भारी बोकेर कापी किन्छु
घान्द्रुक कोड गाउँका सुवास परियार मिस्रम्ब्र सेकेन्डरी स्कुलमा कक्षा ४ मा पढ्छन् । उनी आफ्नो फुर्सदको समयमा अन्नपूर्ण सर्किटमा पैदलयात्री पर्यटकहरूको भारी बोक्ने काम गर्छन् । केही दिनअघि अन्तर्राष्ट्रिय जलरंग महोत्सवका लागि काठमाडौंबाट घान्द्रुक पुगेको सांस्कृतिक संस्थानको टोलीको भारी बोक्न उनी अगाडि सरे । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले 'यति सानो मान्छेले भारी बोक्नु हुँदैन' भन्दा पनि सुवासले निकै अनुरोध गरे पछि उनलाई भारी बोक्न दिइयो ।
सुवासलाई सानो भारी बोकाएर उनीहरूले आफ्नो सामान आफैं बोके । कोड गाउँ पुगेपछि सुवास 'अहिलेसम्मकै धेरै पारिश्रमिक पाएँ, पाँच सय रुपैयाँ' भनेर दंग परे । अरू बेलामा भारी बोकेको ज्याला दुई सय रुपैयाँ मात्र पाउने गरेका सुवासले भने, 'दाउ पर्यो भने दिनमा हजार कमाइ हुन्छ, नत्र दुई सय मात्र ।' भारी बोक्नु उनको रहर होइन । दस वर्षका सुवासकी आमा पैसा कमाउन भनेर कुवेत गएकी छन् । तर पैसा पठाउँछिन् कि पठाउँदिनन् सुवासलाई थाहा छैन ।
उनका बाबु पनि भारी बोक्छन्, भारी बोकेर पाएको पैसाले कहिलेकाहिँ मात्र घरमा चाहिने सामान ल्याउँछन् । धेरैजसो रक्सी खाएर पैसा सिध्याउँछन् । सुवासले भने, 'बुवा बेलुका सधैं रक्सी खानुहुन्छ, नखानु भन्छु उल्टै मलाई हिर्काउनु हुन्छ ।' घरमा नौ वर्षको भाइ र हजुरआमा छन् । त्यो दिन पाएको पाँच सय रुपैयाँले घरको लागि चामल र तेल लिएर जानुपर्ने थियो । उनकी हजुरआमा बूढी भइसकिन् अनि बिरामी पनि छिन् । बाहिरतिरको काम उनै हजुरआमाले गर्छिन् ।
घरभित्रको काम भने सुवासले गर्नुपर्छ । बिहान उठेर खाना बनाउने, भाइलाई खुवाउने आफू खाने अनि स्कुल जाने । सबै उनैले भ्याउनुपर्छ । त्यसपछि स्कुलबाट फर्केपछि कहिलेकाहीँ भारी बोक्न जाने त कहिले घरकै काममा ब्यस्थ हुने सुवास भन्छन्, 'घरको आमा त मै भने पनि हुन्छ ।'
जति दुःख परे पनि सुवासलाई पढ्न मन छ । भारी बोकेर कमाएको पैसाले नै कापी किताब किन्छन् । बुवाले कहिलेकाहीँ मात्र किनिदिन्छन् । उनको मन पर्ने विषय गणित हो । आमाले विदेशबाट कहिलेकाहीँ फोन गरेर यसो भन्ने गर्छिन्, 'राम्रोसँग पढ्नू, भाइको हेरचाह गर्नू म छिट्टै आउँछु ।' तर आमा कहिले आउँछिन् भनेर सुवासलाई थाहा छैन । राम्रोसँग पढेर पर्यटक घुमाउने गाइड बन्न चाहन्छन् उनी ।
सानैदेखि विदेशी पर्यटकहरू देखेका सुवासलाई तिनै पर्यटक घुमाउने गाइड बन्ने रहर जागेको छ । हिमाल नजिकैको गाउँमा बस्ने भएकाले होला चिसो लागेर उनको गाला र ओठ पटपटी फुटेको छ । मैलो जिन्स प्यान्ट, हुड, खुट्टामा थोत्रो चप्पल लगाएका सुवास जतिबेला पनि हाँसेर बोल्छन् । उनलाई गीत गाउन पनि साह्रै मनपर्छ 'सरले जे गाउनुभन्नुहुन्छ त्यही गीत सुनाउँछु' भन्दै उनले एउटा गीत सुनाइहाले ।
सिमली छायाँमा बसी
भरिया दाइले लामो सास फेरेको
नेपालमा सुवासजस्ता धेरै बालबालिकाले पढ्नको लागि निकै दुःख गर्नुपर्छ । आज नोभेम्बर २० तारिख अर्थात् विश्वभर अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइरहँदा पढ्नका लागि काम गर्न बाध्य कैयौं सुवासहरू हुन् वा काम गर्नु परेकै कारण पढ्न जान नपाएका थुप्रै बालबालिकाको शिक्षा पाउने मौलिक अधिकारका बारेमा सम्बन्धित सरोकारवाला र राज्यले सोच्नुपर्ने बेला आएको छ ।