर्ण खेलका लागि टोली तयार रहेको बताए । ‘हामीले एउटा प्रतियोगिताको सफलतासहित देश फर्किएका छौं । अनुभवी खेलाडी रहेको जापानी टोलीविरुद्ध जित हात पार्दै सोलिडारिटी कप जितेको खुसीयालीमा अर्काे खुसीयाली थप्ने छौं', अनिलले भने । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिनको २ बजेपछि सुरु हुनेछ । खेल एक जापानी एनजीओ कलरबाथ र अखिल नेपाल फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा हुन लागेको हो ।