अंगिकृत संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको होइन '
काठमाडौँ : सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अंगिकृत संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको नभएको स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार यादवले भने, अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अङ्गको प्रमुख बनाउने माग मोर्चाको होइन। मोर्चाको माग भनेर गलत प्रचार गरियो। उनले सबै भाषा, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए।
संविधान संशोधन गर्दा प्रदेशलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने भनाइ उनको छ। उनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधानमा भएको व्यवस्था र विगतमा सरकारसँग भएको सम्झौताका आधारमा संविधान संशोधन हुनुपर्ने माग राखे।
अध्यक्ष यादवले थरुहटलाई मधेसमा राख्नुपर्ने उल्लेख गर्दै पहाडमा पहिचान र सामथ्र्यका आधारमा जनतालाई अधिकार दिनुपर्ने बताए।
उनले सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउँदै त्यसलाई बढाउनुपर्ने र कुनै पनि प्रदेशको प्रतिनिधित्व खाली नहुने गरी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए।