अल्लोले बनायो उद्यमी

अल्लोले बनायो उद्यमी

दशक अघिसम्म वनपाखामै कुहिएर सकिन्थ्यो अल्लो, जसलाई स्थानीय भाषामा चाल्ने सिस्नो भनिन्छ । अहिले त्यसको रेसाबाट बनाइने कपडा र त्यसका सामग्री युरोपेली र अमेरिकी समाजमा लोकप्रियताको शिखरमा छन् । पर्वतको उत्तरी भेगका सात वटा गाविसका सामुदायिक वनको एक प्रमुख वनस्पति हो अल्लो ।

त्यसलाई प्रशोधन गरेर कपडा उत्पादन हुन थालेपछि नेपालका अधिकांश जिल्लाका साथै विदेशी बजारमा पनि पुग्न थालेको हो । जापान, कोरिया, बेलायतलगायत मुलुकमा निर्यात हुन्छ, जसबाट वार्षिक लाखौं रुपैया“ गाउँमा भित्रिन्छ ।

लेखफाँट, शालिजा, क्याङ, भुकतांले, चित्रे आर्थर र भोक्सिङ गाविसमा अल्लोको प्रशस्त उत्पादन हुन्छ । शालिजा र क्याङ गाविसमा मात्र प्रशोधन सुविधा उपलब्ध छ । ती गाविसका महिलाले व्यावसायिक रूपमै प्रशोधन र कपडा बुन्न थालेका छन् । हम्पालको जंगलबाट संकलन गरेर प्रशोधन थालिएको छ ।

विभिन्न संस्थाको पहलमा स्थानीय महिलालाई प्रशोधनसम्बन्धी तालिम दिइने गरेको छ । जिल्ला भित्रिने आन्तरिक र बाह्य पर्यटकले लैजाने मुख्य उपहारको स्थान अल्लोकै टोपी, सुट, स्टकोट, झोला, पर्सजस्ता सामग्रीले लिएका छन् । सदरमुकाम कुश्मा र पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बिक्री केन्द्र सञ्चालन भएका छन् । जिविस, लघु उद्यमी संघ, सेवा नेपाललगायत संस्थाको सहयोगमा शालिजा, धाइरिङ र पातीचौरमा प्रशोधन केन्द्र स्थापना भएका छन्, जसले महिलालाई व्यावसायिक बनाएका छन् ।

बिक्री केन्द्रमार्फत काठमाडौंसमेत पठाइने गरेको उद्यमी घममाया पुर्जाले जानकारी दिइन् । जिल्लाभर ६० महिला अल्लो उद्यमी बनिसकेका छन्, जो संकलन, प्रशोधन, कपडा बुनाइ, तयारी वस्तु बनाउने र बिक्रीसम्ममा संलग्न छन् । वार्षिक एक हजार पाँच सय मिटर कपडा तयार हुन्छ । प्रतिमिटर ६ सय रुपैयाँ पर्छ । कुश्मास्थित सौगात गृहकी सञ्चालक जसमाया पुनका अनुसार कोट, स्टकोट, झोला, पर्सलगायत वस्तुको मूल्य दोब्बर/तेब्बरसम्म पर्छ । उद्यममा लागेका महिलाले मासिक १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् ।

गाई, भैंसीको दाम्लो र भारी बोक्ने नाम्लोमा सीमित अल्लोले पर्वतका महिलाको आत्मनिर्भरता बढाएको छ । दशक अघिसम्म ज्याला मजदुरीमा खुम्चेका उनीहरूले उद्यमीको परिचय बनाएका छन् । स्वदेश र विदेशको माग धान्न भने हम्मे परेको छ । उद्यमी पद्मा पुनका अनुसार पर्वतका महिलाले बाजुरा र जुम्लासम्म पुगेर तालिम दिन थालेका छन् ।

हाते उद्यमलाई आधुनिक मेसिनले विस्थापन गर्दैछन् । गुणस्तरीय कपडा बनाउन सके बजारको खाँचो नरहेको उद्यमी घममाया पुर्जाको भनाइ छ । प्रशोधनका लागि जिल्ला वन, घरेलु तथा साना उद्योग विकास समिति र जिविसले सहयोग गर्दै आएका छन् । वर्षा सकिएपछि मंसिरदेखि माघसम्म वनबाट अल्लो काटेर ल्याउ“छन्, पकाउने, सुकाउने र धागो बनाएर कपडा तयार पार्छन् ।

जिल्ला लघु उद्यमी संघका अनुसार पर्याप्त लगानी र जनशक्ति अभावमा अझै अल्लो प्रशोधन हुन सकेको छैन । उक्त वनस्पतिलाई पूर्ण उपयोगमा ल्याउन सके जिल्लाको प्रमुख आम्दानीको स्रोत बनाउन सकिने संघकी कार्यक्रम संयोजक सीता शर्माले बताइन् । जिल्ला वनका निमित्त प्रमुख हरिशचन्द्र सापकोटाका अनुसार एक दशकअघि एन्साब नामक संस्थाले यससम्बन्धी अध्ययन गरेको थियो ।

सोही संस्थाको प्रतिवेदनअनुसार प्रशोधन र कपडा उत्पादन हुन थालेको हो । पर्वत उद्योग वाणिज्य संघले अल्लो उद्योग स्थापनाको पहल थालेको छ । केही दिनअघि आइपुगेका उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई यसका लागि बजेट छुट्याइदिन मागसमेत गरिएको छ । मन्त्री जोशीले विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.