लोडसेडिङ हटेपछि १६ अर्ब बराबरको डिजेल बचत
काठमाडौंः तिहार यता राजधानीमा लोडसेडिङ हटाइएपछि करिब १६ अर्ब बराबरको इन्धन बचेको व्यवसायीहरुले बताएका छन् ।
उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मन्त्रालयमा आयोजना गरेको ‘उर्जा खपत तथा व्यवस्थापन’ विषयेक छलफल कार्यक्रमका सहभागीहरुले लोडसेडिङ हटेपछि ठूलो राहत मिलेको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् ।
छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले लोडसेडिङको अन्त्य गरिएपछि राजधानीमा मात्र १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङक सुनाए ।
उनले उद्योगमा लोडसेडिङ घटेकोले राहत पुगेको र यो अभियानलाई जारी राख्न महासंघले पूर्ण सहयोग गर्ने बताए । विद्युतको उच्च माग सम्बोधन गर्न चिनी मिलबाट बिद्युत उत्पादन गर्न सकिने जानकारी दिए ।
ज्ञानेन्द्र लाल प्रधानले समाजमा लोडसेडिङ मानसिक रुपमा समेत हटेको भन्दै ऊर्जा मन्त्रालय तथा बिद्युत प्राधिकरणलाई धन्यवाद दिए । उनले तत्कालका लागि उर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने तर्क गरे ।
हाउजीङ एसोसिएसनका प्रतिनिधिले नेपाल सरकारलाई आवश्यक परेमा २५/३० मेगावाट सोलार विद्युत उत्पादन गर्न सकिने जानकारी दिए । यसको लागि अपार्टमेन्टका छत उपलब्ध गराउन आफुहरु तयार रहेको उनीहरुले बताए ।
नेपाल प्रहरीका प्रतिनिधिले बिद्युत चोरीलाई पनि अन्य चोरीसरह सजायको कानुन बनाएमा प्रहरीले बिद्युत चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए ।
सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रतिनिधिहरुले नयाँ ब्यारेक बनाउदा अनिबार्य रुपमा सोलार राख्ने गरेको जानकारी दिँदै आफुहरुले उर्जा बचतमा ध्यान पुर्याएकाे बताए ।
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैका सुझाब, सल्लाह तथा प्रतिबद्दताप्रति आभार व्यक्त गर्दै ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबैमा अपिल गरे ।
छलफल कार्यक्रमको निष्कर्ष पेश गर्दै उर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ घटाएपछि देशमा पैंसाको बचत हुनुको साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताए । मन्त्री शर्माले पिक आवरमा विद्युत भार कटौति गर्ने गरी आफु मातहतका कर्मचारीलाई निर्देशन गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
लोडसेडिङ अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्’ उनले भने ।