'ढुवानी भाडा दिने भारु पनि भएन'

'ढुवानी भाडा दिने भारु पनि भएन'

काठमाडौः भारतीय ठूला दरका नोटमा प्रतिबन्ध लागेपछि आयातीत सामानको ढुवानी भाडा दिनसमेत समस्या परेको उद्योगीव्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार पत्रकार सम्मेलन गरी ट्रक भाडा दिने साना दरका भारतीय नोटसम्म व्यापारीसँग नभएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पशुपति मुरारकाले मजदुर, चालक र अत्यावश्यक कामका लागि समेत भारतीय रुपैयाँ नपाएको बताए । नेपाल राष्ट्र बैंकलाई सामान ढुवानी, औषधोपचार, तिर्थाटन गर्न चाहनेलाई भारुको व्यवस्था मिलाइदिन उनले आग्रह गरे ।

‘भारतले पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धसँगै सीमा क्षेत्रका साना व्यापारी मारमा परेका छन्' उनले भने,‘ भोलिदेखि उद्योग, व्यवसायी कसरी सञ्चालन गर्ने भन्ने चिन्तामा व्यवसायी परेको छ ।'

यो समस्या व्यवसायीको मात्र नभएर आम नेपालीको भएको मुरारकाले बताए । व्यवसायी र सर्वसाधारणसँग कति पैसा छ भनेर भन्न सकिने अवस्था नभएकोले भारु प्रतिबन्धले नेपालीलाई ठूलो धक्का लागेको उनको भनाइ छ ।

नेपालका धेरै स्थानमा भारु चल्ने भएको र मध्यपश्चिम तथा सुदूरपश्चिमका मानिसको रोजगारीको थलो नै भारत भएकोले उनीहरूले कमाएर ल्याएको पैसा अनुमान गर्न गाह्रो भएको उनले बताए ।

सोही अवसरमा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले खुला सीमा र लामो समयदेखि नेपाल र भारतबीच सांस्कृतिक, पारिवारिक र व्यापारिक सम्बन्ध रहेकाले भारतमा प्रतिबन्ध लागेका नोट नेपालमा सहज रूपमा साट्ने व्यवस्था राष्ट्र बैंकले मिलाउनु पर्ने माग गरे ।

भारु नसाटिए नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बताउँदै उनले अत्यावश्यक कामका लागि सञ्चित गरेको भारतीय ठूला दरका नोट सहज रूपमा साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकसँग आग्रह गरे ।नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले अहिलेको समस्यालाई हल गर्दै दीर्घकालीन रूपमा भारु व्यवस्थापन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

भारु नसाटिए नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने व्यवसायीको दाबी

‘२५ हजार भारतीय रुपैयाँले व्यवसायीले कुनै पनि व्यवसाय सञ्चालन गर्न नसक्ने भएकाले समयअनुसार ऐनसमेत संशोधन गरिनुपर्ने उनको माग छ । हाल प्रत्येक नेपालीले २५ हजार भारु मात्र राख्न पाउने व्यवस्था छ । ‘यसैगरी भारतीयलगायत अन्य विदेशी मुद्रा लिएको ६ महिनाभित्र सटही गरिसक्ुनपर्ने कानुनी व्यवस्था छ,' उनले भने, ‘त्योभन्दा बढी समय विदेशी मुद्रा होल्ड गरेर राख्ने अधिकार छैन, अर्को देशको मुद्राका विषयमा राष्ट्र बैंकले चाहेर पनि केही गर्न सक्दैन ।'

छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासंघका मोहन कटुवालले भारतले ठूला दरका नोट नचले भोकभोकै बस्नु पर्ने अवस्था आउने बताए । भारु साट्न पहल गरिरहेकाले केही समय कुर्नु पर्ने राष्ट्र बैंकले बताएको छ । कानुनी अधिकारभित्र रहेका नोट साट्नका लागि कार्यविधि बनाएर काम गरिरहेको राष्ट्रका प्रवक्ता नारायणप्रसाद पौडलेले जानकारी दिए ।

 

सोही अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरवहादुर थापाले नेपालीले भारतमा काम गरेर वार्षिक करिब ३० अर्ब भारु भित्र्याउने अनुमान राष्ट्र बैंकले गरेको बताए । तर, पनि कानुनीले दिएको अधिकारभन्दा बढी विदेशी मुद्रा राख्नेले क्षति व्यहोर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार नेपालको वाह्य व्यापार भुक्तानी प्रवृत्तिको अध्ययनले कुल व्यापारमा ४९ प्रतिशत अन्य माध्यमबाट हुने गरेको देखिएको छ । अन्य सबै भुक्तान नगदबाटै हुँदै आएको अध्ययनले देखाएको छ ।

अलैंची व्यापार ठप्प

भारु प्रतिबन्ध लागेपछि अलैंची बिक्री ठप्प भएको ताप्लेजुङबाट महासंघमा गुहार माग्न आएका अलैंची व्यवसायी दिनेश अधिकारीले बताए । भारु प्रतिबन्ध लाग्नु अगाडिसम्म एक हजार चार सय रुपैयाँ किलोमा बिक्री भएको अलैंची त्यसयता व्यापार ठप्प भएको उनले बताए । ‘पसल सबै बन्द छन्,' उनले भने, ‘भाउ पनि प्रतिकिलो चार सय रुपैयाँले घटेको छ, तर पनि बिक्री गर्ने ठाउँ र एजेन्ट छैनन् । कहाँ लगेर बिक्री गर्ने अलैंची ? '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.